PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नामिबियामा पूरा भयो लक्ष्य, अब चुनौती जिम्वावेमा



गोविन्दराज नेपाल

नामिबियामा पूरा भयो लक्ष्य, अब चुनौती जिम्वावेमा
फोटो : रमन शिवाकोटी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली लिग जुन लक्ष्यका लागि नामिबिया गएको थियो, त्यसमा सफल भएको छ। आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको शीर्ष चारमा अटाउन नसकेपछि डिभिजन टू मा घटुवा भएको नेपाल डिभिजन टू को शीर्ष दुईमा पर्ने लक्ष्यका साथ नामिबिया पुगेको थियो।

नेपालका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नामिबिया जानुअघि शीर्ष दुईको लक्ष्य रहेको र त्यसको लागि सक्षम भएको बताएका थिए।

डब्लुसिएल च्याम्पियनसिपबाट नेपालसँगै घटुवा भएका युएई, केन्या र नामिबिया तथा डिभिजन थ्री बाट बढुवा भएका क्यानडा र ओमानले डिभिजन टू मा प्रतिस्पर्धा गरेका थिए।

६ राष्ट्र सम्मिलित राउण्ड रोविन लिगमा शीर्ष स्थान हात पार्दै नेपालले अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरको बाटो तय गरिसकेको छ। यसले नेपालले अझै ठूलो स्तरका टिमसँग खेल्ने पाउने भएको छ नै धेरै सम्भावना र चुनौतीहरु पनि अगाडी ल्याएको छ।

नामिबियामा नेपालले कूल ६ खेल खेल्दा ४ खेलमा विजयी भयो। फाइनलसहित दुई खेल हार्‍यो। फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि नेपाल डिभिजन टू को उपविजेता बन्यो।

उपिवजेता बनेपछि नेपाल मार्च ४ बाट जिम्वावेमा हुने वर्ल्डकप क्वालिफायरको समूह बीमा परेको छ। जहाँ नेपालको भेट घरेलु टोलि जिम्वावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग हुनेछ।

नामिबियामा नेपालले जितेको ४ मध्ये ३ खेल अन्तिम ओभरमा पुगेर जितेको थियो। अझ दुई खेलमा त अन्तिम बल नै कुर्नुपर्‍यो जित हात पार्न।

पहिलो खेलमा नामिबिया विरुद्ध १३९ रनको सामान्य लक्ष्य नेपालले ९ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गर्‍यो। जसमा नायक बने बसन्त रेग्मी। उनले नटआउट २४ रन बनाए।

दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेपछि नेपाल शीर्ष दुईमा पर्न बाँकी खेल जित्नुपर्ने दबाब बढेको थियो। तेस्रो खेलमा युएईलाई ४ विकेट सजिलै हराएपछि नेपालले केही राहत पाएको थियो। तर त्यसपछि लिगमा केन्या र क्यानडालाई हराउन नेपालले धेरै मेहनत गर्नुपर्यो। केन्या र क्यानडा विरुद्ध नेपालले अन्तिम बलमा जित हात पारेको थियो। केन्या विरुद्ध रोहित कुमार पौडेल र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। यी दुईले ८२-५ को स्थितीबाट नेपाललाई जितसम्म पूर्‍याउन छैटौँ विकेटका लागि ८७ रनको साझेदारी गरे। सोमपाल कामीले अन्तिम बलमा २ रन लिदै नेपाललाई जिताए। रोहितले ४७ तथा आरिफले ४२ रन बनाए। केन्या विरुद्ध सन्दीप लामिछानेले १० ओभरमा ५ मेडन राख्दै २० रन मात्र खर्चेर ५ विकेट लिएका थिए। जुन लिस्ट ए मा नेपाली बलरको उत्कृष्ट प्रदर्शन बन्यो।

यस्तै क्यानडा विरुद्ध नेपाललाई १ विकेटको शनसनी जित दिलाउन दशौँ नम्वरमा ब्याटिङ गरेका करण केसीले शनसनी ब्याटिङ गरे। ४४ ओभरमा ९ विकेट गुमाएको नेपालका लागि करणले सन्दीपसँग दशौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै जिताए। उनले ३१ बलमा ३ चौका र ४ छक्कासहित नटआउट ४२ रन प्रहार गरे। उक्त जितसँगै नेपाल लिगको शीर्ष स्थानमा रहदै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको थियो।

नेपालले नामिबियामा मिश्रित प्ररद्शन गर्दा युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरे। यसै प्रतियोगिताबाट नेपालको लागि डेब्यु गरेका १६ वर्षीय रोहित कुमार पौडेलले सातौँ नम्वरमा ब्याटिङ गर्दै आफूलाई प्रमाणित गरे। कन्सिसटेन्ट प्रदर्शन गरेका रोहितले १४० रन बनाए। रोहित कप्तान पारस खड्का पछि नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो बने। उनले सबै खेलमा दोहोरो रन स्कोर गरेका थिए र उस्तो उपलब्धी हात पार्ने उनी एक्लो नेपाली खेलाडी बने। रोहितको रुपमा नेपालले लोअर मिडल अर्डरमा एउटा राम्रो ब्याट्सम्यान र गेम फिमिसर पाएको छ। उनी यू-१९ मा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा पुगेका हुन्।

यस्तै अन्तिम खेलमा नटआउट ११२ रन प्रहार गर्दै सर्वाधिक पारसले प्रतियोगिताकै सर्वाधिक २४१ रन बनाए। क्यानडा विरुद्ध गोल्डेन डकआउटलाई छाड्ने हो भने पारसको प्रदर्शन पनि राम्रो रह्यो। उनले बलिङमा समेत ३ विकेट लिए।

यस्तै युवा लेग स्पिनर सन्दीप लामिछानेले ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिए। उनी म्यान अफ दि सिरिज समेत चुनिए। ३ वर्षअघि नेपाल चौथो हुँदा कप्तान पारस म्यान अफ दि सिरिज भएका थिए। सन्दीपले केन्या र क्यानडा विरुद्ध खेल जित्दा बसन्त र करणला२ गतिलो साथ समेत दिएका थिए।

यसअघि बलिङमा प्रभाव देखाएका बसन्त रेग्मीलाई यसपटक बलिङमा सन्दीपले छायाँमा पारे। तर बसन्तले परेको बेला ब्याटिङबाटै जित दिलाए। यस्तै ३ वर्षअघि नामिबियै डेब्यु गरेका करण केसीले विकेट धेरै लिन नसकेपनि एकै खेलमा ब्याटिङबाट शनसनी पदर्शन गर्दै नेपाललाई जिताउँदै हिरो बने।

डिभिजन टू को तयारी गर्न युएईमा रहेका बेला सन्दीप आइपीएलमा छनोट भएपछि त्यसले पनि उनलाई आत्मविश्वास बढाएको प्रष्ट देखिन्थ्यो। उनलाई अक्सनमा दिल्लीले २० लाख भारुमा खरिद गरेको हो। जुन नेपाली क्रिकेट इतिहासमा पहिलो हो। यसको प्रभाव सन्दीपको प्रदर्शनमा पनि देखिन्थ्यो र उनले त्यसपछि दिएका प्रतिक्रियामा पनि कन्फिडेन्ट देखिन्थे।

नेपाल उपिवजेता बन्दै वर्ल्डकप क्वालिफायरमा छनोट भएपनि फाइनल खेल बाहेक अन्य खेलमा ब्याटिङ सोचेअनुरुप चल्न सकेन। पुरानै समस्या कायम रह्यो। ओपनिङमा नेपाल समस्या जहाँको त्यहि रह्यो। उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावर, दीपेन्द्र सिंह ऐरी र दीलिप नाथले सोचेजस्तो रन बनाउन सकेनन्।

नेपाली टोलीमा रहेका अनिल कुमार शाहले केन्या विरुद्ध डेब्यु गरेपनि खाता खोल्न सकेनन्। भेट्रान स्पीनर शक्ति गौचन र फास्ट बलर ललित सिंह भण्डारीले कुनै खेल खेल्न पाएनन्।

 

अबको बाटो

अब नेपालले दुई साता पछि नै वर्ल्डकप क्वालिफायर खेल्दैछ। नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक (सन् २००१ मा पहिलो) वर्ल्ड कप क्वालिफायर खेल्न लागेको हो। नेपालको लागि अब धेरै समय बाँकी छैन। क्वालिफायरमा अझै ठूला टिम हुने र उच्च स्तरका खेल हुने कारण नेपालले ब्याटिमा सुधार गर्दै पूरै ५० ओभर क्रिजमा टिक्नगरी खेल्नुपर्नेछ। त्यसका लागि सबैभन्दा पहिले ओपनिङ ब्याटिङबाटै सुधार गर्नुपर्नेछ।

वर्ल्ड कप क्वालिफायरमा नेपालले जिम्वावेसँग नै पहिलो खेल खेल्दैछ, मार्च ४ मा। अफगानिस्तान र हङकङ नेपालको चिरपरिचित प्रतिद्वन्दी हुन् भने स्कटल्याण्डविरुद्ध पनि नेपालले यसअघि सन् २०१४ को वर्ल्डकप क्वालिफायर र डब्लुसिएल च्याम्पियनसिपमा खेलिसकेको छ। नेपालको लागि जिम्वावे नै नौलो प्रतिद्वन्दी हो।

तर अन्य टिमहरुले पनि क्वालिफायरका लागि राम्रो तयारी गरिरहेका छन्। जिम्वावे र अफगानिसतानले वान डे सिरिज खेलिरहेको छ। यस्तै डिभिजन टू अघि स्कटल्याण्डले युएई र आयरल्याण्ड सम्मिलित ट्राइ सिरिज खेलेको थियो।

हङकङ तयारीका लागि अष्ट्रेलिया गएको थियो र अब दक्षिण अफ्रिका तयारि गर्दैछ।

नेपालले भने डिभिजन टू का ६ खेललाई नै तयारि मान्नुपर्ने बाध्यता छ। नेपालसँग अब एक हप्ताको मात्र समय बाँकी छ। क्वालिफायरअघि नेपालले फेब्रुअरी २७ मा युएई र मार्च १ मा हङकङसँग वार्मअफ म्याच खेल्नेछ। फेब्रुअरी २५ सम्ममा नेपालले आफ्नो टोलीको नाम घोषणा गरिसक्नुपर्नेछ। अहिलेसम्म नेपाल र युएईबाहेक अन्य ८ टिमले अन्तिम टोली घोषणा गरिसकेका छन्।

क्वालिफायरमा सहभागि १० टोलिलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। दुवै समूहको लिग खेलपछि शीर्ष ३ स्थानमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सपछि बढी अंक हात पार्ने दुई टोली फाइनल पुग्नेछ भने सन् २०१९ मा इंगल्याण्डमा हुने वर्ल्डकपमा छनोट हुनेछ।

यस्तै टेष्ट मान्यता प्राप्त चार टोली र नेदरल्याण्ड्स बाहेक बाँकी ५ मध्ये उत्कृष्ट ३ एसोसिएट टोलीले सन् २०२२ सम्मको लागि वान डे मान्यता पनि पाउनेछ। नेपालको हकमा वर्ल्डकप छनोट भन्दा पनि वान डे मान्यता हात पारेपनि ठुलो उपलब्धी हुनेछ।

चारवटै टेष्ट मान्यता राष्ट्र र नेदरल्याण्ड्स सुपर सिक्समा प्रवेश गरेको खण्डमा नेपालले आठौ स्थान हात पारे वान डे स्ट्यास पाउनेछ। त्यसका लागि समूह चरणको खेलपछि प्लेअफमा विजयी हुनुपर्नेछ। समूह चरणमा चौथो र पाँचौ हुने दुवै टिमले प्लेअफमा खेल्नेछन्। समूह ए को चौथो र समूह बी को पाँचौ तथा समूह बी को चौथो तथा समूह ए को पाँचौँ बीच प्लेअफ खेल हुनेछ। त्यसमा विजयी हुने टोलीबीच सातौँ र आठौँ तथा पराजित टोलीबीच नवौँ र दशौँ स्थानका लागि प्लेअफ हुनेछ।

यदी टेष्ट खेल्ने टोली र नेदरल्याण्ड्स नै सुपर सिक्समा पर्न असफल रहे नेपाल समूहको शीर्ष ३ मा रहदै सुपर सिक्समा प्रवेश गर्नुपर्नेछ वान डे मान्यता हात पार्न।

सुपर सिक्समा समूह ए को टोलीले समूह बी को ३ टोलीसँग तथा समूह बी को टोलीले पनि समूह ए का ३ वटै टोलीसँग खेल्नेछ। यसमा समूह चरणको अंक पनि गणना हुनेछ। त्यसपछि सुपर सिक्सको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

वर्ल्ड कप क्वालिफायरको अन्तिम दुई स्थानमा रहने टोलि पुन: डिभिजन टू मै झर्नेछ। यस बारे आइसीसीले भने केही निर्णय गरिसकेको छेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell