PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

​विपदसँग लड्न प्रार्थना होइन प्राथमिकता बुझौं



​विपदसँग लड्न प्रार्थना होइन प्राथमिकता बुझौं

  • रन्जीत आचार्य-
बिरालोले बाटो काट्दा बिरालोलाई गाली गरेर बाटो फेर्ने हाम्रो पुरानो बानी अब त्याग्नुपर्ने भएको छ। बिरालोलाई धन्यवाद दिंदै सुसूचित भएर सतर्कता अपनाउनु र पूर्व तयारी गरेर थप विपदबाट बच्नु नै आजको अपरिहार्यता भएको छ। 
 
२० औं वर्ष अघिदेखि नेपाल भूकम्पको अत्यन्तै जोखिम क्षेत्रमा छ भन्ने थाहा हुँदाहुँदै पनि हामीले त्यसको लागि केही पूर्व तयारी नै नगर्नु आज सामना गर्नुपरेको विपद परिस्थितिको कारक हो भन्दा अतिशयोक्ति नहोला। खाद्य सामग्रीको भण्डारण गर्ने होस् वा अस्थायी बसोबासका लागि चाहिने त्रिपाल जस्ता वस्तुको भण्डारण गर्ने होस् वा फेरि प्राथमिक चिकित्साकालागि चाहिने औषधि अनि उपयुक्त जनशक्तिको तैयारीमा होस् वा भूकम्पपछि उद्दारका लागि चाहिने अत्यावश्यक उपकरणहरुको उपलब्धतामा होस्, हाम्रो राज्य र सम्बन्धित निकायहरु यी सबैमा नराम्ररी चुकेकै हुन्।

हाम्रा पुर्खाले विभिन्न स्थानमा मन्दिर बनाएका शायद ती स्थानहरु भूकम्पको जोखिमबाट अलि बढी सुरक्षित भएरै पो हुन् कि बसोबास गर्न मिल्ने स्थानको बारेमा हामीलाई संकेत दिन पो हो कि भन्ने खुल्दुली लागेको छ अहिले। पहिलेदेखि नै बसोबास र खेती गर्ने जमिन छुट्याइएको थियो तर हामीले शहरको विस्तार गर्ने धुनमा यी कुराहरु बिर्सेर जथाभावी निर्माण गर्दै गयौं, हेलिकोप्टरबाट खाली स्थान खोजेरै भएपनि ठूला ठूला निर्माण योजनालाई स्वागत गर्‍यौं।
 
राजधानीमा सयौं यस्ता स्थान छन् जहाँ भूकम्प आएपछि जम्मा हुने खुल्ला ठाउँ नै बाँकी छैनन्। समयमै सम्बन्धित निकायहरुले ती यस्ता विषयमा ध्यान पुर्‍याएको भए शायद भूकम्प पश्चातको क्षति अहिले जति पनि हुने थिएन। भाग्यले साथ दिएरै मात्र होला यति ठूलो विपद पश्चात पनि क्षतिको अनुपात कम भयो भनेर सबैले आफुलाई सहानुभूति दिने मौका पाएका नत्र राजधानी लगायतका सबै क्षेत्रको बर्बादी थेग्न सक्ने शारीरिक र मानसिक क्षमता हामी नेपाली कसैमा हुने थिएन। 
 
७.८ रेक्टर स्केलको भूकम्प थेगेर अन्तर्राष्ट्रिय विमान स्थल सुरक्षित रहनु, राजमार्गहरु पूर्णतः संचालनमा रहनु र सबै संचारका माध्यम सुचारु रहनु हाम्रा लागि बरदान साबित भएका छन्। तर के हामी सधैं दैवी प्रकोपका लागि पनि प्रार्थना नै गरेर बस्ने हो त? कि प्रार्थनालाई भन्दा प्राथमिकतालाई रोज्ने हो। सधैं सधैं भाग्यमानी नहुन पनि सकिन्छ त्यसैले समय रहँदै प्राथमिकतामा पर्ने सबै उपाय अपनाउनु बेस होला।
मनसुन आउनुअघि नै काली गण्डकीमा पहिरोले बितण्डता मच्चाएको छ तर कालीगण्डकीलाई धन्यवाद दिनु पर्छ किनकि आउँदो मनसुनमा खेप्नु पर्ने पहिरो र त्यसले निम्त्याउन सक्ने विपदको उसले यो पूर्व सूचना दिएको हो।
 
राज्यका निकायहरुले यो संकेतलाई बुझेर यदि समय रहँदै सचेत नहुने हो भने आउने समयमा भाग्य हाम्रो साथमा नहुन पनि सक्छ। समय अत्यन्तै कम छ, भूकम्प पीडितहरुलाई अस्थायी  बसोबास मिलाउनु पनि उत्तिकै जरुरी छ तर यदि समय रहँदै भारी बर्षाले ल्याउने पहिरो र त्यसबाट हुन सक्ने क्षति प्रति सजग भएर पूर्व तैयारी नगर्ने हो भने आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हुनेछ।

पहिलो पटक गरेको गल्ती, गल्ती नै हुन्छ तर दोश्रो पटक पनि सोहि गल्ती दोहोर्‍याउने हो भने त्यो गल्ती होइन मुर्ख्याइँ हुनेछ। भूकम्पले विचलित बनाएको माटो कहाँ कहाँबाट खस्ने हो थाहा छैन तर जहाँ खसेपनि तुरन्तै के गर्ने र कसरी गर्ने भन्ने पूर्व तयारी भने अवश्य नै गर्नुपर्नेछ। स्थानीय बासिन्दालाई सजग र सचेत बनाउने, स्थानीय निकाय र सञ्चार माध्यमलाई परिचालित गर्नेदेखि लिएर जोखिममा रहेका स्थानमा खाद्य पदार्थ तथा औषधीहरु भण्डारण गर्ने जस्ता कार्य अहिले नै गर्नुपर्ने देखिन्छ।

हाम्रा विभिन्न स्थानहरुलाई जोड्ने मार्गहरु उच्च जोखिममा हुनेछन् साथै राजमार्ग पनि त्यत्तिकै जोखिममा हुने हुँदा अहिले देखि नै अत्यावश्यक सामाग्रीहरुको भण्डारण गर्नुपर्ने हुन्छ। यसो भन्दै गर्दा सर्वसाधारणले आ आफ्नो घर घरमा खाद्य वस्तु अनावश्यक रुपमा भण्डारण गरुन् भनेको चाहिँ पक्कै होइन, यदि राज्य आफैले पूर्व तयारी गरेमा सर्वसाधारणले त्यसो गर्नैपर्दैन।

भूकम्प पश्चात अस्थायी बसोबासको योजना गर्दा नै पहिरो जान सक्ने खतराजन्य स्थानहरुबाट स्थानीयहरुलाई स्थानान्तरण गराउन पनि राज्य र स्थानीय निकाय सजग हुनुपर्ने हुन्छ।
 
सरकारले स्थानीय निकायहरुलाई परिचालित गरेको र राहत कार्यलाई उनीहरु मार्फत नै अघि बढाएको कार्य सह्राहनीय छ, अब त्यसरी नै आउँदा दिनहरुमा आउन सक्ने विपदकालागि सोही स्थानीय निकायहरुलाई सजग र सचेत गराएर पूर्व तयारी गर्नुपर्ने हुन्छ।
 
आजको प्राथमिकतामा के के पर्छ भनेर शायद यस विषयका विज्ञहरुलाई धेरै ज्ञान होला, त्यसैले सम्बन्धित सरोकारवालाहरुले समयमै सजग भई प्राथमिकतामा पर्ने सबै उपायहरुलाई अविलम्ब अपनाएर निकट भविष्यमा आउन सक्ने विपदसँग लड्ने वातावरण बनाउने छन् भन्ने आशा गरौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell