PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाली क्रिकेट टोली आज राति जिम्वावे जाँदै, शरद अमेरिकाबाटै पुग्ने



गोविन्दराज नेपाल

नेपाली क्रिकेट टोली आज राति जिम्वावे जाँदै, शरद अमेरिकाबाटै पुग्ने

काठमाडौं : मार्च ४ बाट जिम्वावेमा सुरु हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्वावे जाँदैछ। पारस खड्काको कप्तानीमा रहेको १५ खेलाडी र ६ अफिसियलसहितको नेपाली टोली अफ्रिकन राष्ट्र जिम्वावे जानेछन्।

२० सदस्यी नेपाली टोली शनिवार बेलुका १०:४५ बजे फ्लाई दुबई मार्फत जिम्वावे जाने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जनाएका छन्। नेपाली टोली स्थानीय समयअनुसार आइतवार साँझ ५ बजे जिम्वावे पुग्नेछ।

नेपालबाट १४ खेलाडी, हेड कोच, म्यानेजर, ब्याटिङ कन्सलट्यान्ट, फिजियो, ट्रेनर र भिडियो एनालिस्ट जानेछन्। यस्तै टोलीमा रहेका खेलाडी शरद भेषावकर भने हाल अमेरिकामा छन् र उनी उतैबाट जिम्वावे आउने यसअघि नै कोच जगत टमाटाले बताएका थिए।

नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै नेपाल वान डे वर्ल्ड कपको क्वालिफायरमा छनोट भएको हो। शरद भने गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका गएका हुन्।

नामिबियामा खेलेका १४ खेलाडीसँगै वर्ल्डकप क्वालिफायर खेल्ने टिममा ललित नारायण राजवंशी थपिएका छन्। राजवंशी पहिलो पटक सिनियर टिममा परेका हुन्।

यस्तै क्वालिफायरका लागि ब्याटिङ कनसलट्यान्टका रुपमा आएका भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाली टोलीसँग हुनेछन् भने ट्रेनरमा सुवास पात्रो छन्।

यसअघि नामिबियामा भएको डिभिजन टू का लागि भारतकै सुलक्षण कुलकर्णी ब्याटिङ कन्सलट्यान्टका रुपमा आएका थिए। उनी नामिबियाबाटै भारत फर्किएका हुन् भने उनको स्थानमा नेपाली टोलीको आग्रहमा आइसीसीले पटवाललाई पठाएको हो। पटवाल यसअघि अफगानिस्तानका प्रशिक्षक थिए।

क्वालिफायरमा समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्वावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ। दुवै समूहको शीर्ष ३ मा रहने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसपछि शीर्ष दुई स्थान हात पार्ने टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वर्ल्डकपमा छनोट हुनेछ।

नेपालका कप्तान पारस खड्काले नेपालको लक्ष्य सुपर सिक्समा पुग्नु र वान डे स्ट्याटस पाउनु रहेको बताएका छन्।

जिम्वावे जाने नेपाली टोली  : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषावकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित नारायण राजवंशी

रमन शिवाकोटी : टिम म्यानेजर/ टेक्निकल एनालिस्ट

जगत टमाटा :  हेड कोच

दिनेश भट्ट : फिजियो

सुवास पात्रो : ट्रेनर

उमेश पटवाल : ब्याटिङ कन्सल्ट्यान्ट

सुरज शाक्य : भिडियो एनालिस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell