PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

आज हुँदैछ इपीएलको फाइनल : गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै



गोविन्दराज नेपाल

आज हुँदैछ इपीएलको फाइनल : गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै

काठमाडौं : एभरष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्।

६ कर्पोरेट हाउसको नामबाट ६ टिम पहिलो संस्करणको इपीएल भएको थियो। यसपटक अक्सनबाट खेलाडी लिलामी, मार्क्यु प्लेअर र प्रत्येक टिममा तीन विदेशी खेलाडी सहित फ्रेन्चाइज टिम राखेर प्रतियोगिता भयो।

विराटनगर प्रतियोगितामा अपराजित रहदै फाइनल पुगेको हो। लिग चरणमा पाँच खेल जित्दै शीर्ष स्थानमा रहेको विराटनगरले पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गरेको थियो।

यता लिगमा विराटनगरसँग मात्र हारेको भैरहवा पहिलो क्वालिफायर्मा पनि विराटनगरसँग हार्यो। तर अर्को मौका (दोस्रो क्वालिफायर)मा ललितपुरलाई हराएपछि भैरहवाले तेस्रो पटक विराटनगरसँग भेट पक्का गर्दै उपाधि भिडन्त तय गरेको हो।

फाइनलअघि दुवै टीमका कप्तानले खेलका लागि तयार रहेको र यसअघिका नतिजाले असर नगर्ने बताएका छन्।

 

गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै

गत वर्ष इपीएल हुँदा शरद भेषावकर कप्तान रहेको तेज पञ्चकन्याले उपाधि जितेको थियो। तेजले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कलर्स एक्स फ्याक्टरलाई फाइनलमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो। त्यतिबेला पारसको कप्तानीमा रहेको विशाल वारियर्स भने फाइनल पुग्न सकेको थिएन।

त्यसअघि भएको ५० ओभरको नेपाल प्रिमियर लिग एनपिएलमा पनि शरदकै टिम तेज च्याम्पियन बनेको थियो।

आमिर अख्तर एण्ड टिमले गरेको प्रतियोगितामा शरद लगातार तेस्रो पटक फाइनल खेल्दैछन्। र उपाधिमा ह्याट्रिक गर्ने अवस्थामा छन्। एनपिएल देखि नै शरदको टिम तेजमा रहेका भुवन कार्की र आरिफ शेख अहिले पनि शरदको टिम भैरहवामा छन्। त्यसैले विराटनगरलाई हराउदै भैरहवाले उपाधि जित्न सके यी तीन खेलाडीले उपाधिमाथि ह्याट्रिक गर्न सक्छन्।

अर्को छुटाउनै नहुने प्रसङ्ग के भने गत वर्ष फाइनलमा शतक प्रहार गर्दै तेजलाई च्याम्पियन बनाएका आसिफ शेख भने यस पटक पारसकव टिम विराटनगर वारियर्सबाट खेल्दैछन्। अघिल्लो पटक च्याम्पियन बनेका ६ मध्ये ३ खेलाडी एउटा टिममा छन् भने तिन खेलाडी अर्को टिममा छन्। गत वर्ष च्याम्पियन बनेका आसिफ, पुष्प थापा र करण केसी यसपटक विराटनगरको टिममा छन्। यसबाहेक गत वर्ष एउटै टिम कलर्सबाट फाइनल खेलेका अभिनास कर्ण र हरीशंकर शाह पनि यस पटक फाइनल खेल्दैछन् फरक टिमबाट। हरीशंकर शरदको टिम भैरहाबाट खेल्नेछन् भने अभिनास पारसको टिम विराटनगरबाट खेल्दैछन्।

समग्रमा गत वर्ष फाइनल खेलेका ८ खेलाडी यसपटक फाइनल खेल्दैछन्। दुवै टिममा ४-४ खेलाडी छन्।

एनपिएलमा खेलेका अधिकाँश खेलाडी नै गत संस्करणको इपीएलमा खेलेका कारण लगातार दुई उपाधि जित्ने धेर थिए। तर यसपटक अक्सनबाट खेलाडी छनोट भएका कारण शरदको टिममा गत वर्ष उपाधि जितेका ३ खेलाडी मात्रै सँगै भएका हुन्।

एनपिएल र पहिलो संस्करणको इपीएल जोहरा स्पोर्ट्स म्यानेजमेन्ट कम्पनी (जेएसएम)ले गरेको थियो। यसपटक आमिर अख्तरले छुट्टै कम्पनी इपीएल प्राली मार्फत प्रतियोगिता गरेका छन्।

यसैगरी शरद र पारसले घरेलु क्रिकेटमा एक आपसमा फाइनल खेल्न लागेको यो लगातार दोस्रो टी-२० प्रतियोगिता हो। गत वर्ष धनगढीमा भएको धनगढी प्रिमियर लिग डिपीएलमा पनि यी दुई कप्तानको टिम एकआपसमा भिडेको थियो। जसमा पारसको टिम चौराह धनगढीले शरदको विराटनगर किंग्सलाई रहाउँदै उपाधि जितेको थियो।

अहिले शरदसँगै खेलेका आरिफले उक्त प्रतियोगितामा चौरहाबाट खेल्दै च्याम्पियन बनेका थिए। उक्त प्रतियोगितामा पारससँगै उपाधि जितेका रामनरेश गिरी अहिले पारसकै टिममा छन्। यस्तै शरदको टिमबाट खेलेका आसिफ शेख, अनिल शाह र प्रनित थापा मगर पनि अहिले पारसको टिममा छन्।

घरेलु क्रिकेटको तिन वटै प्रतियोगितामा उपाधि जित्दै ह्याट्रिक गरिसकेका आरिफ शेह अहिले अर्को उपाधिको खोजिमा हुनेछन्।

 

विराटनगर वारियर्स  : पारस खड्का (कप्तान), बसन्त रेग्मी, करण केसी, अभिनास कर्ण, आसिफ शेख, अनिल कुमार शाह, राम नरेश गिरी, प्रनित थापा मगर, सुमित महर्जन, आकाश विष्ट, दिपेश कँडेल, पुष्प थापा, बाबर हायत, अंशुमन रथ, सहान अदिसा

 

भैरहवा ग्लाडिएटर्स : शरद भेषावकर (कप्तान), प्रदिप ऐरी, आरिफ शेख, भुवन कार्की, हरीशंकर शाह, दिपेश श्रेष्ठ, कृष्ण कार्की, प्रकाश केसी, भुपेन्द्र थापा, रोहित कुमार पौडेल, अभिनास बोहरा, पुनित मेहरा, राहुल यादव, प्रथम सालुन्के



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell