PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

डिभिजन टू : नेपाल आज केन्यासँग भिड्दै, के भन्छन् प्रशिक्षक टमाटा?



गोविन्दराज नेपाल

डिभिजन टू : नेपाल आज केन्यासँग भिड्दै, के भन्छन् प्रशिक्षक टमाटा?

काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ।

प्रतियोगितामा अहिलेसम्म ३ खेल खेल्दा २ जित हात पारेको नेपालको लागि शीर्ष दुईमा स्थान बनाउन आजको खेल महत्वपूर्ण छ।

उता केन्याले भने खेलेको दुवै खेलमा पराजय ब्यहोरेको छ र शीर्ष दुईको सम्भावना कायम राख्नलाई आजको खेल जित्नैपर्ने दबाबमा छ।

नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे विन्डहोकस्थित वन्डर्स मैदानमा हुनेछ।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले केन्याविरुद्ध राम्रो क्रिकेट खेल्ने बताए। 'हामीले ब्याटिङ गर्दा राम्रो गर्दै पूरै ५० ओभर ब्याटिङ गर्नुपर्छ। उनीहरुले पहिले ब्याटिङ गरे १४० भन्दा तल रोक्नुपर्छ।' टमाटाले पहिलोपोस्टसँग भने।

नेपालको ओपनिङ ब्याटिङले राम्रो सुरुवात दिलाउन नसकिरहेको बेला केन्याविरुद्ध टिममा केही परिवर्तन होला भन्ने प्रश्नमा टमाटाले भने, ‘कन्डिसन र विकेट हेरेर छलफल गर्छौँ अनी डिसिजन हुन्छ।’

टमाटाले नामिबियाको पिचमा ब्याटिङ गर्नै निकै चुनौतीपूर्ण रहेको समेत स्विकारे। ‘यहाँको पिच ब्याटिङ गर्न त्यति सहज छैन। सबै टिमले रन बनाउन स्ट्रगल गरिरहेका छन्।’

नेपाल र केन्याले ३ वर्षअघि नामिबियामै भएको डिभिजन टू मा पनि एकआपसमा खेलेका थिए। लिग चरण र प्लेअफ दुबैमा नेपाल केन्यासँग पराजित भएको थियो। केन्या लिग चरणमा ५ विकेटले तथा तेस्रो स्थानको प्लेअफमा १५ रनले विजयी भएको थियो।

त्यसपछि नेपाल र केन्याले डब्लुसिएल च्याम्पियनसिप पनि खेल्यो। नेपालको घरेलु मैदानमा भएको उक्त सिरिजमा दुबै टिमले १-१ खेल जितेका थिए। पहिलो खेल केन्याले डिएल मेथडमा ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा नेपालले पुनरागमन गर्दै केन्यालाई ७ विकेटले हरायो।

न्यूजिल्याण्डमा सन् २०१४ मा भएको वान डे वर्ल्ड कप क्वालिफायरको वार्म अफ म्याचमा केन्याले नेपाललाई १ विकेटले हराएको थियो।

गत वर्ष डिसेम्वरमा डब्लुसिएल अन्तर्गत युएई विरुद्ध खेल्नुअघि भएको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो।

 

नेपाल भर्सेस केन्या, हेड टु हेड

खेल : ४

नेपाल जित : १

केन्या जित : ३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell