PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नक्कली दारी जुङ्गा लगाएपछि रोनाल्डोलाई कसैले चिनेन



नक्कली दारी जुङ्गा लगाएपछि रोनाल्डोलाई कसैले चिनेन

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नक्कली दारी जुङ्गा राखेर म्याड्रिडका सहरमा हिँड्दा कसैले नचिनेको भिडियो सार्वजनिक गरेका छन्। युट्युबमा राखिएको यो भिडियोमा रोनाल्डोले आफ्नो पहिचान लुकाउन दारी र जुङ्गा मात्र होइन, ठूलो खाले चश्मा पनि लगाएका देखिन्छन्। 

त्यति मात्र होइन, भेष बदल्न ३० वर्षका रोनाल्डोले एउटा फ्याट सूट लगाएर  सामान्यभन्दा मोटा देखिएका छन्। यसले पनि उनलाई चिन्न मान्छेहरुलाई गाह्रै पर्‍यो। 

भेष बदलेपछि उनी म्याड्रिडको सबैभन्दा बढी चहलपहल हुने ठाउँमध्येएक प्लाजा दे कैलाओमा गए। एउटा कुकुर लिएर गएका उनी फुटबलको कौशल सडकमा देखाउन थाले। करिब एक घण्टासम्म यसो गर्दा पनि कसैले उनलाई वास्ता गर्दैनन्।

रोनाल्डोले आफै केही मान्छेलाई गएर आफूसँग फुटबल खेल्न आग्रह गर्छन्। तर एक दुई जनालाई छाडेर सबैले बेवास्ता गर्छन्। केही युवतीहरुसँग उनले फोन नम्बर पनि माग्छन्। 

अन्तमा उनी एक सानो बच्चासँग फुटबल खेल्न थाल्छन्। केही समयपछि रोनाल्डोले फुटबलमा अटोग्राफ दिन्छन्। अटोग्राफ देखेपछि बच्चा दङ्ग पर्छन्। अनि रोनाल्डोले एक एक गर्दै आफ्नो दारी, जुङ्गा र नक्कली कपाल निकाल्छन्। बच्चाले ओला अर्थात् हेलो भन्छन्।

अब सबैले उनलाई चिन्छन्।  बजारमा भएका अधिकांश मान्छे स्टार खेलाडीसँग हात मिलाउन फोटो खिच्न र अटोग्राफ लिन झुम्मिन्छन्। अगस्त ३ मा अपलोड गरिएको यो भिडियो अहिलेसम्म लाखौँले हेरिसकेका छन्। (डचे वेले)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell