PahiloPost

Jul 12, 2020 | २८ असार २०७७

​को हुन् सिके राउत?



​को हुन् सिके राउत?

काठमाडौँ :  मधेश अभियन्ता डा. सिके राउत अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। मधेश अभियानका क्रममा मोरङको रंगेली सोरामांगसिंह गाविस–३ मा कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा सादा पोशाकका प्रहरीले शनिबार राति साढे ८ बजे उनलाई नियन्त्रणमा लिएको थियो।  
 
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा राउतलाई पक्राउ गरिएको बताए। 'उहाँ राष्ट्रिय अखण्डतामा आँच आउने काममा संलग्न रहेका कागजात तथा श्रव्यदृश्य प्रमाण हामीसँग छ', कार्कीले पहिलोपोस्टसँग भने, 'अहिले अनुसन्धानको चरणमा छौँ। हामीले भेटेका सामग्रीबारे उहाँको प्रतिक्रिया बुझ्छौँ।'
 
देश टुक्राउनुपर्छ भन्ने प्रशिक्षण अगाडि बढाएकाले गृह मन्त्रालयले उनको गतिविधि निगरानीमा राखेको थियो। पछिल्लो समय उनले कार्यकर्ता प्रशिक्षणमा सशस्त्र विद्रोहको एजेन्डालाई प्राथमिकता दिँदै सोही अनुसारको प्रशिक्षण दिन थालेको दाबी गृह मन्त्रालय स्रोतको छ।
 
एक साता अगाडि उनलाई पक्राउ गर्न गृहले निर्देशन दिएपछि खोजी गरिरहेको प्रहरी टोलीले राउतलाई हिजो पक्राउ गरेको हो।
 
को हुन् राउत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।
 
उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
 
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।
 
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।
 
आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।
 
एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।
 
जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

मधेश 'स्वतन्त्र' पार्न गठबन्धन
सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) को स्थापना गर्‍यो।
 
ARIM को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ थियो। यसको आफ्नै झन्डामात्र थिएन,  मधेशको प्रस्तावित राष्ट्रगान पनि उनी आफैले तयार पारे। एरिमलाई संगठित गर्दै मूलधारका मधेशवादी नेताहरूसँग पनि सम्पर्क गर्दै आफ्नो एजेन्डा अगाडि बढाउन उनले आग्रह गर्न थाले।

विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले। कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी  नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे।

सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।
 
मेची महाकाली यात्रा
अमेरिकाबाट उनी मेची महाकाली यात्रा गर्न नेपाल फर्किए। आफ्नो आत्मकथामा उनले त्यस क्रममा काठमाडौँप्रति तीतो यसरी पोखेका छन्-

'काठमाडौं ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेशतिरै लागें। त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो। काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो। हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने।'
 
गैरआवासीय मधेशी संघको ब्यानर टाँगेर उनीसहितको समूहले मेची-महाकाली यात्रा गर्‍यो। त्यस क्रममा उनले गरेको अनुभवलाई उनले यसरी लेखेका छन्-
पहाडीहरू मानवताविरुद्धको अपराधमा, रंगभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र संगठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरें।
 
भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गरिएको प्रदर्शनको फाइल फोटो। 
 
उग्र विचार
अमेरिकाबाट फर्किएपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनी लागे। उनका विचारहरु पनि निकै उग्र र कतिलाई आपत्तिजनक लाग्न सक्छ। उनले आफ्नो आत्मकथामा लेखेका छन्-
 
तिनीहरूले हामीलाई सिकाउँछन् — नेपाल हाम्री आमा हुन्, उनको लागि हामीले प्राण दिनुपर्छ; नेपाल त चोखो कुमारी हुन् कहिले पनि कसैको वशमा नपरेकी। र अधिकांश मान्छेहरू त्यही रटेर हुर्कन्छन् र यति रट्‌छन् कि तिनीहरूको आफ्नो दिमाग शिथिल हुन पुग्छ, तिनीहरूको दिमागमा सदाका लागि तार जोडिए झैं तिनीहरू त्यसको तलमाथि केही हेर्नै सक्दैनन्। यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु — नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज रं* हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ?
नेपाल हैन, मधेश हाम्री आमा हुन्, जसले हामी जन्मँदा खुट्टा टेक्न भूमि दिन्छिन्, खानलाई जीवनभरि अनाज दिन्छिन्, र मरेपछि अस्थि ढाक्न माटो। मधेश हाम्रो मातृभूमि हो, नेपाल होइन।

स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन। र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्बी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे। र मधेशीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेशलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ।
 
त्यसै गरी केहीले स्वतन्त्र मधेश निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन्। क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो। माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ। जनसंख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका करीब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछ; ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो। सबै दृष्टिले, मधेश विशाल छ, मधेश महान् छ।
 
हिंसाको पक्षमा विचार
आत्मकथामा उनले हिंसात्मक आन्दोलनका लागि पनि पछि हट्न नहुने विचार राखेका छन्। उनले लेखेका छन्-
 
पूर्ण स्वराजको यस लडाइँमा, अगाडि जे आए पनि हामी पछि हटनुहुन्न। मधेशीहरूले सदियौं आफ्नो धैर्य र अहिंषा देखाए। तर हाम्रो शान्तिपूर्ण अनुरोधको जवाफ तिनीहरूले बन्दुक र बारुदबाट दिन्छन् भने समय आइसकेको छ, तिनीहरूले हाम्रो शक्ति पनि हेरून्।
यदि आँखाका बदला आँखाले सबैलाई अन्धो बनाउँछ भने त्यसले अझै पनि गोरा-काला रहित दुनियाँको निर्माण हुनेछ। त्यसले अझै पनि रंगभेद रहित समाजको स्थापना हुनेछ, जहाँ छालाको रंग हेरी कसैलाई ज्यानै जाने गरी कसैले पिट्ने छैनन्। खाली दुष्टहरूसँग आँखा बाँकी रहनुभन्दा, उनीहरूले पुन: आफ्नो दुष्टता देखाउने अवसर पाउनुभन्दा आँखाका बदला आँखाले अझै पनि बढी समतामूलक समाजको निर्माण गर्नेछ। दुष्टहरूसँग आँखा बाँकी रहनु झन् खतरनाक छ, के थाहा आँखापछि, घाँटीतिर उसका हातहरू बढोस्। ती आदर्शहरू सुन्नका लागि महान् लाग्छन् तर संसारमा त्यसले दुष्ट र दानवहरू मात्र बाँकी राख्नेछन्। आफ्नो अर्को गाला तिनीहरूअगाडि थाप्नुले तिनीहरूलाई अझ अर्को मान्छेलाई हिर्काउने हौसला मात्र दिन्छ। तपाईं सोच्नुहुन्छ उनीहरूमा मानव जगाउन सकिन्छ? मानवभित्र कहिले पनि मानव थिएन। उनीहरूको कान बेस्सरी बजाएरै हेर्नुस्, अरूलाई हिर्काउनै बिर्सिन्छ।

देश टुक्र्याउने योजना
मधेश स्वराज नामको पुस्तकमा उनले मधेशलाई नेपालबाट पूर्ण रुपमा अलग्याउनु पर्ने बताएका छन्। उनले पुस्तकमा लेखेका छन्-

मधेशियों के मुद्दों को लेकर आज लोग अदालत जाते हैं, सड़क आन्दोलन करते हैं, सरकार में शामिल हो जाते हैं, नए संविधान बनाने की बात करते हैं, यह कोई भी बात औपनिवेशिक दासता से मुक्ति नहीं दिला सकती।

मुक्ति पाने के लिए नेपाली उपनिवेश को जड़ से ही उखाड़कर फेंकना होगा और वहाँ पर स्वतन्त्रता के पौधे लगाने होंगे।

 
सोही पुस्तकमा उनले मधेशमा आफ्नै सेना हुनुपर्ने तर्क यसरी गरेका छन्-

कोई दूसरा समाधान मधेश में रहे नेपाली/पहाडी सेना को पूर्ण रूप से हटाकर उसकी जगह मधेशी सेना को नहीं रख सकता, और जब तक मधेश की भूमि पर नेपाली/पहाड़ी सेना रहेगी, मधेशियों की गुलामी का अन्त नहीं हो सकता। नियम, कानून, व्यवस्था, संविधान आदि बनते रहते हैं, उनकी कोई अहमियत नहीं जब तक अपनी सेना न हो। साम्राज्य की सेना लगाकर कभी भी नियम, कानून, संविधान और व्यवस्था को निलम्बन किया जा सकता है। इसलिए जब तक मधेश में मधेशी मातहत की मधेशी सेना नहीं, तब तक नियम, कानून, व्यवस्था, संविधान आदि कुछ भी अपना नहीं।

 
संविधानमा अधिकार सुनिश्चित गरेर पनि नहुने विचार
सोही पुस्तकमा उनले नेपालको संविधानमै आफ्नो अधिकार सुरक्षित गरेर पनि समस्या समाधान नहुने बताएका छन्। उनी लेख्छन्-

क्या नेपाल के संविधान में अधिकार सुनिश्चित करने से नहीं होगा?

संविधान उसका होता है, जिसके पास सेना होती है। जिसकी सेना नहीं, उसका क्या संविधान? सेना लगाकर कभी भी संविधान को निलम्बन किया जा सकता है, और नेपाल में संविधान टिका है कितना?

अभी मर-मर के अधिकांश मधेशी लोग इस तरह से कर रहे हैं कि जैसे संविधान में एक बार लिखा देंगे, तो सारा काम खत्म! संविधान तो हर १०–१५ वर्ष में टूटा हैं यहाँ, पूरे परिवर्तन आए हैं, तो मधेशियों के मामले में कितने दिन टिकेगा संविधान? जैसे मधेशी ठंड पडेंगे, फिर पलट लेगा संविधान। खाली लिख देने से नहीं होता है न! इस लिए ऐसे संविधान बनते रहेंगे, टूटते रहेंगे, जब तक मधेशियों के पास अपना देश, अपनी सेना और अपना संविधान नहीं होता, चाहे जितनी भी उपलब्धियाँ दिखा दें, सब मिथ्या हैं, क्षणिक हैं।

यस्तो छ तयारी
पुस्तकमा उनले अहिंसात्मक आन्दोलन गर्ने भन्दै तयारी, आन्दोलन र बचाउका तीन चरणको यसरी व्याख्या गरेका छन्- तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन्। आन्दोलनको चरणमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका कुरा छन्। बचाउमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसंघमा दर्तासम्मका कुरा छन्-

1. तैयारी, स्वराज के लिए (Preparation):

यह ८–१२ वर्ष तक चलेगी, इसमें मधेश देश को चलाने के लिए आवश्यक हर कुछ तैयार किया जाएगा, सांगठनिक संरचना बनाने से लेकर मानव-जनशक्ति और भौतिक पूर्वाधार तैयार करने तक सभी। इसमें प्रचार-प्रसार करके जागृति फैलाने से लेकर सांगठनिक संरचना और फ्रन्ट बनाना, विभिन्न कार्यों के लिए जनशक्ति तैयार करना, आय-स्रोत की व्यवस्था करना, अत्यावश्यक भौतिक संरचना बनाना (जैसे कि तत्काल संचार क्षेत्र में), अपनी प्रशासनिक संरचना बनाना, युवा दस्ता बनाना और बाद में सैन्य और प्रहरी संरचना खड़ी करना, राष्ट्रीय और अन्तरराष्ट्रीय सम्बन्ध बनाना, विभिन्न अन्तरराष्ट्रीय संघ-संस्थाओं या नियोगों से समर्थन हासिल करना, विभिन्न देशों के संसद में ककस बनाना, विदेशी कूटनीतिज्ञों का समर्थन हासिल करना, UN से सम्बन्ध बनाते हुए उनके कार्यक्रमों में हिस्सा लेना आदि जैसे कार्य आते हैं।

2. चढाई अर्थात् साम्राज्य को अन्त करने और स्वराज को स्थापित करने के लिए आन्दोलन (Aggression):

जब हम सांगठनिक रूप में अच्छी तरह सक्षम और तैयार हो जाएँगे, तब असहयोग आन्दोलन से लेकर अहिंसात्मक विद्रोह और नाकाबन्दी का सहारा लेते हुए मधेश में नेपाली साम्राज्य को अन्त करके स्वराज की स्थापना करने के लिए लगेंगे। इसमें असहयोग आन्दोलन, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, एलन्स्की के तरीके, नेपाल सरकार को राजस्व/कर देने से अस्वीकार करना, कर रहित आयात (खाद, बीज, चीनी, कपड़ा आदि जैसे दैनिक खपत के सामान; बाद में मोटरसाइकल, मेशिन, गाड़ी आदि भी), धार्मिक एवम् नैतिक क्रान्ति, सड़क आन्दोलन, सीमाना बन्द, अत्यावश्यक वस्तुओं की नाकाबन्दी आदि जैसे तरीके आते हैं।

3. बचाव, अर्थात् स्वतन्त्र मधेश को मान्यता दिलाना और उसे रक्षा करना (Defense and Sustainment): इस अन्तिम चरण में मधेश को अन्तरराष्ट्रीय स्तर पर पहचान दिलाना, कूटनैतिक सम्बन्ध स्थापित करना, द्विपक्षीय एवम् बहुपक्षीय समझौता करना, राजदूतावास या मिशन ऑफिस खोलना/खुलवाना और मधेश को UN मे दर्ता करवाना आदि जैसी चीजें शामिल हैं।

२०६८ चैतमा मधेसी मोर्चाद्वारा काठमाडौँको खुल्लामञ्चमा आयोजित कार्यक्रममा उनले सम्बोधन पनि गरेका थिए। 

 के भन्छन् मधेसी नेता?
मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको नारा दिने र आफूलाई लोकतान्त्रिक दाबी गर्ने वर्तामान सरकारले आफ्नो विचार राखेकै आधारमा नागरिकलाई अवैधानिक ढंगले गिरफ्तारी गरिएको बताए।
 
'शान्ति र संविधान निर्माणको संक्रमणमा देश रहेका बेला सत्तारुढ दलहरु कांग्रेस एमालेले अस्थिरता निम्त्याउन चाहेको प्रष्ट भएको छ', शर्माले भने, 'उनीहरु झन् विखण्डनकारी छन्। नत्र अभिव्यक्ति राखेकै आधारमा नागरिकलाई पक्रिनुको अर्थ के हुन्छ?' उनले राउतको तत्काल रिहाइको माग गरे।
 
'राउत जी र हाम्रो विचार मिल्दैन। हामी स्वायत्त मधेस चाहन्छौँ। उहाँ स्वतन्त्र मधेसको कुरा गरिरहनुभएको छ', उनले भने, 'तर विचारमाथि प्रतिबन्ध लगाउनु लोकतन्त्र हैन। यो निरकुंशता हो।'
 
के भन्छन् मानवअधिकारवादी ?
पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कष्ण भट्टचन, कृष्ण हाछेथु, श्याम, बिजयकान्त कर्ण, पासाङ शेर्पा,राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्शी, गणेशकुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजित, उज्ज्वल प्रसाई, युग पाठक, चिरण मानन्धर,राजेश अहिराजले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्-
 
संघीय लोकतान्त्रिक नेपालमा शान्तिपूर्वक आफ्ना विचार राख्न, सभा सम्मेलन र संगठन गर्न पाउने प्रत्येक नेपालीको संवैधानिक अधिकार हो। डा. सिके राउतले सो अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण तवरले आफ्ना विचार राखिरहेका थिए। तर, संविधानप्रदत्त अधिकारको प्रयोग गर्दा शनिवार साँझ मोरङ जिल्लाको रंगेलीबाट प्रहरीले गैरन्यायिक तवरबाट गिरफ्तार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने अहिलेसम्म कुनैपर्याप्त कारण बताएको छैन । डा. राउतको गिरफ्तारीको नेपालको अन्तरिम संविधा (२०६३) को मर्म र भावना विपरीत रहेको हाम्रो ठहर छ।

राज्यको सो कदम मानव अधिकारको विश्वव्यापी मान्यता विपरीत रहनुका साथै नेपाल सरकारले हस्ताक्षर गरेका मानवअधिकारसँग सम्बन्धित विभिन्न अन्तरराष्ट्रिय घोषणा एवं प्रतिबद्धताहरु समेतको विपरीत रहेको छ। वैयक्तित स्वतन्त्रता समेत हनन हुने गरी गरिएको गिफ्तारीको हाङ्गी विरोध गर्दै सिके राउतलाई बिना शर्त अविलम्ब रिहा गरियोस् भन्ने अपिल गर्दछौँ।
 
के छ कानुनमा ?
नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ। 

सार्वभौमसत्ता र अखण्डताविरोधी काम गर्नेलाई राज्यद्रोहसम्बन्धी कानुन अनुसार कारबाही गर्ने प्रावधान छ। 

किन पक्रियो सरकारले ?
राउतले लुकिछिपी नभई घोषित रुपमै र खुल्लमखुल्ला नै स्वतन्त्र मधेशको अभियान चलाएको केही वर्ष भइसकेको छ। तर संविधान निर्माणको प्रक्रिया चलिरहँदा राउतलाई पक्राउ गर्न पर्नुको कारण खुलेको छैन। स्वतन्त्र हैन, स्वायत्त मधेशको लागि संघर्षरत दल र संस्थाहरु पनि राउतको पक्षमा अहिले आवाज उठाइरहेको देख्न सकिन्छ। यसले मधेसवादी र मधेसबाहिरका समूहबीच यो घटनाले ध्रुवीकरण बढाउने संकेत देखिन्छ। 

कानुनी प्रावधान अनुसारै पक्राउ परेको २४ घण्टाभित्र अनुसन्धानका लागि सात दिनको म्याद आज प्रहरीले लिइसकेको छ। अहिले उनलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell