PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

इपिसेन्टर नजिक ५ वर्षसम्म पहिरोको जोखिम हुन्छ



इपिसेन्टर नजिक ५ वर्षसम्म पहिरोको जोखिम हुन्छ

  • हरि देवकोटा– 
गोरखा भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) भएर दुईथरी भूकम्प गयो। पहिलो १०/१५ सेकेण्ड भर्टिकल कम्पन (तलमाथि हल्लिने), अर्को होरिजन्टल (दायाँबायाँ हल्लिने)।

सुरुमा गएको भर्टिकल भूकम्पले वारपाकबाट ४/५ किलोमिटर आकाशेदूरी वरपरका संरचनाहरु ध्वस्त बनायो। प्रायजसो भर्टिकलको असर धेरै टाढासम्म पर्दैैन। त्यसको एक मिनेट नबित्दै होरिजन्टल मुभमेन्ट आयो जसको असर धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, दोलखा, ओखलढुंगा रामेछाप लगायत पूर्वतर्फ धेरै टाढासम्म पर्‍यो। 

अचम्मको कुरा भूकम्पको इपिसेन्टर वारपाकदेखि पोखरा करिब ८० किलोमिटरको आकाशे दूरीमा पर्छ, काठमाडौं भने १ सय २० देखि ३० किलोमिटर। तर पोखरामा केही नहुने काठमाडौं र अझै टाढाका सिन्धुपाल्चोक र दोलखामा त्यस्तो क्षति किन? 

यसको कारण हो लमजुङ र गोरखाको सीमानामा रहेको चेपे नदी वरपर बाक्लो ‘स्याण्ड स्टोन लेयर’ चट्टान। यसले भूकम्पको शक्ति सोसिदियो। यदि यस्तो चट्टानहरु नहुने हो भने भूकम्पको तरंग पोखरीमा ढुंगा हान्दा जस्तो सबैतिर बराबर जानुपर्ने हो । तर बाक्लो चट्टान भएकाले पश्चिमतिर जान सकेन, पूर्वतिर मात्र फैलियो र कमजोर लुपहोल हुँदै पूर्वतिर यसको क्षमता बढ्यो।

इन्डोनेशियाको बन्दएसेन्टमा सन् २००४ मा ८.२  रेक्टर स्केलको भूकम्पसँगै समुन्द्रमा ४० मिटर अग्लो छाल आयो। त्यो छाल बढ्दै गएर ६० मिटर अग्लो भयो। त्यसले क्रिसमसको अघिल्लो दिन १ लाख ७० हजार मानिसको ज्यान एकैचोटी लिइदियो। हाम्रोमा धेरै चट्टान भएकाले भूकम्पको क्षति तुलनात्मक रुपमा कम भयो। 

इपिसेन्टर वारपाक र नजिकका वस्तीहरु लाप्राक, गुम्दा, लापु, काशीगाउँ, केरौजा, उहिया, मान्बु, स्वाँरा आदि क्षेत्रका जमिन भूकम्प र परकम्पका कारण धेरै थर्किएको छ। इपिसेन्टर वरपरका ५÷६ किलोमिटरको क्षेत्रको जमिन गाउँले भाषामा भन्दा हामीले बाँझो जोतेको खेतजस्तो भएको छ। जमिनका नशाहरु चुँडिएको छ। यो क्षेत्रलाई हामी रेड जोन अर्थात धेरै खतरायुक्त क्षेत्र भन्छौं। 

गोरखा भूकम्पको दुई हप्ता नपुग्दै दोलखा र सिन्धुपाल्चोकबाट पश्चिमतिर अर्को कम्पन गयो। यसले जमिनका नशाहरु नराम्ररी झन् चुडाइदियो। रसुवाको पासाङल्हामु सडकमा गोरखा भूकम्पपछि चिरिएको आधा फिटको चिरा सिन्धुपाल्चोकको भूकम्पले जोडिदियो। 

भूकम्पले धेरै क्षेत्रमा क्षति पुगेको छ। तर अहिले वर्षा र मनसुनको समयमा इपिसेन्टरको ५ किलोमिटर वरिपरी क्षेत्रका वासिन्दाहरु भने धेरै नै सचेत हुन आवश्यक छ। त्यहाँ धेरै चिरा परेकाले वर्षाको पानी जमिनले धेरै सोस्छ। भल बग्ने सम्भावना धेरै कम छ। त्यसैले पोहोर सिन्धुपाल्चोकको जुरेमा गएको जस्तो पहिरो धेरै ठाउँमा जान सक्छ। त्यस्ता पहिरो यो वर्षमात्र नभई आउँदो ५ वर्षसम्म जाने सम्भावना उत्तिकै हुन्छ। 

८०/८५ वर्षसम्म आफ्नो स्थिर स्वरुप लिएर कुनै कम्पनबिना बसेको ठाउँ उचाल्ने थेचार्ने हुँदा पहिलेको अवस्थामा आउन ५/१० वर्ष पनि लाग्छ।

वर्षायाममा रेड जोनका वासिन्दा डाँडाको फेदीमा बस्नुभन्दा टुप्पामा बस्नु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ। गोरखाको लाप्राकका वासिन्दा पुरानो गाउँ छाडेर गुप्सीडाँडामा बस्नु तुलनात्मक रुपमा राम्रो हो, तर गुप्सीडाँडाको जमिन पनि चिराचिरा परेकाले सचेत हुन अत्यन्त जरुरी छ।

गुम्दाको सिङ्ला, यमगाउँ लप्सीबोट जस्ता गाउँमा पहिरोको धेरै जोखिम छैन तर पहिरोले त्यहाँ जाने बाटो सबै बन्द पनि हुनसक्छ। त्यसैले यस्ता ठाउँ ओपन जेल बन्न सक्छ। यस्ता ठाउँका मानिसहरुलाई कम्तीमा यो वर्षायाम नजिकको सुरक्षित ठाउँमा राख्नुपर्छ। आखिर एउटा कटेरो बनाउने र राहतमा बाँडिएको चामल नै खानु छ भने यो वर्षायामको ४/५ महिना अलि सुरक्षित ठाउँमा सरेर किन नबस्ने? 

ठूलो कम्पनपछि लगातारको परकम्पले जमिन धेरै हल्लियो। अहिले वर्षायाम र मनसुन नभएको भए धेरै समस्या हुँदैनथ्यो। तर वर्षामा परेको पानी चिरा परेको जमिनले सोस्छ। सामन्य अवस्थामा यसरी सोसिएको पानी खोला खोल्सी र पानीको मूलहरुमा निस्कन्थ्यो। भूकम्पले क्षतविक्षत पारेको जमिनमा त त्यो पानी कता जान्छ? कहाँ सोसिन्छ  केही थाहा हुँदैन। त्यसैले ती ठाउँमा तपाईं हामीले नसोचेको विपदहरु फागुन, चैत महिना जस्ता सुख्खमा मौसममा पनि आउन सक्छ। 

गोरखाको वारपाक नजिकका गाउँहरु, नुवाकोटको उत्तरी क्षेत्र, रसुवाको लाङटाङदेखि सिन्धुपाल्चोकको हेलम्बु, चौतारा, लिस्ती कोट र दोलखाको रोल्वालिङसम्मको क्षेत्रलाई हामीले रेड जोन मानेका छौं। यसको वरपर र तलमाथिको क्षेत्रलाई एल्लो जोन भन्छौं, यो क्षेत्रकाले भने रिस्क लिन जरुरी छैन। तर सचेत भने हुनैपर्छ।

लाङटाङ दोहोरो थर्काइको चपेटामा

लाङटाङको रिस्क भनेको ताल तलैया र कुण्डहरु हुन्। ती कुण्ड भनेको पानी लिने ठाउँ हो। भूकम्पपछि त्यहाँको चट्टानको फर्मेशन कमजोर भएको छ। बेस रक नै बलियो नभएका कारणले ताल तलैयामा जम्मा हुने पानी, हिउँहरु छिरुवा भएर जाने हुन्छ।

त्यहाँको तालतलैवामा पानीको लेबल घट्दै जान थालेको छ। लाङटाङको रिस्क भनेको यो क्षेत्र  दोहोरो थर्काइको चपेटामा परेको छ। लाङटाङ र रसुवाको माथिल्लो क्षेत्र पहिलो गोरखा भूकम्पको थर्काईमा प¥यो भने दुई हप्ता नबित्दै दोलखा र सिन्धुपाल्चोक भूकम्पको थर्काई पनि यसमा पर्‍यो। 

काठमाडौं पनि दोहारो दनक खाएको ठाउँ त हो। तर यो ठाउँ इपिसेन्टरको ५÷६ किलोमिटर भित्र नपर्ने भएकाले धेरै खतरनाक नहुन सक्छ। तर वर्षामा यहाँका इनार तथा ट्युबेलको पानीबाट असर थाहा पाउन सकिन्छ। ट्युबेलका पानीहरु सुक्यो भने जमिनको नशा चुडिइ भूमिगत पानीको जलचक्रलाई असर परेको छ भन्ने जान्नुपर्छ। 

भूकम्पले जमिनमुनिको चट्टान केही हुन्न तर सतहमा रहेको घर, बोटविरुवा र जमिनको सतह बगेर जान्छ। यो यसै वर्ष नजान पनि सक्छ, एक/दुई वर्षपछि पनि जान सक्छ।

रेड जोनका मानिसहरुलाई अबको ५ वर्ष निकै सचेत हुनुपर्छ। तर वर्षायाममा त्यस ठाउँमा बसिरहनु उहाँहरुकै लागि खतरा हो। यो वर्ष पहिरो गएन भनेर बलियो घर ठड्याउन हुँदैन। ५ वर्षसम्मको अवस्था अनुगमन गर्नैपर्छ। 

यत्तिको भूकम्प जापान, फिलिपिन्स, इन्डोनेशियामा गएको भए धेरै ठूलो क्षति हुन्थ्यो। यहाँको चट्टान बलियो भएकाले क्षति ठूलो भएन तर संरचना भने खल्बलिएको छ। तिब्बतीयन प्लेटको माथिल्लो भाग धेरै खल्बलियो, यसले ५ वर्ष वा १० वर्षमा कस्तो रुप लिन्छ कुनै वैज्ञानिकले अनुमान गर्न सक्दैनन्। यसबारे अध्ययन गर्न धेरै अनुसन्धानकर्ताहरु नेपाल आउँदै छन्। 

सबैभन्दा अचम्मको कुरा के छ भने जब २५ अप्रिलमा ७.८ रेक्टरको स्केलको भूकम्प गयो। त्यसको दुई हप्ता नपुग्दै झण्डै त्यत्तिकै ठूलो भूकम्प करिब १०० किलोमिटर पेरिफेरीभित्र गयो। विश्वमा दुई हप्ताभित्रै दुई सय किलोमिटरभित्र यति ठूलो भूकम्प गएको रेकर्ड छैन। त्यसैले नेपालको भूकम्पको विशेषता जाँच गर्न धेरै वैज्ञानिकहरु आकर्षित भएका छन्। 

भूकम्पको इपिसेन्टरको ५ किलोमिटर क्षेत्रका वासिन्दाहरु कडा चट्टान भएको क्षेत्रम बस्दा धेरै डर हुँदैन। तर बाक्लो माटो भएको भिरालो सतहमा बस्न म सिफारिस गर्दिन। गोरखाको गुम्दा, यामकोट, लापू खोर्लाबेशी जस्ता ठाउँलाई नजिकको सुरक्षित ठाउँमा सार्नुपर्छ। 

गाउँका युवाहरु विदेशमा छन् वा शहरमा छन्, गाउँमा बुढाबुढी र केटाकेटीमात्र छन्। अझ केटाकेटीलाई पनि उनीहरुको आमाले पढाउन शहरमा ल्याएका छन्। त्यसैले गाउँमा बुढाबुढीमात्रै छन्। ठूलो पहिरो खस्यो भने बुढाबुढीलाई उद्दार गर्नेहरु पनि कोही हुँदैनन्। त्यसैले उनीहरुलाई आफ्नै गाउँमा भन्दा नजिकको सुरक्षित ठाउँमा राख्नुपर्छ। गाउँले भाषामा भन्ने हो भने यो वर्ष प्रकृति अलि मातिएको देखिन्छ।

वारपाक र लाङटाङपछि धेरै क्षति पुगेको सिन्धुपाल्चोकमा हो। चीनसँगको बोर्डर क्षेत्र पहिरोको खतरामा छ। त्यहाँबाट हिजो एक जनाले फोन गरेर सरकारले नाका खोल्दैछ, अब ब्यापार हुने भयो भन्दै थिए। नाका खोलेपनि यो धेरै दिन चल्छ जस्तो लाग्दैन। पहिरोले छिट्टै अवरुद्ध पार्न सक्छ। सँगै सुख्खा पहिरो जाने र ढुंगाहरु खसिरहने सम्भावना पनि छ।

तातोपानी नाका धेरै खतरनाक भएपनि छिटै पहिरो पन्छाउने सम्भावना हुन्छ। स्याफ्रुबेशी नाका धेरै ठाउँमा डेन्जर छ। सिन्धुपाल्चोकको नाका तातोपानीदेखि माथिमात्र डर हो। यो नाका धेरै चल्तीको भएकाले तुलनात्मक रुपमा तातोपानी नाका सुरक्षित छ। दशैंका लागि चीनबाट सामान ल्याउनका लागि यसै नाकालाई कन्टिन्यू गर्दा राम्रो होला तर म सुरक्षित छ भन्न सक्दिन। सखुवा भन्दा माथिल्लो भागमा पहिरोले ढुंगाहरु उप्केर बसेको छ, कुन बेला कतिबेला झर्छ भन्ने कसैले अनुमान गर्न सक्दैन। 
 

अनुभवी सिभिल इन्जिनियर तथा विपद ब्यवस्थापन विज्ञ देवकोटासँग विनोद ढकालले गरेको कुराकानीमा आधारित। भूकम्पपछि देवकोटाले गोरखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतको जिल्लामा जमिनको अध्ययन गरेका छन्।


इमेल: [email protected]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell