- स्वेच्छा राउत -
तीन रोपनी तीन आना जग्गामा फैलिएको कम्पाउन्डको बीचमा पहेलो रङ्गको दुई तले घर छ। घर वरपर फूल र बोट बिरुवा। श्रीजंग, उनकी पत्नी र सहयोगीमात्र यहाँ छन् त्यसैले सुनसान लाग्छ। ९० कटिसकेको शाह दम्पतीको यो कम्पाउन्डसहितको घरसँग जीवनका अमेट यादहरु छन्। हो, चलनचल्तीको भाउमा एक अर्ब रुपैयाँ बराबर पर्ने यही घरलाई उनीहरुले मरणोपरान्त अस्पतालका लागि दान गरेका छन्।
धनको स्वार्थले समाजको रुप फोहरी बनाइरहेको समयमा दानवीरको दृश्य हामीअगाडि थियो। धनका लागि जे पनि गर्न उद्धत समाजमा अर्बौको सम्पत्ति दानमा दिनु सितिमिति सुनिने विषय होइन। जीवनको उत्तरार्ध्दमा रहेका यो जोडीले यसलाई खुशी बाँडेको प्रतिक्रिया दिए।
'समाज र राष्ट्रका लागि केही योगदान' भन्दै उनको वंगला ‘श्रीकुञ्ज’ र जग्गा फत्तेबाल आँखा अस्पताललाई दान गरेको घोषणा गरेका हुन्। 'यो अस्पताल हाम्रो सन्तान जस्तै हो। आफ्नै सन्तानको विकास, विस्तार र आवश्यक सुधारका लागि सम्पत्ति दिएका हौं,' श्रीजंगले भने।
बुधवार श्रीकुञ्जमा पुग्दा रुद्रकुमारी सहयोगीका साहरामा थिइन्। केही वर्षअघि श्रीजंगलाई पनि हृदयघात भइसकेको छ। 'अहिले कस्तो हुनुहुन्छ?' हामीले यो जोडीसामु प्रश्न राख्यौं।
'शरीरलाई गाह्रो छ। धेरैको माया र साथले मन खुशी छ। त्यही खुशी बाँडेका छौं,' रुद्रकुमारी भावुक सुनिइन्। शरीर कमजोर भए पनि मन दरिलो छ उनको।
श्रीजंग केही फूर्तिलो पारामा देखिए। भने, 'छातीमा चिसो हुन दिन्न। अरु समस्या छैन। असल कर्ममा विश्वास गर्छु। बाँकी त समयले उठाउने र समयले बसाउने त हो।'
जाजरकोटका श्रीजंग शाह र डोटीकी रुद्रकुमारी। जीवनको सबैभन्दा लामो हिस्सा सँगै बिताएका छन् यिनले। श्रीजंगका हरेक काममा रुद्रकुमारीको साथ पनि रह्यो। घर जग्गा दान पनि त्यसैगरी संयुक्त गरे।
परेपछि खोजिएको उपाय
श्रीजंग शाह ९४ वर्षका भए। उमेरकै कारण हुनुपर्छ स्मरण शक्ति घटेको महसुस गरेका छन्। जीवनका धेरै महत्वपूर्ण घटना उनको स्मृतिबाट धमिलिँदै गएका छन्। तर, फत्तेबाल आँखा अस्पताल स्थापनासँग जोडिएको घटना भने उनको दिमागमा जरो गाडेर बसेको छ।घटना २०३८/३९ सालको हो। श्रीजंगकी आमा बालदिव्येश्वरी शाहको आँखामा समस्या आइपर्यो। हेर्न गाह्रो हुने। उपचार अनिवार्य थियो। तर उपचार केन्द्र थिएन। त्यस समय नेपालगञ्जमात्र होइन काठमाडौंमा पनि आँखा अस्पताल थिएन।
हेर्नमै समस्या आएपछि बालदिव्येश्वरी शाहलाई उत्तर प्रदेश सीतापुरको नेत्र चिकित्सा केन्द्र लगियो। त्यस समयको नामुद आँखा अस्पताल।
'मेरो मुमा त ठीक भएर फर्किबक्स्यो। तर, नेपालगञ्जमा त्यस्ता धेरै मान्छे थिए जो उपचार नपाएर आँखा देख्न नसक्ने भए। आँखाको रोग बोकेर बसे,' त्यतिखेरको घटना सम्झिए श्रीजंगले। एकातिर मानिससँग उपचारका लागि पैसा हुन्थेन, पैसा हुनेकै लागि पनि अस्पताल थिएन।
यस घटनाले उनको जीवन दर्शनमा नयाँ अध्याय थपियो – परेपछिमात्रै सम्भावनाको बाटो खोजिन्छ नत्र नाई।
'आफूलाई परेपछि समस्या बुझिने रहेछ र सम्भावनाको बाटो पनि खोजिँदो रहेछ,’ अलिक चर्को बोलीमा उनले सुनाए, ‘नपरुन्जेल न खोजिन्छ न सोचिन्छ।' कम सुन्ने भएकाले उनको आवाज चर्को हुनु स्वभाविक थियो।
'स्रोत र साधन उपलब्ध भए उपचार त आफ्नै ठाउँमा पनि त सम्भव होला भन्ने भयो। त्यसैले बुबामुमाले आँखा उपचारकै लागि आर्थिक एवं भौतिक सहयोग गर्ने निर्णय गरिबक्स्यो,' विगतलाई स्मृतिको पर्दाबाट बाहिर निकाले उनले।
श्रीजंगका बुबा फत्तेजंग शाह र आमा बालदिव्येश्वरी शाहले आफू बसेको २० कोठे घर र ३० कट्ठा जग्गा अस्पताल स्थापनाको लागि दिने भए। दानमा परिवार नै जुट्यो।
सरकारी सेवामा रहेका फत्तेजंगका कान्छा छोरा श्रीजंग भने काठाडौंमै थिए त्यतिखेर। यति ठूलो अपर्ण भइरहँदा आफ्नो योगदान के त? उनलाई त्यसैले घोच्यो। उनी नेत्रज्योति संघको सहयोगमा अस्पताल स्थापनाको तयारीमा आफैँ जुटे।
फत्तेबाल आँखा अस्पताल। नेपालगन्ज, फुल्टेक्रा। स्थापना २०४३ साल फागुन ११ गते। उनको स्मृतिबाट यो मिति मेटिएको छैन।
'लक्ष्य घरजग्गा सहयोग गर्नुमात्र थिएन। आँखा अस्पताल स्थापना गर्नु थियो,’ उनले सुनाए, ‘त्यसका लागि प्राविधिक र अन्य पक्षको जानकारी पनि उत्तिकै चाहिने। त्यसैले नेत्रज्योति संघको साथ लियौं।'
नेत्रज्योति संघले शाह परिवारलाई स्विस रेडक्रससँग सम्पर्क गरायो। र सुरु भयो फत्तेबाल आँखा अस्पताल। अहिले यो पश्चिमाञ्चलको सबैभन्दा ठूलो आँखा अस्पताल हो।
नेपालमा आवश्यक जनशक्ति र स्रोत साधन नभए पनि शाह परिवारको प्रयासलाई सफल पार्न स्विस रेडक्रसको सहकार्य रह्यो। अस्पताल स्थापनाको १० वर्षसम्म सहकार्य गर्ने सहमतिका साथ स्विस रेडक्रसले चारजना डाक्टर नर्सको टोली नेपालगञ्ज खटायो।
'असल कामका लागि साथ दिनेहरुको कमी नहुँदो रहेछ। हामीले धेरै संस्था र व्यक्तिहरुको साथ पायौं,’ उनले भने।
उनको परिवारले भोगेको पीडादायी अवस्था धेरैका लागि राहतको आधार बन्यो। ‘आम मान्छेले पाएको राहत नै हामीले पाएको खुशी हो,' उनले आनन्दित मुद्रामा सुनाए।
आफूले भोगेको पीडा अरुलाई भोग्न नपरोस् भन्दै योगदान दिएका उनका आमाबाबुले सन्तोषको सास फेर्दै धर्ती छाडे।
सामाजिक कल्याणकारी संस्थाको रुपमा स्थापित फत्तेबाल आँखा अस्पताल झांगिँदै गयो। १० वटा बेडबाट सुरु भएको अस्पतालमा अहिले दुई सय पचास बेड छ।
अस्पतालका लेखा अधिकृत जितबहादुर थारुका अनुसार वार्षिक एक लाख २० हजार बिरामी यहाँ आँखा परीक्षण गर्न आउँछन्। १२ हजारभन्दा बढीको अपरेशन हुँदै आएको छ। अस्पतालको बर्दियामा ३ शाखा छ। दुई शाखा महिनादिन भित्र खुल्दैछ। त्यस्तै दैलेख, सुर्खेत र डोल्पा लगायतका ठाउँमा गरी छ शाखा फैलिसकेको छ।
श्रीजंग भन्छन्, 'सामान्य औषधी उपचारका लागि शाखामै काम हुन्छ। तर मेजर समस्या भएकालाई केन्द्रमा रिफर गरिन्छ।‘
चिकित्सा क्षेत्र व्यापारिक थलो बन्दै गएको अवस्थामा अर्को रोचक पक्ष के छ भने आर्थिक रुपमा विपन्नलाई निशुल्क उपचार मात्र होइन, केन्द्रसम्म ल्याउनका पनि अस्पतालले खर्च बेहोर्छ।
‘भएको दिने, सकेको गर्ने न हो’
अहिलेको अवस्थामा पनि दुर्गम क्षेत्रमा काम वा सेवाका लागि जाने मान्छे कमै भेटिन्छन्। चाहे शिक्षक होस् वा डाक्टर - नर्स वा अन्य केही। फत्तेबाल आँखा अस्पतालमा पनि सुरुका दिनमा अवस्था उस्तै।'नेपालगञ्जमा अहिले पो मेडिकल कलेज खुल्यो त। त्यो बेला त न डाक्टर जान मान्ने न नर्स। त्यसैले हामीले छात्रवृत्ती दिएर पढाउँन सुरु गर्यौं। पढाई सक्काएपछि पाँच वर्ष आँखा अस्पतालमा काम गर्नु पर्ने शर्तमा,' उनले भने। आँखा उपचारसँगै महङ्गो मानिएको शिक्षा एमडीका लागि पनि छात्रवृत्ती प्रदान गर्नु अर्को उदाहरणीय योगदान। यो आँखा अस्पतालमा अहिले नेपालीमात्र होइन, भारतीय बिरामीको पनि घुइँचो लाग्छ।
'आफूसँग भएको दिने, आफूले सकेको गर्ने न हो। यसलाई म उस्तो ठूलो देन भन्दिन। मैले दिँदा पाएको खुशी र सन्तुष्टिको पनि त हिसाब हुन्छ नि,’ उनले भने, ‘जुन असीमित छ।‘
हुन पनि उनी खाली समयमा पढेर वा फूलवारीमा गोडमेलमै बिताउँछन्। २५ वर्ष भइसक्यो रिटायर्ड जीवन विताएको। किताब र फूल उनका दौतरी बने यसबीचमा। श्रीजंग गीता पनि पढ्छन् र बाइबल पनि। किनकि उनको लागि धर्म मान्छेसँगको सम्बन्ध र असल कार्य हो।
भन्छन्, 'गीताले र बाइबल दुवैले दिने ज्ञान हो। ती पुस्तक देउता अपनाउने माध्यम होइनन्।' त्यस्तै उनले महात्मा गान्धी र हिट्लर दुवैलाई पढ्छन्। किनकि उनको लागि हिंसा वा अहिंसा कसैले देखाएको बाटो नभएर आफ्नो सोच हो।
'खराब प्रवृत्ती भएकालाई फेर्न सकिन्न। बरु आफ्नो बाटो फेर्ने हो। मैले कुकर्मको बाटो नहेरी सत्मार्ग रोजेको हुँ,' उनले भने।
***
शाह खलकले सुरु गरेको अस्पतालमा धेरैको सहयोग थपिँदो छ। केही समयअघि भारतीय राजदूतावासले पाँच करोड सहयोग गरेको छ। अपरेसन थिएटर, वार्ड र ६ डाक्टर क्वार्टर बन्नेछ त्यसबाट। त्यस्तै बाँके जिल्ला विकास समितिले एक करोड दिएको छ। जिल्लाका बिरामीहरु मात्र राख्ने १२ कोठा निर्माण हुनेछ त्यसबाट। 'अस्पताल बिग्रेको भए त्यत्रो सहयोग दिन्छ कसैले?,' सफल कर्मको फलका रुपमा व्याख्या गर्दै भन्छन्, 'पक्कै पनि राम्रो गरेको छ। यो मेरो मात्र विश्वास होइन हजारौंले देखेको यथार्थ हो।'
बुबाले देखाएको सत्मार्गको बाटो
कलकत्ता विश्वविद्यालयबाट राजनीतिशास्त्र, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका श्रीजंग शाह त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट विभूषित छन्।पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत रहेका शाह विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्मेलनमा नेपालको तर्फबाट अल्टरनेट गभर्नरको रुपमा सहभागी समेत भए। त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन शाही नेपाल वायु सेवा निगमको निर्देशक - आफ्नो व्यक्तिगत जानकारी समावेश गरिएको ए फोर साइजको कागज उनीसँगै राख्छन्। ‘अब चाहिँ भेट्न र सोध्न आउने सबैलाई यो दिन थालेको छु।’
सत्मार्गको बाटो चाहिँ उनलाई बुबाले देखाएका हुन्। श्रीजंग शाहका बुबाले भनेका थिए, ‘खानदानलाई बदनाम गर्ने काम नगर्नु। दुःख गरी कमाएको सम्पत्ति कुपात्रको हातमा नपरोस्। त्यसले धर्म होइन पाप निम्त्याउँछ।’
धर्मको पथ निर्माणमा यही वचन नै उनको आदर्श बन्यो। त्यही आदर्शको उदाहरण हो – शाह परिवारको पछिल्लो दान।