PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​के अर्थ राख्छ उपेन्द्र यादव र अशोक राईबीचको एकीकरणले?



​के अर्थ राख्छ उपेन्द्र यादव र अशोक राईबीचको एकीकरणले?

  • सुजित मैनाली-
मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीबीचको एकीकरणले औपचारिकता हासिल गरेपछि यसलाई अनेक कोणबाट व्याख्या गर्न थालिएको छ।

सिमान्तमा परेका मानिसको आवाज उठाउनुको साथै चर्का क्षेत्रीय तथा साम्प्रदायिक नारासमेत प्रखर रुपमा उराल्दै आएका खासगरी यादव र राईको पार्टीबीचको एकीकरणले देशको राजनीतिक स्थायित्वमा चुनौती सिर्जना गर्नसक्ने कतिपयको बुझाइ छ। उनीहरूबीचको यस्तो एकीकरण तत्काल 'बार्गेनिङ पावर' बढाउने ‘पब्लिसिटी स्टन्ट’ मात्र भएको मान्नेहरू पनि छन्। तर पनि पङ्क्तिकारलाई उनीहरूबीचको एकताले भौगोलिक तथा जातीय अन्तरघुलनको सन्देश दिएजस्तो लागेको छ।
 

जोखिम पनि उत्तिकै

उसो त क्रमशः मधेसी र जनजातीको मुद्धा मात्रै उठाउँदै आएका यी दुई पार्टीबीचको एकीकरणले मुलुकको राजनीतिक स्थायित्वलाई अझ धरापमा पार्नसक्ने जोखिम पनि छ। किनकी यी दुई पार्टीको आधार राजनीतिक सिद्धान्त र विचार नभइ सामाजिक/सांस्कृतिक वञ्चितिकरण र विभेद हो। खस–आर्यहरूले निर्माण गरेको राज्यसत्ताले आफूहरूको समूदायलाई सिमान्तमा पारेको आक्रोशको जगमा खडा भएका यी दुई पार्टीले राजनीतिक शक्तिलाई नभइ सामाजिक शक्तिलाई प्रतिनिधित्व गर्छन्। आफूलाई पहिचानपक्षधर बताउने यी दुई पार्टीले उठाउने मुल मुद्दा भनेको भाषा र धर्म हो। भाषा र धर्मलाई अघि सारेर बाँकी समूदायभन्दा आफ्नो समूदायलाई भिन्न देखाउनु र यस्तो भिन्नतालाई भँजाइ राजनीतिक लाभ लिनु यी दुई पार्टीका नेताहरूको नियत हो।

यादव र राईको पार्टीबीचको एकीकरणले सम्बन्धित समूदायको आदिकालिन मनोविज्ञान (प्राइमोर्डियल सेन्टिमेन्ट)लाई उद्वेलित गरिदियो र बाँकी समूदायप्रति कटुता उत्पन्न गराउने गरी ती समूदायका आकांक्षालाई प्रखर बनाइदियो भने यसले सामाजिक अस्थिरताको शृङ्खला सुरु गरिदिनेछ, जुन मुलुकको स्थायित्व र समुन्नतिका निम्ति घातक हुनेछ। किनकी राजनीतिक शक्ति (काठमाडौं)माथि सामाजिक शक्ति (मधेसी र जनजाति) हावी भएको खण्डमा राजनीतिक स्थायित्वको चिहान खोतलिन्छ भन्ने तथ्य पुष्टि भइसकेको छ। यस्तो मान्यताको विस्तृत अध्ययन गर्न चाहनेले स्याम्युअल पि. हण्टिङटनको ‘पोलिटिकल अर्डर इन चेन्जिङ सोसाइटिज’ पढ्नु उपयुक्त हुन्छ।

सामाजिक शक्ति बलियो भएमा केन्द्र कमजोर हुन्छ किनकी यी दुवै सँगसँगै बलियो अथवा कमजोर हुन सम्भव छैन। हिजो पञ्चायतमा केन्द्रसँगै राजनीतिक सत्ता बलियो थियो भने सामाजिक सत्ता कमजोर थियो। यी दुई पार्टीबीचको एकीकरणले सामाजिक सत्तालाई प्रबल बनायो भने केन्द्र स्वतः कमजोर बन्न पुग्नेछ।

‘ह्वाइ नेसन्स फेल’ किताबका लेखकद्वयले समृद्धि हासिल गर्न कुनै पनि मुलुकले दुईवटा शर्त पुरा गर्नुपर्ने बताएका छन्।

एउटा, मुलुकको राजनीतिक तथा आर्थिक संस्था समावेशी हुनुपर्छ। अर्को, विधिको शासन, आर्थिक कानुन आदि लागू गर्न सक्नेगरी केन्द्र बलियो पनि हुनुपर्छ।

राष्ट्रका आर्थिक तथा राजनीतिक संस्थाहरूलाई समावेशी बनाउने हदसम्म यी दुई पार्टीबीचको एकीकरण पुग्यो भने मुलुकको समृद्धि र विकासका निम्ति यसले टेवा पुर्‍याउने निश्चित छ। तर, केन्द्रको प्राधिकारलाई चुनौती दिनेगरी यसले पहाड र तराईका सांस्कृतिक आकांक्षालाई बलियो बनायो भने यसबाट अस्थिरता र अविकासको दलदलमा मुलुक जाकिनसक्ने जोखिम प्रबल बन्छ।
 

फाइदै बढी     

यादव र राईबीचको एकीकरणले जोखिमका यस्ता अनेक सम्भावनालाई बाहिर ल्याए पनि यसबाट मुलुकको स्थायित्व र केन्द्रको अहिलेको प्राधिकारमाथि चुनौती सिर्जना हुनसक्ने अवस्था देखिँदैन। यसका दुई कारण छन्- पहिलो, यी दुई पार्टीबीचको एकीकरणले मुलुकलाई भाषा (नेपाली र बाँकी भाषा) र धर्म (पहाडी हिन्दु र बाँकी धर्म)का आधारमा ध्रुविकरणमा लैजाने सम्भावना छैन। किनकी यसका लागि नेपाली समाज तयार छैन। आधुनिक नेपालको जग हालिएको यतिका वर्षसम्म पनि जातीय हिंसा नभएको र दोस्रो संविधानसभाको निर्वाचनमा राष्ट्रिय पार्टीहरूले हासिल गरेको लोकप्रियताले नेपाली समाज ‘सेक्टेरिअन’ राजनीतिको मनोविज्ञानबाट ग्रसित छैन भन्ने पुष्टि भइसकेको छ।

दोस्रो, मुलुकलाई यस्तो ध्रुविकरणमा लगेर राजनीतिक मुनाफा आर्जन गर्नसक्ने साङ्गठनिक तथा वैचारिक क्षमता र हैसियत एकीकरणपछि बनेको पार्टीसँग छैन। किनकी उपेन्द्र यादवको पार्टीबाहेक बाँकी दुई पार्टीको उचाइ परालढेडीको टुप्पोमा उम्रिएको च्याउको भन्दा बढ्ता छैन।

यादव र गैरयादव समूदायबीचको प्रष्ट रेखालाई ध्यानमा राख्ने हो भने मधेसमा उपेन्द्र यादवको पकड बलियो छ भन्ने मान्नुपर्ने हुन्छ। किनकी तराईको अर्को कुनै यादवले उपेन्द्रको जति राजनीतिक उचाइ बनाएको छैन। र, मधेसी समूदायभित्र यादवहरूको बाहुल्य छ, जुन उपेन्द्र यादवको दिगो राजनीतिक पुँजी हो।

तर, पहाडमा अशोक राइको पार्टीको पकड नाममात्रको छ। र, तेस्रो पार्टीको उपस्थिती कहाँ छ भनेर दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ। तराईका यादवजस्तो पहाडका जनजातिले थर र गोत्रमा आधारित राजनीतिमा उतिसाह्रो विश्वास नगर्दै आएको इतिहास छ। त्यही भएर यी तीन पार्टीबीचको एकीकरणलाई वास्तवमा एकीकरण नभई उपेन्द्रको पार्टीमा बाँकी दुई पार्टीको विलय मान्दा हुन्छ।

यस्तो विलयले उपेन्द्र यादवलाई पहाडमा सङ्गठन बिस्तार गर्ने अवसर दिलाएको छ। नेपाली राजनीति र समाजलाई ध्रुविकरणमा ल्याउनसक्ने हैसियत एकीकरणकर्ताहरूसँग नभएकाले यो एकीकरणले मुलुकमा रहेका विभिन्न राष्ट्रियताबीचको एकीकरण र सामाजिक तथा सांस्कृतिक अन्तरघुलनको बिम्ब निर्माण गरिदिएको छ, जुन सकारात्मक छ।

‘एक मधेस एक प्रदेश’को माग गर्दै आएको र पहाडको मूल्यमा मधेसलाई बलियो बनाउनुपर्ने पक्षमा वकालत गर्दै आएको मधेसको पार्टीसँग पहाडको पार्टीको एकीकरण आफैमा अनौठो सुनिन्छ। यस्ता परस्परविरोधी मुद्दा बोक्ने पार्टीबीच कुनै 'इस्यु' विशेषमा कार्यगत एकता हुनसक्छ, एकीकरण होइन। तर, अनौठो रुपमा उनीहरूबीच एकीकरण भएको छ। त्यही भएर पनि यी तीन पार्टीबीचको एकीकरणले राजनीति र सामाजिक आन्दोलनमा सार्थक हस्तक्षेप गर्न सक्दैन। बरु साङ्केतिक रुपमा जातीय अन्तरघुलन र भौगोलिक अन्तरनिर्भरताको यसले सन्देश दिएको छ, जसलाई सबै आम नेपालीले स्वागत गर्दा हुन्छ।

(लेखक पत्रकार हुन्।) 
[email protected]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell