PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दाउद इब्राहिमको तलाश



  • लिलाराज खतिवडा-
पञ्जावको स्वर्ण मन्दिरमा भेट्ने गोप्य सूचना पठाएर जुबेर खानले इमेल खाता डिलिट गरेको थियो। त्यसअघि मलाई पनि डिलिट गर्ने सल्लाह दिएको थियो। तर मैले त्यसो गर्नु जरुरी ठानिनँ। उसले दिएको समय आउन अझै दुई हप्ता बाँकी थियो। तर मैले एकाएक स्यानो झोला ठीक पारेँ र भक्कु सुतेँ।

म आफ्नै घरमा थिएँ। समय थियो- सन् २०१२। महिना किन लेखिरहनु? यो थोडै न म इतिहास लेखिरहेको छु? म त यो आफ्नो यात्रा संस्मरण लेखिरहेको छु।

तीन दिन लगातार फुलटाइम सुतेपछि काठमाडौं जाने बहानामा म हान्निएँ सिधै जोगबनी। कटिहार जाने रेल समातेँ। झर्को लाग्दो लोकल रेलको स्लो यात्रा हुन्छ यो। तर पनि नोस्टाल्जियाहरु बल्झाएर झ्यालबाट बाहिर रमिता हेरिरहनुको विकल्प अरु यात्रुहरुसँग ब्यर्थ वार्तालाप हो जो मैले धेरै अघि छोडिसकेको थिएँ।

रेलले पूर्णियाँ स्टेसन क्रस गर्दैगर्दा मेरो मन भने पञ्जावको स्वर्ण मन्दिर तिरै पुगिसकेको थियो। 

कटिहार पुगेर केहीबेर प्लेटफार्ममा बरालिएँ। पश्चिमोत्तर जाने जुन रेल समाते पनि हुने ठानेँ र इन्क्वायरी लिएँ। 

एक कप चिया किनेँ। छेवैको बुक स्टलले तान्यो। कुनै घतलाग्दो किताब नियाल्न थालेँ। नभन्दै एउटा फेला पर्‍यो। एस हुसेन जाइदिले लेखेको ‘मुम्बई माफिया’ को साठी वर्षे इतिहास। किताब घुम्छः मुम्बई अण्डर्वल्डका बेताज बादशाह दाउद कास्कर इब्राहिम इर्दगिर्द।

अब के चाहियो?

रेल। अब मलाई मुरादाबादसम्म जाने एउटा रेलको इन्तजार थियो। इन्क्वायरीले जानकारी दिए अनुसार रेल आउन करिब एक घण्टा बाँकी थियो। 

अन्तिम सुरुप चिया पिएर म सम्बन्धित प्लेटफार्ममा गएँ। एउटा कुनो समातेँ र घोप्टिएँ माफिया जगतको रोचकता र रोमाञ्चतामा।
सत्य भन्नु पर्दा यो किताबका बारेमा मैले सुनेको पनि थिइन। तर विगत केही वर्षदेखि दाउद नामक ती डनको खोजी भने गरिरहेको थिएँ।

यिनलाई भेट्ने ईच्छा र हिम्मत एकैसाथ उम्रिएका थिए। तर यो म जस्तो बबुराका लागि तेह्र वटा सगरमाथा चढे बराबर थियो। यो थाहा हुदाँ हुँदै पनि मैले धेरै चोटी यो नाम वा यसभित्रको शख्सलाई खोज्ने ट्राइ मारेको छु। ट्राइले हमेसा खतराहरु निम्त्याउँछ। कि काम गर्नु पर्छ कि गर्नु हुँदैन। ट्राइको के भर?

भयो पनि यस्तै। डन खोज्ने मामिलामा थुप्रै हण्डर, घुस्सा, अपमान खाइयो। मलाई लाग्दै गएको थियो कि- डन से मिल्ना मुश्किल ही नहीं नामुम्किन भी है। 

तर यस पटकको मामिलामा मलाई ह्यामरको चोट निकै नै भारी ठहरिँदै थियो। जुन मान्छेलाई भेट्न अहिले म हिँडिरहेको थिएँ — जुबेर खान, त्यसले मलाई दाउदसँग भेट गराउँने बचन दिएको थियो। ऊसँग चारपाँच राउण्ड फोनमा र इमेलमा कुरा पनि भैसकेको थियो। र, उसले मलाई आश्वस्त समेत तुल्याएको थियो।

रेल त आयो तर कोचाकोच। कहाँ चढ्ने?

खोज्दै जाँदा एउटा खाली खाली डिब्बा फेला पर्‍यो। चढिहालेँ। तर आर्मीको डिब्बा रहेछ। चार पाँच मान्छे अरु पनि थिए। तिनले मलाई केही भनेनन्। 

चुपचाप एउटा सिंगल सिटमा बसेँ। एक फेर चारैतिर नजर दौडाएँ। दुईचार घुँट आफ्नो पानी पिएँ। अनि संसारलाई खल्तिमा घुसारेर पुनः किताबमा घोत्लिएँ।

कसैले केही भनेनन्। मसँग टिकट थियो। तर कुनै टिकट जाँचकी पनि टप्किएन। आर्मीको डिब्बामा सिभिलले घुस्नु पनि दण्डनीय हुन्छ। तर मैले खतरा मोलिसकेको थिएँ।

भरे त्यहाँ अरु पनि मान्छे घुसे। कोही मिलेर बसे। कोही भनाभनमा उत्रिए। मलाई के मतलब? मैले यात्राभर किताब लगभग छोडिनँ।

अर्को दिन मुरादाबादमा त्यस रेललाई छोडेर मैले हरिद्वार जाने रेल समातेँ। हरिद्वारमा पाइलट बाबाको कनखलस्थित आश्रममा केही दिन गुजारेँ। पाइलट बाबालाई पनि भेट्न पाइयो। यिनका वरिपरि ज्यादा रसियन परीहरु हुन्थे। यिनीसँग तीस चालिस विदेशी शिष्य अनि शिष्या बाह्रैमास हुँदा रहेछन्। पाइलट बाबालाई पछि पनि मैले उत्तरकाशी र पिथौरागढमा छुट्टा छुट्टै भेटेको छु। 

आश्रममा बसेका बेला एउटा होचोहोचो भलाद्मी मानिसले मलाई नेपाल र अन्य केही विषयमा धेरै कुरा सोधेको थियो। रोयल मेसाकर बारे पनि रहस्यमय कुराहरु भए। मलाई समय काट्नु थियो, ऊसँग लापर्बाह गफमा बत्तिरहें। त्यस मानिसले मेरा केही ब्यक्तिगत कुराहरु पनि सोधेको थियो। अलिक कुटनीतिक भएर जवाफ दिएको थिएँ। बात मार्ने अरु नै प्रसस्तै कुराहरु हुने हुँदा नयाँ मानिसहरुसँग हत्तपत्ती आफ्ना कुरा भन्ने मेरो बानी छैन। 

तर मलाई पुग्नु थियो पञ्जावको स्वर्ण मन्दिर। जहाँ म लश्कर ए तोइवाको सिक्रेट एजेण्ट जुबेर खानलाई भेट्न आतूर थिएँ। र, उसले मलाई मुम्बई अन्डर्वल्ड डन दाउदसँग भेटाउनेवाला थियो। यति लिंक मिलाउँन मलाई पुरै पाँच वर्ष लागेको थियो।

हुसेन जाइदिको यो किताब पढ्नु अगावै मलाई जानकारी थियो कि दाउदको लश्करमा ठूलो लगानी छ। तर मलाई यसको के मतलब? म डि कम्पनीको लगानी होईन, साक्षात डिलाई नै खोजिरहेको थिएँ। लश्करमा मात्रै होइन, यिनको धेरै तिर लगानी होला। डन जो परे। काठमाडौंमा पनि यिनको धेरै ठाउँमा लगानी छ भनिन्छ। भारत, पाकिस्तान, नेपाल लगायत अन्य कतिपय मुलुकका सेलेक्टेड प्रहरीहरु आफ्नो सरकारको बाहेक यिनको पनि दाना खान्छ। एउटा मुलुकको पुरै प्रहरी फोर्स त के सरकार नै किन्ने हैसियत राख्दा हुन् दाउद ! 

जुबेरको लिंक पाउन मैले मुम्बईमा निकै संघर्ष गर्नु पर्‍यो। जुबेरसम्म पुग्नु अगाडि मैले दुई दर्जन अरु मान्छेहरुलाई भेटिसकेको थिएँ। कैयन च्यानलहरुबाट गुज्रिसकेको थिएँ। पाँच वर्ष पनि हेर्दाहेर्दै बिते। तर मुम्बईका कुनै पनि लिंकले काम गरेनन्। तर अब डनसम्म पुग्ने बाटो धेरै साफ भैसकेको थियो। अन्ततः एउटा पाकिस्तानी लिंक ज्यूँदो फेला पर्‍यो। अनि मेरो खोजको पानामा आविश्कार भयो —जुबेर खान। 
०००००००
जुबेरले दिएको तारिखभन्दा एकदिन अगावै म पञ्जावको स्वर्ण मन्दिर पुगिसकेको थिएँ। जस्तो कि अत्यन्त जरुरी एपोइन्टमेन्टहरुमा म पुग्ने गर्छु। समयभन्दा अगावै भेटघाट गर्नुपर्ने ठाउँमा पुगेर रिल्याक्स मुड्मा कुराकानी गर्नुको असर र मजा छुट्टै हुन्छ। 

स्वर्ण मन्दिरमा हजारौं मानिसहरुको अनवरत ओहोरदोहोर। हजारौंका बीचमा बसेर लंघर खाँदा मैले दाउदलाई बिर्सिएँ। गुरु नानकका माध्यमबाट म परमात्मासँग अचानक एकाकार हुन पुगेको थिएँ। 

साँझ लाइनमा बसेरै भए पनि स्वर्णमन्दिरको केन्द्रमा अवस्थित खालसाको दर्शन गरें। त्यहाँ चौबिसै घण्टा अनेक शिख संगीतको लहर चलिरहेको हुन्थ्यो।

मलाई लाग्यो यो एक महान युटोपिया हो। मान्छेहरुले दुनियाभरमा गरेका महान कामहरु मध्ये यो एक हो। फेसबुकमा स्टाटस लेखें- एन इन्काउन्टर विथ गड इन गोल्डेन टेम्पल। (स्वर्ण मन्दिरमा ईश्वरसँग जम्काभेट।

ला
खौं भक्तजनहरुलाई हरेक दिन चौबिसै घण्टा खाना, चिया, पानी, सुत्ने स्थान, पूजाआजा आदिको एरेञ्ज गर्ने काम एउटा देशको सत्ता चलाए भन्दा गाह्रो हुँदो हो।

हजारौं मानिसका बीच समय खूब चाँडो कटेजस्तो भयो। 

जुबेरले दिएको बेला पनि आयो। 

स्वर्ण मन्दिर परिसरको मुख्य अकालतख्त मुनि भेट्ने तय थियो। सुरिलो अग्लो अकालतख्त मुनि गएर उभिएँ।

चारैतिर हेरें ............ 

‘सत् श्री अकाल !

कसैले मलाई नै भन्यो। मैले उसलाई नियालेर हेरें र अभिवादन फर्काएँ। पहिलो नजरमा नै पढेलेखेको झैं लागिरहेको थियो ऊ।

‘सूर्या?’ उसले सोध्यो।

‘यस।’ मैले भनें।

‘फलो मि।’ उसले भन्यो र अघि बढ्यो। 

बिना कुनै बिलम्ब म उसको पछि लागें। 

सेतो कुर्ता पाईजामा लगाएको म भन्दा अलिक होचै थियो ऊ। टाउकोमा हरियो फेटा बाँधेको थियो। त्यसो त मैले पनि फेटा बाँधेको थिएँ। स्वर्ण
मन्दिरभित्र पस्नेजति सबैले फेटा बाँधेका थिए।

के तिमी नै जुबेर हौ ? म सोध्न चाहन्थें तर सोधिन। म उसलाई नै बोल्ने मौका दिइरहेको थिएँ।

‘यू केम भाया हरिद्वार ?’ मन्दिर परिसरबाट बाहिर आउँदै गर्दा उसले सोध्यो।

मैले भने, ‘यस। यू आर राइट। बट हाउ डु यु नो द्याट?’

‘द्याट्स नन् अफ योर विजिनेस।’ उसले ठण्डा भावमा भन्यो।

मैले ‘इट्स ओके,’ भनें अनि चूप लागें।

पार्किङ लटमा पुगेर उसले एउटा सेतो मारुती कारको ढोकामा चाबी घुसार्यो। ढोका खोल्यो र ड्राइभिङ सिटमा बस्यो। मलाई अर्को साइडमा बस्ने ईशारा गरेर उसले गाडी स्टार्ट गर्‍यो। 
००००००
कारले गति लिइसकेपछि मैले मेरो बिजिनेसको सवाल पुछें, ‘आर यु जुबेर खान?’

गियर बदलेर स्पिड बढाउँदै उसले भन्यो, ‘नो आई एम नट जुबेर। आई एम वाहिद। यू माइट नट निड माइ सर नेम राइट्?’

म केबल मुस्कुराएँ। यस्तो बेलामा सामुन्नेको मानिसलाई धेरै सवाल सोध्नु मुर्खता हुन्छ। जस्तो जुबेर कहाँ छन् ? अझै कति बेर लाग्छ सम्बन्धित ठाउँमा पुग्न आदि।

उसैले केही बोलोस भन्ने भावमा मौनता कायम राखें। तर उसले एउटा स्थानमा बिस्तारै कार रोक्यो।

‘फलो मि।’ उसले भन्यो र ओर्लियो।

मैले उसलाई फलो गरें।

एउटा घरमा लिएर गयो। सामान्य कार्यालय जस्तो। भित्र एउटा कोठामा केही मान्छे थिए।

वाहिदले बोलायो, ‘आलम भाई !

भित्रबाट आवाज आयो, ‘हाँ बोल।’

‘आदमी लाया हुँ।’ वाहिदले भन्यो।

तुरुन्तै एउटा मान्छे भित्रबाट ढोकामा आयो, अगाडि उभियो र भन्यो, ‘आदाव। क्या आप ही सूर्या हैं ?’

मैले आफ्नो शिर केही झुकाएर उसलाई अभिभादन गरें र भने, ‘जी हाँ मै ही सूर्या हुँ। जुबेर खान.....?’

‘चलिए अन्दर बैठ्ते हैं।’ उसले भन्यो र मलाई अर्कै कोठामा लिएर गयो। वाहिदलाई उसले केही काम अह्रायो।

सोफामा बस्दै उसले भन्यो, ‘जुबेर एक काल्पनिक नाम है। मेरा नाम आलम है। मैने ही आप से फोन और इमेल मे जुबेर बनके सम्वाद किया था।’ 

म छक्क परिरहेको थिएँ। अझ उसको यस भनाईले तिलमिलाएँ, ‘लश्कर मे ज्वाइन कर्नेका आपका विस पूरा नही हो सका मिस्टर सूर्या। आपको रिजेक्ट किया गया है।’

लश्करमा ज्वाइन गर्न मैले कुनै एप्लिकेसन दिएको थिइन। खासमा लस्करसँग मलाई चासो पनि थिएन। दाउद इब्राहिमसम्म पुग्ने लिंक खोज्ने शिलशिलामा लश्कर टप्किएको थियो। तर मैले आफ्नो मनको हलचल सामुन्नेको मानिससम्म पुग्नै दिइनँ। यस्तो बेलामा भन्नु र गर्नुपर्ने कुरालाई म तौलिएर सोच्दै थिएँ। 

मैले उल्टै सोधें, ‘क्या मै जान सकता हुँ कि मुझे रिजेक्ट करनेका वजह क्या हो सकता है?’

‘देखिए जब हमारे संगठन ने आपका ब्याकग्राउण्डको छान मारा तो आपके कुछ संदिग्द ताल्लुकात मिले। आप जर्नालिस्ट है ना?’ उसले भन्यो।

‘था। अभि काम पे नहीँ हुँ।’ मैले भने।

‘चाय कफी कुछ ?’ उसले प्रसंग बदले जसरी भन्यो।

‘इट्स ओके।’ मैले भने।

‘अब आप जा सकते हैं।’ उसले भन्यो, ‘पर, चाय पिके जाइएगा।’

मैले सत्य बोल्ने विचारले भने, ‘मै तो दाउद से मिल्ने आया हुँ। लश्कर ज्वाइन करनेका मेरा कोई इरादा नहीँ है। यह बात कहाँ से आ धमका मेरे समझ से बाहर है।’

‘दाउद से तो आप मिल चुकें हैं। बाकी सवालोंका कौनो मतलव नाही है।’ उसले अलिक देहाती लवज निकालेर भन्यो।

उसको भनाईले मेरो हार्ट एट्याक हुदाँहुँदै बच्यो।

‘कैसे, कब, कहाँ ?’ मेरो मुखबाट फुत्किनु अगावै उसले भन्यो, ‘हरिद्वार मे डन तुम से हुलिया बदल के मिले थे। तुम पाँच साल से उन्हे ढुंढ रहे थे। समझो कि उनको कभि यह बात पता चल गया हो कि तुम उनका तलाश कर रहे हो। वह डन है। जगह जगह पे उनके आदमी रहते है। डन बहुत ताकतवर, सुरक्षित और चौकन्ना रहना पसन्द करता है। शेर अगर स्वस्थ है तो उसे पता चल जाता है कि उसके इलाके मे कौन घुस्ता है। नही तो शेर कहाँ ?’

एउटा बूढो मानिसले दुई कप चिया हामीलाई थमाएर गयो।

तर मेरो मनले ह्वात्तै विगतमा हाम्फाल्यो। पाइलट बाबाको आश्रममा एउटा होचो कदको भलाद्मीले मसँग लामो भलाकुसारी गरेको थियो। मैले उसका शक्तिशाली आँखाहरु सम्झिन खोजें। उसले बडो शान्त लवजमा मसँग रोयल मेसाकरको बारेमा बात मारेको थियो। अरु पनि कैयन बात मारेको थियो। उसले मसँग रहस्यमय पारामा धर्म र अध्यात्मको पनि बात मारेको थियो। मलाई केही ब्यक्तिगत सवाल पनि सोधेको थियो।

अचम्म?

‘क्या यह सच है जो कि आप बता रहे हैं?’ मैले थुक निल्दै सोधें।

‘अगर सच नही होता तो मै तुम्हे यहाँ नहीं मिल सकता था। इस बार तुम यहाँ आए नही बल्कि लाए गये हो।’ उसले भन्यो।

मैले एकछिन आँखा बन्द गरें। खोलें र मेरो अगाडिको मान्छेलाई सोधें, ‘क्या मै उनसे फिर मिल सकता हुँ?’

‘मुश्किल है।’ चियाको चुस्किसँगै उसले भन्यो, ‘अब तुम अपने घर वापस जा सकते हो।’ 

मैले उसको आदेश माने र घर फर्किएँ।

काठमाडौंमा जोगीको भेषमा हिँड्ने एक जासूसले एकदिन मलाई अनामनगरमा भनेको सम्झिएँ। उसले भनेको थियो, ‘पाइलट बाबा भन्नु नै दाउद ईब्राहिम हुन् र दाउद ईब्राहिम भन्नु नै पाइलट बाबा।’

हुसेन जाइदीले आफ्नो पुस्तकमा दाउदका तेह्र वटा एलियाश भएको चर्चा गरेका छन्। 

कुरो जे सुकै भए पनि त्यस पछि म भने कहिल्यै दाउदको तलाशमा भट्किइनँ। 

डिस्क्लेमरः स्थान र घटनाहरु काल्पनिक हुन्। कसैको जीवनसँग मिल्नपुगे त्यो केवल एक संयोग ठहर्नेछ। –लेखक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell