PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​कक्षामा पढाएको सम्झेर लेख्नु सबैभन्दा चुत्थोस्तरको ज्ञान हो



​कक्षामा पढाएको सम्झेर लेख्नु सबैभन्दा चुत्थोस्तरको ज्ञान हो

  • केदारभक्त माथेमा-
आजकाल ‌दश जोड दुई पढिरहेका धेरै केटाकेटीलाई के पढ्छौ भनेर सोध्यो भने म्यानेजमेन्ट पढ्दैछु भन्छन्। अलि बढी नम्बर ल्याएको छ भने इन्जिनियरिङ कि मेडिसिन पढ्छु बन्छन्। तर त्यो मेडिसिन भनेको के हो? मेडिकल डक्टर भनेको के हो? भन्ने कुरै बुझेका छैनन् कतिले।

त्योसँग जोडिएको इज्जत, सेतो कोट लाएर, स्टेथेस्कोप लगाएर फुर्ति नै अर्को हुन्छ। ओहो ! डक्टर भन्ने। मेडिसिन पढ्छु भन्नेहरुले त्यहीमात्र हेरेका हुन् कि भन्ने लाग्छ। 
 
एउटा कलेजको दीक्षान्त समारोहमा गएको थिएँ। मभन्दा अगाडि भगवान कोइराला जानुभएको थियो। मैले सबै विद्यार्थीलाई सोधेँ, तपाइँहरु सबैलाई भगवान कोइरालाजस्तो बन्ने मन होला नि? तर, तपाइँहरुसँग भगवान कोइरालासँग भएको मेडिकलको गुण नभएर अर्कै खालको गुण चाहिँ भगवान कोइरालाकोभन्दा बढी होला।

यस्तोमा भगवान कोइरालाको पछिपछि किन लाग्ने? जस्तो तपाइँसँग राम्रो बोल्ने क्षमता होला, तर्क क्षमता एकदमै राम्रो होला। तपाइँ कुशल वकिल बन्न सक्नुहुन्छ, उत्कृष्ट कानुनविद् बन्नुहोला। त्यो गुण बोकेर तपाइँ मध्यमस्तरको डाक्टर किन बन्ने भगवान कोइरालाईलाई फलो गरेर? मैले जिस्काएको थिएँ।
 
१७/१८ वर्षका केटाकेटीहरु, जो भर्खर दश जोड दुई पढ्दैछन्, उनीहरुले भन्छन्, म्यानेजमेन्ट पढ्दैछु, आर्ट्स पढ्दैछु, इन्जिनियरिङ पढ्दैछु। म छक्क पर्छु। मैले पटकपटक भन्ने गर्छु, दश जोड दुईमा पढिने शिक्षा भनेको साधारण शिक्षा हो। यो माध्यामिक शिक्षाकै निरन्तरता हो। यो 'स्पेशलाइजेसन' नै हुने होइन। यतिबेला त तपाइँले उदार शिक्षा ग्रहण गरिरहनुभएको हुनुपर्ने, उदार आर्टस् पढिरहेको हुनुपर्ने।

आर्टस भन्नाले म कला, मानविकी वा अन्य मात्र भनिरहेको छैन, यसमा विज्ञान पनि आउँछ। भन्नाले तपाइँ सबै कुराको साधारण शिक्षा लिइरहनुभएको हुन्छ दश जोड दुईसम्म। ११, १२ पढिसकेपछि बल्ल 'स्पेशलाइजेशन' शुरु हुन्छ। त्यसैले हाम्रो 'स्पेशलाइजेशन' धेरै चाँडो छ। 
 
कहिलेकाहीं म डाक्टर पढ्न आउने विद्यार्थीहरु हेर्छु। उनीहरु परिपक्व भएकै हुँदैनन्। यसको कारण भनेको हामीले बृहत शिक्षा नै दिइरहेका छैनौं। सिएनएनकी फारिद जाकारियाले 'इन डिफेन्स अफ लिबरल एडुकेसन' भन्ने किताब निकालेका छन्। उसले उदार शिक्षा किन चाहिन्छ भनेर त्यसमा लेखेको छ। एउटा अर्को किताब पनि छ।

त्यसले भन्छ, अमेरिकामा बस्ने एशियन र ल्याटिन अमेरिकनहरु सबैले आफ्ना छोराछोरीलाई फाइनान्स र मेडिसिन मात्र पढाउँछन्। यहुदीहरुलाई हेरौं, उनीहरुले त्यसो गर्दैनन्। उनीहरुले पुरै अमेरिकी समाजलाई गाइड गर्छन्, प्रभावित गर्छन्। मैले भन्न खोजेको, हाम्रोमा उदार शिक्षाको 'कन्टेन्ट' नै पुगेन। एकैपटक 'स्पेशलाइजेसन' शुरु भयो।
 
यो किताबमा अमरजीले पढाइको विधिको पनि कुरा गर्नुभएको छ। जस्तो- हरिवंशजी शिक्षक हुँदा उहाँले सिनेमाका कुरा गरेर हँसाइ हँसाइ पढाउनुभयो, उहाँको कक्षामा विद्यार्थीले मनोरञ्जन लिए तर अरुको पढाई निरस भयो। हाम्रो पढाइ कस्तो भयो भने ताञ्जानियाका एकजना राष्ट्रपतिले 'न्यारेसन सिकनेस' भनेका छन्।

त्यसलाई मैले नेपालीमा 'भट्याउने रोग' भनेको छु। हाम्रा शिक्षकहरुलाई भट्याउने रोग हुन्छ। भरररररर भट्याउँछन्। हामीले के सोच्छौं भने, केटाकेटीहरु खाली दिमाग लिएर आउँछन् र शिक्षकले त्यसमा ज्ञान भरिदिन्छ। यसलाई पउलो फ्रेइरेले 'ब्याङ्किङ मेथोड अफ टिचिङ' भनेका छन्। खन्याउने शिक्षा। 
 
हामीले केटाकेटीलाई उनीहरुकै सोच अनुसार सिकाउने, शिक्षकसँग प्रश्न गर्ने, शिक्षकको कुरालाई चुनौती दिने, कल्पना गर्ने अथवा समस्यालाई सुल्झाउन सक्ने, त्यस्तो कहिल्यै पनि सिकाउँदैनौं। कहिल्यै पनि, न त स्कूलमा न त विश्वविद्यालयमा। मैले धेरै ठाउँमा भनेको छु - पृथ्वीनारायण शाहले नेपाल खाल्डो हमला गर्नु अगाडि नेपाल खाल्डोको अवस्था कस्तो थियो, लेख भनेर सोधिन्छ।

सबैले कण्ठ पारेर लेखेको हुन्छ। राजनीतिक अवस्था यस्तो थियो, साँस्कृतिक अवस्था यस्तो थियो, आदि इत्यादि। जति राम्रोसँग कण्ठ गरेको छ त्यति धेरै नम्बर। तर विश्वविद्यालयमा त के सोध्नु पर्थ्यो भने, पृथ्वीनारायण शाहले जति हमला गर्दा पनि नेपाल खाल्डो जित्न नसकेको भए अहिलेको नेपाल कस्तो हुन्थ्यो लेख भनेर सोध्नुपर्ने। वैकल्पिक सोच। मास्टर्स लेभललाई। 
 
तथ्य भनेको त पढाउने कुरै होइन। अहिले इन्टरनेट छ, हरेक तथ्याङ्क मोबाइलमा भेटिन्छ। अहिले पनि हामी खाली तथ्य मात्र पढाइरहेका छौं। यो ज्ञानका धेरै तह छन्। ब्लुमले भनेका छन्, सबैभन्दा चुत्थोस्तरको ज्ञान भनेको कक्षामा पढाएको सम्झेर लेख्ने ज्ञान नै हो। हामीले पढाउने त्यही तथ्य हो र परिक्षामा सोध्ने त्यही तथ्य हो र विद्यार्थीले कण्ठ गरेर लेख्ने पनि त्यही हो। तथ्यको संकलन गरेर लेखिने ज्ञान सबैभन्दा चुत्थो ज्ञान हो।
 
र, सबैभन्दा माथिल्लोस्तरको ज्ञान भनेको 'क्रिटिकल थिङ्किङ', एनालाइसिस, समस्या समाधान गर्न सक्ने क्षमता, तर्क गर्ने शक्ति। यो त हामी कहिल्यै पनि सिकाउँदैनौं। यो हाम्रो शिक्षाको ठूलो कमजोरी हो। हाम्रो पढाइ एकदमै निर्जिव हुन्छ। हामी जबसम्म पढाइलाई विद्यार्थीको जीवनसँग ल्याएर जोड्नुहुन्छ त्यो सिकाइ नै हुँदैन। मैले धेरै ठाउँमा भनेको छु, धेरै विद्यार्थीहरुका लागि कक्षाकोठामा जानु भनेको कुनै विदेशी भूमिमा जानु जस्तो हो। विद्यार्थीको वास्तविकतासँग, उनको जीवनसँग उसको पढाइ मेल नै खाँदैन। कुनै सम्बन्धै हुँदैन।
 
म एउटा कार्टून सम्झिन्छु- कार्टूनमा एउटा केटो स्कूल गइरहेको छ। बाटोमा एउटाले स्याउ बेचिरहेको थियो। उसले यसो चक्कर काटेर स्याउ चोर्छ। स्याउ खाँदै उ स्कूल गइरहेको हुन्छ एउटा नयाँ, गज्जबको मोटरबाइक देख्छ। स्याउ खाँदै उसले मोटरबाइक हेरेर गज्जबको मोटरसाइकल भन्छ। एकैछिनमा एउटा कुकुर भुक्दै उसलाई टोक्न आइरहेको देख्छ।

यी सबै कुरा भोग्दै उ कक्षाकोठामा पुग्छ। यत्रो अनुभव लिएर त्यो बच्चो घरबाट स्कूल पुग्छ। तर कक्षाकोठामा शिक्षकले के के भट्याउँछ भट्याउँछ। उसले बाटोमा भोगेको अनुभव त त्यो पढाइमा कहीं पनि छैन। कक्षाको पढाइले उसको जीवन नै छुँदैन, उसको अनुभव नै छुँदैन। 
 
पिकासोले भनेका छन्, 'एभ्री चाइल्ड इज एन आर्टिस्ट' अर्थात् प्रत्येक बच्चा एउटा कलाकार हो। समस्या के छ भने त्यो कलाकार हुर्किँदा कसरी हुर्किन्छ? शिक्षाले त्यो कलाकारलाई माझ्दै लाने हो। तर हाम्रो शिक्षा कस्तो छ भने एउटै कुराले हिर्काउँदा हिर्काउँदा, घोटाउँदा घोटाउँदा गर्छ।

अहिले त झन् आफूलाई राम्रा भन्ने स्कूलहरुले राम्रो नम्बर ल्याउनुपर्छ भन्छन्। त्यसलाई हामी 'टिचिङ टु टेस्ट' भन्छौं। यसले के गर्छ भने जुन कुराको हामी टेस्ट लिँदैनौं बच्चाले त्यो कुरामा चाखै राख्दैन। त्यस्तो साँघुरो घेराबाट उ अघि बढ्छ। परीक्षामा जे सोध्छौं, बच्चाले त्योमात्रै पढ्छ। अनि हामीले उसलाई के बनाउँछौं त यसरी पढाएर?
 
शिक्षा भनेको राजनीतिक सामाजिकीकरण हो। यसले समाजको जुन मुल्य र मान्यता छ, त्यो मुल्य र मान्यतामा ढलोस् र त्यो मानोस् भनेरै सिकाउने हो। साधारण शिक्षा भनेकै यही हो। एउटा किताब छ नासिम निकोलस तालेबको 'ब्ल्याक स्वान' भन्ने किताब छ। निकोलस युनिभर्सीटी अफ म्यासाचुटको प्रोफेसर हो।

उसले 'साइन्स अफ अनसर्टेन्टी' (अनिश्चितताको विज्ञान) पढाउँछ उसले। उसले के भन्छ भने, कक्षामा सँधै टप टप हुनेहरु त पछि कहाँ हराउँछन् हराउँछन्। त्यो पछाडि बस्नेहरु छन् उनीहरु माथि पुगिरहेका हुन्छन्। उसले यसको कारण के भन्छ भने, सायद हामी जुन कुरा शिक्षाका नाममा सिकाउँछौं, त्यसले वास्तविक संसार बुझ्नमा बाधा गर्छ कि क्याहो? भनेर प्रश्न गर्छ। मलाई यो कुरा कताकता हो जस्तो लाग्छ।
 
शिक्षा भनेको स्कूलमा मात्र सिमित छैन। शिक्षा पाउनलाई स्कूल वा कलेज नै जानुपर्छ र? त्यहाँभन्दा बाहिर शिक्षै पाइँदैन त? पाइन्छ, शिक्षा जतासुकै पाइन्छ। एकजना टर्किस् कविले भनेका छन्, 'लर्निङ इज टु अन्डरस्ट्याण्ड, अन्डरस्ट्याण्ड हु यु आर, इफ यु डन्ट नो हु यु आर, ह्वाट इज द पोइन्ट अफ लर्निङ्? अर्थात् शिक्षा भनेको आफैलाई चिन्नु हो, यदि आफैंलाई चिन्नुहुन्न भने त्यो शिक्षा के मतलब? 
 
करोडौं कस्तूरी एउटा तेजिलो, फूर्तिलो, तर पढाइमा ध्यान नदिने एउटा उच्छृङ्खल केटाको जीवनी हो। यो मलाई लागेको कुरो हो। म आफू साह्रै सोझो, कोर्सको किताबमात्र पढ्ने केटा हो। कोर्सको किताब बाहिर केही पनि थाहा थिएन मलाई। तर जिन्दगी भनेको त के के रहेछ के के रहेछ।

जस्तै हरिवंशजीले भन्नुभयो, उहाँले विश्वज्योतिमा पढ्नु भयो, रञ्जना चलचित्र भवनमा पढ्नु भयो। कत्ति हो कत्ति ! आफू त सोझो, किताब मात्रै। त्यसैले मैले भनेको, एकदमै तेजिलो तर पढाइमा ध्यान नदिने। परिवार र समाजको पेलानमा एउटा मध्यमवर्गीय समाजमा इज्जत कमाउनका लागि पढ्दै पढ्दै गयो, जागिर पायो, जागिर पाएर पनि उसलाई सन्तुष्टी मिलेन र अन्त्यसम्ममा पनि। कथा देखिनेगरी दुखाउने त होइन तर कताकता आत्मग्लानी देखिन्छ मूल पात्रमा।
 
उपन्यासकार अमर न्यौपानेले कथाको हरिवंश, वास्तविक जीवनको हरिवंश हैन, जस्तै आफ्नो मनको कुरा नगरेर, आफूभित्रको कुरालाई नपछ्याएर, परिवारको कुरा सुनेर, परिवार र समाजको दबाबमा परेर अर्कै विषय पढिरहेका, अर्कै काम गरिरहेका र कहिल्यै खुसी भेटाउन नसकेका धेरै केटाकेटीका कथा उजागर गरेका हुन् जस्तो लाग्छ। 
 
 (मंगलबार अमर न्यौपानेको उपन्यास 'करोडौं कस्तूरी'को विमोचन कार्यक्रममा माथेमा राखेको मन्तव्यको सारांश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell