PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​दीपेन्द्रको चरित्र र जेठ १९ को रहस्यबारे तत्कालीन सैनिक सचिव यसो भन्छन्



  • विवेकप्रताप शाह-
जेठ १९ को त्यो कालो रातले राजा वीरेन्द्रको वंश नाश गरायो भने नेपालमा राजसंस्थाको इतिहासकै अन्त्य गरायो। त्यस रातको घटनाबारे आजसम्म पनि विभिन्न किसिमका अडकलबाजी हुँदै आएका छन्। त्यो घटना कसले गरायो ? कसरी भयो ?  र, किन गराइयो ? यस्ता धेरै प्रश्नहरु अनुत्तरित छन्। 

राजदरबार हत्याकाण्डको सुरूदेखि पछिसम्मका विभिन्न सत्य–तथ्य कुराहरुको आधार र मेरो जानकारीमा आएका सम्पूर्ण सूचनाका आधारमा उक्त घटनामा तत्कालीन युवराजाधिराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ। मलाई थाहा छ, आम रुपमा यो कुरा कदापि स्वीकार्य हुन सक्दैन। संसारलाई नै स्तब्ध पार्ने यो हत्याकाण्ड दुनियाँको नजरमा लोकप्रियताको शिखरमा चढिरहेका तत्कालीन युवराजाधिराजबाट भएको हो भनेर सामान्यतः कसैले पनि पत्याउनै सक्दैन। 

यसै सन्दर्भमा, राजदरबार हत्याकाण्डका पछाडि भावनामा बग्ने आम जनमानसले ठानेभन्दा बेग्लै गम्भीर रहस्य लुकेको छ भनेर चर्चा गर्नेहरुको सङ्ख्या पनि कम छैन। राजदरबार अर्थात् राज्यको महत्वपूर्ण निकायमा तीन दशक निरन्तर काम गरेको आफ्नो लामो अनुभवका आधारमा मलाई समेत उक्त घटनामा अवश्य पनि ‘व्यक्तिगत र राजनीतिक षड्यन्त्र’ छ भन्ने लाग्दछ। किनभने त्यस समयमा नेपालको राजसंस्था केही देशी तथा विदेशी शक्तिकेन्द्रका लागि अवाञ्छनीय बनिरहेको थियो। 

यसै क्रममा नेपालको राजसंस्थालाई सदाका लागि अन्त्य गर्नेबारे षड्यन्त्र भइरहेको भन्ने सूचना र विश्लेषण पनि हामीले नपाएको होइन। यस्तो बेला राजपरिवारभित्र चाहिँ युवराजाधिराजको विवाहको प्रसङ्गलाई लिएर पारिवारिक किचलो र विवाद उत्कर्षमा पुगिरहेको थियो।
युवराजाधिराज दीपेन्द्र र राजपरिवारमा पनि अरु सामान्य मान्छे या सामान्य परिवार सरहकै मानवीय कमी–कमजोरी अवश्य पनि थिए नै। राजदरबार हत्याकाण्डमा तिनै कमी–कमजोरीमाथि देशी तथा विदेशी शक्तिले खेलेको र तिनको षड्यन्त्र मिसिएको हुन सक्छ भन्ने मेरो निष्कर्ष छ। त्यसलाई बुझ्नका लागि राजपरिवारभित्र बढेको कलह, युवराजाधिराजको चरित्र र विवाहको प्रसङ्गबारे विस्तृत रुपमा चर्चा गर्नुपर्ने हुन्छ। 

म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्दथेँ। सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो, जब मैले राजप्रासाद सेवामा आवधिक शाही पाश्र्ववर्तीका रुपमा काम सुरू गरेको थिएँ। 

युवराजाधिराजलाई राजाका रुपमा हुर्काउने कुनै  संस्कार देखिनँ 

युवराजाधिराज सरकारको जन्म २०२८ असार १३ गते भएको हो। त्यस हिसाबले त्यति बेला सरकार तीन वर्ष पनि पुगिबक्सेको थिएन। दीपेन्द्र सरकार जन्मँदै राजा हुन जन्मेको। तर राजदरबारमा युवराजाधिराज सरकारलाई राजाका रुपमा हुर्काउने कुनै परिपाटी या संस्कार मैले देखिनँ। मैले सुनेको थिएँ, युरोपका राजतन्त्र भएका देशमा राजा बनाउन बच्चैदेखि त्यही अनुसारको शिक्षा–दीक्षा र तालिम दिइन्छ। त्यसका लागि अनुभवी र दक्ष विशेषज्ञको टिम बनाएर उनीहरुको ‘गाइडेन्स’ मा भावी राजालाई हुर्काउने गरिएको हुन्छ। तर म जति बेला नेपालको राजदरबारभित्र प्रवेश गरेँ, त्यहाँ त्यस्तो केही देखिनँ। बरू मलाई त्यहाँको पारा देखेर अचम्म लागेको थियो। 

पञ्चायती शासनकाल भएकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै देशको राजनीतिक, आर्थिक, प्रशासनिक तथा अन्य विभिन्न काममा व्यस्त भइबक्सन्थ्यो। पञ्चायत काल, त्यसमा पनि राजाको सक्रिय नेतृत्व। त्यो भएर राजा वीरेन्द्र पूरै व्यस्त। रानी ऐश्वर्यले राजाको काममा सहयोग पुर्‍याउनुपर्ने। सामाजिक काममा मौसुफको उस् तै व्यस्तता। त्यसो भएर दीपेन्द्र सरकार शाही रनरहरुको रेखदेखमा हुर्किबक्स्यो, जो सेनाका सिपाही हुन्। अनि नानीहरुले हेरे युवराजाधिराजलाई। न शाही रनर धेरै पढेलेखेका हुन्थे, न नानीहरु नै। विशेष संस्कार पनि उनीहरुमा हुँदैनथ्यो। उनीहरुको रेखदेख र हेरचाहमा युवराजाधिराजको बाल्यकाल बित्यो। त्यसबाट दीपेन्द्र सरकारले के सिकिबक्स्यो होला ?

एउटा सामान्य परिवारमा जन्मेको बच्चा आमा–बाबुको माया, ममता र रेखदेखमा हुर्किन्छ। तर सरकारले सानैदेखि आमा–बाबुको माया कस्तो हुन्छ भन्ने महसुस गर्न पाइबक्सेन। आमा–बाबुको सामीप्यबाट वञ्चित युवराजाधिराज त्यति बेला शाही रनर र नानीहरुबाट फुत्केर बाहिर निस्केपछि एडीसी अफिस आइबक्सन्थ्यो। त्यत्ति थियो सरकारको जाने, घुम्ने र खेल्ने ठाउँ। बाल्यावस्थामा कुनै पनि किसिमको शिक्षा, दीक्षा र तालिम थिएन युवराजाधिराजलाई। त्यो देख्दा अबको २१ औँ शताब्दीमा नेपालले कस्तो राजा पाउने होला भन्ने कुरा मेरो मनमा आउने गर्दथ्यो। 

म भर्खर दरबार गएको थिएँ, यो कुरा कसैलाई भन्ने कुरा पनि आएन। फेरि राजदरबारको कुरा। मैले पुरा ‘सिस्टम’ बारे त्यति धेरै अनुभव पनि पाएको थिइनँ। त्यो उमेरमा युवराजाधिराजलाई के कुरा सिकाउने ? अनि शाही रनरको ड्युटी के हो ? नानीहरुले के गर्ने र एडीसीले के–के गर्ने ? कामको कुनै बाँडफाँड थिएन। 

परपीडामा रमाउने दीपेन्द्र

त्यति बेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइरहेको थियो भने कुनै ठूलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने। फेरि सरकारले त्यसैलाई गालामा झापड हान्नुपर्ने, फेरि त्यो मान्छे भुइँमा लडेर रूनुपर्ने। अनि सरकार मज्जा लिएर हाँस्ने। सरकारमा बच्चा साथीलाई समेत झापड र मुक्का हानेर ढलाउनैपर्ने मानसिकता थियो। यस प्रकार सरकारमा ‘इगो’ र हठीपन बढ्दै गएको थियो। यसरी युवराजाधिराजमा सकारात्मक स्वभावको विस्तार नहुने देखिरहेको थिएँ मैले। त्यही उमेरका बालबच्चाका बीचमा सम्पर्क र प्रतिस्पर्धामा राखेको भए पनि राम्रै हुन्थ्यो। अनुभवी र विशेषज्ञको टिम बनाएर हुर्काएको भए त झनै राम्रो हुन्थ्यो। तर कहिल्यै त्यो सोचाइ दरबारमा भएन। 

... १० वर्षसम्म दीपेन्द्र सरकारको मानसिकता र व्यक्तित्व विकास जसरी भइरहेको थियो, त्यसबारे आफू सवारी ड्युटीमा भएका बेला मैले वीरेन्द्र सरकारलाई जाहेर पनि गरेको थिएँ। ठ्याक्कै त्यही कुरा पछि दीपेन्द्र सरकारले मसँग गुनासोका रुपमा व्यक्त गरिबक्सेको थियो। त्यसै कारण पछि गएर आमाबुबासँग सरकारको सम्बन्ध टाढिँदै गएको थियो। मैले सरकारहरुका बीचमा विचार र दृष्टिकोण फरक–फरक हुँदै गएको देखिरहेको थिएँ। खास गरी बडामहारानी ऐश्वर्यसँग सरकारको सम्बन्ध धेरै टाढा हुँदै गएको थियो। आमा–छोराको सम्बन्ध त नजिकको हुनुपर्ने हो, तर सरकारहरुबीच त्यसरी आत्मीय सम्बन्ध विस्तार भएन।

त्यसमाथि सरकारहरु दुवै जना कडा दिमागको (स्ट्रङ हेडड)। मैले भनेकै हुनुपर्छ भन्ने स्वभाव विकास भएको थियो युवराजाधिराज सरकारमा। त्यस्तै स्वभाव थियो बडामहारानी ऐश्वर्यको पनि। दुवै जना एकअर्कास“ग नझुक्ने र पटक्कै लचिलो नहुने। आमा–छोराबीच बच्चादेखि नै आत्मीयता, निकटता र माया–ममता नभएको परिणाम थियो यो। आमा–छोराबीचको सम्बन्ध भित्री रुपमा ‘प्राविधिक’ मात्र रहन पुगेको थियो। मैले दीपेन्द्र सरकारको पूरै जीवन देखेको छु। मौसुफको व्यक्तित्व कसरी विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु। सरकारको अस्वाभाविक उपध्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको अनुभूति, माया–प्रेमको तृष्णा, भावुकता, महत्वाकाङ्क्षा, नैराश्य, आवेग आदिलाई छर्लङ्ग देखेभोगेको छु। 

... दीपेन्द्र सरकार लोअर केजीदेखि कक्षा ३ सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कान्ति ईश्वरी शिशु विद्यालयमा अध्ययन गरिबक्स्यो। कक्षा ४ देखि सरकारलाई बूढानीलकण्ठ स्कुल भर्ना गरियो। सरकारलाई बोर्डर्स गर्नुका पछाडि सरकारको त्यही उपद्र्याह र हठी स्वभाव कारण थियो भन्ने मलाई लाग्छ। किनभने दरबारमा सरकारले तलदेखि माथिसम्म सबैलाई हैरानै पारिबक्सेको थियो। बूढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपध्रो घट्छ भनेको त झनै बढ्यो। युवराजाधिराजका हिसाबले पनि सरकारले स्कुलमा अरु विद्यार्थीको तुलनामा अलिक ज्यादा नै स्वतन्त्रता र अवसर पाइबक्स्यो । सरकारका बदमासी बढे। त्यही बेलादेखि नै रक्सी खान सुरू गरेको सूचना हामीले पाएका थियौं। ‘ग्याङ फाइट’ मा ‘टिम लिडर’ नै भएर गएको भन्ने खबर आइरहन्थ्यो। 

एक पटक सरकारका सहपाठीहरुको सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीसँग झगडा परेछ। अनि सरकार बूढानीलकण्ठ स्कुलका विद्यार्थीको ‘टिम लिडर’ भएर खेतैखेत हिँडेर सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीलाई कुट्न गइबक्सेछ। यसरी बूढानीलकण्ठ स्कुल गएपछि ‘म अरुभन्दा ज्यादा नै तगडा छु’ भनेर देखाउने र अरुलाई पिटेर ढाल्ने अवसर पाइबक्स्यो, जुन मनोविज्ञान सरकारमा सानो छँदादेखि नै प्रबल थियो। ‘बडिबिल्डर’, ‘बक्सर’ या ‘कराते एक्सपर्ट’ का रुपमा पनि सरकारले आफूलाई विकसित गरिबक्स्यो। सरकारको रूचि अनुसारकै सैनिक अधिकृत र प्रहरी अधिकृतलाई छानेर दरबारले प्रशिक्षक र एडीसीका रुपमा बूढानीलकण्ठ स्कुल पठाएको थियो। कहिलेकाहीँ छुट्टीका बेला राजदरबार सवारी हुँदा आफ्ना पाखुरा हामीलाई देखाउँदै ‘ए, तिम्रो कति सानो पाखुरा, हेर त मेरो...’ भनिबक्सन्थ्यो। 

आमाबुबासँग झनै दूरी बढ्यो

... जे होस्, बूढानीलकण्ठ स्कुल गएपछि दीपेन्द्र सरकारको आमाबुबासँग झनै दूरी बढ्यो। सरकारहरुले खर्चमा नियन्त्रण गरिबक्सेको थियो। तर युवराजाधिराजले अन्य कैयौँ स्रोत र उपायबाट खर्च जुटाउने गरिबक्सेको मैले थाहा पाएको थिएँ। युवराजाधिराजले आफ्ना आमाबुबाले दिएको खर्चले नपुगेर अन्यत्रबाट खर्च जुटाउन थाल्नु भनेको वास्तवमै चित्रण गर्न नसकिने अवस्था हो। त्यस्तो अवस्थाबाट एउटा मान्छेको सही व्यक्तित्व विकास कसरी हुन सक्थ्यो ? 

परपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो। दरबारमा उडिरहेको परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो। गुलेली लागेर परेवा भुइँमा खस्दथ्यो पनि। अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो। उडिरहेको कागलाई पनि गोली हानेर झार्ने। र, त्यसै गर्ने। कहिलेकाहीँ जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने। त्यसलाई तड्पाई–तडपाई मार्ने। 

... खास कुरा त्यति बेला के परेछ भने सरकारले सुप्रिया शाहलाई मन पराइबक्सेछ। सरकारले सुप्रियालाई ‘लभलेटर’ लेख्ने गरेको कुरा कुनै स्रोतबाट बडामहारानी सरकारले थाहा पाइबक्सेछ। सायद त्यसबारे बडामहारानी सरकारले युवराजाधिराजलाई भनिबक्स्यो, जुन कुरा दीपेन्द्र सरकारलाई मन परेन र मलाई  आफ्नो पीडा ‘सेयर’ गरिबक्सेको थियो। सुप्रिया सरकारसँगै पढ्ने त होइन, तर कक्षा ७ मा पढ्दादेखि नै दीपेन्द्र सरकारले सुप्रियालाई मन पराइबक्सेको थियो। 

... बडामहारानी सरकारबाट व्यक्तिगत रुपमा भन्दा पनि पारिवारिक नाताका हिसाबले दीपेन्द्र र सुप्रियाको वैवाहिक सम्बन्ध रूचाइबक्सेको थिएन। दीपेन्द्र र सुप्रिया दुई दिदी–बहिनीका नाति र नातिनी। सुप्रिया मुमा बडामहारानी रत्नकी आफ्नै दिदीकी नातिनी। त्यसै कारण सरकारबाट दीपेन्द्रको सुप्रियासँगको सम्बन्ध तोड्न चाहिबक्सेको थियो। आफ्नी मुमालाई मन नपरेको भए पनि युवराजाधिराजलाई चाहिँ त्यही केटीसँग सम्बन्ध राख्नुपर्ने। यो विषयमा सरकारहरुमा ‘इगो’ बढिरहेको थियो। बडामहारानी सरकार कुनै पनि हालतमा सुप्रियासँग विवाह हुनै नदिने अडानबाट विचलित होइबक्सेन। त्यति नजिकको नातामा विवाह गर्‍यो भने सम्बन्ध राम्रो हुँदैन, बच्चा पनि राम्रो जन्मँदैन भन्ने सरकारको जिकिर थियो।

मुमाले आफूलाई के ठानेको ?

‘सुप्रिया नट कम्पिनेन्ट टु दी क्वीन’ (सुप्रिया रानी हुन लायक छैन)  पनि भनिबक्सन्थ्यो। यसरी हुकुम भएको मैले पनि सुनेको छु। बडामहारानीले सोझै यसो भन्दा युवराजाधिराजलाई पटक्कै मन पर्दैनथ्यो र ‘ह्वाट डज सी थिङ्क अफ हरसेल्फ ? ह्वाट वाज सी बिफोर ?’ (मुमाले आफूलाई के ठानेको ? विवाह गर्नुअगाडि मुमाको के हालत थियो ?) समेत भन्ने गरिबक्सन्थ्यो, त्यो कलिलो उमेरमै। उता, सुप्रिया आफ्नै दिदीकी नातिनी भएकाले ‘युवराजाधिराजसँग सुप्रियाको विवाह ठीक हुन्छ, राम्रो हुन्छ’ भन्ने मुमा बडामहारानी रत्नको जोड थियो। यसबारे महाराजाधिराजका माध्यमबाट रत्नले दबाव दिने काम भइरहेको छ भन्ने पनि सुनिएको थियो। यस प्रकार राजा वीरेन्द्र मुमा बडामहारानी र बडामहारानीको दोहोरो दबावमा होइबक्सन्थ्यो। 

युवराजाधिराजले एसएलसी सकेलगत्तै सरकारको विवाहको चर्चा चलिरहेको थियो। बडामहारानीको कडा स्वभावका कारण राजपरिवारमा सितिमिति कसैले पनि सरकारको कुरा काट्नै नसक्ने। सबैले बडामहारानीकै लाइन लिने। सासू–बुहारीको कुरा नमिलेपछि वीरेन्द्र सरकारले कुनै पनि निर्णय लिन सकिबक्सेन। यो विषयलाई त्यतिकै छाडिबक्स्यो। युवराजाधिराजले सुप्रियालाई मन पराएको हिसाबले मुमा बडामहारानी रत्न र दीपेन्द्रको सम्बन्ध भने सुमधुर थियो। 

देवयानीसँग ‘अफेयर

... विवाहको प्रसङ्ग चल्दाचल्दै सन् २०४५ सालमा दीपेन्द्र सरकार उच्च शिक्षा अध्ययनका लागि बेलायतको इटन कलेज सवारी भयो। त्यहीँबाट ए लेभलको अध्ययन पूरा गरिबक्स्यो। देवयानी त्यति बेला बेलायतमै पढिरहेकी थिइन्। दीपेन्द्रको देवयानीसँग ‘अफेयर’ त्यहीँबाट सुरू भएको थियो। यसबीच सुप्रियासँगको सम्बन्धलाई पनि सरकारबाट निरन्तरता दिइबक्सेको थियो। यसरी दुई जनासँग एकै पटक ‘अफेयर’ चलेको थियो, दीपेन्द्र सरकारको। यो नयाँ कुरा थिएन। सानै उमेरदेखि सरकारको अनेक केटीसँग चक्कर थियो। सुप्रिया र देवयानीसँगको कुरा मात्र बाहिर सबैलाई थाहा भएको हो। 

बेलायतमा दीपेन्द्र सरकारका स्थानीय अभिभावक लर्ड क्यामवाइज हुनुहुन्थ्यो। उहाँसँग पशुपतिशमशेर जबराको पनि चिनजान थियो। लर्ड क्यामवाइज पशुपतिकी छोरी देवयानीका पनि स्थानीय अभिभावक हुनुहुन्थ्यो। क्यामवाइजका तीन छोरी थिए। तिनीहरुसँग युवराजाधिराजको सुमधुर सम्बन्ध थियो। यही क्रममा दीपेन्द्र सरकारको देवयानीसँग चिनजान भयो र ‘अफेयर’ सुरू भयो। त्यहाँ कुनै एडीसी खटाइएको थिएन। दीपेन्द्र सरकारलाई बिदामा कहिलेकाहीँ काठमाडौँ लिएर आउनुपर्‍यो भने बेलायतस्थित शाही नेपाली राजदूतावासका सैनिक सहचारीले ल्याउने–लैजाने गर्दथे। देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नपोल फर्केपछि पनि कायम गरिबक्स्यो। साथै सुप्रियासँग पनि। 

देवयानीसँग ‘अफयेर’ भएको थाहा भएपछि सुप्रियाको दीपेन्द्र सरकारसँग निकै खटपट भयो भन्ने पनि सुनिएको थियो। देवयानीका तर्फबाट चाहिँ कुनै गुनासो सुनिएन। देवयानी आधुनिक तथा खानदानी परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि। त्यसो भएर होला, उनका तर्फबाट कुनै पनि किसिमको गुनासो आएन। व्यवहारमा देवयानी धेरै हिसाबले माथिल्लो स्तरकी भएको सुनिएको थियो। सायद त्यही कुरा हेरिबक्स्यो होला दीपेन्द्र सरकारले।  

दुवैजनासँग सम्बन्ध भएर पनि अन्त्यमा देवयानीलाई विवाह गर्ने भन्ने टुंगोमा दीपेन्द्र सरकार पुगिबक्सेको देखिन्छ। तर यो कुरा त बडामहारानीलाई झनै मन परेन। सुप्रिया त मन परिरहेकी थिइनन् भने देवयानीलाई मन पराउने कुरै थिएन। मौसुफ मात्र होइन, मुमा बडामहारानी लगायत राजदरबारमा कसैलाई पनि यो मन परेन। देवयानीको मावली भारतमा थियो। भारतमा सम्बन्ध भएकी केटीसँग युवराजाधिराजको विवाह गराउनु हुन्न भन्ने विषयमा राजदरबारका सबैको एकमत थियो। दरबारले भारतसँग कुनै पनि पारिवारिक नाता सम्बन्ध जोड्नु हुन्न भन्ने मान्यता राजा महेन्द्रबाट विकास भएको हो। 

दरबारका भित्री कुरा विदेशीकहाँ नपुगोस् भन्ने मौसुफको उद्देश्य थियो। त्यसै आधारमा महेन्द्र सरकारले आफ्नो विवाह नेपालीसँगै गरिबक्सेको थयो भने आफ्ना तीन छोरा र तीन छोरीहरुको विवाह पनि एकै घरमा नेपालीसँगै गराइबक्सेको थियो।

‘योर क्राउन प्रिन्स इज म्याड, ही विल डाई ए डग्स डेथ’ 

देवयानीका मामिलामा दीपेन्द्र सरकार एकातिर र अन्य सरकारहरु अर्कातिर भएपछि यसले पारिवारिक कलहको रुप लिन पुग्यो। इटन कलेजमै पढ्दा दीपेन्द्र सरकारको एक जना जापानी केटीसँग अर्को अफेयर चलेको रहेछ। त्यहीं अरु केटीसँग पनि अनेक हिसाबले सरकारको चक्कर चलेको थियो भन्नेकुरा पछिसम्म सुनिन्थ्यो। त्यो जापानी केटीसँग भने निकै गहिरो सम्बन्ध रहेको थाहा भयो। उसले पछि धेरैपटक नेपाल आएर दीपेन्द्र सरकारलाई भेटिरहेकी थिई। कहाँकहाँ के के हुन्थ्यो, त्यो भने मलाई थाहा भएन। 

त्यतिबेला म वीरेन्द्र सरकारको एडीसी थिएँ। युवराजाधिराजका अरु नै छुट्टै दुईजना एडीसी थिए। सरकारका सबै कार्यक्रम उनीहरुले मिलाउँथे। सरकारको त्यो जापानी केटीसँग विवाहकै विषयमा निकै लफडा परेछ। किनभने सरकारले उसलाई पनि विवाह गर्छु भनिबक्सेको रहेछ। आखिरी पटक नेपाल आएका बेला त्यो जापानी केटीलाई एयरपोर्ट पुर्‍याउन दीपेन्द्र सरकारले एडीसी सेनानी गजेन्द्र बोहरालाई पठाइबक्सेछ। एयरपोर्ट पुग्ने बेलामा गजेन्द्रसँग त्यो केटीले के भनिछ भने, ‘योर क्राउन प्रिन्स इज म्याड। ही विल डाई ए डग्स डेथ।’ (तिम्रो युवराजाधिराज पागल हो। उसको मृत्यु कुकुरको जस्तै हुनेछ।) त्यसपछि त्यो जापानी केटी कहिल्यै नेपाल फर्केर आइन। सायद उसको बोली सत्य भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell