PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

त्यो अन्तिम दुई ओभर, जसले विराटनगरलाई इपीएलको च्याम्पियन बनायो

त्यो अन्तिम दुई ओभर, जसले विराटनगरलाई इपीएलको च्याम्पियन बनायो

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : क्रिकेट खेलको विशेषता नै छ की अन्तिम ओभर र विकेट बाँकी रहेसम्म खेलको नतिजाबारे भन्न सकिन्न।

त्यसै भयो एभरेष्ट प्रिमियर लिग इपीएल मा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीचको फाइनल खेलमा। नतिजा, विराटनगरले १ रनले खेल जित्दै उपाधि जित्यो। भैरहवा १ रनले पराजित हुँदै उपाधिबाट टाढा रह्यो।

कुनै समय भैरहवा आरामले गेम जित्ने अवस्थामा थियो। तर जब १५औँ ओभरमा कप्तान शरद तथा १७औँ ओभरमा प्रदिप ऐरीको विकेट झर्‍यो तब भैरहवाको विकेट झर्ने श्रृखंला रोकिएन। उता विराटनगरले पनि खेलमा आफ्नो स्थान बनाउँदै लग्यो।

१८औँ ओभरको समाप्तीसम्म १५० रनको लक्ष्य पछ्याएको भैरहवाले ४ विकेट गुमाएर १३९ रन बनाइसकेको थियो। त्यसबेला भैरहवालाई जितका लागि १२ बलमा ११ रन आवश्यक थियो। भैरहवाका खेलाडीहरु पनि एक समय जित आफ्नो पक्षमा थियो भनेर सोचिरहेका थिए। उता पारसको कप्तानीमा रहेको विराटनगरलाई अंशुमन रथको एकै ओभर निकै महँगो गर्दा खेलमा फर्कन कठिन भइरहेको थियो। रथको आठौँ ओभरमा भैरहवाका कप्तान शरदले ३६ रन बनाएका थिए।

तर १९औँ र २०औँ ओभर बलिङ गर्दा विराटनगरका कप्तान पारसले निकै संयमता अपनाए। १९औँ ओभर पारसले आँफै बलिङ गर्ने निर्णय गरे। क्रिजमा थिए भैरहवाका दुई उत्कृष्ट युवा स्टार आरिफ शेख र रोहित कुमार पौडेल। रोहितले दुई खेलमा एकल प्रयासमा भैरहवालाई जिताइसकेका थिए भने आरिफले प्रतियोगिता ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। यस्तोमा भैरहवाका कप्तान शरद पनि ढुक्क नै थिए होला। सायद यही बुझेर नै पारसले आँफै बल फाल्ने निर्णय गरे।

पारसको पहिलो बलमा आरिफले रन लिन सकेनन्। दोस्रो बलमा पारसले आरिफ शेखलाई एलबिडब्लुको शिकार बनाए। त्यसपछि क्रिजमा पुगेका कृष्णलाई पारसले तेस्रो बलमा रन दिएनन्। चौथो बलमा कृष्णले एक रन लिदै रोहितलाई स्ट्राइक दिए। पाँचौ बल पारसले वाइड फाले। त्यसको अर्को बलमा रोहितले रन जोडेनन्। अन्तिम बलमा पारसले रोहितलाई पनि अनिलको हातबाट क्याच आउट गराउँदै पवेलियन फर्काए।

पारसले आफ्नो निर्णयलाई सहि सावित गर्दै क्रिजमा रहेका दुवै ब्याट्सम्यानलाई हटाए भने जम्मा २ रन मात्र खर्चे। सम्भवत पारसले यहीनेर विराटनगरलाई खेलमा फर्काइसकेका थिए भने भैरहवाको खेलमा केही आत्मविश्वास गुमिसकेको देखिन्थ्यो।

रोहित आउट भएपछि भैरहवाले ६ विकेट गुमाएर १४१ रन बनाएको थियो र जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो।

यस्तो अवस्थामा पारसले अर्को सुझबुझ निर्णय गरे अनिल शाहलाई अन्तिम ओभर बलिङ गर्न दिएए। त्यसअघि अनिलले दुई ओभर बलिङ गर्दा १२ रन खर्चेका थिए तर कुनै विकेट लिएका थिएनन्। अन्तिम ओभरमा भने उनले मिराकल नै गरिदिए। कप्तान पारसको निर्णयलाई सहि सावित मात्र गरेनन् भैरहवाका ३ खेलाडीलाई एकै ओभरमा आउट गरिदिए र १ रनको रोमाञ्चक जित दिलाए।

अन्तिम ओभरको पहिलो बलमै कृष्ण कार्कीले अनिललाई चौका प्रहार गर्दा भैरहवाले खेलमा फर्कने संकेत देखाएको थियो। भैरहवालाई जितका लागि ५ बलमा ५ रन आवश्यक थियो। तर अनिलले उत्कृष्ट कमब्याक गरे र दोस्रो बलमै कृष्णलाई बोल्ड आउट गरिदिए। त्यसपछि तेस्रो बलमा उनले स्ट्राइकमा रहेका भुवनलाई कुनै रन दिएनन्। भैरहवालाई जितका लागि ३ बलमा ५ रन आवश्यक बन्यो। चौथो बलमा भुवन कार्की रनआउट भएपछि भैरहलाई ५ रन जोड्नु पनि चुनौती बनिसकेको थियो। उसलाई अन्तिम २ बलमा ५ रन आवश्यक थियो। क्रिजमा थिए पुनित मेहरा र नयाँ ब्याट्सम्यान भुपेन्द्र थापा। यी दुई खेलाडीले रन हान्न सक्थे। तर अनिलले पाँचौ बलमा पुनितलाई सब्सिच्युट फिल्डर राम नरेशन गिरीबाट क्याचआउट गराउँदै भैरहवाका आठौँ विकेट झारिदिए।

त्यसपछि भैरहवालाई जितका लगि अन्तिम बलमा ५ रन आवश्यक भयो। यस्तोमा जित हात पार्न भैरहवाले छक्का हान्नुपर्ने थियो वा चौकाले पनि स्कोर टाइ हुने थियो। तर स्ट्राइकमा रहेका भुपेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन्। एक रन लिए, दोस्रो रन लिदा विराटनगरका खेलाडीले रनआउट गर्ने प्रयासमा पहिले नै स्टम्प निकाल्दा भैरहवाले अन्तिम बलमा ३ रन जोड्यो तर खेल जित्न सकेन। र १ रनले हार बेहोर्न बाध्य भयो।

उक्त जितपछि विराटनगरले च्याम्पियन बन्दै इपीएलको ट्रफीसँगै नगद २१ लाख पुरस्कार हात पार्‍यो भने उविजेता बनेको भैरहवाले नगद ८ लाख प्राप्त गर्‍यो।

विराटनगरबाट खेलेका हङकङका बाबर हायतले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै अपाचे आरटिआर २०० सय सिसीको बाइक प्राप्त गरे। भैरहवाका युवा स्टार रोहित पौडेल मोस्ट भ्यालुएबल प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए।



ट्रेन्डिङ पोस्ट

Ncell