फिल्मले सामान्यतया पात्रहरुमार्फत लेखकको सोच, भावना र विचार अभिव्यक्त गर्छ। प्राय: कथा तथा पटकथा लेखकले फिल्मको मूख्य विषय के हो भन्ने बारे दर्शकलाई प्रष्ट पनि पार्ने गर्छन् ताकि दर्शक विषयमाथि आकर्षित होउन्। तर हलसम्म पुगेपछि दर्शक विषयसँगै प्रस्तुति, मेकिङ, सम्पादन लगायत अन्य पक्ष बारेपनि उत्तिकै सजग रहन्छन्।
शुक्रबार प्रदर्शनमा आएको फिल्म 'साढे सात' फोटो पत्रकारको कथा भनियो। फोटो पत्रकार जो नाकाबन्दी ताकाको मधेस आन्दोलन खिच्न मधेस जान्छ र समस्यामा पर्छ। फोटो पत्रकारको रुपमा देखिएका छन् गायकसमेत रहेका संयोग (सत्यराज आचार्य)। जो गर्भवती श्रीमती सुप्रिया कटवाललाई छोडेर कार्यालयको काममा हिँडेका हुन्छन्। मधेसमा सहयोगीको रुपमा (कामेश्वर चौरासिया) र सरला (मेनुका प्रधान)लाई भेट्छन् र त्यसपछि सिर्जना हुने घटनाले फिल्मलाई अन्त्यसम्म पुर्याउँछ।
यहाँनेर दर्शकले के बुझ्न आवश्यक छ भने फिल्म क्लाइमेक्समा पुग्दा सिर्जना हुने घटनाहरु फिल्म पत्रकार र पत्रकारितासँग जोडिएको भने हुँदैन।
फिल्मको कथा, पटकथा, पात्र र प्रस्तुति केहीको पनि तालमेल मिल्दैन। लेखकको सोच पात्रको लक्ष्यको रुपमा लाद्न खोज्नु सरासर गलत छ जसले यथार्थका फोटो पत्रकारको प्यासन, जिम्मेवारी र सेन्टिमेन्टसँग कुनै किसिमको सम्बन्ध राख्दैन।
पहिलो हाफमा एउटा नाम चलेको पत्रिकाको फोटो पत्रकारको पेशा प्रतिको लगाव देखाउन खोजिएको छ। जो गर्भवती श्रीमतीलाई माइती पठाएर आफू चर्केको आन्दोलनमा जोखिम मोलेर पुग्छ। आन्दोलनले उग्र रुप लिएको छ। जनता समस्यामा परेका छन्। त्यस्तोमा पुग्ने जो कोही जीवन जोखिममा मोलिरहेका हुन्छन्।
यी घटनाहरुको मौखिक न्यारेसन र संयोग पात्र मधेस एयरपोर्टसम्म पुग्नु सराहनीय छ। तर दर्शक फिल्मसँग जोडिइ राख्न सक्दैनन् किनकी दोस्रो हाफबाट फिल्ममा फोटो पत्रकारिता र मधेसमा घटेको संवेदनशील घटनालाई सतही रुपमा देखाइएको भान हुँदै जान्छ। नाकाबन्दी र आन्दोलनले पारेको असर, जनताको अवस्था रेडियो र टिभीमा बज्ने समाचारमार्फत् पृष्ठभूमिमा सुनाइन्छ तर रिपोर्टिङको लागि फिल्डमा गएको फोटो पत्रकारलाई जनतासम्म पुर्याइँदैन। ऊ तोरी बारीको फोटो खिचेर रमाउँछ। ऊ एउटी युवती (सरला) को फोटो क्यामेरामा कैद हुनुमा अलमलिन्छ। अरु कसैले जबरजस्ति गर्नाले संयोग सरलासम्म पुग्नु नै कथाको अविश्वसनीय र अति नाटकीय पाटो हो। जब संयोग सरलासँग हुन्छ उसले सब थोक बिर्सन्छ। यहाँनेर निर्देशकले नै यी दुईलाई मात्र फोकस गरेको पक्का हुन्छ।
श्रीमतीसँग बिताइरहेको अन्तरंग समयमा होस् या यात्राको क्रममा झोला बोक्दा पनि क्यामेरा घाँटीमा नै भिर्नु, फोटो प्रिन्ट गरेर कार्यालयमा बुझाउनु, एउटै सिनमा फरक क्यामेराहरु देखिनु अति नाटकीय लाग्छ। यस्ता झिना घटनाहरु थुप्रै छन् जुन संयोगको पत्रकारिता प्यासन पुष्टि गर्न देखाइन्छ तर उम्दा नाटकीय त के छ भने ज्यान जोखिममा राखेर मधेस आन्दोलन खिच्न जान मानसिक रुपमा तयार फोटो पत्रकार एउटा घटनाले हडबडाउँछ र निकै कातर निर्णय गर्छ।
साम्तेन भुटिया लेखक र निर्देशक दुबै रुपमा कमजोर प्रस्तुत भएकै हुन्। भलै उनले नेपाली फिल्ममा फरक प्रयोग गर्न खोजे। परीक्षणमा असफल ठहरिए। सीमित सेटिङ, पात्र र समय यी तीन विषयलाई फरक धार स्थापित गर्ने चक्करमा उनले एउटा गम्भीर विषयलाई न्याय गर्न चुके। निर्देशकले केही रहस्य बाँकी राखेका होलान् भन्दाभन्दै फिल्म सकिन्छ। तर कथाको टुङ्गो लाग्दैन।
पेशा र प्रेमबीचको द्वन्द्व, सोच र परिस्थिति बीचको द्वन्द्व। द्वन्द्वको फरक तह देखाउन खोजेर पनि ती द्वन्द्वले पात्रप्रति संवेदना सिर्जना गराउन नसक्नु निर्देशकीय कमजोरी हो। जसले पत्रहरुलाई पनि चरित्र निभाउनुभन्दा बढी आफ्नो निर्देशन पूरा गर्नतिर लगाएको प्रष्ट हुन्छ। जब दर्शकले केन्द्रीय पात्र र घटनाको इमोसनसँग जोडिने ठाउँ नै पाउँदैनन् तब लेखकको सोच, निर्देशकको प्रस्तुति र कलाकारको अभिनय सबै चुक्छ।
ध्वनिको प्रयोग ध्वस्त छ। संवाद र संगीत धेरै ठाउँमा लाउड सुनिन्छ। हरर जनराको फिल्ममा प्रयोग हुने खालका पार्श्व धुनहरु निकै अनावश्यक लाग्छन्।
सिनेम्याटोग्राफी फिल्मको सबल पक्ष हो। जसको लागि धन्यवादको पात्र हुन् छायाँकार अनिश तामाङ। कलाकारको रुपमा सत्यराज आचार्यले तेस्रो फिल्ममा केही सुधार पक्कै गरेका छन्। मेनुका प्रधान, सुनिल थापा, सुप्रिया कटुवाल, कामेश्वर चौरासिया र शिशिर वाङदेलले अभिनयको पाटोमा उस्तो दोष लाउन पर्ने ठाउँ छोडेका छैनन्।
फिल्मको शक्ति यथार्थ बोल्ने हुन्छ। त्यो भने साढे सातले गर्दैन बरु फिल्मको अन्त्यमा साढे सातको दशाको व्याख्या गरिन्छ त्यो पनि न्यारेसनमार्फत्।