PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

​काभ्रेमा विश्व खाद्य कार्यक्रमको चामल गुणस्तरहीन प्रमाणित



​काभ्रेमा विश्व खाद्य कार्यक्रमको चामल गुणस्तरहीन प्रमाणित

काठमाडौं: गुणस्तर तथा नापतौल विभागले विश्व खाद्य कार्यक्रमले काभ्रेपलाञ्चोक जिल्लामा वितरण गरेको चामल गुणस्तरहीन भएको बताएको छ।

विभागको खाद्य निरीक्षकको टोलीले महादेवस्थान ८ कुन्तावेशीस्थित गोदामबाट ल्याएको नमुना परीक्षण गर्दा खाद्य गुणस्तर अनुरुप नभएको पाइएको हो। विभागले बुधबार विज्ञप्ती जारी गरेर उक्त चामलहरु वितरण नगर्न जिल्ला दैवीप्रकोप उद्दार समितिलाई आग्रह गरेको जनाएको छ।


'विभागबाट खाद्य निरिक्षकहरुको एक टोलीद्वारा महादेवस्थान ८ कुन्तावेसीस्थित विश्व खाद्य कार्यक्रमद्वारा वितरित चामल गोदामको स्थलगत अनुगमन गरी नमुना संकलन गरिएको र गोदाममा रहेको ६१०० किलोग्राम चामल प्रयोगशाला परीक्षण प्रतिवेदन प्राप्त भएपश्चात् खाद्य गुणस्तरअनुरुप नपाइएकोले वितरण नगर्न जिल्ला दैवीप्रकोप उद्धार समिति, काभ्रेलाई जानकारी गराइएको।' विज्ञप्तीमा भनिएको छ।

विभागले न्युन गुणस्तरको चामलको बारेमा विश्व खाद्य कार्यक्रम नेपालका डेपुटी कन्ट्री डाइरेक्टरसँग छलफल गरी चामल फिर्ता लैजान निर्देशन दिएको बिभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।

विभागले भूकम्प पीडितलाई वितरण गर्न लगिएको धेरै खाद्य पदार्थहरु गुणस्तरहीन भएको पाइएको जनाएको छ। कास्की, मकवानपुर, पर्सा, झापा, बाँके लगायतका जिल्लामा विभिन्न खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि कतिपय खाद्य सामग्री जफत गरेको छ भने कतिपय वितरण नगर्न आग्रह गरेको छ।

बङ्गलादेश सरकारले पठाएको लगभग ५ हजार ३ सय ५० किलोग्राम चामल पानीले भिजेर ढुसीसमेत परेकाले उपभोगका लागि अनुपयुक्त भएको विभागले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell