PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अझै सडकमै अस्पताल !



अझै सडकमै अस्पताल !

चरिकोट : भूकम्पपछि अस्थायी रुपमा सडकबाट सञ्चालन हुँदै आएका दोलखाका निजी अस्पताल सडकमै सञ्चालन भइरहेका छन्। यसरी सधैँजसो अस्पताल सडकबाट सञ्चालन भई सडकबाट नहट्दा सवारी साधन सञ्चालन र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएको त छँदैछ, उपचार गर्न आएका बिरामी थप बिरामी हुने गरेका छन्।
 
भूकम्पपछि सदरमुकाम चरिकोटको सातदोबाटो चोकस्थित सडकमा सञ्चालन हुँदै आएका च्छोरोल्पा जनरल अस्पताल र गौरीशङ्कर जनरल अस्पताल तीन  महिना पुग्न लाग्दा पनि हटेका छैनन्।
 
सदरमुकामको व्यस्त सडकमा अस्पताल सञ्चालन हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको लापिलाङबाट किनमेलका लागि चरिकोट आएका बलबहादुर थामीले बताए। सडकमा अस्पताल सञ्चालन हुँदा सर्वसाधारणलाई केही हदसम्म फाइदा भए पनि धेरै बेफाइदा हुने गरेको छ। होहल्लादेखि धुलो र पानीले उपचारमा आएका बिरामीलाई समेत समस्या हुने गरेको छ।
 
सेवामूलक भावनाले भन्दा पनि नाफा कमाउने उद्देश्य राखी अस्पतालले सडकमै पाल राखेर औषधि पसलसमेत सञ्चालन गर्दै आएका छन्। च्छोरोल्पा अस्पताल सञ्चालन हुँदै आएको भीमेश्वर नगरपालिकाको व्यावसायिक भवन भूकम्पका कारण बस्नै नहुने गरी ध्वस्त भएपछि च्छोरोल्पा अस्पताल वैशाख १२ देखी व्यस्त चोकमा टेन्ट र पालमुनि सञ्चालन भइहरेको छ। अस्पतालका सञ्चालक किरण दाहालले अझै पनि भूकम्पका परकम्प नरोकिएकाले सडकमै अस्पताल सञ्चालन गर्न बाध्य भएको बताए।
 
उनले भने – “उपयुक्त स्थानको खोजीमा छौं ठाउँ पाए तत्काल सार्छौं। व्यवसाय भन्दा पनि नागरिकलाई सेवा होस् भनेर सङ्कटको अवस्थामा पनि अस्पताल सञ्चालन गरेका हौं।”
     
दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीय जनताको गुनासोपछि सडकमा सञ्चालित अस्पताल हटाउन जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई निर्देशन दिइसकेको बताए। उनले भने – “तरकारी व्यापारीदेखि औषधि व्यापारी सबैलाई समान कानुन लाग्ने र सडकबाट अस्पताल नहटाए कारबाही हुने छ।”
 
त्यस्तै, नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले विपद्का बेला अस्थायी रुपमा सडकमा अस्पताल सञ्चालन गरे पनि अहिले अवस्था सामान्य भइसकेकाले सडकमै बसिरहनु न्यायोचित नभएको बताए।
 
यस्तै, सडकमा अस्पताल सञ्चालन हुँदा नागरिकलाई विभिन्न समस्या हुने भएकाले तत्काल अस्पताल हटाएर सदाका लागि सुरक्षित स्थानमा सञ्चालनमा ल्याइनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय चरिकोटको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell