PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रत्नपार्कमा आगलागी : ठूलो क्षतिबाट जोगियो राजधानी



  • मनोज सत्याल/अंगद ढकाल-
काठमाडौँ : बिहीबार राजधानीको मुटुमा रहेको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रमा आगलागी भयो। ३ बजेर २० मिनेटमा सुरु भएको आगलागी काठमाडौँ,भक्तपुर र ललितपुर नगरपालिकाका दमकलले एक घण्टामा नियन्त्रणमा लिए।
 
बागबजारतर्फ रहेको वितरण केन्द्रको प्रशासन र गोदाममा आगलागी भएको थियो। 

संवेदनशील ठाउँ

आगलागी भएको गोदाम र प्रशासन कार्यलयबाट बागबजारमा रहेको पेट्रोलपम्प २५ मिटरको दुरीमा थियो। आगलागी भयानक भएको अवस्थामा त्यसले पेट्रोल पम्पसमेत भेट्ने अवस्था थियो। विद्युत प्राधिकरणको रत्नपार्कस्थित कार्यलयको गोदाममा पुराना कागजपत्र र प्लास्टिक रबरका सामानहरु थिए। आगलागी सुरु भएको १५ मिनेटमै ठूलो स्वरुप लिएको थियो। 
 
बागबजारको पुरानो र घरैघरको बस्तीसँग जोडिएको छ रत्नपार्क वितरण केन्द्र। बागबजारमा जोडिएका र अग्ला भवनहरु थिए। आगलागी भएको अवस्थामा भित्रभित्रै सर्न सक्ने र दमकल जाने सडक समेत नभएको अवस्थामा त्यसले ठूलो स्वरुप ग्रहण गर्ने सम्भावना रहन्थ्यो।

 
आगलागी राति भएको अवस्थामा मात्रै पनि नियन्त्रणमा लिन समेत अप्ठेरो पर्ने अवस्था थियो। किनकि कार्यलय समयमा भएका कारण कर्मचारीले झट्टै प्रहरी र दमकलमा खबर गर्न सम्भव भएको थियो भने कतिपय सामानहरु बाहिर निकाल्न संभव भएको थियो। यसले क्षति कम हुन सघायो। 
 
आगलागी भएको प्रशासन र गोदामसँगैको कार्यालय जलेको अवस्थामा प्राधिकरणलाई ठूलो क्षति पुग्न सक्थ्यो। देशभरका सिस्टम र लेखा कार्यलय रहेको प्राधिकरणको भवन आगलागीबाट जोगिएको छ। 'सँगैको भवनमा सबै कम्युटर र नेटवर्किङका सामानहरु थिए, लेखा शाखा थियो, सबै कागजातहरु थिए, जोगियो', प्राधिकरणका रत्नपार्क वितरण केन्द्रका लेखा प्रमुख रमेश काफ्लेले पहिलोपोस्टसित भने।

कसरी भयो आगलागी?

आगलागी नियन्त्रणका लागि पुगेका सिंहदरबार प्रहरी वृतका डिएसपी सन्तोष खड्काले वेल्डिङको झिल्काबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए। वितरण केन्द्रका प्रशासकीय अधिकृत हरि गोविन्दले भने ताला बन्द रहेको कोठाबाट आगलागी भएको बताए।

'हामी गएर ताला खोल्न खोज्यौँ तर खुलेन, दमकलको १०१ मा फोन गरेको इन्गेज आयो। अनि १०० मा फोन गर्‍यौ, दिउँसै भएर सामान निकाल्न सकियो', उनले भने, 'हामीले फायर एस्टिङगुइसर लिएर गएर निभाउने कोशिस गर्‍यौँ तर के सक्थ्यौँ!'
 
आगलागी भएको १० मिनेटपछि दमकल पुगेको कर्मचारीहरुले बताए। 














@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell