काठमाडौँ : नयाँ संविधान अनुसार भएको प्रतिनिधि सभाको पहिलो निर्वाचनमा शुक्रबार साँझ ७ बजेसम्म सात जना सांसद निर्वाचित भइसकेका छन्। सातमध्ये ६ जना वाम गठबन्धनका उम्मेदवार हुन् भने एक जना वाम गठबन्धनका बागी उम्मेदवार हुन्।
१) पोल्देन छोपाङ गुरुङ, एमाले, मनाङ

एमालेले बिहीबार राति अबेर मनाङबाट आफ्नो विजय यात्रा सुरु गरेको थियो। पोल्देन छोपाङ गुरुङले कांग्रेसका निवर्तमान सांसद टेकबहादुर गुरुङलाई पराजित गरी पहिलो पटक संसद प्रवेश गर्न लागेका हुन्। एमालेको मनाङ जिल्ला अध्यक्ष पाल्देन दुई वर्षअघिमात्रै पार्टी प्रवेश गरेका हुन्। उनी कृषि र होटल व्यवसायी पनि हुन्।
२) प्रेमप्रसाद तुलाचन, एमाले, मुस्ताङ

मनाङको परिणाम आए लगत्तै कम मतदाता भएका जिल्लामध्ये एक मुस्ताङको परिणाम पनि एमालेकै पक्षमा गयो। कांग्रेसकै रोमी गौचन थकालीलाई पराजित गर्दै प्रेमप्रसाद तुलाचन सांसद निर्वाचित भए। तुलाचन पहिले कांग्रेसै थिए। २०७० सालको निर्वाचनमा कांग्रेसबाट बागी उम्मेदवार बने पनि १२ मतले पराजित भएका उनलाई कांग्रेसले निश्कासित गरेको थियो। चुनावको चार महिनाअघि एमाले प्रवेश गरेका तुलाचन २०४७ सालदेखि कांग्रेसमा आवद्ध थिए। २०१८ सालको माघमा मुस्ताङको लेतेमा जन्मिएका तुलाचनले आइकमसम्मको अध्ययन गरेका छन्।
३) भुपेन्द्रबहादुर थापा, एमाले, म्याग्दी

म्याग्दीबाट वाम गठबन्धनका उम्मेदवार भुपेन्द्रबहादुर थापा नेपाली कांग्रेसका खमवीर गर्वुजालाई पराजित गर्दै निर्वाचित भए।
२०३८ सालमा अखिल पाँचौमा आवद्ध हुँदै राजनीति गरेका थापा हाल नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन्। २०२४ साल वैशाख १६ गते म्याग्दीको रत्नेचौरमा जन्मेका थापाले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्।
४) भैरवबहादुर सिंह, एमाले, बझाङ

नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गर्दै एमालेका भैरवबहादुर सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। एमालेका वैकल्पिक केन्द्रीय सदस्य सिंह पहिलो पटक सांसद निर्वाचित भएका हुन्। यसअघि २०४८ साल, २०५१ साल, २०५६ साल गरी तीन वटा निर्वाचनमा उनी पराजित भएका थिए।
५) छक्कबहादुर लामा, स्वतन्त्र, हुम्ला

नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले पराजित गर्दै लामा विजयी भएका हुन्। छक्कबहादुरले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने कांग्रेसका मगल शाहीले ८ हजार ४ सय ४४ मत पाए। लामा पूर्वराज्य मन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्। टिकट दिँदा वाम गठबन्धनका तर्फबाट माओवादीकै छिमी दोर्ची लामालाई दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। वाम गठबन्धन उम्मेदवार लामाले २ हजार ८ सय ५६ मत प्राप्त गरेका थिए।
६) कमला रोका, माओवादी केन्द्र, रुकुम पूर्व
.JPG)
प्रतिनिधि सभाको निर्वाचनमा विजयी हुने पहिलो महिला तथा माओवादी केन्द्रका उम्मेदवार बनिन् कमला रोका। माओवादी सशस्त्र विद्रोहका क्रममा महिला छापामार बनी युद्धमा सहभागी भएकी रोका हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गर्दै नयाँ संविधान जारी भएपछिको पहिलो संसदमा प्रवेश सुनिश्चित गरेकी हुन्। २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मिएकी रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुन्। उनका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री तथा वाइसिएलका पूर्वअध्यक्ष हुन्।
७) गोपाल बम, एमाले, मुगु

२४ वर्षअघि नेपाल मजदुर किसान पार्टीबाट एमाले प्रवेश गरेका मल्ल हाल एमाले मुगु जिल्ला अध्यक्ष रहेका छन्। २०२८ सालमा जन्मिएका बमले सुर्खेतको वीरेन्द्र बहुमखी क्याम्पसबाट स्नातकसम्म अध्ययन गरेका छन्।