PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपालमा अब स्पोर्ट्स टुरिजमको विकास गर्नुपर्छ : टंक आङबुहाङ



गोविन्दराज नेपाल

नेपालमा अब स्पोर्ट्स टुरिजमको विकास गर्नुपर्छ : टंक आङबुहाङ
फोटो : आङबुहाङको फेसबुक

काठमाडौं : नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष टंक आङबुहाङ लिम्बुले अब नेपालमा स्पोर्ट्स टुरिजमको विकास गर्नुपर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङ प्रदेश सभा 'ख' को सदस्यमा निर्वाचित आङबुहाङले नेपालको अर्थतन्त्रको ३५ प्रतिशत रेमिटेन्सबाट भित्रिने गरेको बताउँदै स्पोर्ट्स टुरिजमबाट पनि उक्त लाभ लिन सकिने पहिलोपोस्टलाई बताए। 'स्पोर्ट्स टुरिजामको माध्यमबाट पनि हामी ३०/३५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सक्छौँ।'

उनले देश अब संघीयतामा गइसकेको कारण अब बन्ने नयाँ सरकारले तीनवटै तहबाट खेलकुदका कार्यक्रम सुरु गर्नुपर्ने धारण राखे। 'अब नयाँ सरकार बनेपछि स्थानीय तह, प्रदेश र केन्द्र सबै स्थानबाट खेलकुदको विकास लागि काम गर्नुपर्छ। यसले गर्दा युवा स्वरोजगारको लागि टेवा पुग्छ। मुख्य विषय भनेको रेमिट्यान्स बढाउन सकिन्छ।'

उनले नेपालमा सबै खालका भूभाग र हावापानी भएको कारण खेलकुदका लागि उपयुक्त स्थान बनाउन सकिने बताए। 'हामीसँग हिमाल, पहाड, तराई छ। खेलकुदसँग सम्बन्धित हुने व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्ड मिट गर्ने एकेडेमी, रंगशाला, कभर्डहलहरु बनायौँ भने विभिन्न खालका टुर्नामेन्टहरु गर्न सकिन्छ र यसबाट स्पोर्ट्स टुरिजमको विकास गर्न सकिन्छ।'

उनले नेपाली खेलकुद अब नयाँ ढंगबाट अगाडी बढ्नुपर्ने र त्यसका लागि खेलकुद ऐन परिवर्तन गर्नुपर्ने बताए। '२०४८ को खेलकुद ऐन पुरै परिवर्तन गर्नुपर्छ। यो धेरै कन्जरभेटिभ छ। यसलाई समयसँग परिमार्जन गर्दै लैजानुपर्छ। नयाँ ढंगबाट खेलकुदको बारेमा सोच्ने बेला आएको छ।'

यस्तै लिम्बुले क्रिकेटको प्रसङ्गमा नेपालका अन्य खेलमध्ये क्रिकेट धेरै अगाडी रहेकोले यसलाई विकास गर्न सबै खेलकुद निकाय लाग्नुपर्नेमा जोड दिए। 'अहिले राष्ट्रिय खेलकुमा १९० भन्दा बढी खेलकुद संघ दर्ता होलान् त्यसमध्ये पनि क्रिकेट सबैभन्दा अगाडी छ।' लिम्बुले भने, 'खेलकुद मन्त्रालय, राखेप लगायत निकायले अब क्रिकेटलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।'

 

भारतसँग सहकार्य गर्न सक्छौँ

टंक आङबुहाङले भर्खरै नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेलाई आइपीएलमा डेल्ली डेयरडेभिल्सले लिएको प्रसङ्ग उल्लेख गर्दै नेपालले भारतबाट खेलकुदमा ठूलो फाइदा लिन सक्ने बताए।

'हामी दुई देशबीच रोजीरोटीको सम्बन्ध छ। क्रिकेटको विषयमा हामीले भारतसँग सहकार्य गरेर अगाडी बढ्न सक्छौँ,' उनले भने, 'भारतीय दुतावासले प्रत्येक वर्ष नेपाललाई ५ करोड दिनसक्ने क्षमता छ। हामी आफैले त्यसलाई व्वस्थित गर्न सकेका छैनौँ। हामीले राम्रो कामका लागि सदुपयोग गर्ने हो भने वार्षिक ५ करोड लिन सक्छौँ।'

 

मुद्दा मामिला छाडेर मिलापत्र गरे क्यान फुकुवा हुन्छ

आङबुहाङले नेपाली क्रिकेटका स्टेकहोल्डरहरुले आफ्नो हट छाड्ने र मिलापत्र गरेर अगाडी बढे आइसीसीले क्यान निलम्वन फुकुवा गर्ने बताए।

'दुवै पक्षले मिलापत्र गरेर मुद्दा फिर्ता गर्ने दुवै पक्षले आइसीसीले भनेअनुसार विधान संसोधन गरेर नयाँ निर्वाचन गर्दै अगाडी बढे आइसीसीले निलम्वन फुकुवा गर्ने विश्वास छ।' लिम्बुले भने, 'मुद्दा मामिलामै अड्किरहने, मिलाउन नसक्ने हो भने आइसीसीले भनेअनुसार गर्न नसक्ने हो भने यस्तै भइरहन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell