PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जिब्रोको गरिमा, मीठो बोलीमा



जिब्रोको गरिमा, मीठो बोलीमा

  • विष्णु थापा -
देश विकासको आधारशीला शान्ति सुरक्षा हो। शान्ति सुरक्षा कायम गरी सुरक्षित समाज निर्माणका लागि राज्यको अपरिहार्य र महत्वपूर्ण संयन्त्र भनेको प्रहरी सेवा नै हो। प्रहरी विनाको समाज र नागरिक विनाको प्रहरी कल्पना गर्न सकिँदैन। प्रहरीको विकल्प भनेको राम्रो प्रहरी नै हो। समुदायको सकारात्मक सहयोगबाट मात्रै प्रहरी कार्य प्रभावकारी र सफल हुन सक्दछ। सर्बसाधारणको प्रहरी प्रतिको विश्वास अभिवृद्धि गर्न, नागरिकमा प्रहरीप्रतिको नकरात्मक सोचलाई हटाउन तथा सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको हातेमालो र समन्वयमा बढोत्तरी ल्याउन नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ।
 
नागरिकको पीरमर्का, गुनासो एवम् कानूनी कारबाही तथा उपचारको सन्दर्भमा नागरिकसँग प्रस्तुत हुने शैली, गरिने ब्यवहार हार्दिक र नागरिक मैत्री बनाउन तथा प्रहरीको कार्यब्यबहारका सम्बन्धमा विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनहरुलाई समेत मध्यनजर गर्दै नेपाल प्रहरीले यस्ता अभियानहरु सञ्चालन गरिरहेको हो।
नेपाल प्रहरीको सहकार्य र भूमिकालाई जनस्तर सम्म पुर्‍याउन नागरिक भेटघाट, घरदैलो कार्यक्रम, सामुदायिक प्रहरी सेवाको अवधारणाको कार्यान्वयन, सूचना र प्रविधिको उच्चतम प्रयोग, नागरिक सुनुवाई, महिला तथा बालबालिका समन्वय केन्द्र, नागरिक सहायता कक्ष स्थापना, शान्तिदुत कार्यक्रम लगायतका अभियान र कार्यक्रमले अन्ततः नागरिक–प्रहरी सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको कुरालाई नकार्न सकिन्न। यसैबीच नागरिक सहायता तथा साझेदारीका आयामहरु अझै सशक्त र ब्यापक बनाउन अपरिहार्य रहेकाको अवस्था, प्रहरी आचरण र ब्यबहारको सन्दर्भमा विभिन्न क्षेत्रबाट भएको अध्ययन तथा सर्बेक्षणहरुका सुझाबहरुलाई समेत मध्य नजर राखी पछिल्लो समयमा नेपाल प्रहरीले देशब्यापी रुपमा मुस्कान सहितको प्रहरी सेवा, विद्यालय स्तरका छात्र छात्राको प्रतिनिधित्व गराई बाल बालिकाको समस्याको सामाधान तथा न्यायको सहज पहुँच स्थापित गर्न नेपाल प्रहरीको सहकार्य र भूमिकालाई बालबालिका सम्म पुर्‍याउने कार्यक्रम अन्तर्गत नागरिक प्रहरी हातेमालो शान्ति दुत कार्यक्रमको अवधारणाको विकास गरी कार्यान्वयन गरेको छ। यो अभियानले पारेको प्रभावका सन्दर्भमा अरु अध्ययन अनुसन्धान हुन बाँकी नै होलान् तर प्रत्यक्षतः केही परिवर्तनको आभाष दिलाएको छ।
 
अन्तर्राष्ट्रिय स्तरमा नागरिकको प्रहरी प्रतिको सकरात्मक धारणालाई प्रतिशतमा हेर्ने हो भने नर्वेमा ८९ प्रतिशत, ब्रिटेनमा ८७ प्रतिशत, क्यानडामा ७९ प्रतिशत, इटालीमा ६७ तथा फ्रान्समा ६६ प्रतिशत रहेको छ। नेपाल प्रहरी संगठनको एक अध्ययन प्रतिवेदन अनुसार नेपालमा समग्रमा नेपाल प्रहरीबाट प्रदत्त सेवा प्रति ६५.२ प्रतिशत नागरिकले औशत रहेको धारणा राखेको पाइयो। त्यसैगरी नेपाल प्रहरीको ब्यवहारको सम्बन्धमा भने ६ हजार ६ सय २० जनामा गरिएको नमूना सर्बेक्षणमा ५५.६ प्रतिशतले केही हद सम्म सन्तोषजनक छ भन्ने आफ्नो मत व्यक्त गरेको पाइयो। त्यसैगरी १ हजार ७ सय ९७ जनामा गरिएको एक अर्को सर्बेक्षणले भने १५.१ प्रतिशतले नेपाल प्रहरीको ब्यवहार खासै सन्तोषजनक छैन, पूर्ण रुपमा परिवर्तन हुन आवश्यक छ भन्ने आफ्नो मत जाहेर गरेको पाइयो। प्रस्तुत तथ्यांकबाट हामी के कुरामा स्पष्ट हुन सक्छौ भने सीमित श्रोत साधनको बाबजुद पनि नेपाल प्रहरीबाट प्रवाह हुने सेवा प्रति धेरै नागरिक सन्तुष्ट छन्। यद्यपि नेपाल प्रहरीको आचरण ब्यवहारमा भने अझै धेरै परिवर्तनको खाँचो रहेको उक्त तथ्यबाट प्रष्ट हुन सकिन्छ। यही तथ्यलाई मनन् गर्दै नेपाल प्रहरीले आफ्ना कर्मचारीहरुको आचरण बोली ब्यवहारमा गुणात्मक रुपमा परिवर्तन गर्न तथा सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नको लागि देशभर नै मुस्कान सहितको प्रहरी सेवाको अवधारणा लागू गरिएको हो।
 
नेपाल प्रहरीमा मुस्कान सहितको प्रहरी सेवाको अवधारणागत विकास तथा यसको प्रयोग र प्रभाव विशेषतः महानगरीय ट्राफिक प्रहरी महाशाखाका तत्कालिन प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्र कान्त अर्याल (हाल प्रहरी महानिरीक्षक) को कार्यकालमा ट्राफिक प्रहरी महाशाखा र यस मातहतका ट्राफिक प्रहरीबाट सुरुवात गरिएको थियो। ट्राफिक प्रहरीमा सुरु गरिएको यो अभियानले धेरै हद सम्म ट्राफिक प्रहरीको आचरण ब्यवहारका सम्बन्धमा परिवर्तन आएको विभिन्न पक्षको पृष्ठ पोषण पछि थप अन्य ब्यवहारिक, जीवनोपयोगी तथा ब्यवसायिक जीवनका लागि आवश्यक विषयवस्तुहरु सहित मुस्कान सहितको प्रहरी सेवालाई देशव्यापी बनाइएको हो।
 
हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिक प्रहरी, चालक, परिचालक, सवारी धनी, ब्यवस्थापक, यात्रु एवम् आम सडक प्रयोगकर्ताहरुको बोली ब्यवहारमा गुणात्मक परिवर्तन ल्याउन जिब्रोको गरिमा, मिठो बोलीमा भन्ने अवधारणा कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्दले ट्राफिक प्रहरी महाशाखाको नेतृत्व सम्हालेसँगै यात्रु मैत्री सेवाका लागि मीठो बोली अभियान अन्तर्गत जिब्रोको गरिमा मीठो बोलिमा कार्यक्रम अभियान सञ्चालन गरिएको हो। सार्बजनिक सवारी साधन र सहरी जीवनका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको यथार्थता एवम् सार्वजनिक सवारी साधन जीवन पद्धतिकै एक आधार भएकोले जीबनको तरक्की खोज्ने हो भने यातायात क्षेत्रमा उल्लेखनीय सुधार हुनुपर्ने आवश्यकताको महसुस गर्दै यो अभियान अघि सारिएको हो।
 
बिचारक पेस्कनका अनुसार मानिसहरु धेरै नबोल्ने हो भने दुनियाँमा ९० प्रतिशत समस्या आफै कम हुन्छ। झगडा, विवाद, दंगा फसाद, उपद्रो सब कम हुन्थ्यो, यदि कम बोल्ने हो भने। अदालतमा मुद्धा मामिलाहरु कम हुन्थ्यो यदि मृदु भाषा बोल्ने हो भने। त्यति नै बोलौ जति बोल्न अनिवार्य छ। नबोल्दा हुन्छ भने बिल्कुलै नबोलौ, मौन रहौं। बाणीको संयमलाई साधना बनाउने हो भने ब्यर्थको बकबास वा ब्यर्थको बोलाई आफै छुट्छ। यही मान्यतालाई आत्मसात गर्दै अनि दैनिक यात्राका क्रममा समस्त सवारी साधनका चालक, परिचालक, ट्राफिक प्रहरी एवम् सेवाग्राहीहरु तथा सम्बद्ध अन्य सरोकारवाला ब्यक्तिहरुलाई शिष्ट, मृदुभाषी बन्नका लागि र बनाउनको लागि पनि जिब्रोको गरिमा मीठो बोलिमा भन्ने अभियान सुरु गरिएको हो।
(लेखक प्रहरी नायव निरीक्षक हुन्)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell