PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सन्दीपलाई हङकङ पुर्‍याउने त्यो दुई विकेट



गोविन्दराज नेपाल

सन्दीपलाई हङकङ पुर्‍याउने त्यो दुई विकेट

काठमाडौं: सन् २०१५ को नोभेम्बरमा कीर्तिपुरमा मेरिबलोन क्रिकेट क्लब एमसीसीँग नेपालका विभिन्न टोलीले क्रिकेट खेलेको थियो।

भर्खरै राष्ट्रिय टिम निर्माणका लागि सुपर लिग खेलेर आएका युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि उक्त सिरिजमा खेल्ने अवसर पाएका थिए। सन्दीपसँगै दीपेन्द्र सिंह ऐरी लगायत यू-१९ टोलीका खेलाडी सम्मिलित क्यान-११ को टिमबाट सन्दीपले खेलेका थिए। यस्तै उनले दुई दिवसीय क्रिकेट पनि खेले।

त्यतिखेर एमसीसीको टिमबाट खेल्न आएका खेलाडीमध्ये एक थिए स्कट म्याकेन्नी। उनी इङल्याण्डमा जन्मेका हङकङका खेलाडी थिए। हङकङको राष्ट्रिय टिमबाट क्रिकेट खेल्न थाले लगत्तै उनी नेपाल आएका थिए।

त्यस अघिसम्म स्कटसँग सन्दीपको भेट भएको थिएन। तर जब सन्दीपले उनलाई भेटे, उनको विकेट लिए अनि उनैलाई प्रभावित पारे।

अहिले नेपाली क्रिकेटमा कुनै खेलाडीको नाम सबैभन्दा बढी चर्चित छ भने त्यो तिनै सन्दीपको हो। २ वर्षमै सन्दीपले अन्य साधारण खेलाडीले पाउने चर्चा र सफलता दुवै पाए।

यू-१९ वर्ल्डकपमा ह्याट्रिक विकेट, १५ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यु, हङकङमा भएको टी-२० ब्लिट्ज, वर्ल्डकप विनिङ कप्तान माइकल क्लासँग भेट, अष्ट्रेलियन ग्रेड क्रिकेट, आइपीएलमा छनोट हुने पहिलो खेलाडी, घरेलु मैदानमा नेपालका लागि डेब्यु, डिभिजन टू मा म्यान अफ दी सिरिज, क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छनोट हुने पहिलो नेपाली खेलाडी, शेन वार्नसँग तुलना अनि अन्तर्राष्ट्रिय मिडियामा बारम्बारको चर्चा। यी सबै सन्दीपले १७ वर्षको युवा उमेरमा हात पारेका उपलब्धी हुन्।

सन्दीपलाई अहिलेको अवस्थासम्म ल्याइ पुर्‍याउने व्यक्तिहरुको नाम लिँदा राजु खड्का, पुबुद दासानायके र क्लार्कको नाम बारम्मबार आउने गर्छ। त्यसमा सारा नेपाली क्रिकेट समर्थक सन्दीपको परिवार, कोच खेलाडीलगायत सबैको हात भएको सर्वविदितै छ।

तर अहिलेसम्म छुटेको नाम र सन्दीपलाई हङकङ पुर्‍याउने नामलाई भने कमैले मात्र सम्झिने गरेका छन्।

सन्दीपलाई हङकङसम्म खेल्न अवसर प्रदान गर्ने अरु कोही नभएर तिनै स्कट हुन्।

कीर्तिपुरमा भएको एमसीसीसँगको खेलमा सन्दीपले स्कटविरुद्ध खेल्न पाए। सन्दीपलाई हङकङसम्म कसरी पुग्नुभयो प्रश्नमा उनले आफ्ना कुरा यसरी राखे, ‘मैले एमसीसी विरुद्ध खेल्दा दुवैपटक विकेट लिए। आई गट हिम ट्वाइस आउट।’

‘त्यसपछि नै उहाँले मलाई प्रपोज गर्नुभएको हो।’

त्यसले सन्दीपको विदेशी लिग र क्लबमा खेल्ने बाटो खोलेको थियो। बाटोमात्र खोलेन लामो यात्रासमेत तय गरायो।

कस्तो अनुभव भएको थियो विदेशी लिगमा खेल्दै छु भन्दा? ‘वास्तवमा मलाई एकदमै खुसी लागिरहेको थियो। किनभने पहिलो पटक कुनै फ्रेन्चाइज लिग खेल्न जाँदै थिएँ। इट वाज फ्यान्टास्टिक।’

टि २० ब्लिट्जमा सन्दीपले अष्ट्रेलियाका माइकल क्लासँग सँगै खेल्ने अवसर पाए। क्वलोन क्यान्टो क्लबाट क्लार्कसँग खेल्दा सन्दीपले ३ ओभरमात्र बलिङ गर्न पाएका थिए। वर्षाका कारण बाँकी खेल भएन। सन्दीपको टिमले उपाधि सेयर गर्‍यो। तर सन्दीपको यात्रा त्यतिमै रोकिएन। स्कट र कलार्कसँगै एउटै टिमबाट खेलेका सन्दीपले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए।

क्लार्कले सन्दीपलाई अष्ट्रेलिया नै बोलाए। यो सब घटनालाई यसरी सम्झिन्छन् सन्दीप। ‘राम्रो मोमेन्ट थियो। भन्छन् नी नसोचेको कुरा भयो मसँग लाइफमा। जुन खेलाडीलाई धेरै पटक टिभिमा हेर्नुभयो। उहाँहरुसँग ड्रेसिङ रुम सेयर सेयर गर्ने अवसर पाएँ।’

‘त्यसपछि खेल्न पाउनेदेखि घुम्न पाउने फेरि जाने त्यहाँ गएर तिनै कुरा अझै सिक्न पाउने। फ्यान्टास्टिक फिलिङ।’

अष्ट्रेलियामा सन्दीपले क्लार्कको एकेडमीमा प्रशिक्षण गर्नुका साथै वेष्टर्न सुबर्सबाट ग्रेड क्रिकेट समेत खेले। ‘त्यहाँ धेरै राम्रा प्लेअर थिए। उनीहरुसँग खेल्ने अवसर पाएँ। धेरै खेलाडी बाहिर खेलेर आएका थिए। ट्याक र पिचहरु फरक थियो।’ वर्ल्डकप क्वालिफायर खेल्न जिम्बावे जानुअघि सन्दीपले पहिलोपोस्टसँग भने। क्लार्क बाहेक सन्दीपले अष्ट्रेलियामा स्टिभ वाँ, मार्क टेलरसँग भेटे तर आफ्नो आदर्श खेलाडी शेन वार्नलाई भने भेट्न पाएनन्। ‘त्यतिखेर अष्ट्रेलिया र साउथ अफ्रिकाबीच टेष्ट चलिरहेको थियो र वार्न त्यहाँ कमेन्ट्रि गरिरहनुभएको थियो। त्यसैले भेट्ने अवसर मिलेन।’

२०१६ मै बंगलादेशमा भएको यू-१९ वर्ल्डकपमा पाकिस्तान विरुद्ध बलिङ गरेपछि सन्दीपलाई अन्तर्राष्ट्रिय मिडियाहरुले शेन वार्नसँग तुलना गर्दै नेप्लिज शेन वार्न भएको थिए। तर सन्दीप भने आफूलाई सिकारु नै मान्छन्। ‘उहाँसँग तुलना गर्न मिल्दैन। लिडरसिप र स्ट्याटसले सबै बताउँछ। आइ एम जस्ट बिगिनर, जस्ट लर्नर। त्यहाँसम्म पुग्न अझै धेरै बाँकी छ।’

सन्दीप डिभिजन टू को तयारीका लागि युएईमा थिए र भारतमा आइपीएलको लागि अक्सन हुँदै थियो। सन्दीपको नाम विदेशी कोटामा अक्सनमा समावेश थियो। जनवरी २७ र २८ मा भएको अक्सनमा सन्दीपको नाम पहिलो दिन आएन। तर दोस्रो दिन उनलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारु बेस प्राइजमा किन्यो।

सन्दीपलाई अक्सनमा दिल्लीले लिएको खबर नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले सबैभन्दा पहिले सुनाए।

‘त्यतिखेर खासमा मेरो माइन्डमा केही थएन। म आफ्नो गेममै फोकस थिएँ। अब आफ्नो गेम आउने वाला छ। त्यो आइपिएल अक्सन चाँही सेकेण्डरीमा थियो।’  

अक्सनमा छनोट भइसकेपछि पनि?

‘त्यो चाँही एउटा गर्व गर्ने कुरा थियो। अब आइपीएल खेल्न पाइन्छ भनेर।’

‘फिल्स गुड सबैलाई गर्व लाग्छ। अब आइपीएल जस्तो फ्रेन्चाइज लिगमा छनोट भएर खेल्न जाँदैछु भने सबै जना खुसी हुनुभयो। सबैले (खेलाडी) बधाई दिनुभयो।’

अनी त्यतिखेर सन्दीपले क-कसलाई सम्झिए त?

‘….लट्स अफ पिपल.. विशेषगरी मेरो भान्जीलाई। सबै कुरा चाँही म उहाँलाई डेडिकेट गर्छु, जतिखेर पनि। तर त्यसको कारण खोल्न मिल्दैन।’

अहिले सन्दीप वान डे वर्ल्डकप क्वालिफायर खेल्न नेपाली राष्ट्रिय टोलीसँग जिम्बावेमा छन्। समूह बी मा रहेको नेपालले आइतबार जिम्बावेसँग खेलिसकेको छ। उक्त खेलमा सन्दीपले १ विकेट लिएका थिए।

नामिबियामा सम्पन्न डिभिजन टू मा ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप 'म्यान अफ दि सिरिज' चुनिएका थिए।

सन् २०१६ अप्रिलमा वर्ल्ड क्रिकेट लिग अन्तर्गत नामिबिया विरुद्ध घरेलु मैदानमा सिनियर टोलीका लागि डेब्यु गर्दै सन्दीपले १ विकेट लिएका थिए।

सन्दीपले नेपालका लागि २३ लिस्ट ए खेल खेल्दै ३० विकेट लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell