PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

विदेशी खेलाडी छाएको इपीएल : के पायो नेपाली क्रिकेटले?



गोविन्दराज नेपाल

विदेशी खेलाडी छाएको इपीएल : के पायो नेपाली क्रिकेटले?

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनल खेल भोलि शनिबार हुँदैछ। फाइनलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोली र शरद भेषावकरको टिम भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। इपीएलको यो दोस्रो संस्करण हो। 

पहिलो संस्करणमा कर्पोटरेट हाउसको नामबाट ६ टिम सहभागी थिए। दोस्रो संस्करणसम्म आइपुग्दा इपीएलमा धेरै परिवर्तन आयो।

यसपटक अक्सनबाट खेलाडी लिलामी भए। प्रत्येक टिमले ३ विदेशी खेलाडी टिममा राखेर खेलाए पनि। टिमहरु पनि फ्रेन्चाइज मोडलमा तयार पारियो। नेपालको डोमेस्टिक क्रिकेटमा पहिलो पटक मैदानको साइडमा लाइभ स्क्रिन राखियो र त्यसैबाट थर्ड अम्पाएरको प्रयोग भयो। यस्तै खेलाडी बस्न मैदानको साइडमा डगबउट बनाइयो।

सहभागी ६ टिममा गरेर कूल १८ विदेशी खेलाडीले खेले। बीचमा केही खेलाडी परिवर्तन भएपछि इपीएलमा खेल्ने विदेशी खेलाडीको संख्या २१ पुग्यो। विदेशी खेलाडी भारत, पाकिस्तान, श्रीलंका र हङकङबाट आएका थिए। यसमा बाबर हायत अंशुमन राथ सबैभन्दा प्रभावकारी देखिए। यस्तै इस्रारउल्लाह, जयकिसन कोल्सावाला, पुनित बिष्ट लगातय खेलाडीले राम्रो छाप छाडे।

यस्तै हरेक टिमले १२ नेपाली खेलाडी राख्दा कूल ७२ नेपाली खेलाडीले इपीएलमा सहभागिता जनाए। त्यसमा ६ खेलाडी लोकल ट्यालेन्ट हन्टबाट छानिएका थिए। यद्यपि, त्यस कोटाबाट आएका कुनै खेलाडीले इपीएलमा बल र ब्याट समाउन पाएनन्। भलै उनीहरु सयौँ खेलाडीबाट उत्कृष्ट हुँदै छानिएका थिए। 

इपीएलले विशेषगरी नेपाली क्रिकेटप्रेमी र दर्शकलाई फरक स्वाद दियो। मैदानमा पुग्नेले पनि सस्तो टिकट काटेर खेल हेर्न पाए। मैदान नपुग्नेलाई घरमै टेलिभिजन लाइभ थियो। अनि नेपाली खेलाडीसँगै विदेशी खेलाडी खेलेको हेर्ने अवसर। अर्को नेपालमा भएको डोमेस्टिम टुर्नामेन्टमध्ये आइसीसीको मान्यता पाउने यो नै पहिलो प्रतियोगिता बन्यो। 

तै पनि शनिवार र बिदाका दिनबाहेक अन्य दिन दर्शकको उपस्थित धेरै हुन सकेन।

इपीएलमा विदेशी खेलाडीले दबदबा कायम राख्दा नेपाली खेलाडीको प्रदर्शन सोचेभन्दा तल रह्यो। स्टार खेलाडीहरु चल्न सकेनन्। महँगोमा बिकेका खेलाडीले आफूलाई न्याय गर्न असफल रहे। यस्तै अक्सनमै ६० खेलाडी मात्र बिकेका कारण नयाँ खेलाडीले अवसर नै पाएनन्। लोकल हन्टबाट आएकाले खेल्न पाएनन्। त्यही ६० जनाबाट अबको नेपाली राष्ट्रिय टोलीका खेलाडी छनोट हुन अवस्था आउन सक्छ। 

इपीएल खेलेका मध्ये नेपाली खेलाडीमा राम्रो प्रदर्शनन गर्ने युवा खेलाडीहरुमा आरिफ शेख, रोहित पौडेल रहे। आरिफ र रोहितले एकै टिम भैरहवाबाट खेले। भैरहवालाई फाइनल पुर्यारउन यी दुईले आफ्नो भूमिकालाई न्याय गरे।

यस्तै राष्ट्रिय टिमका बसन्त रेग्मीले फाइनलअघि १२ विकेट लिएर सर्वाधिक विकेट लिनेमा आफूलाई अगाडि राखेका छन्। तर आश गरिएका र टी-२० मा जम्न सक्ने मानिएका विनोद भण्डारी, प्रदिप ऐरी, सिद्धान्त लोहनी, आसिफ शेख जस्ता खेलाडी चल्न सकेनन्। यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सागर पुन, करण केसी, राजेश पुलामी मगर, मेहबुब आलम, राजु रिजाल, नरेश बुढाएर जस्ता खेलाडीले आफ्नो प्रभाव देखाउन सकेनन्। 

डेमेस्टिक क्रिकेट नभई रहेको अवस्था इपीएल जस्ता टुर्नामेन्टले नेपाली खेलाडीको स्तर कस्तो छ भनेर देखाएको छ। साथै कुन खेलाडी प्रदर्शन कस्तो छ भनेर पनि।

२०७३ साल वैसाख यता आइसीसीको निलम्वनमा रहेको नेपालको लागि इपीएल आइसीसीले मान्यता दिएको पहिलो नेपाली डोमेस्टिक प्रतियोगिता बन्यो।

इपीएललाई आयसीसीले मान्यता नदिएको भन्ने समाचार पनि सार्वजनिक भएको थियो। तर, आइसीसीले मान्यता दिएको पत्र आएपछि विदेशी खेलाडीले समेत निर्धक्क भएर खेले।

केही समयअघि टीयूमै भएको एसियन प्रिमियर लिग खेलेका कारण हङकङका अजवम अमजादले निलम्बनमा परेका थिए।

गत वर्ष कर्पोरेटको हाउसको नामबाट ६ टिमको सहभागिता भएको थियो। यसपटक अझ ब्यापक बनाउने क्रममा अक्सन समेत भयो। यस्तै पहिलो पटक मार्क्यु प्लेअर समेत राखियो। तर एउटा शहरको मार्क्यु प्लेअर अर्को शहरबाट खेल्दा केही केही दर्शक अलमल्लमा परे। 
पहिलो पटक पूर्ण रुपमा राष्ट्रिय रुपमा अक्सन गरिएको डिपिएल गत वर्ष भएको थियो।

दुवै प्रतियोगिता २० ओभरको भएकाले यसले ५० ओभरको गेमलाई सहयोग नपुग्ने समेत कतिपयको विश्लेषण छ। तै पनि इपीएल र डिपिएल जस्ता प्रतियोगिता निरन्तर भइरहने हो भने नयाँ आउने खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउँछन् भने खेलाडीले पनि राष्ट्रिय टिममा पर्न लडाई गर्छन्। यसो हुँदा उत्कृष्ट खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउनेछ।

मैदानमा खेलाडीहरु खेलिरहँदा नियमनकारी निकायमा बसेका क्रिकेटका नेताहरुभने जुँगाको लडाई गरेर बसिरहेका छन्। उनीहरुले आफ्नो हट छाड्ने र मेरो गोरुको बाह्रै टक्का भन्ने उक्ति छाड्ने हो भने नेपाली क्रिकेटको विकास हुन समय नलाग्ला।

नेपाल भन्दा झण्डै आधा दशकपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ल थालेको अफगानिस्तान टेष्ट खेल्ने भइसक्यो। उसले अर्को वर्ष भारतसँग पहिलो टेष्ट खेल्दैछ। पूर्व कप्तान मोहमद नावी र युवा स्टार रसिद खान जले गत वर्ष आइपीएल खेलेर विश्वभर चर्चा पाए। अहिले उनीहरु विश्वका हरेक लिग खेल्ने भइसके। हाल उनीहरु अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन्। अब नेपाली खेलाडीहरु पनि त्यता खेर्लेका हेर्ने चाहन राख्ने हो भने आजैबाट सुरुवात गर्नु जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell