PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

यो सांगीतिक संकीर्णता



यो सांगीतिक संकीर्णता

  • किशोर नेपाल
हिजो आइतबार साँझ लण्डनको रोयल अल्वर्ट हलमा नेपालका नयाँ र पुराना लोकप्रिय कलाकारहरु गोर्खा जिल्लाका भुईंचालो पीडितका लागि गीत गाएर सहयोग जुटाए। रोयल अल्वर्ट हल नेपालीका लागि अपरिचित प्रेक्षागृह होइन। भारतीय गायिका लता मंगेशकर, गजल गायक जगजीत र चित्रासिंह लगायतका धेरै सुप्रसिध्द कलाकारहरुले आफनो सुमधुर स्वर मार्फत् भारतको नाम गुञ्जाइ सकेका छन यो मन्चबाट।

नेपाली कलाकारहरु यसपटक भुर्इंचालोको नाममा यहाँ उभिए। तर, यी कलाकारहरुको उपस्थिति साँघुरिएको छ। उनीहरु देशका नाममा होइन, दासत्व वोधक एउटा शव्दका नाममा अथवा नेपालभित्रको एउटा जिल्लाको नाममा अल्वर्ट हलमा उभिए। कलाकारहरुले अल्वर्ट हलमा कमाएको पैसाले गोर्खा जिल्लाका पीडितहरुलाई मात्रै सहयोग गर्नेछ। नेपालका लोकप्रिय कलाकारहरुको आवाज देशका लागि होइन, एउटा जिल्लाका लागि सीमित रहनेछ।

“खान पुगोस–दिन पुगोस” को उद्देश्य राख्ने हेल्प नेपाल नेटवर्क यो सांगीतिक कार्यक्रमको आयोजक हो। संस्थाले गोर्खा जिल्लाका नाममा र गोर्खा जिल्लाका लागि सहयोग मांगेर “गोर्खाली” भावनाको व्यापार गर्न खोजेको स्पष्ट छ। यो सबैलाई थाह छ पहिलो भुईंचालोको इपिसेन्टर गोर्खा भए पनि यो जिल्ला भूकम्पले सर्वाधिक विनाश गरेको जिल्ला पक्कै होइन। अन्य जिल्लाको तुलनामा गोर्खामा जति क्षति भएको छ त्यसको तुलनामा चारैतिरबाट ओइरिएको राहतको थुप्रो निकै धेरै छ। एकीकृत माओवादीका नेता बाबुराम भट्टराईदेखि कांग्रेस र एमालेका नेताहरु एकाग्र भावमा राहतको काममा जुटेको यो जिल्लामा राहत सामग्री र आर्थिक स्रोतको होइन त्यसको व्यवस्थापनको आवश्यकता छ। आर्थिक हिसाबले यहाँका जनता सक्षम छन्। राजनीतिक हिसाबले भुईँचालोपछि सबैभन्दा बढी पुलपुल्याइएको जिल्लाका रुपमा गोर्खा अन्तर्राष्ट्रिय दाता समुदायका बीच चर्चित छ।

बेलायत र यसको राजधानी लण्डनले नेपाललाई भन्दा गोर्खालाई बढी चिन्दछ। गोली–गट्ठा र लडाईंसँग कहिल्यै नडराउने जातिका रुपमा गोर्खालीहरु स्थापित छन। गोर्खाली शव्दलाई जतिसुकै महिमा मण्डित गरिए पनि यो स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालको परिचय होइन। यो शव्दले दासत्वको प्रतिनिधित्व गर्दछ। पैसाका लागि लड्ने मर्सिनरी जाति हो गोर्खाली भन्ने मान्यतालाई विस्तार गर्दछ यो शव्दले। इतिहासका हिसाबले पुरानो र मौसमका हिसाबले चीसो शहर लण्डन गोर्खालीका लागि पटक पटक झन् चीसो सावित भै सकेको छ। यतिबेला लण्डनमा “समर” चलेको छ : गर्मीको मौसम। युरोपमा समर रमाइलो हुन्छ।

पक्कै पनि, यो हेल्प नेपाल भन्ने संस्था गोर्खा जिल्लास्तरीय एनजीओ त होइन होला। तर, किन यो संस्थाले भुईंचालो पीडितलाई किन गोर्खा र अन्य जिल्लामा छुट्याएर विभाजन ल्याउन खोज्यो ? किन लण्डनमा बस्ने दोलखाको नेपालीले यो कार्यक्रमप्रति अपनत्व देखाउने ठाउँ पाएन ? किन ओम बिक्रम विष्ट, दीप श्रेष्ठ र योगेश्वर अमात्य जस्ता राष्ट्रिय स्तरका लोकप्रिय कलाकार गोर्खाका लागि मात्र सहयोग जुटाउन राजी भए ? के तिनका गीत–संगीत गोर्खाका जनताले मात्र सुनेर ती राष्ट्रिय स्तरका लोकप्रिय कलाकार बनेका हुन ? यो कुन गोर्खा हो ? नेपालको जिल्ला कि दासत्ववोधक शव्द ?

मैले अघिल्लो साता प्लमस्टीड स्थित मायादिदीको खाजाघरमा योगेश्वर अमात्यसँगको संक्षिप्त भेटमा सोधेको थिएँ - तपाईंहरु गोर्खाका लागि सहयोग जुटाउन आएको कि नेपालका लागि ? मेरो प्रश्नले उनलाई झस्कायो। लण्डनमा उनीसँग लामै कुरा गर्ने इच्छा थियो। उनले स्वीकृति पनि दिएका थिए। तर, उनले पहिलोपटक मलाई 'अभ्वायड' गरे। शायद, प्रश्न सुन्ने बित्तिकै उनी थाकेका थिए। कार्यक्रमका बारेमा विस्तृत जानकारी दिन कसैले चाहेन। कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको अनुभवमा कार्यक्रमहरुका बारेमा दूतावासको भूमिका कसैले खोज्दैन। सरकार सबैका लागि डेट एक्सपायर्ड पत्र–मन्जुषा बनेको छ।

देशको गौरवको गीत गाएर नथाक्ने यी कलाकारले गोर्खालाई मात्र देश देखेका हुन कि राहत र सहयोगको नाममा “दिन–खान पुग्ने” नयाँ शक्तिको निर्माण गर्न खोजेका हुन ? यो कुरा समयले बताउला। तर, आयोजक र सहभागीहरुको पृष्ठभूमिका आधारमा भन्ने हो भने यी सबै शक्ति केन्द्रको मोहले जुटेका हुन। जुन नाम र जसरी भए पनि यिनलाई शक्ति चाहिएको छ।

नेपाली कलाकारले लण्डनको अल्वर्ट हलमा गीत गाउनु ठूलो कुरा होइन, त्यहाँको प्रेक्षा गृहमा उभिएर एउटा जिल्लाको नाममा पूरै देशलाई भावनात्मक हिसाबले खण्डितगर्न खोज्नु सबभन्दा ठूलो पाप हो। कलाकारहरुको नामको दुरुपयोग गर्ने गैर सरकारी संस्था र उसले भन्ने वित्तिकै आफनो नामको दुरुपयोग गर्न दिने कलाकार दुवैथरी यो पापका भागी हुन। सहयोग र राहतका नाममा राजनीतिक नौटंकी गर्ने यस्ता गैर–जिम्मेवार संस्था र नौटंकीका कलाकारले बुझनुपर्ने कुरा हो – भुईंचालो नेपालमा गएको हो। गोर्खा त एउटा जिल्ला हो। बढीमा, शाहवंशीय राजाहरुका लागि प्रतीकात्मक महत्वको कुलघर। भत्किइ सकेको यही कुलघरको आड र आशिर्वादमा नयाँ नेपालको रथ हाँक्न चाहनेहरुको कमी छैन नेपालमा। हाम्रो मूल समस्या यही नै हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell