PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भग्नावशेषबाट दृढ नेपालको उदय हुनेछ



भग्नावशेषबाट दृढ नेपालको उदय हुनेछ

  • सुषमा स्वराज -
सर्बप्रथम म भारत सरकार र जनताको तर्फबाट गत वैशाख १२ को महाभूकम्प र त्यसपछि वैशाख २९ को मुख्य पराकम्पका कारण भएको जनधनको क्षति र विनाशप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु। नेपाली जनताको उत्साहप्रति सलाम अर्पण गर्दै भारतको तर्फबाट पूर्ण सहयोग हुने आश्वस्त गर्न चाहन्छु।

नेपाली जनताको अदम्य साहसलाई विकराल विपत र निरन्तरका पराकम्पले समेत हल्लाउँन सकेन। विपतमा पनि उनीहरु शान्त र सौम्य छन। मैले क्षतविक्षत जीवन र समुदायको पुनर्निमाणमा सारा नेपालीहरु दृढ र प्रतिवद्ध पाएको छु। हरेक चुनौती अवसरका रुपमा आउँछन र हरेक विपत्तिहरुले शक्तिलाई निम्त्याउँछन। अतः निश्चय नै विनासका क्षतविक्षत भग्नावशेषहरुबाट सवल, सशक्त र दृढ नेपालको उदय हुनेछ।

आज म “हरेक नेपालीका आँसु पुछ्ने” तपाईँको चाहनामा भारत सरकार, १ अर्ब २५ करोड भारतीय जनताको तर्फबाट र प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत तर्फबाट तपाईहरुसँग काधमा काध मिलाएर यो विपत्ति पार लगाउँने गहिरो प्रतिवद्धता जाहेर गर्दछु।

नेपालको विपतको क्षणमा भारतले सक्दो सहानुभूति, सहयोग र सहृदयता प्रदर्शन गरेको छ। हामीले यस विपतको घडीमा शीघ्र, निरन्तर र प्रचुर सहयोग प्रदान गरेका छौं। नेपाल र नेपाली जनतालाई परेको यस विपतमा सुदूर दक्षिणदेखि पश्चिमसम्मका भारतीय संस्था र जनताहरुले सक्दो सहयोग प्रदान गरेका छन। भारत सरकार, प्रान्तीय सरकार, गैसस तथा व्यवसायिक जगत र खासगरी भारतका जनताले दिल खोलेर नेपालमा सहयोग गरेका छन्। यस विपत भारतलाई नै परेको जस्तैगरी हामी सहयोगमा जुटेका थियौं।

प्रधानमन्त्री मोदी आफैले राहत र उद्धार कार्यमा खटाउनको लागि नेतृत्व लिनुभएको थियो। महाभूकम्पको ६ घण्टाभित्रै हाम्रो उद्धार टोली नेपाल आइपुगिसकेको थियो। नेपाल सरकारसँग समन्वय गर्दै उद्धार, राहत र प्रारम्भिक उत्थानका कार्यमा हाम्रो टोली जुटेको छ। भारतीय सशस्त्र बल, सरकारी संस्था तथा स्वयम् सेवकहरु खाद्यान्न, बासस्थल, औषधी तथा प्राविधिक सहयोगको लागि साथसाथै आएका थिए। करिब ४ अर्ब भारतीय रुपैया बराबरको 'अपरेसन मैत्री' हाम्रा तर्फबाट विदेशमा गरिएका हालसम्मकै सबैभन्दा ठूलो प्रकोप सहायता प्रयास हो। अन्य विदेशी मुलुकको भन्दा धेरै सहयोग हामीले गरेकोमा भन्दा पनि नेपाली दाजुभाइको पीडामा भारतीयहरुबाट व्यक्त सहानुभूति, निरन्तर र हार्दिक सहयोगले धेरै महत्व राख्दछ।

नेपाल हालसम्मकै महान पुनर्निमाण कार्यको तयारी गर्दैछ। नेपालको राष्ट्रिय योजना आयोगले २०० भन्दा धेरै अन्तर्राष्ट्रिय विज्ञहरुसँगको परामर्शमा वृहत पुनर्लाभ आवश्यकता मुल्यांकन तयार गरेकोमा हार्दिक बधाइ दिन चाहन्छु। सहभागितात्मक तथा विश्वसनीय अन्तर्राष्ट्रिय प्रयासको रुपमा मानिएको पीडीएनए (प्रकोपपछिको आवश्यकता बारे मूल्यांकन दस्तावेज) निर्माणको क्रममा योगदान गर्न पाएकोमा भारत गौरवान्वित छ। यो दात्तृनिकायहरुलाई राहत प्याकेज र आफ्ना संकल्पहरु साकार गराउन निर्दिष्ट गर्ने एउटा महत्वपूर्ण रुपरेखा हो।

पीडीएनए प्रतिवेदन अनुसार पुनर्निमाणको लागि अमेरिकी डलर ६.७ अर्बको ठूलो धनराशी आवश्यकता पर्दछ। यस्तो ठूलो परिमाणको श्रोत साधनहरु परिचालन गर्ने कार्य पनि आफैमा चुनौतिपूर्ण छ तथापि नेपाल एक्लो छैन। नेपालप्रति धेरै मित्र तथा दाताहरुको शुभेच्छा र सहयोग छ। हामी सबै सँगै हुने हो भने यो चुनौती सजिलै पार गर्न सक्नेछौं। हाम्रो सबैभन्दा घनिष्ठ र प्राचीन मित्र तथा छिमेकी नेपाललाई सहयोग गर्ने कुरामा नेतृत्व लिँदै काँधमा काँध मिलाएर अघि बढ्न भारत हरदम तयार छ।

रकम जुटाउन जति चुनौती छ त्यसको सदुपयोग पनि त्यतिकै चुनौतिपूर्ण छ। रकमको पारदर्शी सदुपयोग र पीडीएनएको उद्धेश्य हासिल गर्ने काम सजिलो छैन। यसको लागि चुस्त संस्थागत संयन्त्र तथा दक्ष, सशक्त र अथक समर्पण भएका व्यवस्थापकीय समुहको आवश्यकता पर्दछ। नेपाल सरकारको यस्तो सशक्त असाधारण संयन्त्र स्थापना गर्ने निर्णयको हामी स्वागत गर्दछौं। हामी विशेषज्ञता र अनुभव बाढ्नको लागि हाम्रा पेशागत समुहहरुलाई पनि खटाउन तयार छौं।

नेपालको आजको आवश्यकता भनेको अल्पकालीन तथा दीर्घकालीन आवश्यकताहरु सम्बोधन गर्ने समग्र उत्थान कार्यक्रम नै हो। ललितपुर, भक्तपुर र वसन्तपुरका ख्यातिप्राप्त सांस्कृतिक सम्पदाहरु पनि नेपालले पुनर्निमाण गर्नु पर्ने नै छ। चुनौती जत्ति डरलाग्दो छ उपाय पनि त्यत्ति नै हुनु पर्दछ।  अतः दाताहरुले नेपालमा मौद्रिक सहयोगमात्र प्रदान नगरी प्राविधिक सहयोग र क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्नैपर्छ।

नेपाल र भारतबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ। हाम्राबीच समान सांस्कृतिक, धार्मिक, परम्परागत, भाषिक, साहित्यिक र मिथकीय सम्बन्ध रहेको छ। एउटै हिमाल र नदीहरुबाट हामी पृष्ठपोषित छौं। हामीबीच रोटी–बेटीको सम्बन्ध छ।

हामी दुवै प्राकृतिक विपत्तिप्रति संवेदनशील छौं। १९३४ को भूकम्पले नेपाल र बिहारलाई तहसनहस पारेको थियो भने २०११ को भूकम्पले सिक्किम र नेपालका दुबै समुदायलाई असर गरेको थियो। वर्षातको समयमा हाम्रा साझा नदीहरुमा आउने बाढीले दुवै देशका जनतालाई आहत पुर्‍याउँछ भने हालैका महाभूकम्पले पनि नेपालमा धेरै क्षति गर्नुको साथै बिहार, उत्तरप्रदेश र पश्चिम बंगालमा समेत धनजनको क्षति गराएको छ। यसको मतलब भारत र नेपाल सुखमा मात्र होइन दुःखमा पनि जोडिएका मित्र हुन्। तसर्थ हामीले प्रकोप न्युनीकरणलाई नजिकबाट संयोजन गर्दै यस्ता विपतहरुमा एकअर्कालाई सहयोग पुर्‍याउनु पर्दछ।

हाम्रा विशिष्टता र नेपालको आवश्यकतालाई मध्यनजर गर्दै धेरै क्षेत्रहरुमा सार्थक सहयोग प्रदान गर्न सकिन्छ। यस्ता क्षेत्रहरुमा कृषि, हाउजिङ, सडक यातायात, विद्युत, स्वास्थ्य, शिक्षा, सांस्कृतिक धरोहर तथा प्रकोप खतरा न्युनीकरण आदि पर्दछन। स्थानीय तहमा केन्द्रित हाम्रा साना विकास परियोजना कार्यक्रमहरुलाई समेत अझ मजवुत गराउनु पर्दछ।

यी पृष्ठभूमि र नेपालसँगको हाम्रो विशेष सम्बन्धको आधारमा नेपालको भूकम्पपछिको पुनर्निमाणमा सहयोग गर्नको लागि भारत सरकारले १० हजार करोड रुपैयाँ (अमेरिकी डलर १ अर्ब) प्रदान गर्ने र त्यसको एक/चौथाइ रकम अनुदानको रुपमा सहयोग गर्ने कुरा सहर्ष घोषणा गर्दछु। यो आगामी ५ वर्षका लागि जारी द्वीपक्षीय अनुदान तथा ऋण सहयोगस्वरुपको १ अर्ब अमेरिकी डलर (जसमा ४०% अनुदान रहेको) भन्दा अलग सहयोग हो। यसरी, अब आउने ५ वर्षका लागि नेपालको लागि हाम्रो कुल सहयोग अमेरिकी डलर २ अर्ब हुनेछ।

गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालमा भएका दुईओटा भ्रमणले विभिन्न क्षेत्रका द्वीपक्षीय सहयोगमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। अब जलविद्युत परियोजनाहरु द्रुत गतिमा कार्यान्वयन गरिनु पर्दछ भने भारतको सहभागितामा बन्ने निजगढ विमानस्थल र काठमाडौं–निजगढ द्रुत सडकजस्ता परियोजनाहरुको यथाशीघ्र कार्यान्वयन गरिनु पर्दछ। यी परियोजनाहरुले रोजगारीको अवसर सिर्जना भै जनताको जीवनस्तर र सरकारी राजश्व उकासिनुको साथै दीर्घकालीन उत्थानमा सहयोग पुग्नेछ।

आगामी दिनहरुमा हामी नेपाल सरकारको सामिप्यमा रही विशेष पुनर्निमाण परियोजनाहरु पहिचानमा लाग्नेछौं। नेपालले अन्तर्राष्ट्रिय समुदायले प्रतिवद्धता जाहेर गरेका सहयोगहरु सवल, प्रभावकारी, पारदर्शी र दिगो रुपमा सदुपयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं। गरिएका प्रतिवद्धताहरु समयमै हुबहु कार्यान्वयन गरिनेछ भन्ने पनि हामीले उत्तिकै आशा राखेका छौं।

साझा र उच्च उद्धेश्यमा सहकार्यको संकेत गर्दै आजभन्दा ठीक चार दिनअघि संसारले पहिलो अन्तर्राष्ट्रिय योग दिवश मनाएको छ। आज, योगको प्राचीन दर्शनबाट प्रेरणा लिँदै अझ उत्फुल्ल नेपाल निर्माणमा हातेमालो गरौं।
(भारतीय विदशेमन्त्री सुषमा स्वराजले दिएको  मन्तव्यमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell