PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

यी ६ नेपाली खेलाडी, जो पहिलोपटक नामिवियामा खेल्दैछन्



गोविन्दराज नेपाल

यी ६ नेपाली खेलाडी, जो पहिलोपटक नामिवियामा खेल्दैछन्

काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू खेल्न नेपाली टोली नामिविया पुगिसकेको छ। नेपालले सोमबार अभ्यास समेत गरेको प्रशिक्षक जगत टमाटाले जानकारी दिएका थिए।

नेपाली टोली दोस्रोपटक नामिविया पुगेको हो। यसअघि सन् २०१५ मा पनि नेपाल डिभिजन टू खेल्न नै नामिविया पुगेको थियो।

त्यसपटक खेलेका कप्तान पारस खड्कासहित ८ खेलाडी यसपटक पनि नेपाली टोलीमा यथावत छन्। अन्तिम १४ सदस्यीय नेपाली टोलीमा रहेका बाँकी ६ खेलाडी भने पहिलोपटक नामिविया पुगेका हुन्।

जसमा भर्खरै आइपीएलमा दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेका सन्दीप लामिछाने, यू-१९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीसँगै अनिल कुमार शाह, रोहित कुमार पौडेल छन्। यस्तै विकेटकिपर ब्याट्सम्यान दीलिप नाथ र फास्ट बलर ललितसिंह भण्डारी छन्।

यी ६ मध्ये यू-१९ का दुई स्टार अनिल र रोहितले मात्र नेपालको लागि डेब्यु गर्न बाँकी छ।

सन्दीप र दीपेन्द्रले घरेलु मैदानमा खेल्दै नेपालको लागि डेब्यु गरेका थिए। डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत २०१६ मा कीर्तिपुरमा भएको नामिवियाविरुद्धको खेलबाट सन्दीपले नेपालको लागि डेब्यु गरेका हुन् भने दीपन्द्रले २०१७ मा कीर्तिपुरमै भएको केन्याविरुद्धको खेलबाट नेपालको सिनियर टिममा स्थान बनाएका थिए।

रोहित र अनिल पहिलो पटक नेपाली सिनियर टोलीमा परेका हुन्। डब्लुसिएल २०१५-१७ अन्तर्गत युएईविरुद्धको अन्तिम दुई खेलका लागि अनिल वैकल्पिक खेलाडीको सूचीमा परेका थिए। पछि दीपेन्द्र सिंह ऐरी इन्जर्ड भएपछि अनिललाई उनको स्थानमा टिममा राखिए पनि खेल्न पाएनन्।

यसबाहेक दीलिप र ललितले भने त्यतिखेर युएईविरुद्धको खेलमार्फत नेपालका लागि डेब्यु गरेका थिए। ललितले सन् २०१४ मा यु-१९ एसिया कप खेलेका थिए।

सन् २०१५ मा नामिवियामा डिभिजन टू खेलेका सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, नरेश बुढाएर, भुवन कार्की र अमृत भट्टराई भने अहिले टिममा छैनन्। अमृत अष्ट्रेलियामा छन्। पछिल्लो समय टिममा पर्न असफल भइरहेका सुवास हातको चोट निको भएपछि खुकुरी टी-२० च्यालेन्जर्सबाट पुनरागमन गरिरहेका छन्। बाँकी चार खेलाडी प्रारम्भिक सूचीमै परेनन्। सागर पुन र विनोद भण्डारी नेपाली टोलीको नियमित सदस्य रहँदै आए पनि डब्लुसिएल च्याम्पियनसिपमा खराब प्रदर्शन गरेपछि टिममा पर्न असफल रहे। त्यसेको फलस्वरुप यु-१९ राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गर्दै गत डिसेम्बरमा भएको इपीएलमा समेत प्रभावशाली प्रदर्शन गरेका अनिल र रोहित अन्तिम टोलीमा स्थान बनाएका हुन्।

नामिवियामा पहिलो रोजाईमा परे यी दुईले नेपालको सिनियर टोलीको लागि डेब्यु गर्नेछन्।

अहिले टिममा रहेका करण केसी र आरिफ शेखले पनि दुई वर्षअघि नामिवियामा डिभिजन टू मै नेपालको लागि डेब्यु गरेका थिए।

नेपाली टिममा अहिले युवा खेलाडीको वर्चस्व छ। जसमा ५ खेलाडीमात्र (पारस, ज्ञानेन्द्र, शरद, बसन्त, शक्ति) एक दशकयता नेपालका लागि खेल्दै आएकामध्ये पर्छन्।

पहिलोपटक नामिविया जान लागेका ६ सँगै सोमपाल, करण र आसिफ सन २०१४ यता नेपालका लागि खेल्न सुरु गरेका खेलाडी हुन्।


डिभिजन टू को लागि नेपाली टोली २०१८

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, ललितसिंह भण्डारी, दीलिप नाथ, अनिल कुमार शाह, रोहित कुमार पौडेल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell