PahiloPost

Feb 7, 2023 | २४ माघ २०७९

नफक्रिँदै झरेका कोपिला



नफक्रिँदै झरेका कोपिला

डा. विजय ज्ञवाली-

  • एसएलसी परीक्षा अनुतीर्ण भएकै कारण १० जना विधार्थीले यो वर्षको आफ़्नो जीवनको अन्त्य गरे। यी सबै १७ वर्षभन्दा कम उमेरका थिए।
  • विश्व कपको दौरान ब्राजिलको हारलाई कारण बनाई एक जना बालिकाले आत्महत्या गरिन्। उनी १५ वर्ष भन्दा कम उमेरकी थिइन्।
  • साउन पहिलो साता छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ अध्ययनरत एक १२ वर्षीय बालकले आफू बस्दै आएको घरमै झुन्डिएर आत्महत्या गरे।
  • केही साता अगाडि मात्र अर्को घटना सार्वजनिक भएको छ। काभ्रे जिल्लामा सामान्य घरायसी विवादलाई आधार बनाएर एक १५ वर्षीय बालिकाले आत्महत्या गरेकी छन्।
यी पछिल्ला ३ महिनामा सार्वजनिक भएका आत्महत्याका घटना हुन्।
 
मानव जीवनको मूल्य कम भैरहेको हाम्रो समाजमा राजनीतिक विषयले मात्र प्राथमिकता पाउने परिपाटी विकास भैरहेकोले होला, यी र उस्ता घटनाको गम्भीरतामा कसैको ध्यान गएको देखिँदैन। 

तर लगभग ३ महिना भित्रमा १३ जना बालबालिकाले आत्महत्या गर्नुले हाम्रो समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नचिन्ह खडा भएको छ।

साधारणतया अधिकांश आत्महत्याका घटनाहरु समाचारमा नआउने हुँदा यो समस्याको वास्तविक गहिराई अझ गम्भीर भएको सहजै अनुमान लगाउन सकिन्छ।
 
आत्महत्या आफैंमा दुखद हुन्छ, अझ त्यसमाथि पनि ससाना बालबालिकाले आफ्नो जीवनको अन्त्य आफैले गर्नु गम्भीर विषय हो। समस्याले डढेलोको रुप लिँदा पनि यसमा कसैको ध्यान नजानु र यो विषयमा कुनै पहल नहुनु आश्चर्यजनक मात्र होइन सम्बन्धित निकायको गैरजिम्मेवारी नै मान्नुपर्छ। वास्तवमा यसको गम्भीरतालाई बुझ्ने हो भने यो अत्यधिक सजग हुनुपर्ने अवस्था हो।
 
विश्व स्वास्थ्य संगठनले यो साता सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा हरेक दिन १५ जनाले आफ्नो जीवन अन्त्य गर्ने गरेको उल्लेख छ। यो दक्षिण एशियाली देश मध्ये श्रीलंका पछिको दोस्रो ठुलो संख्या हो। यो प्रतिवेदनअनुसार १५ देखि २४ वर्ष र ५० वर्ष भन्दा माथिका उमेर समूह आत्महत्याको उच्च जोखिममा छन्।
 
सन् २०१२ सम्मको तथ्यांकलाई आधार मानेर तयार गरिएको उक्त प्रतिवेदनले नेपालमा बढिरहेको आत्महत्या जोखिमतालाई उजागर गरेको छ। हामीकहाँ मृत्यु दर्ता गर्ने नियम भए पनि त्यसलाई पालना गर्ने परिपाटीको अभाव छ। त्यस अर्थमा वर्षभर कतिजनाको मृत्यु आत्महत्याको कारण भयो भन्ने आँकडा कसैसँग छैन।

अझ सामाजिक मिथ्याका कारण आत्महत्याको घटना लुकाउने परिपाटी भएकाले उपलब्ध तथ्यांक अपूर्ण छ भन्ने भन्ने सहज अनुमान लगाउन सकिन्छ। यो अवस्थामा हामीकहाँ बालबालिकाको आत्महत्याको तथ्यांकको अनुमान लगाउन पनि गार्हो छ।
 
३ महिनाको हाराहारीमा १३ जना बालबालिकाको आत्महत्या हुँदा पनि यो विषय हाम्रो विचारयोग्य बन्न सकेको छैन। कुनै सरकारी अथवा गैरसरकारी संस्थाको लागि यो अजेन्डा बन्न सकेको छैन। 

संसारभर आत्महत्याका घटनाको तथ्यांक नियाल्ने हो भने बालबालिकाको आत्महत्याको प्रमुख कारण स्कूल र घरमा हुने दुर्व्यवहार ( बुल्लिङ) हो। नेपालमा स्कूलमा हुने 'र्‍यागिङ' र दुर्व्यवहारका कारण हुने आत्महत्याका घटना खासै बाहिर नआए पनि छिमेकी देश भारतमा यस्ता धेरै घटना सार्वजनिक भएका छन्।
 
२०१३ मा प्रकाशित एउटा अनुसन्धानलाई आधार बनाउने हो भने २००५ देखि २००९ सम्ममा नेपाल प्रहरीमा २१७२ जनाले आत्महत्या गरेको घटना (४-२१ उमेर समूह) दर्ता भएको छ। जसमा उल्लेख भएका  कारणहरुमा ३५% घरेलु हिंसा, २४% मानशिक हिंसा, १५.८% शैक्षिक असफलता र ८.७ असफल प्रेम सम्बन्ध रहेको छ।

यो तथ्यांक ५ वर्ष पुरानो भएतापनि यसले हामीलाई बालबालिकाले गर्ने आत्महत्याको कारण अनुमान गर्न सजिलो भएको छ। पत्रपत्रिकामा आएका समाचारलाई आधार बनाउने हो भने पछिल्लो समय शैक्षिक असफलताका कारण आत्महत्या गर्ने बालबालिकाको संख्या बढेको हामी अनुमान लगाउन सक्छौं।
 
समष्टिगत रुपमा आत्महत्याको कारणलाई हेर्ने हो भने आत्महत्या विशेषगरी आफन्तको मृत्यु, एकान्तपन, बिरामी, मानसिक असन्तुलन, असफल प्रेम,लागूऔषध, परीक्षामा असफलता, क्षणिक आवेग र मानशिक नैराश्यता आदिको कारणले उत्पन्न  हुन्छन।

आत्महत्या गर्ने मानिसको उद्देश्य जीवनको अन्त्य नभएर पीडाबाट मुक्ति हुने गर्छ। बालबालिकामा पनि यिनै कारणले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन।
 
परीक्षामा अनुतीर्ण हुनु र प्रेममा असफल हुनु सतही कारणमात्र हुन्। ती देखिने कारण उत्प्रेरक मात्र हुन्। यसका वास्तविक कारण भनेको मानसिक बिचलनता नै हो।

अधिकांश आत्महत्या योजनापूर्वक गरिएको हुन्छ। बालबालिकाको हकमा पनि त्यो लागु हुन्छ। साथीभाइ तथा शिक्षकशिक्षिका परिवारका सदस्यलाई उनीहरुले कुनै कुनै रुपले संकेत दिइरहेका हुन्छन्।
 
ती लक्षणको पहिचान गरी उनीहरुका समस्याको निराकरण गर्ने र जीवनको मूल्य बुझाउन सक्ने हो भने आत्महत्या नियन्त्रण गर्न सकिन्छ।
 
कतिपय देशमा बालबालिका र युवाहरुलाई लक्षित गरि चौविस घन्टे नि:शुल्क परामर्श  सेवा सञ्चालन गरिएको हुन्छ। यो सेवा निकै प्रभावकारी भएको पाइएको छ। नेपालमा पनि त्यस्तो सेवाको सुरुवात हुनु आवश्यक रहेको छ।

सरकारी क्षेत्रबाट नै त्यो पहल भएमा यस्तो सेवालाई दिगो रुपमा सञ्चालन गर्न सकिने थियो।
 
यसै गरी बालबालिकासँग प्रत्यक्ष सम्बन्ध हुने शिक्षकशिक्षिकालाई पनि आत्महत्या नियन्त्रण र पहिचान जस्ता विषयमा तालिम दिन सके यसले पनि बालबालिकाको आत्महत्या नियन्त्रणमा ठुलो भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।
 
(लेखक क्लिनिकल मनोविज्ञ हुन्। उनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सञ्चालन गरिरहेका छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell