काठमाडौं : जनआन्दोलन २ मा काठमाडौं राजनीतिको केन्द्र थियो जोरपाटी। त्यहीँ आन्दोलनको आगो फैलाउन सक्रियमध्य एक थिए एमाले नेता कृष्ण राई। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जोरपाटी गाउँ विकास समितिका उपाध्यक्ष रहेका उनी यतिखेर पनि पहिलेजस्तै सक्रिय छन्।
यसपाला उनको सक्रियता जनआन्दोलन २ ले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिने निर्वाचन केन्द्रित छ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारको अभियानमा सक्रिय राईले वाम गठबन्धनको प्रतिनिधित्व गर्दैछन्।
‘वाम गठबन्धनसँग माले, जनमोर्चा र परिवार दलका यस क्षेत्रको नेतृत्व तह नै एमाले प्रवेश गरिसकेको छ,’ चुनावी अभियानकै क्रममा राईले भने, ‘जन्मथलोबाट सबैखाले राजनीतिमा सक्रिय भएकाले जित सहज छ।’
उनीसँगै चुनावी अभियानमा यसै क्षेत्रका पूर्व सभासद रामेश्वर फुयाँल पनि सक्रिय छन्। यसपाला फुयाँल प्रदेश सभाका उम्मेदवार हुन्। २०६४ सालमा नेपाली कांग्रेसका चक्रबहादुर ठकुरीले जित हासिल गरेको यस क्षेत्रमा त्यसपछि एमालेका फुयाँलले बाजी उल्ट्याएका थिए।
त्यसलाई कायम राख्नु राईको चुनौती हो। साथै ठकुरीका छोरा विमलसँग चुनावी प्रतिस्पर्धामा छन् फुयाँल। चक्रबहादुर ठकुरीसँग एकपटक हार र एक पटक जित हासिल गरेका फुयाल उनका छोरासँगको प्रतिस्पर्धामा कति खरो उत्रिन्छन् त्यो मत परिणामले देखाउने नै छ।
कृष्ण राईको प्रतिस्पर्धा भने वहालवाला मन्त्री अम्बिका बस्नेतसँग हुँदैछ। कांग्रेसको लामो पारिवारिक विरासतबाट चुनावी मैदानमा उत्रेकी बस्नेत राईका लागि बलियो चुनौती हुन्।
तर, राई यसलाई फरक रुपमा व्याख्या गर्छन्। ‘दुई पटक सांसद र एक पटक मन्त्री हुँदैमा केही हुँदैन,’ राईले भने, ‘त्यो अवधिमा उहाँले के चाहिँ गर्नुभयो भन्ने महत्वपूर्ण हो। उहाँ पदमा पुगेर यहाँका जनताका लागि के गर्नुभयो महत्वपूर्ण कुरा हो।’
कृष्ण राई जोरपाटी अत्तरखेलका हुन् भने अम्बिका बौद्ध। काठमाडौं क्षेत्र नम्बर ३ मा जोरपाटी र वौद्ध नै भोट बैंक हुन्। यी दुई क्षेत्रमा जसले बढी प्रभाव देखाउन सक्छ चुनाव उसकै पक्षमा जान्छ। त्यसैले राईले घरदैलोलाई तीब्र बनाएका छन्।
राई सामु चुनाव जित्नुपर्ने चर्को दवाव पनि छ। उनकै नेतृत्वमा काठमाडौं महानगरपालिका सहित काठमाडौं जिल्लाका नगरपालिकाहरुमा एमालेको वर्चश्व स्थापित भएको थियो। चुनावी रणनीतिकारका रुपमा उनले स्थानीय चुनावमा आफूलाई अब्बल सावित गरिसकेका छन्।
तर, उनकै क्षेत्रमा पर्ने गोकर्णेश्वर नगरपालिकामा भने नेपाली कांग्रेसले जित हासिल गरेकाले उनीमाथि थप दवाव छ। राजनीतिसँगै सामाजिक क्षेत्रमा राईले जुन रुपमा सक्रियता देखाएका छन् त्यसको तुलनामा उनका प्रतिस्पर्धीको उपस्थिति कमजोर छ। ‘स्थानीय तहको निर्वाचनमा फरक परिणाम आए पनि नेकपा माओवादी केन्द्र जोडिएको छ। त्यो जोडको बल बलियो छ,’ राई निर्धक्क सुनिए।