PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

लालपुर्जा : निर्देशक नै अलमलिन्छन् भने फिल्म कस्तो हुन्छ? (समीक्षा) 



गोविन्दराज नेपाल

लालपुर्जा : निर्देशक नै अलमलिन्छन् भने फिल्म कस्तो हुन्छ? (समीक्षा) 

  • गोविन्दराज नेपाल -
जग्गा भागबण्डाको निहुँमा दुई दाजुभाइको झगडा नेपाली समाजको जिवन्त कथा हो। जिवन्त कथालाई पर्दामा उतार्दा धेरैखाले ट्रिटमेन्ट आवश्यक पर्छ किनकि दर्शकले पटकथा, अभिनय, प्रस्तुति सबैतिर ध्यान लगाएर हेरिरहेका हुन्छन्। विषयवस्तु आफ्नै वरपरको भएपछि दर्शकको अपेक्षा केही बढी नै हुन्छ। फिल्म 'लालपुर्जा'ले सौतेनी दाजुभाइ ओम नरसिंह (विपिन कार्की), तान्त्रिक (सौगाल मल्ल) बीच हुने जग्गा विवादको कथा भन्छ। 

जब यी दाजुभाइ बीचको कमजोर सम्बन्धको फाइदा उठाउन गाउँकै अन्य पात्र जगत कार्की (हरिहर शर्मा), श्याम (कमलमणि नेपाल) लगायतले षड्यन्त्र गर्छन् तब नयाँ घटनाहरु सिर्जना हुन्छन्। 

कथा सामान्य हुँदाहुँदै पनि अलमलिएको छ। प्रस्तुति अस्पष्ट। दर्शकलाई छाडौं, निर्देशक निगम श्रेष्ठ पनि फिल्ममा खोजिएको नयाँ प्रयोगबारे उस्तो जानकार देखिन्नन्। जानकार हुने थिए त कलाकारहरु मुख्य द्वन्द्वमा फोकस्ड हुन्थे। उनीहरुलाई कथा पनि भन्नु छ र फरक प्रस्तुति दिन प्रयोग गरिएको 'अक्षरगञ्ज' बारे पनि दर्शकलाई बुझाउनु पनि छ। पात्रहरु मितेरी गाउँमा हुन्छन्। उनीहरु सबै गाउँको नामलाई न्याय दिन लागिपर्छन्। 

यसर्थ निगम श्रेष्ठ निर्देशकको रुपमा चुकेका छन्। उनले पात्रलाई अभिनय गर्न लगाए, ती पात्रले चरित्र निभाए तर कथा भन्न सकेनन्। सौगात मल्लले खुट्टा दुखेको जनाउ दिन गरेको अभिनय त 'ओभर एक्टिङ' लाग्छ। अन्य केही दृश्यमा पनि उनी लाउड लाग्छन्। सौगात कुशल अभिनेता हुन् तर निर्देशकको निर्देशनलाई नकार्न नसक्दा लालपुर्जामा उनको फ्यान निराश हुनेछन्। 

ओभर एक्टिङकै शिकार भएका छन् हरिहर शर्मा, मिश्री थापा पनि। फिल्ममा अतिथि कलाकार भनिएका कुमार नगरकोटीको उपस्थिति अनावश्यक लाग्छ। लेखनमा पनि उनको गेस्ट भुमिका रहेको बताइएको हो। फिल्ममा नगरकोटीको स्वेर काल्पनिक कथा हावी छ। फिक्सन डिजाइनर नगरकोटी अक्षरहरुमै सुहाउँछन् फिल्म उनको विधा होइन। नगरकोटीकै पर्सनालिटीले डोमिनेटेड निर्देशक निगम श्रेष्ठले आफ्नो निर्देशकीय स्टाइल जोगाउन सकेनन्। न त एक कुशल लेखक नगरकोटीको स्टाइललाई न्याय गर्न सके। पात्रहरुको लक्ष्य अक्षरगञ्ज हो वा मितेरी गाउँमा रहेको त्यो जग्गा? यो विषयमा निर्देशक अलमलिएका छन्।

लालपुर्जा फरक छ। फरक भएर पनि कलात्मकरुपमा स्वीकार्न गाह्रो छ फिल्म। प्रयोग गरिएका भ्यान्टा, बैजनी रङ्ग, पटकपटक देखाइने ढल्कदो जुन आदीले के संकेत गर्छ वा के का प्रतीक हुन्? खुल्दैन। 

पर्पला पात्र (मेरुना मगर)सँग फिल्मको क्लाइमेक्स जोडिएको छ। तर, निर्देशकले पात्रको मनोविज्ञान, मानसिक द्वन्द्वभन्दा बढी उसको नाम प्रष्ट्याउनमा ध्यान दिएका छन्। 

अभिनय उत्कृष्ट गरेका छन् मेनुका प्रधान, कामेश्वर चौरासियाले भलै उनीहरुको भूमिका उति आवश्यक लाग्दैन। छायाकार, सम्पादक र संगीतकारले गरेको काम राम्रो छ तर केन्द्रीय द्वन्द्वमै निर्देशक अलमलिँदा उनीहरुको मेहनतले अर्थ राख्दैन। टर्न र ट्विस्टको नाममा अपत्यारिलो घटना जोडजाड पार्दा पटकथा झनै कमजोर बनेको छ। 

समग्रमा, फिल्म भौतिकवाद र अध्यात्मावाद मिश्रित कथाको प्रस्तुति हो, जहाँ निर्देशक, लेखक र पात्रहरु फिल्मको केन्द्रीय द्वन्द्वबारे प्रस्ट छैनन्। दर्शक पनि त्यही अन्यौलता रुमलिन्छन्। फिल्मको कथा र प्रस्तुति आकर्षक छैन तर हास्य संवादले, थोरै नै सहि, दर्शकलाई मनोरञ्जन दिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell