PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सिरहामा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ५ पुग्यो



सिरहामा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

सिरहा : पाँच दिनदेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस–६ को दलित बस्तीमा फैलिएको अज्ञात रोगका कारण बुधबार साँझ थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

बुधबार चन्द्रअयोध्यापुर–६ निवासी ३० वर्षका सुनिल सदाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला अस्पतालले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिफारिस गरेपनि सदाले उपचार गराउन जान नमानेर घर गएको र घरमै मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा दयाशङ्करलाल कर्णले जानकारी दिए।  

यसअघि अज्ञात रोगका कारण चन्द्रअयोध्यापुर गाविस–६ निवासी ३२ वर्षका जिवसी सदा, ३५ वर्षका तुलवा सदा, ६५ वर्षका गर्वा सदा र लहान नगरपालिका–२ निवासी कौशिल्या सदाको मृत्यु भएको थियो । 

रिगङ्टा चल्ने र बान्ता आउने जस्ता लक्षण देखा परेको र केही दिनमै बिरामीको मृत्यु हुने गरेकाले स्थानीयवासी त्रसित बनेका छन् । अज्ञात रोगबाट प्रभावित सो बस्तीका २० जनाभन्दा बढी बिरामीको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको जनस्वास्थ्य प्रमुख डा कर्णले बताए।

बिरामीको रगत परीक्षणका लागि राजधानी पठाएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि मात्र रोगको पहिचान हुने भएको डा कर्णको भनाइ छ । बस्तीभरि नै रोगको प्रकोप फैलिएकाले प्रभावित स्थानमा चिकित्सक टोलीसमेत परिचालन गरिएको उहाँले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell