काठमाडौं : शरणार्थी क्याम्पको निचुले कान्छो बगरमा ढुङ्गा टिप्न जान्छ। अचानक बस्तीको जागाराम अधिकारीले उमाथि आक्रमण गर्छ। आफ्नो बारीको ढुङ्गा टिपेको भन्दै निचुलेको डोको भाँचिदिन्छ र लखेट्छ।
निचुले कान्छो क्याम्पका अरु शरणार्थी जस्तै खानको लागि ढुङ्गा कुटेर गिट्टी बनाउँछ। उ त्यसैको लागि ढुङ्गा खोज्न बगरमा पुगेको थियो।
शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक 'हरियो ढुङ्गा'को बीचतिर देखिने दृश्य हो यो।
नाटकको अन्तिममा भुटानी शरणार्थीहरुलाई पुनर्बासका लागि विदेश लगिन्छ। क्याम्प छोडेर विदेशिनेको लर्कोमा हुन्छ उही बस्तीवासी जागाराम अधिकारी पनि। जसले निचुले कान्छाको डोको भाँचिदिएको थियो। अमेरिका जानको लागि उसले क्याम्पकै एक युवतीसँग बिहे गरेको हुन्छ।
यो कथा लेख्ने उपेन्द्र सुब्बाको कल्पना र सुनिल पोखरेलको परिकल्पना मात्र होइन। यथार्थ हो, जीवन हो र भोगाइ हो। बाध्यताले विदेशिने शरणार्थी र रहरले विदेशिने नेपाली अझै पनि भेटिन्छन् झापाको पथरी र बेलडाँगी भुटानी क्याम्प र वरपर।
राष्ट्रियता बिहीन सम्पूर्ण भुटानी शरणार्थीहरुको आ-आफ्नै कथा छन्। सबै गुम्सिएका छन् - संघर्ष गरेर पनि भोको रहन पर्नुको पीडाले, भोको पेटमा भुटानको राष्ट्रिय गान गाउनु पर्ने पीडाले। माटो बिहीन हुनुको पीडाले। गुम्सिएका धेरैको प्रतिनिधि पात्र हुन् निचुले कान्छा (विपिन कार्की)। रासन कार्डमा उसको नाम सुखबहादुर क्षेत्री हो। तर, उसले सुख देखेको छैन। उ बोल्न सक्दैन। बोलेको अरुले बुझ्दैनन्। बुझ्नेले सुन्न खोज्दैनन्। त्यसैले त ऊ सम्पूर्ण भुटानी शरणार्थीको प्रतिनिधि हो जसको आवाज सुनिएन। सन् १९९० देखि आजसम्म पनि।
निचुलेकी श्रीमती र छोरी सक्कली भुटान जाने प्रलोभनमा परेर बेपत्ता हुन्छन्। दुई छोरा जेठो हल्दारे र कान्छो बैदारेबीच घडीको निम्ति झगडा पर्छ। झगडामा बैदारेको मृत्यु हुन्छ र हल्दारे गिरफ्तार हुन्छ। निचुले एक्लिन्छ। उसको पीडा थपिन्छ। हुन त कुट्ने ढुङ्गा खोज्न जाँदा भेटिएको हरियो ढुङ्गा बेचेर निचुलेकी श्रीमतीले पैसा ल्याएकी हुन्छिन्। तर, त्यो ढुङ्गा र पैसाले निचुलेको दु:खमा थोरै पनि राहत दिँदैन।
हरियो ढुङ्गा अचानक भेटिएको क्षणिक खुशीको विम्ब मात्र हो। निचुलेको जीवनको यिनै घटनाक्रमलाई केन्द्रमा राखे पनि सम्पूर्ण शरणार्थीको कथा हो नाटक 'हरियो ढुङ्गा' जो आशा र बाध्यताको भुमरीमा अल्झिएका छन्। उनीहरुसँग नाम, जात, बुआ-आमा सबै छन् तर स्थायी ठेगाना छैन, राष्ट्रियता छैन। नियमहरु पनि उनीहरुको विरुद्ध छ जसले नेपालमै जन्मिएर, यतै हुर्किएकालाई पनि नेपाली स्वीकार्दैन। किनकि उनीहरु शरणार्थी क्याम्पमा जन्मिएका हुन्छन्।
सरकार र निकायहरु केन्द्रिय पात्र निचुलेजस्तै मौन रहन्छ। यस्तोमा प्रकृति पनि भुटानी शरणार्थीकै लागि कठोर ठहरिन्छ किनकि गिट्टी कुटेर केही रकम कमाउनेहरुको पसिना र रगत मिसिएको गिट्टी सबै रतुवा खोलाले बगाएर लान्छ।
भुटानी राष्ट्रिय गान बजेलगत्तै सुरु हुने नाटकमा शरणार्थीहरु नारा लगाउँछन् - 'नेपाल सरकार बोली देउ, भारत सरकार बाटो देउ, भुटान सरकार माटो देउ।' तर उनीहरु सुनिँदैनन्। नारा लगाउने मुख्य व्यक्ति हुन् कार्साङ (अनिल सुब्बा)। उनी निचुलेभन्दा फरक छन्। उनी बोल्न सक्छन्, चिच्याउँछन्, कराउँछन्। जो भुटान फर्कने या त नेपालमै मर्ने अठोट लिएर पुनर्बासको लागि विदेशिने फारम भर्ने पक्षमा छैनन्।
भविष्य सुनिश्चित गर्नका लागि, छोराछोरीको शिक्षा दिक्षाका लागि, काम गर्न र खानका लागि विदेशिने शरणार्थीहरुको भिडमा आफ्नो हक अधिकारको नारा लगाउने शरणार्थीहरुको प्रतिनिधित्व कार्साङले गरेका छन्। तर पनि उनीहरु न नेपालको भए न भुटानको। पुनर्बासको नाममा फेरि अर्को कुनै देश जानुलाई उनीहरु समाधान मान्न सक्दैनन्। कार्साङसँग प्रश्न छ - 'भुटानबाट नेपाल आयौं। नेपालबाट अमेरिका जाउँला। तर अमेरिकाबाट कता जानु?' यो प्रश्कको जवाफ भेट्दैनन्। त्यसैले पुस्ताको मुल भएकै कारण, भेष, भाषा, संस्कृति मिल्ने भएकै कारण कार्साङ, लाक्पाहरुजस्ता पात्र नेपालमै बस्न चाहन्छन्। उनीहरुमा एउटै मात्र डर छ 'मर्ने बेलासम्म क्याम्प रित्तिन्छ कि भन्ने'। बरु विदेश मोहले लादेका केही नेपालीले नै भने क्याम्पका शरणार्थीसँग विवाह गर्छन र तताउँछन् बाटो युरोप, अमेरिकाको।
बाध्यता, आशा, दु:ख, पीडा, कष्ट, एक्लोपन, पारिवारिक वियोगबीच पनि रहँदै आएको सद्भाव, एकता र सरल जीवनशैलीको कथा भन्छ 'हरियो ढुङ्गा'ले।
कथाकार उपेन्द्र सुब्बाले यथार्थ कथालाई शब्दमा उतारेका हुन्। जुन निचुले पात्रलाई जङ्गलमा रुपान्तरण हुँदै गरेको बेलडाँगी क्याम्पभित्रको झुपडीमा एक्लो भेटिन्छन्।
'ज्ञ'को प्रस्तुती रहेको ‘हरियो ढुङ्गा’लाई सुनील पोखरेलले निर्देशन गरेका हुन्। नाटकमा विपिन कार्की, सुनिशा बजगाँई, आभाष अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दीपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात वाँस्कोटा, अर्जुन थापा, कृतिका भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ ।
मंसिर २९ गतेदेखि मञ्चन सुरु भएको नाटक पुस २२ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार १ बजेको अतिरिक्त सो सहित मञ्चन हुनेछ।