PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाल र हङकङका कप्तानले गरे एक अर्काको प्रशंसा, बाबरले भने : लगातार ६ छक्का प्रहार गर्ने सोचेको थिएँ



गोविन्दराज नेपाल

नेपाल र हङकङका कप्तानले गरे एक अर्काको प्रशंसा, बाबरले भने : लगातार ६ छक्का प्रहार गर्ने सोचेको थिएँ

काठमाडौं : नेपाल र हङ्कङ एक अर्का विरुद्ध भिड्दा पारस खड्का र बाबर हायतले दुई फरक टिमको नेतृत्व गर्छन्। तर काठमाडौंमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भने बाबर पारसको कप्तानीमा रहेको विराटनगर वारियर्स विरुद्ध खेलिरहेका छन्।

शुक्रवार विराटनगर वारियर्सले चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेपछि पारस र बाबरले एक अर्काको प्रशंसा शब्द खर्चिए।

उक्त खेलमा बाबरले बिष्फोटक ब्याटिङ गर्दै ४५ बलमै ८१ रन बनाए। उनले २५ बलमा अर्धशतक पूरा गरेका थिए।

नेपालका कप्तान पारसले बाबरको उक्त प्रदर्शननलाई ‘एक्सलेन्ट’ माने। ‘बाबरले एकदमै राम्रो खेल प्रदर्शन गरे,’ खेलपछि पारसले बाबरको बारेमा भने, ‘आज विकेट त्यति सजिलो थिएन तर हामीले राम्रो ब्याटिङ गर्‍यौँ, आज हामीले कम्प्लिट टिम परफरमेन्स गर्‍यौँ। एकदमै स्याटिस्फाइड प्रदर्शन भयो।’

पारस स्वयंले भने उक्त खेलमा १६ रन मात्र बनाए। हङ्कङकै अर्का खेलाडी अंशुमन राथले ४१ रनको योगदान गरे।

यता हङकङका कप्तान बाबरले पनि पारसको प्रसंशा गर्न चुकेनन्। उनले पारसलाई एक उत्कृष्ट कप्तानको रुपमा व्याख्या गरे। ‘हि (पारस) इज ग्रेट क्याप्टेन,’ उनले भने।

यस्तै बाबरले अंशुमन रथसँग खेल्दा सँधै सहज हुने र नेपालमा पनि त्यो लागू भएको बताए। ‘हामी हङकङको टिममा सँगै खेल्दै आएका छौँ। अंशुमनसँग खेल्दा स्ट्राइक रोटेट गर्न सजिलो हुन्छ। हामीले ३/४ वर्षदेखि सँगै खेलिरहेका छौँ,’ उनले भने।

बाबरले चितवनका कप्तान दीपेन्द्र सिंह ऐरीको एकै ओभरमा लगातार चार छक्का सहित २९ रन प्रहार गरेका थिए। उनले ४५ बल खेल्दा ५ चौका र छक्का प्रहार गरे।

 

लगातार ६ छक्का सोचेको थिएँ

बाबरले दीपेन्द्रले बलिङ गरेको १२औँ ओभरमा सुरुमै लगातार ४ छक्का प्रहार गरे। त्यसपछि उनले पाँचौ बलमा चौका र प्रहार गरे भने अन्तिम बलमा एक रन लिए।

चार छक्का प्रहार गरेपछि छ छक्का प्रहार गर्ने सोचेको थियो भन्ने प्रश्नमा बाबरले भने, ‘निश्चय नै मैले पनि छ छक्का प्रहार गर्ने सोचेको थिएँ तर भनेजस्तो भएन।‘

‘बाबरले नेपालमा आएर खेल्दा एकदमै रमाइलो हुने प्रतिक्रिया दिए। म यहाँ सन् २०१३ मा पनि आएर खेलेको थिएँ। यहाँको समर्थकहरु मलाई मन पर्छ।’

उनले नेपालमा धेरै युवा खेलाडीहरु रहेको र नेपाली क्रिकेटको भविष्य राम्रो रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell