PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

सन्दीप लामिछाने अर्थात् ‘लिटिल च्याम्प’



गोविन्दराज नेपाल

सन्दीप लामिछाने अर्थात् ‘लिटिल च्याम्प’
फोटो : Cricket NSW

काठमाडौं : माइकल क्लार्क र सन्दीप लामिछाने, अनी पुबुदु दासानायके। यी तीनबीच के सम्बन्ध छ अब भनिरहनु नपर्ला।

पुबुदुले सन्दीपको प्रतिभा चिने, क्लार्कले सन्दीपको प्रतिभालाई खेर जान दिएनन्, अझै तिखारे। अनि अहिलेको बाटोसम्म ल्याइपुर्‍याउन सहयोग गरे। शेन वार्न अर्को छुटाउन नहुने नाम। जोसँग सन्दीपको तुलना हुन्छ, उमेरका कारण होइन खेलका कारण। सन्दीपको बलिङ स्टाइल वार्नको जस्तै छ भनेर विश्वका मिडियाले तुलना गरिसके।

सन्दीप लामिछाने जो १७ वर्षका भए, नेपालबाट इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बने अक्सनमार्फत। ११औँ संस्करणको प्रतियोगिताको लागि बेंगलुरमा भएको दुई दिने अक्सनको दोस्रो दिन आइतबार डेल्ली डेयरडेभिल्सले सन्दीप लामिछानेलाई २० लाख भारुमा किन्यो।

त्यसपछि सन्दीपको चर्चा भारतभरि फैलियो। नेपालमा त सन्दीप चर्चित छन् नै अब छिमेकी भारतले पछि नेपाली युवा स्टार सन्दीपको बारे थाहा पाउने मौका पायो।

सन्दीपको नाम अक्सनको लिस्टमा परेदेखि नै चर्चामा थियो। पहिलो चरणको खेलाडी दर्तामा नेपालबाट कुनै खेलाडी दर्ता भएका थिएनन्। तर दोस्रो चरणमा सार्वजनिक गरिएको लिस्टमा सन्दीपको नाम आयो। ५७८ मध्ये सन्दीप २७६औँ नम्बरमा थिए। अर्थात् अनक्याप्ड स्पीनरको तेस्रो लिस्टमा।

सन्दीपको नाम अक्सन हुने पालो दोस्रो दिन आयो। अक्सनर रिचर्ड म्याडलीले सन्दीपको नाम उच्चारण गरे। ‘वेल डन अ नेपलिज प्लेअर’ भने। त्यसपछि डेल्लीले बेस प्राइज २० लाको भाउ लगायो। अरु कसैले बिड गरेनन्। गरेको भए सन्दीप अझै महँगोमा बिक्थे। तै पनि बेस प्राइजमा बिक्नु सन्दीपको लागि ठूलो कुरो हो।

सन्दीपलाई टिममा भित्र्याएपछि डेल्लीको अक्सन टेबलका सबै व्यक्ति हँसिलो देखिन्थे। त्यहीँ थिए डेल्लीका नयाँ कोच रिक्की पोन्टिङ। पोन्टिङ र क्लार्कले अष्ट्रेलियाका लागि सँगै खेले। दुवैले वर्ल्ड कप जिताए आफ्नै कप्तानीमा।

सन्दीप अक्सनको लिस्टमा परेपछि क्लाकले ‘म कुनै फ्रेन्चाइजमा भएको भए सन्दीपलाई लिन कुनै ढिलाई गर्थिन’ भनेर ट्वीट गरेका थिए। सम्भवत क्लार्कका साथी पोन्टिङलाई यसले पक्कै छोएको हुनुपर्छ। जसले सन्दीपको आइपीएल यात्रा सम्भव गरायो।

अक्सन लिस्टमा छानिनुअघि सन्दीपलाई दिल्लीले नै अक्सनमा राख्न पहल गरेको कुरो समेत बाहिर आएको थियो। यदि त्यसो हो भने अब प्रमाणित समेत भएको छ।

सन्दीपको टिममा विश्वकै नाम चलेका हस्ती खेलाडीहरुको भिड छ। जसमा टी-२० का हार्ड हिटरहरु ग्लेन म्याक्सेवल, क्रिस मोरिस र कोलिन मनरो छन्। यस्तै फास्ट बलर खागिसो रबाडा देखि ट्रेन्ट बोल्ट अनी कोलकताबाट दुई पटक आइपीएल जितेका गौतम गम्भिर पनि। यति मात्र होइन यू-१९ विश्वकपमा सन्दीपले बलिङ गरेका भारतका युवा स्टार रिसव पन्त पनि त्यही टिममा छन्। अब सन्दीपको यी सबै खेलाडीसँग भेट्नेछन्। घुलमिल हुनेछन्। नेट प्राक्टिस गर्नेछन्। ड्रेसिङ रुम सेयर गर्नेछन्। धेरै कुरा सिक्नेछन्।

सन्दीपले अहिले नै आइपीएल खेलिसकेका छैनन्। उनी उमेरमा पनि धेरै युवा नै छन्। तर, खेल उनको जबरजस्त छ। विपक्षीको विकेट लिन माहिर छन्। आइपीएलमा छानिनु सन्दीपको लागि मात्र नभएर नेपाली क्रिकेटकै लागि एक माइलस्टोन हो।

तै पनि टिममा छनोट भएपछि पहिलो रोजाइमा खेल्ने इच्छा सबैको हुन्छ। सन्दीपको पनि त्यो चाहना आउन सक्ला।

तर, त्यसका लागि सन्दीपले अवसर पाउने/नपाउने त्यसका लागि आइपीएल हुने मिति समय कुर्नुपर्छ। सन्दीप विदेशी खेलाडीको कोटामा छनोट भएका हुन्। एक टीममा ८ सम्म विदेशी खेलाडी राख्न पाउने नियम छ र सन्दीपलाई डेल्लीले आठौँ विदेशी खेलाडीको रुपमा चुज गरेको हो। आइपीएलमा एउटा टिमले पहिलो रोजाइमा ४ विदेशी खेलाडी मात्र खेलाउन पाउँछ। डेल्लीको टिममा म्याक्सवेल, मोरिस, मुनरो, रबाडा, बोलटसँगै ब्याट्सम्यान ज्यासन रोए, अलराउण्डर ड्यानिएल क्रिस्टियन पनि छन्। यी मध्ये चार खेलाडीले मात्र एक पटककमा खेल्न पाउनेछन्। यस्तै अमित मिश्रा र सादिन निदम जस्ता स्पिनर पनि छन्। यसबाट सन्दीपको नाम पहिलो रोजाइमा आउनु नेपाली क्रिकेटको लागि अर्को गर्वको क्षणमा हुनेछ र सबै नेपाली त्यसैको प्रतीक्षामा छन्।

कुनै पनि घरेलु प्रतियोगिता नखेली एकैपटक यू-१९ विश्कप खेलेर ह्याट्रिक लिँदै सनसनी मच्याएका सन्दीपको भाग्यलाई हङकङको टी-२० ब्लिट्ज र माइकल क्लार्कको भेटले साथ दियो। हङकङ जाँदा कलाकर्सँगको भेट, क्लार्कले प्रशिक्षणका लागि अष्ट्रेलिया बोलाउनु अनि क्लार्कले निरन्तर प्रोत्साहन गर्नु सन्दीपको लागि विशेष रह्यो।

बंगलादेशमा भएको युवा विश्वकपमा १४ विकेट लिँदै सन्दीप सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहे।

चितवनको क्याम्पाचौरमा सन्दीपको बलिङबाट प्रभावित भएका तात्कालीन नेपाली टिमका प्रशिक्षक पुबुदुले सन्दीपलाई काठमाडौँसम्म लेराए। त्यसपछि सन्दीपले आफ्नो हतियार प्रयोग गर्दै अगाडि बढे। बाटोमा साथ पाउँदै गए। अनि विश्वकै सबैभन्दा चर्चित लिग आइपीएलको टोलीमा समावेश भए।

स्याङ्जामा जन्मेका सन्दीपलाई चितवनमा क्रिकेट सिकाउने काम भने राजु खड्काले गरेका थिए।

सन्दीपले २०७३ वैसाखमा डब्लुसिएल च्याम्पियनसीप अन्तर्गत घरेलु मैदानमा भएको नामिविया विरुद्धको खेलमार्फत् नेपालका लागि डेब्यु गरेका थिए। त्यसयता डब्लुसिएलमा ९ खेल खेल्दै उनले १२ विकेट लिए। त्यसयता नियमित रुपमा राष्ट्रिय टिमको सदस्य रहेका सन्दीप हाल डिभिजन टू को तयारीका लागि युएइमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell