![यसरी मञ्चन भइरहेको छ संविधानको सुझाव संकलनको नौटंकी](https://pahilopost.com/assets/upload/contentthumb/Sujhab_Prog.jpg)
- मनोज सत्याल-
पात्र, कथा, द्वन्द्व, मञ्च, दर्शक आदि। यी सबै छन् संविधानसभाको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमा।
एउटा प्लट
सोमबार दिउँसो २ बजे। स्थान डिल्लीबजार स्थित विजय स्मारक स्कूल। मुख्य कलाकारका रुपमा छन् - सभासद् तथा स्थानीय विकास मन्त्री प्रकाशनमान सिंह। द्वन्द्वको आवश्यकताको पूर्ति गरेका छन् राप्रपा नेपालका नेता र कार्यकताले। सुझाव दिन आएका दलका स्थानीय नेता कार्यकर्ता आम पात्र झै छन्। कथा वा विषयवस्तुको थियो - 'संविधानको प्रारम्भिक मस्यौदा।'एउटा साँघुरो कोठाको मञ्चमा एउटा मैनबत्ती बलिरहेको छ। कोठाभरि मानिसहरु खचाखच भरिएका छन्। सोफामा बसेका छन् सभासद् र संसद सचिवालयले खटाएका कर्मचारीहरु। कर्मचारीको हातमा कलम र डायरी छ। उनीहरु केही लेखिराखेका छन्।
![](http://i.imgur.com/1NfTTPg.jpg)
यसबीचमा तल भीडमा रहेका एक जना चिच्याउँछन्। ढाका टोपी लगाएका, झोला भिरेका, हातमा संविधानमा मस्यौदा बोकेका, कोट र गलबन्दी लगाएका ४०/५० वर्ष जतिका उनी चिच्याउँछन्।
'संविधानमा सनातन हिन्दु राष्ट्र कायम गर!'
उनी बोल्न सुरु गरे लगत्तै भीडले ताली बजाउँछ। डेस्क बेन्च ठटाउँछ। उनको स्वर अझ चर्को हुन थाल्छ। अनि माग गर्छन् - नयाँ संविधानमा धर्म निरपेक्षतता हटाएर हिन्दु राष्ट्र कायम गर्न। लगत्तै नारा लगाउन थाल्छन्।
प्रहरीले उनलाई कार्यक्रम हलबाट बाहिर निकाल्छ।
![](http://i.imgur.com/CwroA3H.jpg)
भिडमा बोल्नका लागि माइक खोसाखोस हुन्छ। धारणा राख्न धेरै जनाको हात उठ्छ। खचाखच कोठामा गर्मी व्याप्त छ। मञ्चलाई प्रहरीले सुरक्षा दिएको छ। सुरक्षाकर्मी पनि पसिनामा निथ्रुक्कै छन्।
कोठामा होहल्ला मच्चिन्छ।
एक महिला माइक लिएर बोल्न थाल्छिन्।
'नमस्कार, नमस्कार, नमस्कार। एकछिन मेरो कुरा सुन्नुहोस्,' उनी यसैगरी बोल्छिन्।
'सनातन हिन्दु राष्ट्र कायम राख्नुपर्छ, महिलालाई आरक्षण सँगै सशक्तिकरण गर्नुपर्छ।'
उनी बोल्दै गर्दा मञ्चमा बसेका सभासद् प्रकाशमान सिंह हाँस्छन्। सभासद् हाँसेपछि महिला रोष प्रकट गर्दै बोल्छिन् - 'माननीय ज्यू हाँसेर नबस्नुस्।'
भिडले ताली बजाउँछ।
उनी फेरि बोल्छिन् - 'सुन्नुस् सुन्नुस् मेरो कुरा सुन्नुस्।'
तर उनको हातबाट माइक अर्कैले खोस्छ।
मञ्चमा रहेका सभासद् सिंह पटक पटक आग्रह गर्छन्। 'हल्ला नगर्नुस् न।'
भित्र 'नाटक' जारी रहँदा कार्यक्रम भइरहेको स्कूल बाहिर राप्रपा नेपालका कार्यकर्ता नाराबाजी सुरु गर्छन्। सुझाव संकलन भइरहेको कक्षाकोठा बाहिर भित्र भन्दा धेरै मानिसहरु उपस्थित छन्। उनीहरु भित्र छिर्नबाट बञ्चित छन्। किनकि भित्र ठाउँ बस्ने मात्र होइन उभिने ठाउँ समेत अभाव छ।
![](http://i.imgur.com/XAsvuZH.jpg)
'मस्यौदाको किताब पाउँ न,' एक युवा कक्षाकोठको ढोकामा रहेका प्रहरीलाई माग्छन्। तर त्यहाँका प्रहरी जवाफ दिन्छन् - 'छैन, छैन, सकियो।'
ती युवा रित्तै फर्किन्छन्।
भित्र बोल्नेहरु बोल्न समय कम भएको गुनासो गर्छन्।
'समय दुई दिन हो, हामीले बहस गर्न पाउनुपर्छु,' ती अधबैसे माग गर्छन्। तर भिडले धेरै बोल्न दिँदैन। माइक सरिरहन्छ। सभासद्हरु सुनिरहन्छन्।
![](http://i.imgur.com/4oS3INr.jpg)
नाट्यशाला बाहिर
स्कूल बाहिर सय भन्दा धेरै प्रहरी छन्। उनीहरु झडप हुने अवस्था आए तत्काल बाहिर लाठी चार्ज गर्न तयार छन्। राप्रपा नेपालका कार्यकर्ताहरु नारा लगाउँछन्। उनीहरु सडकमै बस्छन् र चिच्याइरहेछन्।![](http://i.imgur.com/DpLcCgQ.jpg)
हिन्दु राष्ट्र कायम गर!
संवैधानिक राजतन्त्र जिन्दावाद!
![](http://i.imgur.com/gSQnkKy.jpg)
क्लाइमेक्स
संविधानमा सुझाव संकलनका लागि देशभर अन्तरक्रिया भइरहे पनि संविधानमा ती विषय समेटिने सुनिश्चितता छैन। लाखौँ सुझाव प्रशोधन हुने सम्भावना समेत कम रहेको छ। संविधानसभाले पारित गरेको कार्ययोजनाले सुझाव प्रशोधन र अध्ययनका लागि केवल २ दिनको समय दिएको छ। बुधबार र बिहीबार अध्ययन र छलफल गरि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बिहीबार नै संविधानसभाका अध्यक्षलाई प्रतिवेदन बुझाउनुपर्नेछ। दुई दिनमा सबै सुझाव प्रशोधन असम्भव प्राय छ।प्रतिवेदन संविधानसभा हुँदै संवाद समितिमा पुग्नेछ। संवाद समितिले जनताबाट प्राप्त सुझावहरु आवश्यक र उचित रहेको ठहर्याए मात्र मस्यौदामा समेट्नेछ र त्यो संविधानको भागको रुपमा विकसित हुनेछ।
![](http://i.imgur.com/c7aCPgk.jpg)
उपसंहार
संविधानको मस्यौदामाथि छलफलका लागि सरकारले सार्वजनिक विदा दिएको छ। मानिसहरु आफ्ना धारणा राख्न भेला पनि भएका छन्। धेरै ठाउँमा झडपहरु पनि भए। नाटक यहीँ अन्त्य भएको पनि छैन। यहीँमात्र पनि होइन धेरैतिर यस्तै नाटक मञ्चन भइरहेको छ। तिनको सूची यस्तो छ :विरोध र झडपबीच देशभर संविधानमा सुझाव संकलन जारी, कहाँ के हुँदैछ?
सुझाव संकलनमा अवरोध भए? विशेष व्यवस्था भन्छ- संविधानको प्रक्रिया रोकिँदैन
माधव नेपालले संविधानमा सुझाव माग्दा ढुंगामुढा, दुई सर्वसाधारण घाइते
अर्थमन्त्री महतको गाडीमा पेट्रोल बम प्रहार