PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सेलिब्रिटीमध्ये बक्सिङका खेलाडीले कमाए सबैभन्दा धेरै रकम



सेलिब्रिटीमध्ये बक्सिङका खेलाडीले कमाए सबैभन्दा धेरै रकम

  • एजेन्सी -
अघिल्लो साता फोब्सले सबैभन्दा बढी आम्दानी गर्ने विश्वका सय शक्तिशाली ‘सुपरस्टार’को सूची सार्वजनिक गर्‍यो। सिनेमा, संगीत जस्ता मनोरञ्जन क्षेत्र मात्रै होइन यो सूचीमा लेखक र खेल जगतका स्टार सामेल थिए।
 
फोब्सको सबैभन्दा बढी आम्दानी गर्नेको सूचीमा पहिलो र दोश्रो नम्बरमा मनोरञ्जन जगतबाट परेनन्, लेखक पनि थिएनन्। यो सूचीमा थिए खेल जगतबाट। खेल जगतमा पनि फुटवल, क्रिकेट, टेनिस, बास्केटवल, बेसबल वा धनीको खेल भनेर चिनिने गल्फबाट थिएनन्।
 
त्यसो भए को थियो त सूचीको पहिलो र दोस्रो नम्बरमा ? यो सूचीको पहिलो नम्बरमा थिए बक्सिङ खेलाडी फोल्इड मेवेदर जुनियर, दोस्रो नम्वरमा पनि थिए, उनकाका प्रतिस्पर्धी मेनी पक्क्विे।
 
सन् २०१५ मा मेवेदरले ३० करोड डलर (३० अर्ब रुपैयाँ) आम्दानी गरे, उनका प्रतिस्पर्धी पक्किवेले १६ करोड डलर(१६ अर्ब रुपैयाँ) कमाए। यी दुई खेलाडीलाई गायिका तथा नायिका केटी पेरीले पछ्याइन। उनले सन् २०१५ मा १३ करोड ५० लाख डलर कमाइन्। अमेरिकी गायिका तथा नायिका टेलर स्विफटले जम्मा आठ करोड डलर कमाएर आठौं नम्बरमा रहिन्।
 
खेलमध्ये बक्सिङपछि सबैभन्दा बढी कमाउनेको सूचीमा फुटवलर थिए। क्रिस्टियानो रोनाल्डोले सात करोड ९५ लाख डलर कमाएर सूचीको दशौं नम्बरमा परे। लिओनल मेस्सीले सात करोड ४० लाख डलर कमाएपछि सूचीको १३ औं स्थान ओगटे।
 
टेनिस खेलाडी रोजर फेडररले छ करोड ७० लाख डलर कमाएपछि सूचीको १६ औं स्थानमा रहे। बास्केटवल खेलाडी लि बोन जेम्स छ करोड ५० लाख डलर कमाएपछि १८ औं नम्बरमा, गल्फका टाइगर उड पाँच करोड ५० लाख डलरको आम्दानीसहित ३७ औंमा रहे।
 
बलिउडका बादशाह अमिताभ बच्चन र टाइगर सलमान खान यो सूचीमा तीन करोड ३५ लाख डलरका दरले आम्दानी गरेर ७१ औं स्थानमा रह। क्रिकेटमा सबैभन्दा बढी आम्दानी गर्ने महेन्द्रसिंह धोनीले तीन करोढ १० लाख डलर कमाएर सूचीको ८२ औं नम्बरमा रहे।
 

कसरी बक्सिङमा नम्बर एक ?

चर्चा, चासो, बजेट र अर्थतन्त्रका हिसावले विश्वको सबैभन्दा ठूलो खेल फुटबल हो, दक्षिण एसियामा क्रिकेट। सबैभन्दा बढी महँगोमा खरिद बिक्री हुने, विश्वमा धेरै हेरिने, धेरै स्पोन्सर भेटिने फुटबल खेलाडीका अघि कसरी बक्सिङ खेलाडीले बढी आम्दानी गरे ?
 
जबकि बक्सिङमा कम स्पोन्सर भेटिन्छ, ठूला कर्पोरेटले बक्सिङ खेल र खेलाडीलाई कम लगानी गर्छन्। यस्तोमा रोनाल्डोभन्दा मेवेदरले कसरी अढाई गुणा बढी आम्दानी गरे ? मेवेदरका प्रतिस्पर्धी पक्क्विेले अर्का फुटवल खेलाडी मेस्सीभन्दा कसरी दोब्बर बढी रकम कमाए ?
 
सन् १९७७ फेब्रुअरी २४ मा जन्मिएका मेवेदर ३८ वर्षका भए। अमेरिकी नागरिक मेवेदर व्यवसायिक बक्सिङ खेलाडी हुन्। ६८ किलो तौल भएका उनी अहिलेसम्म बक्सिङका अपराजित खेलाडी पनि हुन्। पाँच पटक विश्व च्याम्पियन बनेका उनले विश्वका ११ वटा उपाधि जितेका छन्, भाग लिएका ४८ वटा अन्तराष्ट्रिय प्रतिस्पर्धामा उनले पराजय भोग्नु परेको छैन्।
 
आम्दानीमा मेवेदरलाई पछ्याउने अर्का बक्सिङ खेलाडी मेनी पक्किवे फिलिपिन्सका हुन्। फिलिपिन्सको सांसद समेत रहेका उनी ३६ वर्षका भए। उनले प्रतिस्पर्धा गरेका ६५ खेलमा ५७ मा विजय भएका छन् भने छ वटामा पराजय र दुई वटा बराबरीमा टुङिएका छन्।
 

एक दिनको आम्दानी

सबैभन्दा बढी पैसा कमाउने सुपरस्टारको तेस्रो स्थानमा रहेकी गायिका तथा नायिका केटी पेरीले १३ करोड ५० लाख डलर कमाउन २७ वटा देश घुम्नु पर्‍यो। यो ठूलो रकम आर्जन गर्न अमेरिकी गायिकाले २७ वटा देशमा १२४ वटाभन्दा बढी स्टेज कार्यक्रम गरिन्। त्यसमध्ये ७५ वटा कार्यक्रम अमेरिका बाहिर थिए जहाँबाट उनलाई ६० प्रतिशत आम्दानी प्राप्त भएको फोब्सले लेखेको छ।
 
जहाँ तेश्रो बढी कमाउने केटीलाई मेवेदरभन्दा आधा कमाउन वर्षभरी देश विदेश घुमिरहनु पर्‍यो। स्टेज कार्यक्रम गरिरहनु पर्‍यो। त्यही मेवेदर र पक्किवेलाई मे २ को एक दिनले उनीहरुको वर्षभरिको आम्दानीको हिस्सामा सबैभन्दा धेरै पैसा लुटायो।

के भएको थियो मे २ मा

मे २ का दिन लसभेगासको एमजिएम ग्रान्ड गार्डेन एरेनामा मेवेदर र पक्किवे भिडे। यसलाई ‘द फाइट अफ द सेञ्चुरी’को रुपमा व्याख्या गरियो। यी दुई सन् २००९ पछि पहिलो पटक भिड्दै थिए।
 
यी दुई बीच सन् २०१० मा पनि खेलको आयोजना गर्ने तयारी भएको थियो। तर खेलको शर्त, आम्दानीको बाँडफाँडमा कुरा मिल्न सकेन्। खेल स्थगित गरियो।
 
प्रतिक्षाको पाँच वर्षपछि सन् २०१५ मा भएको यो खेल मेवेदरले जिते। उनले यही एउटा खेलबाट १८ करोड डलर खल्तीमा हाले। उनका प्रतिस्पर्धी पक्किवेका लागि पनि यो खेल घाटाको व्यापार थिएन्, उनले पनि १२ करोड डलर कमाए। यो खेलबाट दुई जनाले कुल ३० करोड डलर कमाए।
 

कसरी भयो पैसाको वर्षा ?

मे २ का दिन दुई खेलाडीले कमाएको ३० करोड डलर के ‘बेटिङ’बाट आएको थियो ?, होइन। मैदानमा खेल हेर्न आएका दर्शकबाट टिकट काटेर उठाइएको थियो ? त्यो पनि होइन्। त्यसो भए हो के ?
 
यो सबै आम्दानी टेलिभिजनबाट प्राप्त भएको हो। यस्ता ठूला खेलमा ‘पे–पर भ्यु’का आधारमा टेलिभिजनमा प्रसारण गरिन्छ। अर्थात् खेल हेर्न चाहने दर्शकले टेलिभिजनलाई पैसा तिर्नुपर्दछ। जसले पैसा तिर्छ त्यसको टेलिभिजनमा मात्रै बक्सिङ देखाइन्छ।
 
मे २ मा भएको मेवेदर र पक्किवेको बक्सिङ एचबिओ र सोटाइमले संयुक्त रुपमा उत्पादन गरेका थिए। खेलको प्रसारण पक्किवेको देश फिलिपिन्समा पनि त्यहाँका तीन ठूला टेलिभिजनबाट डिलेकास्ट (लाइभभन्दा केही ढिला) प्रसारण गरिएको थियो।
 
व्यवसायिक बक्सिङमा मे २ को खेल सबैभन्दा बढी दर्शकले हेरेका थिए। यो खेलको पे–पर भ्यु ४४ लाखले खरिद गरेका थिए भने फिलिपन्सका आधा जनसंख्याले डिले कास्ट हेरेका थिए।
 
४४ लाख पे–पर भ्युबाट ४१ करोड डलर उठेको थियो। आम्दानीका हिसावले पे–पर भ्युमा यो सबैभन्दा बढी आम्दानी गर्ने कार्यक्रम बन्यो। यही ४१ करोड डलरमध्ये ३० करोड डलर दुई खेलाडीलाई बाँडियो। बाँकी ११ करोड डलर खेलको व्यवस्थापन, टेलिभिजन उत्पादन र प्रसारण, खेलको विज्ञापनका लागि खर्च गरिएको थियो।

र यही एउटा खेलले मेवेदर र पक्किवेलाई विश्वको सबैभन्दा बढी रकम आम्दानी गर्ने सेलिब्रेटीको पहिलो र दोश्रो नम्वरमा उभ्यायो। विजमाण्डूबाट
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell