PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेस्लेले भारतीय बजारबाट म्यागी चाउचाउ फिर्ता लिने, किन मारमा पर्‍यो म्यागी?



नेस्लेले भारतीय बजारबाट म्यागी चाउचाउ फिर्ता लिने, किन मारमा पर्‍यो म्यागी?

काठमाडौँ : आफ्नो उत्पादन सुरक्षित भएको दावी गरिरहेको म्यागी चाउचाउका उत्पादक नेस्ले कम्पनीले अन्ततः बिहीबार राति भारतबाट आफ्नो उत्पादन फिर्ता लिने घोषणा गरेको छ। 'अहिलेको स्थिति स्पष्ट भएपछि फेरि बजारमा फर्किने' भन्दै नेस्लेले यस्तो घोषणा गरेको हो। 

यसअघि नेपालमा पनि बिहीबार म्यागी चाउचाउ आयात, बिक्री वितरणमा अनिश्चितकालीन प्रतिबन्ध लगाइसकिएको थियो। उता, बेलायतमा पनि म्यागी चाउचाउको परीक्षण सुरु भएको छ। 
 
‘गुड फुड गुड लाइफ’ नारासहित आक्रमक ब्रान्डिङले विश्वभर चर्चित वहुराष्ट्रिय कम्पनी नेस्ले सन् १८६६ मा स्विटजरल्यान्डमा स्थापना भएको हो । नेस्लेका धेरैथरी उत्पादनमध्ये म्यागी भारतभर ‘चर्चित’ खाद्यान्न थियो, जबसम्म उसले प्रयोग गर्ने केमिकलहरु मानव जीवनलाई असर पार्छ भन्ने पुष्टि भएको थिएन । 
 
नेस्लेले भारतमा दुधजन्य तथा पोषणजन्य खाद्यान्न उत्पादन गर्छ । यसले कफी तथा चियाका साथै चाउचाउ, चकलेट पनि उत्पादन गर्छ । नेस्क्याफे, म्यागी, मिल्कीबार, किटक्याट, बार–वान, मिल्कमेड र नेस्टी यसका प्रमुख ब्रान्डहरु हुन् । पछिल्लो समय यसले नेस्ले मिल्क, स्लिम मिल्क, दही र नेस्टले जिरा राइता पनि उत्पादन थपेको छ ।
 
भारतको उत्तर प्रदेशबाट सुरु भएको म्यागी विवाद अहिले देशभर फैलिएर बिक्री वितरणमा रोक लागेको हो । भारत सरकारले म्यागीको सम्पूर्ण जाँच गरेपछि वास्तविक प्रतिवेदन बाहिर ल्याउने जनाएको छ । प्रारम्भिक अनुसन्धानले भने अखाद्य केमिकलको प्रयोग भएको पुष्टि गरिसकेको छ ।
 

किन विवाद भयो ?

भारतको खाद्य संरक्षण तथा औषधि प्रशासन (एफएसडिए) ले एउटा मल्टी स्टोरमा भएका सम्पूर्ण म्यागीको नमुनाको जाँच कोलकत्ताको खाद्य ल्यावमा गराएको थियो । जाँचका क्रममा म्यागीमा अखाद्य पदार्थहरु भेटिएको पुष्टि भयो।
 
म्यागीमा मोनोसोडियम ग्लुटामेट नामको एमिनो एसिड (अजिनो मोटो) र लिड (शिशा) फेला परेको छ। यसको प्रयोग अत्याधिक गरिएको एफएसडिएले जनाएको छ । खासगरी बच्चाको स्वास्थ्यमा सिधै असर पर्ने भन्दै म्यागी उत्पादन गर्ने इजाजतपत्र रद्द गर्न एफएसडिएले केन्द्रीय सरकारसँग अनुरोध नै गरिसकेको छ ।
 
अजिना मोटोमा स्वाद हुँदैन, तर यसको प्रयोगबाट अन्य खाद्यान्नको स्वादहरु सक्रिय भएर खाना मिठो हुन्छ । सामान्यस्तरसम्मको अजिना मोटाको प्रयोगलाई सन्सारभरीनै खानयोग्य भनेर प्रमाणित गरिएको छ । अजिना मोटो बढी र नियमित प्रयोग हुँदा टाउको दुख्ने, रिंगटा लाग्ने, हड्डी कटकट खाने जस्ता स्वास्थ्य समस्या देखिने युरोपियन खाद्य सुरक्षा एजेन्सीले उल्लेख गरेको छ । यसले मानिसको दिमागमा पनि असर गर्छ । साथै मृगौला र पाचन प्रणालीमा पनि असर गर्छ ।
 
यसलाई वैज्ञानिकहरुले ‘स्लो पोइजन’ का रुपमा पनि व्याख्या गरेका छन् । यसले सुरुसुरुमा स्वाद ग्रन्थीहरुलाई सक्रिय पारेर पछि नस्ट गर्ने काम गर्ने वैज्ञानिकहरुलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
अजिनामोटो प्राकृतिक रुपमै पनि पाइन्छ । जस्तो आलु, टमाटर, च्याउ, अंगुर, पनिरमा अजिनामोटो प्राकृतिक रुपमै उत्पादन हुन्छ । 
 

दूधमा पनि समस्या

म्यागीमा समस्या भोग्दै आएको नेस्ले अर्को उत्पादनमा पनि फसेको छ । सरकारको प्रारम्भिक जाँचमा नेस्लेको दूध उत्पादनमा पनि हानिकारक तत्वहरु पाइएको छ । सरकारी एजेन्सीले दूधमा जीवित किरा पाइएको जनाएको छ ।
 
एक उपभोक्ताले दूधमा किरा भेटेपछि सरकारी एजेन्सीमा खवर गरेका थिए । सरकारले विभिन्न ठाउँबाट संकलन गरेको नेस्लेको दुधको नमुनाहरुको जाँच गर्दा किरा फेला परेको हो, जुन स्वास्थ्यको लागि हानिकारक रहेको सरकारी एजेन्सीको दावी छ ।
 

संसारकै ठूलो खाद्यान्न कम्पनी

नेस्ले विश्वकै ठूलो खाद्य उत्पादक कम्पनी हो । यसको बजार पुँजीकरण २४७ अर्ब अमेरिकी डलर बराबरको छ । सन् २०१४ मा यसले ९१ अर्ब ६१ करोड स्वीस फ्र्यांक (एक स्वीस फ्र्यांक बराबर १०९ रुपैयाँ हुन्छ) बराबरको कारोबार गरेको थियो । यसले १४ अर्ब ४६ करोड स्वीस फ्रयांक बराबर नाफा गरेको थियो । 
 
सन्सारभरी नेस्लेको सबैभन्दा बढी डेरीवाहेकका वेभरेजहरु विक्री हुन्छन् । यसको कुल हिस्सा २९ प्रतिशत  छ । यसमध्ये २२ प्रतिशत कफी तथा चिया पर्छन् । सात प्रतिशत भने वोतलको पानी पर्छ । १९ प्रतिशत हिस्सा डेरी उत्पादनको छ । 
 
नेस्लेको कुल उत्पादनमध्ये अमेरिका र त्यसका वरपरका देशहरुमा बिक्री हुन्छन् । कुल ४४ प्रतिशत यस क्षेत्रमा विक्री हुन्छ, त्यसमध्ये २५ प्रतिशत अमेरिकामा मात्रै खपत हुन्छ । २८ प्रतिशत युरोपियन बजारमा खपत हुन्छ । बाँकी २८ प्रतिशत एसिया र अफ्रिकामा खपत हुन्छ । नेस्लेको कुल उत्पादनको दुई प्रतिशत मात्र भारतमा बजार छ । नेपालमा पनि कफि तथा चिया, पाउडर दुध, चकलेट लगायतका नेस्लेका खाद्य वस्तु पाइन्छ । म्यागी चाउचाउ पनि नेपाली बजारमा उपलब्ध थियो । 
 
म्यागीसँगै नेस्लेको धेरै कुरा अहिले दाउमा लागेको छ । भारतमा म्यागीको प्रतिस्पर्धीका रुपमा एचयुएलका सुप र चाउचाउ तथा आइटिसी को यिप्पी चाउचाउ छन् । नेस्ले सन्सारकै ठूलो खाद्यान्न उत्पादन कम्पनी भएपनि भारतमा भने यसको कुल कारोबार भने दुई प्रतिशत मात्रै हो । 
 
नेस्लेको सानो बजार भारत भएपनि यो विस्तारै फैलँदो अवस्थामा छ । भारतमा ब्रान्ड बद्नाम भएमा यसको असर अन्य ठूलो बजारहरुमा पर्ने निश्चित छ । 
 

ब्रान्ड एम्वेस्डर पनि समस्यामा

म्यागीको विवादमा यसका ब्रान्ड एम्बेस्डरहरु अमिताभ बच्चन, माधुरी दिक्षित र प्रिति जिन्टा पनि तानिएका छन् । उनीहरुको विरुद्धमा विहारको मुजफ्फरपुर अदालतले प्रहरीलाई उजुरी दर्ता गर्न निर्देशन दिइसकेको छ । 

ब्रान्ड एम्बेस्डर सेलिब्रिटीहरुले भने उत्पादनको प्रबद्र्धन गर्नुमा आफ्नो दोष नभएको बताएका छन् । माधुरी दिक्षितले मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने जुनसकै कम्पनीलाई कारवाही गर्नु पर्ने बताएकी छिन् । उनले उत्कृष्ट उत्पादनको मात्र प्रबद्र्धन गरेकाले ब्रान्ड एम्बेस्डरलाई कारवाही गर्न नहुने बताएकी छिन् ।
 
अमिताभ बच्चनले भने आफू दुई वर्षअघिसम्म मात्र नेस्ले इन्डियाको उत्पादनको ब्रान्ड एम्वेस्डर रहेकाले त्यस यताको उत्पादनमा आफू जवाफदेही नहुने बताएका छन् । उनले अनावश्यक रुपमा आफूलाई विवादमा तानेको भन्दै दुख व्यक्त गरेका छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell