PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ठक्कर दिएर भाग्ने गाडी खोज्न यस्ता छन् समस्या



ठक्कर दिएर भाग्ने गाडी खोज्न यस्ता छन् समस्या
फाइल फोटो : पहिलोपोस्ट

  • बिष्णु थापा - 
    • प्रहरी जवान पदमा आवेदन दिन हिडेका प्रकाश श्रेष्ठ गत साउन ३ गते दुर्घटनामा परे। दोलखा मेलुङ्ग ८ का उनी ठिमी बस्दै आएका थिए। २२ वर्षे उनलाई बा ६२ प ६९९६ नम्बरको मोटरसाइकलले कोटेश्वरमा ठक्कर दिएको थियो। दुर्घटनामा उनले अगाडिको ३ वटा दाँत गुमाए। बायाँ गाला, दाहिने हात र खुट्टामा चोट लाग्यो। उनलाई ठक्कर दिने मोटरसाइकल चालकले गल्ती स्वीकारेनन्। चालक फरार रहे।
 
  • त्यही दिन बुढानिलकण्ठ नगरपालिका ४ चपलीका ७२ वर्षीय गोपाल नकर्मीलाई बिहानै साइकलले ठक्कर दियो। सडकमा लडेका नकर्मी उठ्न सकेनन्। साइकल चालक सुइकुच्चा ठोके भने घाइते नकर्मीको अझै शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
 
  • यी दुई घटनाको भोलिपल्ट साउन ४ गते बेलुका ६ बजे बानेश्वरबाट माइतिघर आउँदै गरेको बा ५३ प ६९ ६७ नम्बरको मोटरसाइकललाई अर्को दिशाबाट जाँदै गरेको कारले बबरमहल नजिक सडकमा ठक्कर दियो। धरानका २६ वर्षीय शरिष सरकार गम्भीर घाइते भए। उपचारको क्रममा निजामती अस्पताल मिनभवनमा त्यही साँझ उनको मृत्यु भयो। घटनापछि चालक फरार रहे।
 
पछिल्ला दिन यस्ता घटना समान्य बन्दै गएका छन्। यसरी हुने दुर्घटनापछि घाइतेलाई मानवीय सेवा गर्ने अर्थात् समयमै अस्पताल पुर्‍याउनुपर्ने मानवीय धर्म बिर्सँदै आफ्नो गल्ती ढाक्न र सजायँबाट बच्न सवारी चालकहरु फरार हुने क्रम बढेको छ।
 
कुनै पनि सवारीले सजीव वा निर्जीव बस्तुलाई ठक्कर दिन्छ र त्यो ठक्करबाट भौतिक वा मानवीय क्षति हुन्छ भने त्यो सवारी दुर्घटना हो। हिट एन्ड रन किन हुने गर्छ त ? यसका प्रमुख चार कारण देखिएको छ :
  • दुर्घटनापछि घटनास्थलमा असुरक्षित महसुस गरेर,
  • थप भौतिक क्षति हुनबाट बच्न,
  • मादक पदार्थ सेवन गरेकाले
  • विना लाइसेन्स सवारी चलाउनाले
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकलाई हेर्ने हो भने आ.ब.२०६९/०७० मा २ सय ९४, आ.ब.०७०/०७१ मा ३ सय ३६ र आ.ब.२०७१/०७२ मा ४ सय २८ वटा सवारी चालकहरु सवारी दुर्घटना पश्चात फरार भएको देखिन्छ। यसरी फरार भएका साधानमध्ये ती आ.ब.मा क्रमश: २ सय २५, २ सय ३८ र ३ सय १७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरिएको छ। बाँकी सवारी साधनमाथि अझै अनुसन्धान तथा खोजतलास जारी छ।
 
विज्ञान र प्रविधिको विकासका कारण मानव जीवनशैलीमा आमूल परिवर्तन भएको छ। वैज्ञानिक विकासको क्रममा अन्य क्षेत्रमा जस्तै यातायातको क्षेत्रमा पनि द्रुत गतिमा विकास हुँदै गएका कारण आज विश्वको कुनै पनि स्थानबाट अर्को स्थानसम्म सहज र सरल आवतजावत गर्न सकिने भएको छ। यसरी यातायात क्षेत्रको विकासले जति सुविधा र सरलता प्रदान गरेको छ त्यति नै यस क्षेत्रमा विविध कारणबाट हुने दुर्घटनाले जनधनको क्षति पनि त्यत्तिकै मात्रामा बढेर गएको छ।
 
यसरी दुर्घटनाबाट हुने जनधनको क्षतिका कारण परिवार, समाजदेखि राज्य समेतले त्यसको प्रत्यक्ष अप्रत्यक्ष कुनै न कुनै रुपमा असर भोग्नु परिरहेको छ।
 
संयुक्त राष्ट्र संघले सन् २०११ को मे महिनामा सडक सुरक्षाका लागि दशकीय कार्ययोजना (सन् २०११–२०२०) प्रकाशित गर्‍यो। उक्त विश्वव्यापी कार्ययोजनाले सदस्य राष्ट्रहरुलाई नितान्त सडक सुरक्षासँग सम्बन्धित विषयलाई समेटी आ–आफ्नो कार्ययोजना तर्जुमा गर्न निर्देशन दियो। त्यसअनुसार नेपाल सरकारले पनि एकीकृत रुपमा सडक सुरक्षालाई सुधार र ब्यवस्थित गर्नका लागि नेपाल सडक सुरक्षा कार्ययोजना (वि.सं.२०६७–२०७७) कार्यान्वयनमा ल्याएको छ। यद्यपि उक्त कार्ययोजनामा समावेश भएको सडक सुरक्षा ब्यवस्थापन कार्यतालिका अनुरुप कार्यान्वयन गरिनुपर्ने विषयहरु ब्यवहारत कार्यान्वयन भएको छैन।
 
यातायात ब्यवस्था विभागको संस्थागत क्षमता अभिबृद्धि गर्दै कम्प्युटर प्रणालीमा तथ्यांक राखी सम्पूर्ण यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयहरुकाबीच संजाल प्रणालीमा जोड्ने समयसीमा २०६९ साल तोकिएको थियो। यो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।
 
त्यसको असर के हुन्छ त ? शुक्रबार मध्यान्हपछि ठूलै दुर्घटना गराएर सवारीसाधन चालक फरार भयो भने अनुसन्धानमा खटिनेले फरार सवारीको साधारण अभिलेख हेर्नसमेत आइतबारसम्म कुर्नुपर्छ। आइतबार अझ सार्वजनिक बिदा परेमा अभिलेखका लागि फेरि अर्को दिन कुर्नुको विकल्प प्रहरीसँग छैन।
 
त्यसमाथि अभिलेख प्रणाली अब्यवस्थित छ। धेरैजसो सवारी धनीले सवारी साधनको सम्पूर्ण विवरण सहितको अभिलेख पुस्तिका घरमा नै लैजाने परिपाटी पनि छ। यसले खोजेको समयमा अभिलेख भेटिँदैन। त्यतिन्जेलसम्म अनुसन्धानमा धेरै समस्या भइसक्छ र अपराधीले अरु भौतिक सवुत प्रमाण नष्ट गराउन सक्छ। अर्कोतिर घटना भएको लामो समयसम्म यातायात ब्यवस्था कार्यालयबाट समयमै अभिलेख प्राप्त गर्न नसक्दा अनुसन्धानमा ढिलाइ हुन्छ। दुर्घटना पीडितहरु प्रहरी अनुसन्धान फितलो र ढिलाइ भएको भन्दै गुनासो पोख्न थालिहाल्छन्।
 
शून्य मानवीय क्षतिको लक्ष्य सहित प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उक्त सडक सुरक्षा कार्ययोजना तालिकामा २०६९ सालभित्रै विभिन्न चोकहरुमा क्यामराहरु जडान गर्ने र सवारी दुर्घटनामा सम्लग्न सवारी साधन तथा अपराधिक घटनाहरुको सुक्ष्म निगरानी गरिने लक्ष्य लिइएको थियो। अझै पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १७ औं शिखर सम्मेलनका क्रममा बिशिष्ठ ब्यक्तिहरुको आवागमन हुने मुख्य रुटहरुमा केही संख्यामा सीसीटिभी क्यामेरा जडान भए पनि अन्य भित्री सडक खण्डहरु र उपत्यका भित्रिने सबै नाकाहरुमा अत्याधुनिक क्यामरा छैन। उपत्यकाको विभिन्न ६१ स्थानहरुमा २ सय ३५ क्यामराबाट महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र ट्राफिक महाशाखाको कन्ट्रोल रुमले अबलोकन र निगरानी गर्ने गरेको भए पनि मुलुकको एकमात्र महानगरमा यो संख्या पर्याप्त छैन।

तसर्थ कन्ट्रोल रुमबाट नै नियन्त्रण गर्न सकिने अत्याधुनिक क्यामराहरु जडान गरिने हो भने सवारी दुर्घटनापछि फरार हुने सवारी साधनहरुलाई तुरुन्त नियन्त्रणमा लिन सकिन्छ। त्यतिमात्र होइन शंकास्पद ब्यक्ति, सवारी र स्थानहरुमा पनि गोप्य रुपमा निगरानी बढाई अपराधिक घटना हुन नदिई सुरक्षित समाज निर्माणमा पनि सहयोग पुग्ने देखिन्छ।
 
सवारी दुर्घटनापछि फरार हुने सवारी साधनहरुको खोजी तथा अनुसन्धानमा आम सडक प्रयोगकर्ताहरुको पनि उत्तिकै भूमिका रहन्छ। नेपाल प्रहरीको सहकार्य र भूमिकालाई जनस्तर म्म पुर्‍याउन हाल नेपाल प्रहरीले विभिन्न किसिमका कार्यक्रम तथा अभियान सञ्चालनमा गरिरहेको छ। तर पनि सर्वसाधारणले यसको मर्मलाई त्यति धेरै महत्व नदिँदा पनि समाजमा यस्ता अपराधिक घटनाहरु दोहोरिरहेका छन्।
 
अतः आफ्नो नागरिक दायित्वको महसुस गर्दै कहीँ कतै सवारी दुर्घटना हुँदा यदि आफूले प्रत्यक्ष देखेको छ र सवारी साधन फरार हुँदैछ भने त्यस्ता सवारी साधनको अल्फाबेट सहितको नम्बर, सवारीको रङ्ग, सवारीको किसिम, सवारी साधन भाग्दै गरेको दिशा र सम्भव भएसम्म चालकको हुलिया सहित टिपेर नजिकको प्रहरी कार्यालय वा प्रहरी र ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बरहरु १०० र १०३ मा जानकारी गराइदिने हो भने त्यस्ता फरार सवारी साधनलाई नियन्त्रणमा लिन ठूलो सहयोग पुग्छ।

पीडकलाई कानुनी कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन ठूलो मद्धत पुग्ने देखिन्छ। यदि हामीले देखे बुझेका यथार्थ सूचना तथा जानकारीहरु प्रहरीलाई दिएर सहयोग तथा नागरिक दायित्व बहन गर्‍यौ भने र सरोकारवाला निकायहरुले पनि आ–आफ्नो भूमिका र दायित्व बहन गर्दै शून्य मानबीय क्षति सहितको सडक सुरक्षाको कार्यायोजनालाई वास्तविक कार्यान्वयनको चरणमा लैजाने हो भने निश्चय पनि मानवीयता हराउँदै गएका केही चालकहरुलाई दुर्घटना पश्चात फरार हुने होइन, फरार भैहाले पनि भाग्न उम्कन सकिन्न भन्ने भावनाको विकास हुन्छ। घाइतेलाई जतिसक्दो चाँडो अस्पताल लैजाने र कानुनी उपचारको बाटो रोज्न लगाउने बनाउन पो सकिन्थ्यो कि !

प्रहरी नायब निरीक्षक थापा ट्राफिक एफ एम ९५.६ मेगाहर्जमा कार्यरत छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell