PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

क्यानसामु जुन सम्मको डेडलाइन : निलम्बन फुकुवा कि क्यान नै खारेज?



गोविन्दराज नेपाल

क्यानसामु जुन सम्मको डेडलाइन : निलम्बन फुकुवा कि क्यान नै खारेज?

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले भनेअनुसार भएको भए नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)को निलम्वन सन् २०१७ को जुनमै फुकुवा हुने थियो।

तर, नेपाली क्रिकेट स्टेक होल्डरबीच सहमति हुन नसकेर विवाद कायमै रहँदा २०७३ वैशाख यता क्यान निलम्बन यथावत छ।
यसबीचमा आइसीसीका पदाधिकारी बारम्बार नेपाल आए। तर पनि नेपाली क्रिकेटको विवाद समाधान गर्न सकेनन्। समस्या जहीँको तहीँ रह्यो।

गत शनिवार फेरि एक पटक आइसीसीका उपाध्यक्ष इमरान ख्वाजासहितको टोली नेपाल आएको थियो। दुई सदस्यीय टोलीले आइतवार र सोमवार सल्लाहकार समिति, निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषदसँग छुट्टाछुट्टै छलफल गरेर फर्केको छ। 

आगामी फेब्रुअरीमा आइसीसीको बोर्ड बैठक बस्दैछ र त्यहाँ नेपालको बारेमा पनि छलफल हुनेछ। यस्तो अवस्थामा आइसीसीले यस पटकको भेटलाई अन्तिम हुने बताइसकेको छ। जसले गर्दा उक्त भेटमा नेपाली क्रिकेटसँग सम्बन्धित सबै पक्ष केही लचिलो रुपमा प्रस्तुतमात्रै भएनन् आगामी जुनसम्म विवाद समाधान गर्ने बचन पनि दिए। 

यसअघि पनि धेरै खालका सहमति हुँदै आएका थिए तर तिनको पालना भएन। सिधा भाषामा भन्ने हो भने - अबको सहमति पालना नभए नेपाली क्रिकेट नै खारेजको बाटोतर्फ अगाडि बढ्नेछ। 

मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सल्लाहकार समिति र निर्वाचित कमिटीले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेट विवाद समाधानतर्फ अगाडि बढेको र आगामी जुन सम्ममा निलम्वन फुकुवा हुने बतायो। उक्त पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशवकुमार बिष्ट, सल्लाहकार समितिका संयोजकमध्ये एक विनयराज पाण्डे र निर्वाचित क्यानका महासिचव तथा सल्लाहाकार समितिका सदस्य समेत रहेका अशोकनाथ प्याकुरेल उपस्थित थिए।

बिष्टको नाममा जारी एक विज्ञप्तिमा इमरान ख्वाजासँग नेपाली क्रिकेटमा देखिएको समस्या समाधान गरी प्रतिबन्ध फुकुवा गर्ने विषयमा केन्द्रित भएको उल्लेख छ। यस्तै विज्ञप्तिमा भनिएको छ 'छलफलका क्रममा नेपाली क्रिकेटमा देखिएका समस्या समाधानका लागि आइसीसीको प्रतिनिधि सकरात्मक रहेको पाइएको छ। नेपाली क्रकेटका सबै सरोकारवाला अब इमान्दार हो हुने हो भने नेपालको क्रिकेटमाथि लागेको प्रतिबन्ध फुकुवा हुनेमा विश्वस्त हुन सकिन्छ।'

'इमान्दार हुने भनेको के हो?' भन्ने सञ्चारकर्मीको प्रश्नमा बिष्टले भने, 'पछिल्लो दुई वर्ष जानेर वा नजानेर भूल हुँदा क्यान निलम्बनमा पर्योन। यसमा सबैको गल्ती छ। भाग लगाउँदा कम र बढी होला। त्यो घटनाले अहिले सबैले पाठ सिकेका छन्। राम्रो चेतना पाएका छन्। अब मिलेर जानुको विकल्प छैन। साँच्चिकै नेपाली क्रिकेटको भलो चाहने हो, राम्रो भएको हेर्ने हो भने हामी एकताबद्ध भएर जानुपर्छ। सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुको विकल्प छैन।'

उनले थपे, 'हामी गन्तव्यतर्फ जाँदै छौँ। अब त्यहाँ पुगेर निलम्बन फुकुवाको झण्डा गाड्नमात्र बाँकी छ।'

यसअघि क्यानको निलम्वन फुकुवा नजिक पुगे पनि सल्लाहाकर समितिले तयार पारेको विधान निर्वाचित समितिले संशोधनसहित आइसीसीलाई पठाएपछि विवाद बल्झेको थियो। सल्लाहकार समितिले बनाएको विधानमा निर्वाचित क्यानको विशेष साधारण सभाले केही बुँदामा संशोधन गर्दै पारित गरेको थियो। निर्वाचित क्यानका १७ जना सदस्यले आगामी साधारणसभामा स्वतः भाग लिन पाउने व्यवस्था संशोधित विधानमा गरिएको थियो। जसलाई आइसीसीले मानेन। त्यससँगै राखेपका ७ जना पदाधिकारीलाई बिना मताधिकार साधारण सभामा रहन पाउनुपर्ने व्यवस्था संशोधन गर्दा थपेर पठाइएको थियो जसलाई आइसीसीले स्वीकार गरेन। 

आइसीसीसँगको पछिल्ला छलफलमा आइसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित क्यानका १ जना रहने गरी मोनिटरिङ कमिटी निर्माण गर्ने र उक्त कमिटीले जिल्लामा भएका चुनावको मोनिटर गर्ने भन्ने सहमति भएको छ।

बिष्टले यसपटक आइसीसीका पदाधिकारीसँगको भेट विगतको भन्दा फरक रहेको र छलफलपछि सबैपक्ष खुशी रहेको समेत बताए। 
उनले विगतमा आफूहरुले क्यानमा हस्तक्षेप नगरेको र अब पनि नगर्ने बताए। 'हामीले हिजो हस्तक्षेप नगर्दा पनि आइसीसीलाई त्यो फिल भयो। अब हामी कुनै हस्तक्षेप गर्दैनौँ। हामी सकरात्मक छौँ र अब जिरो बाट अगाडि बढ्छौँ भनेका छौँ।' 

बिष्टले एकपटक आफ्नो पालामा क्यान निलम्वनमा परेका कारण यसको नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए।

अब निर्वाचित क्यानले छिट्टै विशेष साधारणसभा बोलाएर सल्लाहकार समितिले बनाएको पहिलेकै विधान पारित गर्ने र राखेपले पनि त्यसलाई स्वीकृती दिने उनले बताए। 

यसैगरी सल्लाहकार समितिका विनयराज पाण्डेले यसपटक आइसीसीले भनेको जस्तो भएमा क्यान निलम्बन फुकुवा हुने अन्यथा नेपाली क्रिकेट कहाँ पुग्छ भन्न नसकिने प्रतिक्रिया दिए। 

'यसपटक आइसीसीले उठाएका विषयलाई निर्वाचित कमिटी मान्न सहमत भएको छ। यदि त्यही अनुसार अगाडि बढ्ने हो भने आइसीसीले फुकुवा गर्छ। अन्य केही भएमा क्रिकेट कहाँ पुग्छ मलाई थाहा छैन,' पाण्डेले भने, 'अब अग्री गरेको कुरा एसेप्ट गर्नुपर्छ। यसमा सल्लाहकार समिति पनि सकरात्मक नै छ।' 

पाण्डेले जिल्लामा निर्वाचन हुँदा गतिलो मान्छे आउनुपर्ने बताए। 'एउटा प्रोपर मनिटरिङ कमिटी बनाएर जिल्लाबाटै सुरुवात भएन भने लङ टर्मका लागि केही हुँदैन। यदि हामीले त्यो फलो गर्यौ  भने हाम्रो स्वर्णयुग सुरु हुन्छ।' 

यस्तै निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले पनि जिल्लालाई थप शक्तिशाली बनाउँदै लैजान सुरुवातदेखि नै लागेको बताए।
यस्तै आइसीसीसँग अहिले भएको सम्झौता निर्वाचित कमिटीले पालना गर्नेमा विश्वास व्यक्त गरे। 'हाम्रो मुख्य चासो भनेको नेपालको निलम्वन फुकुवा नै हो,' उनले भने। यसअघि निर्वाचित कमिटीका कारण निलम्वन फुकुवामा वाधा भएको भन्ने आए पनि त्यो गलत रहेको बताए। 

'यदि सस्पेन्सन लिफ्ट हुन्छ भने हाम्रो कुनै अडान रहने छैन। हामी कुनै पनि कुरामा वाधक हुँदैनौँ,' उनले भने। 

तर, प्राविधिक र कानुनी रुपमा आफूहरु चल्ने उनको भनाई थियो। 'सबै जना लेगल रुपमै जानुपर्छ। कानुनलाई हामीले च्यालेन्ज गर्न सक्दैनौँ। भोलिको रुपमा कानुनी समस्या नआउने गरी अगाडि बढ्नुपर्छ,' उनले भने। यस्तै प्याकुरेलले अदालतमा रहेको मुद्दाबाट पनि निकास निस्कन्छ भने बाधक नहुने बताए। 'सबै कुरा मिल्छ भने हाम्रो मुद्दा वाधक हुनेछैन,' उनले भने। 

र, फेरि अन्त्यमा इमान्दार भएन भने के?
फेरि एकपटक बिष्टले भनेको इमानन्दाको प्रसंग। यदि सरोकारवाला निकाय इमान्दार भएन भने के हुन्छ त? बिष्ट भन्छन्, 'इमान्दार भएन भने अभिभावक राखेप पनि चुप लागेर बस्दैन। अंशवण्डा होला सबैले भाग पाउलान्। यदि केही भएमा राखेप त्यत्तिकै बस्दैन कठोर निर्णय लिन बाध्य हुन्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell