PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कालिगण्डकी थुनिएपछि म्याग्दी सदरमुकाम खाली पारियो, सात जिल्लामा उच्च सतर्कता



कालिगण्डकी थुनिएपछि म्याग्दी सदरमुकाम खाली पारियो, सात जिल्लामा उच्च सतर्कता

  • रविराज बराल/काठमाडौं, विष्णु शर्मा/बेनीबजार-
सुरक्षा निकायले अलर्ट गराएपछि बेनीबजारका बासिन्दा बजारमाथि रहेको उच्च भागतर्फ लागेका छन्। नेपाली सेना र नेपाल प्रहरीले अत्यावश्यक सामग्री लिएर बजारभन्दा तीन सय मिटरमाथि डाँडामा जान आग्रह गरेपछि बजार क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका हुन्।

बजार क्षेत्रभन्दा माथि अर्थुङ्गे डाँडा छ। सल्लाघारीको जंगलमाथि रहेको अर्थुङ्गे डाँडामा नेपाली सेनाको ब्यारेक पनि छ।

कालीगण्डकी बग्ने क्षेत्रमा उच्च सतर्कता

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान परियोजनाले बेनी बजारभन्दा करिब १० किलोमिटरमाथि पहिरोले बनाएको बाँधका कारण त्यसभन्दा तलका बस्तीहरुमा सतर्कता अपनाउन सचेत गराएको छ। गलेश्वर बजार र बेनीबजारका बासिन्दा 'अति उच्च सतर्क' रहनुपर्ने विभागले जनाएको छ।

यस्तै कालीगण्डकीको बहाव रहेका स्याङजा, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा र नवलपरासी जिल्लाका बासिन्दालाई 'उच्च सतर्क' रहन विभागले आग्रह गरेको छ। 

यो हो बेनीबजार

दुई नदीको बिचमा रहेको यो बजार बेनी बजार हो। उत्तरपूर्वबाट कालीगण्डकी बग्छ, उत्तरपश्चिमपबाट म्याग्दी खोला। बेनीबजार यी दुई खोलाको संगम हो।


Photo: Wikipedia
म्याग्दी जिल्लाको सदरमुकाम समेत रहेको बेनी बजार बेनी नगरपालिकामा पर्छ। २०६८ सालमा नगरपालिका घोषणा हुनुपूर्व बेनी बजार अर्थुङ्गे गाविसमा पर्थ्यो। बेनीबजारभन्दा माथि अर्थुंगे गाउँ पर्छ।

कालीगण्डकी पारी पर्वत जिल्ला पर्छ। झोलुंगे पुल र पक्की पुलले यी दुई जिल्ला जोडिएका छन्। स्थानीयहरु पर्वत पट्टीको बजारलाई वारी बेनी र म्याग्दीपट्टीको बजारलाई पारी बेनी पनि भन्छन्। कारण, पक्की पुलले नजोड्दासम्म वारी बेनी नै मुख्य बजार थियो। बेनी बजार पवित्र तीर्थस्थल मुक्तिनाथको ट्रान्जिट पनि हो।

पहिरो खसेको मुक्तिनाथ जाने बाटोतिर नै हो। बेनीबजारबाट तीन किलोमिटरमाथि गलेश्वर तीर्थस्थल पर्छ। त्यसभन्दा तीन किलोमिटरमाथि पहिरो खस्दा कालीगण्डकी थुनिएको हो। म्याग्दी जोमसोम सडक खण्ड अन्तर्गत राम्चे गाविस काफल डाँडामा पहिरो जाँदा कालीगण्डकी थुनिएर ताल बनेको छ। अहिले बेनी बजारका बासिन्दा फोटोमा बजारभन्दा माथि उत्तरतर्फ देखिएको डाँडातर्फ लागेका छन्।

एकैपटक खोलिन्छ कि भन्ने डर

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकरी यामबहादुर चोखालले थुनिएको कालीगण्डकी फुटेमा ठूलो क्षति गर्ने डर रहेको बताए। ‘म कार्यालयमै छु। बेनीमा डराउनुपर्ने अवस्था छैन। कालीगण्डकी थुनिएको यो पहिलोपटक होइन। थुनिएपछि बिस्तारै खोलिँदै गएको हो तर एकै पटक खोलिन्छ कि भन्ने डर हो।‘


रातमा पहिरो गएपछि बजार क्षेत्रका बासिन्दा। फोटोः myagdikali.com
गत बैशाख १२ र २९ गते गएको भूकम्पबाट कतिपय पहाड चिरिएका छन्। ‘पहाड कमजोर बनेका छन्, पहिरो खसिरहेकाले सदरमुकाम आसपासका मानिसलाई सतर्क रहन भनेका छौँ’, सहायक प्रजिअ चोखालले भने।

प्रहरीले पहिरो गएको क्षेत्रमा धूलो उडिरहेको घटनास्थलतर्फ नजान भनेको छ।

‘ओभर फ्लोको डर’

म्याग्दीका सभासद् नवराज शर्माले पहिरोले थुनिएको खोला ओभर फ्लो हुन्छ कि भन्ने चिन्ता रहेको बताए। उनका अनुसार दुई विशेषज्ञसहित गएको नेपाली सेनाको हेलिकप्टर हवाइ निरीक्षण गरि फर्केको छ। ‘उनीहरुले पहिरो बन्द भएको ८/१० घण्टापछि मात्र केही गर्न सकिने जबाफ दिए भन्ने सुनेँ’, उनले भने, ‘पहिरो ठूलो छ। कालीमा थुप्रिएको चट्टान हेर्दा आफै फुट्ला वा ओभरफ्लो हुन्छ भन्ने लाग्दैन। तै पनि त्यो सम्भावना छँदै छैन भन्न पनि त सकिएन।‘


बजार क्षेत्रमा राती खटिएको नेपाली सेना। फोटोः myagdikali.com
सभासद् शर्माले एक किलोमिटर अग्लो डाँडा खसिरहेको बताए। ‘खोलामा केही देखिदैन। पहिरोले बनाएको ताल पनि देखिँदैन’, घटनास्थलमा रहेका सभासद् शर्माले भने, ‘हावा जता लाग्छ उतै धूलो उड्छ। डाँडाकाडा धूलोले ढाकेका छन्। हामी पनि चिन्न नसकिने भएका छौँ।‘

म्याग्दीको स्थानीय रेडियो म्याग्दीकाली एफएमका समाचार प्रमुख सुरज केसीका अनुसार पहिरोले बनाएको ताल तत्काल फुट्ने सम्भावना छैन। ‘मानवीय हस्तक्षेपबिना यो ताल फुट्ने सम्भावना छैन’, पहिलोपोस्टसँग उनले भने, ‘पाँच सय मिटर लम्बाइ र सय मिटर उचाइको ताल बनेको छ। ह्वात्त फुट्न सक्ने अवस्था छैन।‘

यो पनि पढ्नुस्:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell