फिस्लिङ (चितवन) : पर्वतिय खेलकुद महोत्सवअन्तर्गत राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप-२०१८ मा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ।
स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा कूल ९१३ अंक जोड्दै प्याडल नेपाल ए ले उपाधि जितेको हो।
यस्तै ८९५ अंक जोडेको फिस्लिङ दोस्रो तथा ७८६ अंकसहित नेपाल कायाक क्लब तेस्रो बन्यो।
विजेता टिम यही वर्ष अर्जेन्टिनामा हुने वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिप छनोट भएको छ।
सोमवार भएको स्लालोममा तेस्रो बनेको प्याडल नेपाल ए ले मंगलवार स्प्रिन्ट र डाउन रिभरमा पहिलो भयो भने हेड टु हेडमा दोस्रो बन्यो।
यस्तै गरी फिस्लिङ ए हेड टु हेडमा पहिलो, डाउन रिभरमा दोस्रो तथा स्प्रिन्टमा तेस्रो भयो। फिस्लिङका खेलाडी स्लालोममा दोस्रो भएको थियो।
अघिल्लो दिन स्लालोममा च्याम्पियन बनेको नेपाल कायाक क्लब बी स्प्रिन्टमा दोस्रो, हेड टु हेडमा तेस्रो तथा डाउन रिभरमा आठौँ भयो।
नेपाल र्याफ्फ्टिङ तथा क्यानोइङ संघको आयोजनामा चितवनमा फिस्लिङमा भएको तीन दिने प्रतियोगितामा सात टोलीका १२ टिमले प्रतिस्पर्धा गरेका थिए।