काठमाडौं : हाल दयाहाङ राईलाई धेरै प्रेसर छ। प्रोजेक्टहरुको प्रेसर। एक समय यस्तो थियो उनी यस्तै प्रेसरमा हुन्थे - काम नभएर। आफू 'अभिनयकै लागि हुँ' भन्ने अनुभूत भएको दिनदेखि उनले मञ्चमा देखिन मेहनत गरे। धेरै पटक त उनको नाटक खेल्न पाउने आशा आशामै सीमित भयो।
२०६० सालदेखि २०७२ सम्मको कलाकारिता यात्रा - समयले दयाहाङ राईलाई एउटा सफल कलाकारको परिचय दिएको छ। तर, उनी आफूलाई अझै पनि संघर्षरत भन्न रुचाउँछन्। भन्छन्, 'मैले धेरै नाटक र फिल्महरु गरेँ। चाहेको जस्तो गरेँ र नचाहेको जस्तो पनि। तर, अभिनयको हिसाबमा मैले अझ राम्रो गर्न सक्ने ठाउँ छ। अझै धेरै दिनु छ।'
उनी एक किसिमले संतुष्ट पनि छन्। यस मानेमा कि अहिले राम्रो अभिनय गर्नेको लागि ठाउँ छ। सीमित नाटकघर र मञ्चबीच अभिनयको अथाह भोक लिएर अघि बढेका उनले कहाँ सोचेका थिए - फिल्म क्षेत्रले यसरी फड्को मार्छ भन्ने। दयाहाङ आज पनि सम्झन्छन् अभिनेता भनेको सुन्दा दर्शक हास्ने अवस्था।
'सुटिङमा मान्छे दङ्ग पर्थे, हिरो देखेर,' उनी निकै रमाइलो मानेर सुनाउँछन्।
२०६९ मा फिल्म 'लुट' सार्वजनिक भएपछि फिल्म बन्ने शैली फेरियो। प्राविधिक पक्षदेखि कथा, विषयवस्तु र कलाकार चयन गर्ने शैली बद्लियो। लुटले फिल्म बनाउनेको सोचलाई फराकिलो बनाउन निकै योगदान पुर्यायो। त्यसैले त आज लुटमा गोपाल गुरुङ (गोफ्ले)को रुपमा देखिएका दयाहाङलाई मुख्य अभिनेता छान्न निर्माताहरुले अग्लो कद, ठूला आँखा, मिलेको शरीर खोज्न छाडे।
'लुटले फिल्म बनाउने तरिकालाई फरक दिशा त दियो तर त्यसयता चाहिँ कस्ता फिल्महरु बने त?,' उनी प्रश्न गर्छन्।
र, थप्छन्, 'लुट बन्यो, जेरी बन्यो, कबड्डी बन्यो र त्यस्तै शैलीका फिल्महरु मात्र बने। यी फिल्महरु फर्मुला बने फिल्मकर्मीका लागि।' एकै खालका फिल्महरु बन्नुले उनलाई खुशी दिएको छैन। उनलाई लाग्छ - फिल्मकर्मी आफूले के देख्छ, सोच्छ त्यो होइन, बजारले जे रुचायो त्यही दिन फिल्ममा लगानी गर्छन्। जुन विषयलाई उनी ठीक मान्दैनन्।
'तर, फिल्म निर्माताको पनि आफ्नो बाध्यता हुन्छ। पैसा कमाउन लगानी गर्नेले बजारमा जे चल्छ त्यो दिनु स्वभाविक नै होला,' उनले भने। दयाहाङ गम्भीर सुनिन्छन् जब उनी निर्माता, निर्देशक आफ्नै कार्य योजनामा 'क्लियर' नभएको बताउँछन्। बोल्छन्, 'व्यवसाय गर्ने कि एउटा राम्रो फिल्म बनाउने? यो कुरामा फिल्मकर्मी प्रष्ट हुनुपर्छ।'
निर्माताहरु क्षणिक व्यवसाय, प्रचारमा रमाउनुका कारण आजीवन चल्नसक्ने र धेरै पछिसम्म काम लाग्ने फिल्महरु नबनेको उनको बुझाइ छ। लगानी गर्नु र केही नाफासहित फिर्ता पाउने आशा हुनुले तुलनात्मक रुपमा दर्शक बढाए पनि फिल्म क्षेत्रको सकारात्मक परिवर्तन नभएको उनी बताउँछन्।
दयाहाङ कलात्मक फिल्म गर्न चाहन्छन्। विषय केन्द्रित फिल्म र परिवर्तनका लागि मुद्दा उठान गरेका फिल्म गर्न चाहन्छन्। सफल भइसकेका 'सेतो सूर्य', 'तान्द्रो' र प्रदर्शनको तयारीमा रहेको 'निरफूल' जस्ता फिल्मले केही सहयोग गरे पनि। तर, उनी आफैलाई चित्त बुझेको छैन आफैले गरेको धेरै काम। भन्छन्, 'म फिल्म क्षेत्रबाट पलायन नहुनका लागि हरेक खालका प्रोजेक्टहरु गरिरहेको छु।'
यति भनिसक्दा अफर आएकामध्ये छानेर १० देखि १५ प्रतिशत मात्र फिल्म गरेको पनि प्रष्ट पारे। 'टिक्न त पर्यो नि। त्यसैले हरेक खालको चरित्रलाई आफैमाथिको एक्सपेरिमेन्ट मानेर काम गर्दै आएको छु,' उनले सुनाए।
हुन त व्यवसाय भयङ्कर गर्ने फिल्म राम्रै हुन्छ भन्ने पक्षमा उनी पनि छैनन्। तर, व्यवसायिक सफलताले पनि निर्माता, निर्देशक साथै कलाकारको जीवनमा पनि असर गर्ने कुरालाई नकार्दैनन्। भन्छन्, 'कलाकार सधैं विचरा हुन्छन्। कि त यस्तै काममात्र गर्छु भन्नु पर्योै कि त प्रोजेक्ट छोड्नुपर्यो्। जुन कुरा सम्भव छैन।'
एकै किसिमका व्यवसायिक फिल्म र एकै किसिमका चरित्रहरुसँग राईको पनि चित्त बुझाइ छैन। उनी आफूले निभाउन परेको फर्मुला चरित्रहरुबाट बाहिर निस्कन चाहन्छन्। उनलाई आरोप छ - उस्तै लाग्ने चरित्रहरु निभाउँदै आएकोमा। जुन फिल्म निर्माता, निर्देशक लोकप्रियताको पछि लाग्नुको नतिजा हुनसक्छ।
'म फिल्म बनाउनेहरुको फर्मुलाबाट बाहिर निस्किन कोसिस गर्दैछु। साँच्चै राम्रो काम पाउन पनि म यो क्षेत्रमा बाच्नुपर्छ,' उनको बुझाइ।
व्यवसायिक फिल्म निर्मातासँग दयाहाङ बार्गेनिङ गर्छन् किनकि निर्माता उनैलाई चाहेका हुन्छन्। कलात्मक अनि विषय केन्द्रित मुद्दामा बन्ने फिल्मका लागि भने उनी निर्माताको अवस्था बुझ्ने गर्छन्। स्वीकार्छन्, 'हामीहरु एकअर्काका लागि हौं।'
चर्चा, परिचर्चा, समीक्षा बजारले निर्धारण गर्दैगर्दा दयाहाङ आफूले कमाएको लोकप्रियतालाई सामान्य रुपमा लिन्छन्। उनलाई उस्तो ठूलो स्टार बनेर जिउनु छैन। किनकि उनलाई डर छ शुभेच्छुक 'फ्यान' बन्दै गर्दा, लोकप्रिय कलाकार दयाहाङ राई 'स्टार' बन्दै गर्दा सबैबाट टाढिन्छु कि भन्ने।
'मैले पहिलोपटक मेरो फ्यानलाई नेपाल यातायातमा भेटेको थिएँ। निकै घुईंचोबीच उहाँले मसँग अटोग्राफ माग्नु भयो। लाजैलाजले नाम लेखेर दिएँ। त्यसैले आजसम्म पनि कसैले अटोग्राफ माग्दा नाममात्रै लेखेर दिन्छु,' उनले आफ्नो सरलताको उदाहरण दिए।
दयाहाङ राई फिल्म क्षेत्र निकै माथि पुगेको हेर्न चाहन्छन्। जसको लागि जुन फिल्मङ चल्छ त्यसैको बाटोमा सबै फिल्म निर्माता, निर्देशक हिँड्नु ठीक हुँदैन। किनकि दर्शकबाट फिल्मकर्मीले अपेक्षा गर्छन् भने फिल्मकर्मीले पनि दर्शकलाई दिनुपर्छ।
फिल्म इन्डस्ट्रीसँगै नेपाली फिल्म पत्रकारितालाई पनि केही नजिकबाट हेरेका छन् उनले। भन्छन्, 'दर्शकहरुमा निकै सजिलो गरी नेपाली फिल्मको संदेश प्रवाह हुँदै गएको छ। जसको लागि फिल्म पत्रकारिताको भूमिका छ। तर, यसका नराम्रो पक्ष पनि छ।' उनी नेपाली फिल्म पत्रकारितामा प्रयोग हुने शीर्षकहरुसँग संतुष्ट छैनन्। जसले भित्र कन्टेन्ट भए पनि राम्रो संदेश प्रवाह नगर्ने उनलाई लाग्छ। त्यस्तै पत्रकार बीचको अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय अवस्थामा गलत खबर फैलिएका छन्। उनी आफै पनि नमिल्दो समाचार शीर्षक र अनावश्यक समाचारको शिकार भएको बताउँछन्। भन्छन्, 'नकारात्मकको तुलनामा सकारात्मक कुराहरु धेरै छन्। तर, जे नराम्रो भइरहेको छ त्यसलाई त सुधारेरै अघि बढ्दा राम्रो हुन्छ होला नि।'