थिएटर हुँदै फिल्मको पर्दामा छाएका सौगात मल्ल पहिलो पटक थिएटर कलाकारको रुपमा देखिएका छन् फिल्म 'पञ्चेबाजा'मा।
'केटी जस्तो होस् तर पहिलो नजरमै प्रेम होस्'- भूपी बनेका सौगात मल्लले विवाहबारे आइलाग्ने हरेकलाई दिने जवाफ हो यो। उनले चाहेजस्तै पहिलो नजरमै प्रेममा पर्छन्। तर, समस्या के हुन्छ भने उनलाई मन परेकी युवती साथी रुद्रे (कर्मा)को श्रीमती (रुपा) हुन्छिन्। जसको भूमिका निर्वाह गरेकी छिन् जस्मिन श्रेष्ठले। रुद्रको रुपाप्रतिको प्रेमले फिल्मको केन्द्रीय द्वन्द्व सिर्जना गर्छ। साथै रुद्रको मनोविज्ञान र सामाजिक व्यवहार र सम्बन्धहरुले निम्त्याउने घटना फिल्मको मुख्य विषय हो।
पछिल्लो समय नेपाली फिल्ममा प्रयोग हुने प्रविधि, डिजाइनर ड्रेस र विदेशी सेटिङले दर्शक आकर्षित त गर्छ तर ठूला ब्यानर र नाम चलेका निर्देशक वा फिल्म लेखकसमेत कथा र पटकथामा चुकिरहेका छन्। यस्तै क्रमले निराश बनाएको नेपाली फिल्म दर्शकलाई पञ्चेबाजाले केही राहत दिएको छ। प्रदीप भारद्वाजले कथा र पटकथा लेखनमा गरेको मिहेनतले र उपयुक्त सेटिङले नै फिल्म पञ्चेबाजालाई प्रशंसनीय बनाएको छ। साना साना तर महत्वपूर्ण घटनाहरुले जोड्ने कथा, सस्पेन्स, पंच लाइन, बिम्बात्मक संवाद अब्बल छन् जसले दर्शकलाई पात्रहरुको संवेदना बाँधी राख्छ।
मौलिक कथा- गाउँले परिवेशको जीवन, सामाजिक सम्बन्ध/सद्भाव, स्वार्थले मार्ने इमान्दारिता र स्नेह, सम्बन्धहरुमा निम्त्याउने दरार। कथा सामान्य लाग्छ तर सेटिङ, पात्र र प्रस्तुतिले पञ्चेबाजालाई जिवन्त बनाएको छ। निर्देशक घनश्याम लामिछाने परिपक्व रुपमा पेश भएका छन्। उनले निर्देशकीय सोच नलादी पात्रहरुलाई स्वतन्त्र छाडेका छन्। कथा, पटकथाले न्यायमात्र पाएको छैन, कलाकारहरुको अभिनयले फिल्म जिवन्त तुल्याएको छ।
छायाँकार हरि घले लामाको कौशल फिल्ममा देखिन्छ। उनले कास्की, पुरनचौर आसपासको दृश्यलाई कथा र दृश्यको माग मिल्दो पृष्ठभूमिमा कलात्मक रुपमा कैद गरेका छन्।
अभिनय पञ्चेबाजाको अर्को सशक्त पक्ष हो। लामो समयदेखि एकै खालको भूमिकामा देखिएका सौगात मल्लले केही फरक चरित्रमा देखिएका छन्। केही समय यता प्राय लाउड क्यारेक्टर निभाएका मल्लले पञ्चेबाजामा त्यो ह्याङ्ग उतारेको भान हुन्छ। उनले थिएटर कलाकारकै भूमिका निर्वाह गर्नुले पनि सायद उनलाई सफ्ट प्रस्तुत हुने मौका दिएको हो। कर्मा अन्य फिल्ममा भन्दा धेरै फरक चरित्रमा छन्। गाउँले परिवेशमा हुर्किएको बन्नु उनको लागि च्यालेन्ज हुन सक्थ्यो। तर, फिल्ममा उनको भूमिका र अभिनय दुवै अस्वभाविक लाग्दैन। सह एवं चरित्र कलाकारहरु सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रकाश घिमिरे, बिमला गिरी, प्रमिला तुलाचन, सबिन बास्तोलाले पनि पटकथालाई जिवन्त प्रस्तुत भएका छन्। निर्देशक साइला बनेका बुद्धि तामाङ अन्य फिल्ममा एउटै किसिमको शैली र संवादको ट्यागमा छैनन्।
मुख्य अभिनेत्री जस्मिन श्रेष्ठको डायलग डेलिवरीमा भने केही कच्चा महसुस हुनसक्छ।
फिल्ममा अनावश्यक दृश्य छैनन्। हाँस्य संवादले बेलाबेला दर्शकलाई काउकुती लगाउँछ तर हसाउँनकै लागि द्विअर्थी र भद्दा मजाकको प्रयोग गरिएको छैन। गीतलाई आवश्यक ठाउँ दिइएको छ। फिल्मको अन्त्यतिर केही नाटकीय मोडलाई ठाउँ दिनुले दर्शक कन्फ्युज पार्न सक्छ तर रुद्रे पात्रले गर्ने न्यारेसनले घटना प्रष्ट पार्छ। पार्श्व धुनको उपयुक्त प्रयोगका लागि जेसन कुँवरले राम्रो काम गरेका छन्।
समग्रमा साहित्य, समाज र मनोविज्ञानलाई दृश्यमार्फत सरल र सबल ढङ्गमा देखाउन सफल भएका छन् लेखक, निर्देशक, कलाकार र छायाँकार।