गाउँले परिवेश, एक युवतीसँग दुई केटाको प्रेम, विवाहको पारिवारिक चर्चा, कथित माथिल्लो र तल्लो जातबीचको मित्रता, दु:ख, गुनासो, पीडा पोख्ने भट्टी, सहरबाट गाउँ पस्ने 'गुण्डा', एउटा रमाइलो गीत, हास्यव्यङ्ग्य। फिल्मको यस्तै परिवेशहरु सुन्दा लाग्छ यो सन् २०१३ र २०१५ मा सार्वजनिक 'कबड्डी' वा 'कबड्डी कबड्डी'को कुरा हो। तर शुक्रबार सार्वजनिक फिल्म 'मिस्टर झोले' हेर्दा पनि ठ्याक्कै त्यही परिवेश र शैली प्रयोग देखिन्छ। रामबाबु गुरुङले कबड्डीमार्फत नेपाली फिल्मलाई दिएको 'फरक स्वाद' कबड्डी कबड्डी हुँदै मिस्टर झोलेमा दोहोरिएको, तेहेरिएको भान हुन्छ।
दुई घण्टा लामो फिल्ममा पात्रहरुको पल्टन यताबाट उता गर्छन्। तर फिल्मले के कथा भन्छ प्रष्ट छैन। सहरबाट गाउँ छिरेका पूर्णे (दयाहाङ राई) र कर्णे (प्रविन खतिवडा) एकै युवती नानीमैयाँ (दीया पुन) सँग प्रेम गर्छन्। खुलेर प्रेम व्यक्त गर्ने कर्णे दर्जी हुन्छ। उसँग नानीमैयाँको जात मिल्दैन। तर आमा (अरुणा कार्की) ले औंसीमा जन्मिएकी नानीमैयाँसँग बिहे गर्नु हुँदैन भनेकाले पूर्णेले भने प्रेम जताउदैन। पूर्णे नानीको फूपु चेला पनि हुन्छ। फूपु चेला विवाह गर्ने चलन र राजनीतिक घटनाक्रमको प्रस्तुति थियो रामबाबुको फिल्म कबड्डीको दुई संस्करण।
अर्को कथा गुणप्रसाद (बुद्धी तामाङ) र कमली (वर्षा राउत)को। उनीहरु एउटै स्कूलमा पढाउँछन्। गुणप्रसादले कमलीलाई मन पराउँछ। तर जब सहरबाट फिरन्ते गुण्डा (विजय बराल) पस्छ तब घटनाहरुमा ट्विस्ट आउँछ।
राजनीतिबाट टाढा छ मिस्टर झोले।
बैंकले घर लिलाम गर्ने डरबीच बाँचेकी पूर्णेकी आमाको कथा छ जसको श्रीमान मुग्लानबाट कहिले पनि फर्किएनन्। भट्टी चलाउने पम्फा र अविवाहित बसेकी कर्णेकी छिमेकीको कथा पनि छ।
जातभातको कथा छुन्छ, अन्धविश्वासको कथा छुन्छ, गरिबीको कथा छुन्छ, प्रेमकथा पनि छुन्छ। यी सबै विषयको सतही प्रस्तुती गरिएको छ। कुनै पनि विषय र पात्रको न पृष्ठभूमि बलियो लाग्छ. न कथा र निचोड। समग्रमा अचार नै अचार मात्र राखेको थालजस्तै हो मिस्टर झोले। दर्शकले धेरै कथाको अलि अलि स्वाद त पाउँछन् तर अघाउँदैनन्। कमजोरी कथा/ पटकथाको संरचनामा झल्किन्छ। खोइ कथामा क्लाइमेक्स? खोइ आवश्यक द्वन्द्व? पात्रहरु घुमी मात्र राख्छन् कहीँ पुग्दैनन्। केही पाउँदैनन्। सरल कथा भन्ने होडले त फिल्मलाई कबड्डीकै तेस्रो संस्करण जस्तो बनाएको छ। रामबाबु गुरुङको पुरानै फर्मुलामा बनेको नयाँ नामको फिल्म जसको स्वाद अब नयाँ बाँकी रहेन।
संवादले भने दर्शकलाई फिल्मसँग बाँधी राख्छ। किनकि जब पात्र बोल्छन् तब दर्शक हाँस्छन्। हास्य जानराको फिल्ममा दर्शक हसाउनकै लागि अनुहार बङ्ग्याउने, भद्दा मजाक गर्ने, द्विअर्थी संवाद बोल्ने प्रवृत्तिबाट भने रामबाबु गुरुङ टाढै छन्।
चार झोलेहरु- पूर्णे, कर्णे, गुण र फिरन्ते गुण्डाको अभिनय कलाले भने दर्शकलाई निराश पार्दैन। अरुणा कार्की र पुस्कर गुरुङले सधैंजस्तै आफ्नो चरित्रलाई न्याय गरेका छन्। तर यी पात्रहरुले जबरजस्ती कास्कीतिरको लवजमा बोल्ने प्रयास गर्छन् जुन प्रयास फिल्म अवधिभर टिक्दैन।
रामबाबु गुरुङ निर्देशकको रुपमाभन्दा पनि लेखकको रुपमा चुकेका छन्। कथामा नयाँपन दिन नसक्नुले उनको दर्शकलाई खुशी पार्दैन। कथाबाहेक गाउँको परिवेशलाई सजीव चित्रण गर्न गुरुङले मेहनत भने गरेका छन् जसमा कलाकारको साथ पनि प्रशस्त देखिन्छ।
प्रविधिको विकास र फिल्ममा लगानीले प्राविधिक पाटोमा कमजोर फिल्म देखिन छोडेका छन्। मिस्टर झोलेमा पनि त्यस्ता कमजोरी देखिंदैनन्। कमेडी फिल्ममा किन चाहियो गाम्भिर्यता भन्ने दर्शकका लागि हो 'मिस्टर झोले'। किनकी हल बाहिर निस्किएपछि फिल्मले कुनैपनि विषयमाथि सोच्न बाध्य बनाउँदैन। रामबाबु गुरुङ आफ्नो सूत्रको ह्याङ्गबाट बाहिरिन सकेको भए 'झोले' फिल्मले छोडेको छापलाई न्याय गर्न सक्थे।