PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

छरपष्ट संविधान छरपष्ट विचार



छरपष्ट संविधान छरपष्ट विचार

  • किशोर नेपाल -
नयाँ संविधानको मस्यौदा सार्वजनिक भइसकेको छ। तर, हामी कस्तो लोकतान्त्रिक गणतन्त्र बनाउँदैछौ नेपाललाई ? कस्तो राजनीतिक पद्धति अपनाउँदैछौं ? कसैलाई थाहा छैन। संविधानको मस्यौदामा परेवाका लागि कनिका छरे सरह अधिकार छरिएका छन्। सभा भवनभित्र खैनी माँडने स्वतन्त्रताको सामान्य अधिकारदेखि भाले–भाले र पोथी–पोथीबीच अनुत्पादक सहवासको असामान्य अधिकारसम्म। दाता राष्ट्रहरुले अहिलेसम्म आफ्नै मुलुकमा थाँती राखेका कतिपय अधिकार हाम्रा लागि प्रस्तावित संविधानमा राखिएका छन्। ती सबै केलाएर साध्य छैन। हामी नेपाली जनता साँच्चै राजनीतिक प्रयोगका लागि पालिएका परेवा नै हौं। लिपुलेकमा चारो टिप्न खोज्दा माने भञ्ज्याङमा पासोमा पर्ने हाम्रो नियति नै हो।
जुन दिनदेखि हाम्रा राज्य संचालकहरु नयाँ संविधान निर्माणको रौनकमा रमाउन थाले, त्यही दिनदेखि लोकतन्त्रको नाममा मर्यादाहीनताको पासोमा परी सकेका हौं हामी। हामी यसै पनि ठूला थियौं। शदीयौंदेखि राजा बाहेक कसैको पनि आधिकारिकता स्वीकार नगर्ने बानी र बेहोरामा रमाउँदै आएको छ हाम्रो समाज। यही मानसिकता बोकेका हाम्रा नेताहरु देश गणतन्त्रमय भइसके पछि भक्कुको राँगो जस्तो उन्मत्त भएका छन्। समानता र समान प्रतिष्ठाको नारा लगाउनेहरुले नै गणतन्त्रपछिको समाजमा सामान्य मानिसको मात्र होइन, आफ्ना समकालीन सहयात्री र विपक्षीको समेत प्रतिष्ठा तल नखसालेसम्म आफ्नो प्रतिष्ठा नबढ्ने मानसिकता पालेका छन् नेताहरुले। सार्वजनिक खैलावैला हुने गरी जन्मोत्सव मनाउने, राजाले बक्सिस बाँढे झै कार्यकर्तालाई उपहार बाढ्ने, भोज–भत्तेरमा रमाउने हालका नेताहरुका विशिष्ट गुण बनेको छ। राजनीतिक दलका नेताहरु मानवीय मर्यादा, आचरण र अनुशासनको भाषण बढी नै गर्दछन्। तर, लोकतन्त्रका लागि अपरिहार्य मानिएका मानवीय तत्वहरुको आफैं पालना गर्दैनन्।

केही दिन अघि, राष्ट्रपति रामवरण यादव नेपाल सरकारको नीति र कार्यक्रमको बाचन गर्दै हुनुहुन्थ्यो। उहाँसँगै टाँसिएर बसेका थिए सभामुख सुवासचन्द्र नेम्वाङ। कतै नभएको जात्रा हाँडी गाउँमा ! संसारका कुनैपनि लोकतान्त्रिक देशमा राष्ट्र प्रमुखले संसदलाई सम्बोधन गर्दा सभामुख राष्ट्र प्रमुखसँगै टाँसिएर बसेको दृश्य कतै नदेखेको एउटा अकिंचन पत्रकारका लागि आश्चर्यलाग्दो थियो। उसको आँखामा यो दृश्य सुहाइरहेको थिएन। किनभने त्यो दृश्य लोकतान्त्रिक गणतन्त्रको संवैधानिक मान्यता अनुरुप थिएन।
 
टेलिभिजन च्यानलहरु प्रत्यक्ष प्रसारणमा व्यस्त थिए। मनमनै प्रश्न उठिरहेको थियो : गणतन्त्रका नाममा, लोकतन्त्रका नाममा, समावेशी समाजका नाममा यो कस्तो पद्धतिको निर्माण गर्दैछौं हामी ?

सबैलाई थाह छ, राष्ट्रपति रामवरण यादव आफ्ना जल्दाबल्दा राजनीतिक आकांक्षाहरु थाती राखेर, आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा, राष्ट्रपतिको उम्मेदवार बन्नु भएको थियो। उहाँको विजय अप्रत्याशित थिएन र पनि स्वयम् राष्ट्रपतिका लागि पक्कै असहज थियो। बाह्र बुँदे सम्झौता अनुरुप माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने स्वर्गीय नेता कोइरालालाई राष्ट्रपति बनाउने समझदारीमा एकीकृत माओवादीका अध्यक्ष पुगिसकेका थिए। तर, राजा महेन्द्रको राजनीतिक संस्कार बोकेका एकीकृत माओवादीका धुर्त कांग्रेस विरोधी नेताले अध्यक्ष प्रचण्डको राजनीतिक शाख गिराउनका लागि मात्रै राजनीतिक व्यूहको रचना गरे। माओवादी अध्यक्ष प्रचण्ड यो व्यूहमा नराम्रोसँग फसाइए।नवोदित संविधानसभामा विश्वासघातको राजनीति सुरु भयो। गिरिजाप्रसाद कोइराला सर्वसम्मत राष्ट्रपति बन्नुहुने पक्कापक्की समझदारी विश्वासघातमा बद्लियो। त्यसो नहुँदो हो त कोइराला देशको पहिलो राष्ट्रपति र प्रचण्ड देशको पहिलो प्रधानमन्त्री बन्ने निश्चित थियो। त्यसो भएन। रामवरण यादवले उमेर नहुँदै सक्रिय राजनीतिबाट अवकाश लिनु पर्‍यो। गिरिजाप्रसाद कोइरालाका लागि तयार पारिएको जुत्ता राष्ट्रपति यादवलाई ठीक हुने कुरै थिएन। अहिलेसम्म पनि जुत्ताको ठूलो साइजले उहाँलाई दु:ख दिइरहेको छ।

राष्ट्रपति यादवको ठाउँमा कोइराला हुनु भएको भए के संसदमा अहिले देखिएको जस्तो अमर्यादित दृश्य देखिने थियो ? के संसदका सभामुख सरकारका नीति र कार्यक्रमको बाचन गरिरहेका राष्ट्रपतिसँग कुम जुधाएर गजधम्म बस्न सक्दथे ? राष्ट्रपति आफैंमा एउटा मर्यादा हो लोकतन्त्रको। समावेशी समाजका नाममा लोकतन्त्रका मर्यादा र मान्यताहरुलाई नै तिरोहित गर्ने लोकतन्त्रको अनुहार अहिले नेपालमा देखिएको छ। राष्ट्रपति यादव गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति हुनुहुन्छ। यही एउटा कारणले पनि देशले उहाँको सम्मान गर्नु पर्दछ। उहाँ राजनीतिक प्राणी हो। बेला बेलामा उहाँ राजनीतिमा मुछिनु भएको छ। त्यही कारणले मात्र उहाँको मान–मर्दन गर्न मिल्दैन। उहाँका गतिविधि चित्त बुझ्दो नभए, गैर संवैधानिक भए उहाँलाई महाभियोग लगाएर हटाइदिए फरक पर्दैन। तर, त्यसो गर्ने नैतिक साहस कसैमा छैन। राष्ट्रपति यादवलाई पद अनुरुपको सम्मान दिँदा पद्धतिको महत्व बढ्छ। तर, अहिले संविधानसभामा उपस्थित नेतागणका लागि पद्धतिको होइन, आफ्नो महत्व स्थापित गर्ने चिन्ता बढी छ। राजतन्त्र भएको समयमा अहिलेको संसदरुपी संविधानसभामा उपस्थित सुवास नेम्वाङ लगायतका सबै नेताले राष्ट्र प्रमुखका रुपमा राजालाई धनुष्टंकार नमस्कार गरेका दृश्य र चित्रहरु मेटिएका छैनन्। तर, आफैंले चुनेका राष्ट्रपतिलाई सम्मान दिन नेताहरु तयार छैनन्।

राजनीतिका बिम्ब र व्यूहहरुलाई बुझ्नु अप्ठेरो छ। हाम्रो जस्तो अविकसित राजनीतिमा त बिम्बको प्रयोगभन्दा व्यूहको रचना नै बढी हुन्छ। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गिरिजाप्रसाद कोइरालालाई विश्वासघात गर्न आफ्नै पार्टीभित्र रचिएको व्यूहमा नफँसेको भए देशको राजनीति यति अस्थिर हुने थिएन होला। उनी त्यसमा फँसे र एक्लै फँसे। उनी गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका बेला सर्वाधिक शक्तिशाली थिए। तर, राष्ट्रपति चुनावमा गिरिजा विरुद्ध रचिएको व्यूहमा फँसेपछि शक्तिको शिखरबाट एकाएक तल खस्ने क्रम सुरु भएको हो। कम्युनिष्ट पार्टीहरुमा आफनै नेता विरुद्ध व्यूह रचना गर्ने परम्परा नै छ। सम्भवतः माओत्सेतुंगलाई छाडेर कम्युनिष्ट पार्टीका कुनै पनि नेता षड्यन्त्रबाट जोगिएका छैनन्। जीवनको अन्तिम समयमा त माओ स्वयम् पनि षड्यन्त्रको व्यूहमा फँसाइएका थिए।
 
प्रधानमन्त्रीबाट पुष्पकमल प्रचण्डको निर्गमपछिका सबै राजनीतिक घटनाक्रममा राष्ट्रपति यादव विवादमा तानिनु भएको सत्य हो।अहिले पनि उहाँ विवाद बाहिर हुनुहुन्न। एकथरि नेताहरु राष्ट्रपति यादव आजीवन पदमा बस्नका लागि नयाँ संविधान जारी नगर्ने खेलमा लाग्नु भएको बताउँछन्। राष्ट्रपति यादव त्यसो गर्न पक्कै सक्नु हुन्न। उहाँले पुष्पकमल दाहाल प्रचण्डले फुकाल्न खोजेको जर्नेल कटुवालको फूली जोगाएको पक्कै हो। त्यसपछिको समयमा राजनीतिमा भएका भागदौडको पर्यवेक्षण बाहेक उहाँले केही गर्नु भएको देखिएको छैन।

लोकतन्त्रमा संवैधानिक तवरले निर्वाचित राष्ट्रपतिलाई सम्मान दिन कन्जुसी गर्नु भनेको निम्सरो राजनीति हो। राजाको अगाडि घुँडा टेक्ने बानी परेका नेताहरुले जनताको छोरा राष्ट्रपति बन्दा उसको अपमान भएको देखिने संरचनात्मक प्रावधान ल्याउनु देशको अपमान हो। लोकतन्त्र मूल्य, मान्यता र पारस्परिक मर्यादामा मात्र टिक्न सक्दछ। अलोकतान्त्रिक आचरणमा होइन। नयाँ बन्ने संविधानले राष्ट्रिय मर्यादाहरुमा विचार पुर्‍याउला त ? यसै भन्न सकिदैन। अहिलेको मस्यौदा यथावत पारित भएन भने भुईंचालो फेरि फर्किने त्राशमा बाँचेका जनताको मनमा संविधान नबन्ने त्राश पनि त फैलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell