PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​थारु गाउँमा होमस्टे : पाहुनाको यौन दुर्व्यवहारले गाउँले पीडित



​थारु गाउँमा होमस्टे : पाहुनाको यौन दुर्व्यवहारले गाउँले पीडित

काठमाडौँ :  बर्दिया जिल्लाको डल्ला गाउँको थारु समुदायको आर्थिक उन्नतिका लागि चार वर्षअघिदेखि सुरु गरिएको होमस्टेमा पाहुनाहरुको यौन दुर्व्यवहारले गाउँले पीडित भएको राष्ट्र बैँकले गरेको अध्ययन प्रतिवेदनमा खुलेको छ।

‘गाउँलेहरुले केही पाहुनाहरु यौन आकांक्षा राख्ने गरी आएको अनुभव गरेका छन्’, राष्ट्रबैँकले यसै साता सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ, ‘यही कारण घरका महिला सदस्यहरु पाहुनालाई ड्रिङ्क सर्भ गर्दा अगाडि देखासम्म पर्दैनन्।‘

राष्ट्र बैँकको बैङ्किङ विकास तथा रिसर्च युनिट नेपालगञ्ज कार्यालयले गरेको अध्ययन प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘पुरुष सदस्य नभएका घरहरुमा पाहुनालाई कमै राखिन्छ।‘

कुनै पाहुना राति अबेर घर आउने, मध्यरातसम्म मदिरापान गर्ने, हल्ला गरेर छिमेकीहरुलाई डिस्टर्ब गर्ने र पाहुना बस्न गएको घरपरिवारसँग दुर्व्यवहार गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा होमस्टेका विभिन्न समस्यामध्ये सडक सम्पर्कको समस्या, सार्वजनिक सवारी साधनको अभाव, विद्युत अभाव, स्वच्छ खानेपानी अभाव, सञ्चारको समस्या,  वर्दिया राष्ट्रिय निकुञ्जसँगै रहेकोले जनावरको आक्रमणको डर आदि उल्लेख छ।

त्यसैगरी आन्तरिक समस्याका रुपमा पूँजीको कमी, सीप र प्रशिक्षणको कमी, क्यामेरा, म्युजियम र सांस्कृतिक गहनाको अभाव, भाषाको समस्यालाई प्रतिवेदनमा महत्व दिइएको छ।

पाहुनाहरुले रैथाने खाना र कुखुरा माग गर्ने गरेको तर स्थानीय खाना चिप्लेकिरा र गँगटो अफ सिजनमा नपाइने हुनाले गाह्रो हुने प्रतिवेदनमा उल्लेख छ। केही पाहुनालाई चिप्लेकिरा र गँगटो मन नपर्ने हुनाले समस्या हुने गरेको छ। त्यस्तै अधिकांश पाहुनाहरुले लोकल कुखुरा माग्ने तर लोकल नपाइने हुनाले टाढा गएर ल्याउन समस्या हुने प्रतिवेदनमा उल्लेख छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell