- रविराज बराल/पहिलोपोस्ट-
प्रज्ञा प्रतिष्ठानको पुस्तकमा नअटाएका हरिभक्त कुनै बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानकै मुखपत्र ‘प्रज्ञा’ को प्रबन्ध सम्पादक थिए।
हिजो (असार १८ गते) उनै हरिभक्त कटुवालको ८० औँ जन्मजयन्ती थियो। १९९२ मा भारतको असममा जन्मेका कटुवालको २०३७ सालमा असममै निधन भयो, ४५ वर्षको उमेरमा। २०२४ सालमा काठमाडौंमा भएको नेपाली राष्ट्रवादी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक काठमाडौं आएका कटुवाल पुनः २०२६ सालमा काठमाडौं आए।
“कटुवाल एउटा गीतसंग्रह, एउटा कविता संग्रह र एउटा खण्डकाव्य लिएर काठमाडौं आएका थिए। काठमाडौं आएपछि कटुवाललले कविता संग्रह ‘यो जिन्दगी खै के जिन्दगी’ लेखे। यसैले उनलाई चर्चाको शिखरमा पुर्यायो।“नरेन्द्रराज प्रसाईले एउटा लेखमा कटुवालको जिन्दगीका उतारचढाब उल्लेख गरेका छन्। ‘अन्तर्जाल’ स्रोत उल्लेख गरेर नेपाली साहित्य संग्रहालय नामक ब्लगमा प्रकाशित भएको यो लेखमा हरिभक्त कटुवालबारे जान्न चाहनेलाई थुप्रै कुरा छन्।
माथि लिंक ब्याक गरिएको लेख एउटा उदाहरणमात्र हो, इन्टरनेटमा नेपाली भाषा/साहित्यबारे धेरै सामग्री सिर्जना भैसकेका छन्। हरिभक्त कटुवाल सर्च गर्दा भेटिएका नतिजालाई आधार मानौँ।
अनलाइन साहित्य डट कममा कटुवालको संक्षिप्त परिचय, उनका कृति र फोटो राखिएको छ। यसअघि नेपाली विकिपेडियामा उनको प्रारम्भिक जीवन, नेपाल आगमन र मृत्युबारे उल्लेख छ, भलै विकिपेडियाको लेखमा स्रोत उल्लेख छैन।
मझेरी डट कममा जाउँ, हरिभक्तका १३ वटा रचना पोस्ट गरिएको छ। साताको साहित्य डट कममा उनको मुक्तक पोस्ट गरिएको छ।
कटुवाललाई पहिलोपटक नेपाल निम्त्याएका थिए केदारमान व्यथितले। व्यथित २०२६ देखि ३१ सालसम्म प्रज्ञा प्रतिष्ठानको कुलपति थिए।
कवि व्यथितस्मृतिग्रन्थ (२०६०) मा आफूले लेखेको एउटा लेख चन्द्रप्रसाद न्यौपानेले सेतो परेवा डट कममा प्रकाशित गरेका छन्। यो लेख पढ्दा थाहा हुन्छ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति श्री ५ हुने परम्परा बदलेर जनतालाई कुलपति दिने व्यवस्था भएपछि कुलपति हुने पहिलो व्यक्ति केदारमान व्यथित नै थिए।
केदारमान व्यथितबारे नरेन्द्रराज प्रसाईले समकालीन साहित्य डट कममा लेखेका छन्, जसमा उनले व्यथितको जन्म, मृत्यु, व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका छन्। कटुवाल र व्यथित उदाहरणका रुपमा मात्र आएका हुन्, अहिले धेरै लेखक इन्टरनेटमा भेटिन्छन्, उनीहरुका रचनामार्फत।
इन्टरनेटमा अरु पनि थुप्रै वेबसाइट र ब्लग भेटिन्छन्, जहाँ साहित्यका विभिन्न विधामा लेख/रचना पोस्ट हुन्छन्। भलै यस्ता पोर्टल अपडेट भैरहन्छन् भन्ने छैन।
अभिनव डट कम, नेपाली कला साहित्य डट कम, साहित्यसंसार डट कम, नेपाली साहित्यघर डट कम, काव्यकुञ्ज डट कम, नेपाली आर्टिकल्स डट कम नेपाली साहित्यबारे गुगल सर्च गर्दा माथि देखिन्छन्। इन्टरनेटमा अभ्यस्त नयाँ पुराना धेरै लेखक आफ्ना रचना निजी वेबसाइट/ब्लगमा पनि पोस्ट गर्छन्। कतिपयलाई त इन्टरनेट गजबको माध्यम भएको छ आफूलाई लेखकका रुपमा तिखार्न।
बदलिँदै लेख्ने पढ्ने चलन
इन्टरनेटले लेखनलाई मात्र होइन, पठन संस्कृतिलाई पनि प्रभाव पार्दैछ। साहित्यकार घनश्याम न्यौपाने परिश्रमी (५७) एकताका पत्रपत्रिकामा आफ्ना लेख रचना खुब छाप्थे। तर हिजोआज उनी लेख्छन् र फेसबुकमै पोस्ट गर्दिन्छन्। किन त? न्यौपाने भन्छन्- ‘लेखेपछि पाठक समक्ष छिटो र सहज रुपमा पुगोस् भन्ने उद्देश्यले फेसबुकमै पोस्ट गर्ने गरेको छु।‘आधुनिक विज्ञान र प्रविधिले साहित्य, कला र संस्कृतिलाई पाठक समक्ष पुर्याउन अत्यन्त सहज भए पनि गहन साहित्य सिर्जना हुन नसकेको उनी बताउँछन्।
हामीले भर्खर भर्खर लेख्न थाल्दा प्रकाशन तथा प्रचार प्रसारको सुविधा थिएन’, न्यौपाने भन्छन्, ‘अहिले आधुनिक प्रविधिले साहित्य, कला र संस्कृतिलाई पाठक समक्ष पुर्याउन सजिलो बनाएको छ तर गहन साहित्य सिर्जना र त्यसको पठन र मननमा ह्रास आएको छ।‘
इन्टरनेटमा साहित्य
विराटनगरमा भएको साझा बृहत् पुस्तक प्रदर्शनी तथा कलासाहित्य मेला (२०६९, माघ १२–२१) मा विश्वासदीप तिगेलाले इन्टरनेट र नेपाली साहित्यको अन्तरसम्बन्ध शीर्षकमा एउटा कार्यपत्र प्रस्तुत गरेका रहेछन्, त्यो पनि इन्टरनेट मार्फत नै।उनले यो कार्यपत्रमा इन्टरनेटमा नेपाली साहित्यको प्रवेश, साहित्यिक सिर्जना प्रकाशन गर्ने वेबसाइटका प्रकार, अनलाइनमा हुने साहित्यिक प्रतियोगिताहरू, कृति विमोचन, इ लाइब्रेरी, अनलाइनबाट हुने पुस्तक विक्री लगायतक धेरै विषयमा चर्चा गरेका छन्।
विकसित पश्चिमा मुलुकमा वर्षौँपहिलेका साहित्यिक रचना, पुस्तक आदि इन्टरनेटमा राख्ने, तीनका बारेमा आलोचना-समालोचना गर्ने कार्यलाई निकै व्यवस्थित बनाइएको हुन्छ। हामीकहाँ रहेको प्रज्ञा प्रतिष्ठान जस्तै निकाय वा विश्वविद्यालयका भाषा साहित्यसँग सम्बन्धित विभागहरुले यसको जिम्मा लिएका हुन्छन्, नागरिकस्तरबाट हुने योगदान त छँदैछ। तर हामीकहाँ प्रज्ञा प्रतिष्ठान वा विश्वविद्यालयजस्ता निकायको आँखा इन्टरनेटमा सिर्जना भैरहेका साहित्यमा पर्न सकेको देखिँदैन।
गुणस्तरको प्रश्न
समालोचक महेश पौडेल पनि छिटो प्रकाशन र वितरण गर्ने सुविधाका कारण इन्टरनेटले लेखकलाई प्रोत्साहित गरेको बताउँछन्। ‘इन्टरनेटमा तत्काल प्रतिक्रिया र प्रोत्साहन मिल्छ। त्यसमाथि लेखकलाई पाठक र समालोचकसँग प्रत्यक्ष सम्पर्क र सम्वाद पनि गराउँछ’, पौडेल भन्छन्, ‘तर सम्पादकीय बन्धन नहुने हुँदा कमजोर रचना सिर्जना हुने सम्भावना रहन्छ।‘इन्टरनेटमा साहित्य अध्ययन सतही हुने पौडेल बताउँछन्। ‘छोटो समयमा धेरै ठाउँमा पुर्याउन सकिन्छ तर स्क्रिनको अध्ययन सतही हुन जान्छ’, पौडेल भन्छन्, ‘इन्टरनेटमा पर्खिने, हेर्ने र सोच्ने बानी पाठकको हुँदैन।‘ यसका अलाबा इन्टरनेटमा कमजोर लेखनले बढी चर्चा पाउने तर सशक्त लेखन पाखा पर्ने सम्भावना हुने पौडेल बताउँछ। ‘एउटा खराब लेखक राम्रो इन्टरनेट प्रयोगकर्ता हुनसक्छ रएउटा राम्रो लेखक खराब इन्टरनेट प्रयोगकर्ता’, पौडेल भन्छन्, ‘यस अवस्थामा लेखकले सिर्जना गर्ने साहित्यको गुणस्तर उसले पाउने चर्चा वा फाइदाबीचको सम्बन्ध ठ्याक्कै उल्टो हुन्छ।‘
टिकाउन मुस्किल
तर इन्टरनेटमा साहित्य सिर्जना गर्ने काम सजिलो भने छैन। फेसबुकमा कथा नामक ग्रुप बनाएर सामग्री प्रकाशन गरिरहेका साहित्यकार नारायण तिवारीले केही समयअघि पहिलोपोस्टसँगको अन्तर्वार्तामा इन्टरनेटमा साहित्य सिर्जना गर्दाका दुईवटा समस्या औँल्याएका थिए।पहिलो, चोरीको समस्या र अर्को आर्थिक समस्या। ‘स्वीकृति लिएर छाप्नु ठिकै हो। तर इन्टरनेट चोर्नलाई सजिलो, कपी गर्यो, पेस्ट गर्यो‘, उनले भनेका छन्।
उनले एक वर्षअघि सुरु गरेको फेसबुक ग्रुप कथामा एक वर्षको अवधिमा सयौँ कथा, कथाकार परिचय, कथावार्ता र पुस्तक समीक्षा पोस्ट भएका छन्। तर यसलाई दीर्घकालसम्म टिकाउन मुस्किल देख्छन् तिवारी।
‘यसमा लगाउने समय भने कुनै लाभ रहित हुन्छ। त्यसैले यसलाई कहिलेसम्म धान्न सकिन्छ थाहा छैन’, तिवारी भन्छन्।
अन्त्यमा फर्कौँ हरिभक्त कटुवालतर्फ। असार १८ गते उनको जन्मजयन्ती। माइक्रो ब्लगिङ ट्विटरमा उनका रचनाको चर्चा गर्नेको कमी थिएन। ह्यासट्याग #हरिभक्त_कटुवाल, #हरिभक्त वा सर्चमा हरिभक्त कटुवाल हान्नुस्, यसले पाठकको बदलिँदो रुची, साहित्य लेखनका नयाँ चुनौती र बदलिँदो पठन संस्कृति संकेत गर्छ।