PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

इपीएलको दोस्रो दिन : यस्ता छन् ५ विशेषता



गोविन्दराज नेपाल

इपीएलको दोस्रो दिन : यस्ता छन् ५ विशेषता

काठमाडौं : एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबार दुई खेल भए। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पोखरा राइनोज र विराटनगर वारियर्सले जित हात पार्दै २-२ अंक जोडेका छन्। पोखरा राइनोजले चितवन टाइगर्लाई १० विकेटले हरायो भने प्रतिस्पर्धात्मक खेलमा विराटनगरले ललितपुर प्याट्रिओट्सला ६ रनले पारजित गर्‍यो।

 

पोखरा राइनोजको १० विकेट जित

टी-२० लाई छक्का, चौका र विकेटको खेल मानिन्छ। टी-२० विशेषज्ञको भनाई मान्ने हो भने पनि यसमा कतिखेर के हुन्छ भन्न सकिन्न। अझ १० विकेटको जित विरलै हुन्छ। तर इपीएलको दोस्रो दिनको पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले हराउँदै शानदार सुरुवात गरेको छ।

चितवनले दिएको ११४ रनको लक्ष्य पोखरा राइनोजले १६.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो। राइनोजको जितमा पाकिस्तानी खेलाडी इस्रार रुल्लाहले नटआउट ६१ रन बनाए। यस्तै सुनिल घमलाले पनि नटआउट रहदै ४६ रनको योगदान गरे।

 

इस्रार रुल्लाहको अलराउण्ड प्रदर्शन

राइनोजको जितमा उनै इस्रन रुल्लाहले अलराउण्ड प्रदर्शन गरे। चितवनलाई कम स्कोरमा रोक्न ४ विकेट लिएका उनले ब्याटिङमा पनि म्याच विनिङ प्रदर्शन गरे। उनले प्रतियोगितामा पोखराका लागि पहिलो अर्धशतक बनाउने क्रममा नटआउट ६१ रन बनाए। ५१ बल खेलेका उनले १ चौका र ६ छक्का समेत प्रहार गरे।

यस्तै राइनोजले विदेशी खेलाडीको कोटामा तिन वटै पाकिस्तानका खेलाडी खेलाएको थियो। जसमा ताज वालीले समेत ३ विकेट लिए। मिडर अर्डर ब्याट्सम्यान आसिफ अलीले भने बलिङ र ब्याटिङ दुवै गरेनन्।

 

एकै दिन दुई अर्धशतक

मंगलबार एकै दिन दुई अर्धशतक बने, दुई फरक खेलमा। पहिलो खेलमा पोखराका इस्रार रुल्लाहले चितवन टाइगर्स विरुद्व नटआउट ६१ रन बनाए भने दोस्रो खेलमा ललितपुर प्याट्रिओट्सका पवन सराफले विराटनगर वारियर्स विरुद्ध अर्धशतक ठोके।

इस्रार रुल्लाहको शतकले पोखरालाई जितायो र उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत बने।

तर पवनले बनाएको ५१ रन ललितपुरलाई जित दिलाउन पर्याप्त रहेन। ओपनिङ सम्हाल्दै ४७ बल खेलेर ६ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाएका पवन अंशुमन रथको बलमा पुष्प थापाद्वारा क्याचआउट भए।

 

दुई देशका कप्तान एकै साथ क्रिजमा

ललितपुर प्याट्रिओट्सले टस रोजेर फिल्डिङ रोजेपछि पारस खड्काको कप्तानीमा रहेको विराटनगरले पहिले ब्याटिङ गर्‍यो। पारस नेपाली राष्ट्रिय टोलीको कप्तान हुन्। र उनको टिमका अर्का देशका कप्तान समेत थिए, बाबर हायत। बाबर हङकङका कप्तान हुन्। बाबरसँगै हङकङका अंशुमन रथले पनि मंगलबार विराटनगरबाट खेले।

अंशुमनले आसिफ शेखसँग ओपनिङ गरेका थिए। आसिफ आउट भएपछि अंशुमनलाई हङकङका कप्तान बाबरले क्रिजमा साथ दिए।

अंशुमन पनि आउट भएपछि नेपालका कप्तान समेत रहेका विराटनगरका कप्तान पारस खड्का ब्याटिङ गर्न गए। त्यसबेला नेपाल र हङकङ दुबै देशका राष्ट्रिय टोलीका कप्तान एउटै टिमका लागि क्रिजमा सँगै ब्याटिङ गरिरहेका थिए। बाबर ३४ रनमा आउट हुनुअघि पारस र बाबरले तेस्रो विकेटका लागि २२ रनको पार्टनरसिप गरे।

 

नेपालका दुई युवा खेलाडी मन छुने प्रदर्शन

खेलमा हारजित हुनु स्वभाविक हो। कतिपय अवस्थामा खेलको नतिजाले भन्दा पनि खेलाडी र टिमको प्रदर्शनले दर्शकको मत जित्छ। नेपालमा डोमेस्टिक लेभेलको क्रिकेट नभईरहेका बेला दुई युवा खेलाडीले बुधबार जोसिलो प्रदर्शन गरे।

यू-१९ राष्ट्रिय टोलीका सदस्यद्वय अनिल कुमार शाह र पवन सराफको प्रद्शनले सबै दर्शकको मन जित्यो। अनिलले विराटनगर तथा पवनले ललितपुरबाट खेलेका थिए। अनिलले ४७ रन बनाए भने पवनले ५१ रन जोडे। तर खेल अनिलको टिम विराटनगरले ६ रनले जित्यो।

विराटनगरले १५० रन बनाउने क्रममा अनिलले सर्वाधिक रन बनाएका थिए। ३५ बल खेलेका अनिलले २ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाए। उनलाई ललितपुरका योगेश नागरले आउट गरे। कप्तान पारस खड्काले अनिलको इनिङ्सलाई ‘सुपर्व’ रहेको प्रतिक्रिया दिए।

यता १ ओभर मात्र बलिङ गरेका पवनले ९ रन खर्चेका थिए। तर उनले ब्याटिङमा भने शानदार प्रदर्शन गरे। प्रतियोगिताको दोस्रो अर्शतक बनाउने क्रममा पवनले ४७ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। ललितपुरका कप्तान ज्ञानेन्द्रले पनि पवनको प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell