PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री दर्जा पाउने मातृकाप्रसाद कोइराला पहिलो



प्रधानमन्त्री दर्जा पाउने मातृकाप्रसाद कोइराला पहिलो
इतिहासकार चित्तरञ्जन नेपाली। तस्बिरः एभेन्युज टिभी

चित्तरञ्जन नेपाली
नेपालको इतिहासमा राजाबाट औपचारिक (एवं शाब्दिक) रूपमा नै ‘प्राइममिनिष्टर’ दर्जा पाउने दोस्रा व्यक्ति थिए- जनरल जङ्गबहादुर कुवँर (पछि राणा)। त्यसो त उनले पनि माथवरसिंह थापाले जस्तै सुरुमा ‘मुख्तियार’ दर्जा नै पाएका थिए। उनले मुख्तियारी पाउँदा साथमा ‘कम्यान्डरइन्चीफ’को ओहदा पनि पाएका थिए।

कोतपर्वको तत्कालपछि जंगबहादुरले पाएको मुख्तियार’ दर्जाको सम्बन्धमा पनि पहिले भीमसेन थापा (एवं पदाधिकारीहरू)ले पाएको ‘मुख्तियार’ दर्जाको सम्बन्धमा जस्तै कतिपय विदेशी इतिहासकारहरू, अंग्रेजी भाषामा लेख्ने नेपाली इतिहासकारहरू एवं बृटिश रेजिडेण्टहरूले पनि आ-आफ्ना कृतिहरू, पत्र वा प्रतिवेदनहरूमा ‘मिनिष्टर वा प्राइममिनिष्टर वा ‘प्रिमियर’ शब्दहरू प्रयोग गरेका थिए। यता नेपाली भाषामा लेख्ने कुनै कुनै इतिहासकारहरूले ‘प्रधानमन्त्री’ शब्द प्रयोग गरेको पनि पाइएको छ।

यसै प्रसंगमा यहाँनेर यो कुरा उल्लेख गर्नु एकप्रकारले समीचीन नै हुनेछ होला- नेपालको आधुनिककालको इतिहासमा विभिन्न समयका महाराजाधिराजहरूले राष्ट्रप्रमुखको हैसियतमा विभिन्न व्यक्तिहरूलाई प्रशासनिक प्रमुखको पदमा नियुक्त गर्दा सुरुमा ‘मुख्तियार’ दर्जा प्रदान गर्ने गरेका थिए। पछि गएर तत्कालीन राजाले माथवरसिंह थापालाई पहिले ‘मिनिष्टर’ र पछि ‘प्राइममिनिष्टर’ दर्जा प्रदान गरेका थिए। तर उनी पछिका चौतरिया फत्यजंग शाहलाई पुन: ‘मुख्तियार’ दर्जा नै प्रयोग गरेका थिए।

यसरी नै जंगबहादुरलाई पनि सुरुमा ‘मुख्तियार’ दर्जा नै प्रदान गरी पछि मात्र ‘प्राइममिनिष्टर यान् कम्याण्डर इन्चीफ’ भन्ने दर्जा प्रदान गरिएको थियो। तत्पश्चात् राणाशासन अवधिभर प्रशासनिक प्रमुखलाई प्रदान गरिने दर्जा ‘प्राइममिनिष्टर यान् कम्याण्डर इन्चीफ’ नै कायम रह्यो।

एकपटक कम्याण्डर इन्चीफको स्थानमा ‘मार्शल’ले प्रवेश पाएको थियो। पछि गएर मार्शलको ठाउँ ‘सुप्रीम कम्याण्डर इन्चीफ’ ले लियो। यो बेहोरा अन्तिम राणा प्राइममिनिष्टर श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणाको प्रशस्तिसम्म यथावत् रूपमा कायम रह्यो। यसप्रकार राणाशासनका अवधिभर औपचारिक रूपमा ‘प्रधानमन्त्री’ शब्दको प्रयोगको सुरुवात भै सकेको थिएन भन्न सकिन्छ।

अझ बिडम्बना नै भनौं संवत् २००७ साल फागुन ७ गते राणाशासनको अन्त्यपश्चात् श्री ३ महाराज मोहनशमशेरको प्रधानमन्त्रित्वमा राणा कांग्रेसको संयुक्त प्रजातान्त्रिक मन्त्रिमण्डल गठन गर्ने प्रसंगमा तत्कालिन महाराजाधिराज श्री ५ त्रिभुवनवीरविक्रम शाहले गरेको शाही घोषणामासमेत मोहनशमशेरलाई ‘प्राइममिनिष्टर’ नै भनेर उल्लेख गरिएको थियो। यद्यपि कार्य विभाजनको प्रसंगमा उनलाई परराष्ट्रमन्त्री नै भनिएको थियो न कि फरेन मिनिष्टर।

नेपालको इतिहासमा औपचारिक रूपमा एवं शाब्दिक रुपमा नै ‘प्रधानमन्त्री’ दर्जा प्रदान गर्ने कार्य संवत् २००८ साल मंसिर १ गते नेपाली कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा मन्त्रिमण्डल गठन हुँदा गरिएको थियो।

यहाँ यो पनि उल्लेख गर्नु उपयुक्त नै होला- जंगबहादुरकालीन समयमा प्रशासनिक प्रमुखको रूपमा सुरुमा ‘मुख्तियार’ र पछि गएर ‘प्राइममिनिष्टर’ शब्दको प्रयोग भै नेपालीमा ‘प्रधानमन्त्री’ शब्दको प्रयोग भएको देखिँदैन। तर त्यसै पदको समानार्थक शब्दको रुपमा ‘वजिर’ शब्दको प्रयोग भने व्यक्तिगत चिठी पत्रमाका साथै औपचारिक रूपमा जारी भएका लालमोहर पत्रमा समेत उल्लेख भएको देखिन्छ।

बेलायत भ्रमणमा गएका प्राइममिनिष्टर जंगबहादुर राणाले नेपाल फर्कने क्रममा संवत् १९०७ साल भाद्र १ रोज ७ का दिन पेरिस मुकामबाट श्री ५ सुरेन्द्रविक्रम शाहको नाममा पठाएको अर्जी पत्रमा ‘... हामि वजिरहरूमध्ये ठुला बुद्धिमान वजिर भीमसेन थापा हुन्’ भनी तथा ‘... अंग्रेज बादशाहसँग तरवार गरि हजुरको नाउं राषनु मेरो वर्कत भएन ... तरवार गरिकन हजुरका मुलुक थामिकन कोहि हजुरका वजिर निस्क्या बडा असल हो’ भनी पत्रमा दुई तीन ठाउँमा ‘वजिर’ शब्दको प्रयोग गरेका थिए।

यसरी नै महाराजाधिराज सुरेन्द्रविक्रम शाहले संवत् १९१३ सालमा जंगबहादुर राणालाई कास्की र लमजुंगको ‘महाराज’ पदवी प्रदान गर्दा गरिदिएको लालमोहर पत्रमा पनि ‘... तिमिले यसतो षरषाही गरेको देषिनाले तिमिले वजिर छोडयो भन्या मैले गद्दी छोडौंला भनी कसम षायाको थियो तिमिले वजिर छोडन आउँदा मैले कसम षायाको भुल्यो ...’ भनी दुईतीन ठाउँमा ‘वजिर’ शब्दको प्रयोग भएको देखिन्छ।

(प्रस्तुत सामग्री इतिहासकार चित्तरञ्जन नेपालीद्वारा लिखित ‘जङ्गबहादुरको कथा’ पुस्तकमा रहेको ‘राजेन्द्रको राज्यच्युति’ लेखको अंश हो। इतिहासको पुस्तक भएकोले लेखक नेपालीले पुस्तकमा आफ्ना तर्कको प्रमाणका लागि ‘फूटनोट’ को प्रयोग गरेका छन्। तर हामीले यहाँ फुटनोट संलग्न गरेका छैनौं। उनले ‘जनरल भिमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकका लागि २०१३ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। - पहिलोपोस्ट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell