PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

५० जनालाई फाँसीमा झुण्ड्याउने जल्लादको कथा: यसमा सोच्नुपर्ने के छ?



५० जनालाई फाँसीमा झुण्ड्याउने जल्लादको कथा: यसमा सोच्नुपर्ने के छ?
साबिर मसिह

  • शाइमा खलील-
सात वर्षदेखि रोकिएको फाँसीको सजायँको गत सालबाट पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले फेरि सुरु गरे। 

भनिन्छ, पाकिस्तानमा फाँसीको सजायँ पाउने व्यक्तिको संख्या आठ हजार छ। यी मध्ये २ सयभन्दा बढी व्यक्तिलाई वितेको ६ महिनायता फाँसी दिइसकिएको छ।

यी दुईसयमध्येका ५० जनाभन्दा बढी व्यक्तिलाई फाँसीमा झुण्ड्याउने व्यक्ति हुन् साबिर मसिह। उनले बिबीसीसँग यो आफ्नो पुर्ख्यौली पेशा भएको बताएका छन्।

‘यो हाम्रो खानदानी पेशा हो,’ साबिर मसिह भन्छन्, ‘मेरा बाबु, हजुरबाउ र जिजुबाउले यही पेशा गर्दै आएका थिए। यो पेशा हाम्रो परिवारको हिस्सा हो।‘

पाकिस्तानले सन् २००८ देखि २०१४ काबीच सात बर्ष फाँसीको सजायँमा रोक लगाएको थियो। साबिरका अनुसार यी सात वर्ष उनी प्राय: घरमै बसे। उनी हरेक दिन हाजिर गर्न जेल जान्थे र घर फर्किन्थे। उनको केही काम हुँदैन थियो।

पहिलो फाँसी

पहिलो फाँसीका बारेमा साबिरले आफ्नो अनुभव सुनाए, ‘मलाई केही पनि अनुभव भएन। म त्यहाँ एक्लै थिइनँ। त्यहाँ जेलका लगभग ५० अधिकारीहरु थिए। त्योभन्दा पहिला मैले बाबुका साथमा गएर जम्मा एकपटक फाँसी लगाएको देखेको थिएँ। बाबुले मलाई फाँसीको डोरीको गाँठो कसरी बनाउने भनेर घरमै सिकाएका थिए।‘

उनी भन्छन्, ‘जन मैले पहिलो फाँसी लगाएँ त्यतिबेला जेलका सुपरिटेन्डेन्टले मलाई भने, चिन्ता गर्नुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन। अनि जब उनले इशारा गरे, मैले डोरी तानेँ। त्यसपछि मैले त्यतिबेला मात्र माथि हेरेँ जतिबेला कैदी फाँसीको डोरीमा झुण्डिएको थियो। यो मात्र केही सेकेण्डको कुरो थियो।‘ 

तीन मिनेटमा काम खत्तम

कुनै कैदीको फाँसीको मिति तोकिएपछि त्यसको तयारीमा साबिर के गर्छन् त?

साबिर भन्छन्, ‘मैले केवल समयमा जेल पुग्नुपर्छ। जेलका अधिकारी कुनै जेल या शहरमा मेरो जरुरत पर्‍यो भनेर मलाई सूचना पठाउँछन्। फाँसीको फन्दा तयार हुन्छ। तर म कैदीसँग यसका बारेमा कुनै कुरा गर्दिनँ।‘

जब कैदीको अनुहारमा कालो कपडा लगाइन्छ अथवा घाँटीमा फाँसीको फन्दा लगाइन्छ त्योबेला उनलाई कस्तो लाग्छ होला?

साबिर भन्छन, ‘त्योबेला मेरो दिमागमा केही पनि हुँदैन। मलाई त यत्ति थाहा हुन्छ कि तीन मिनेटमा मैले काम सक्नुपर्छ। मेरो काम केवल कैदीलाई मार्नु मात्र हो।‘
 
पेशावर जेल

फाँसी पाएका कैदीको मनोविज्ञान पनि अध्ययन गर्छन् उनी। यसका बारे उनी भन्छन्, ‘प्राय:जसो फाँसीको पहिला अपराध गर्ने कैदीहरु शान्त देखिन्छन् तर जो निर्दोष हुन्छन् उनीहरु बेचैन देखिन्छन्। उनीहरु अन्तिमसम्म पनि माफीका लागि गुहार माग्छन्।‘

‘मैले उनीहरुको अनुहारमा देखेको छु र उनीहरुको अनुहारको भाव पढ्न सक्छु,’ उनी भन्छन्, ‘जसले अपराध गरेको हुँदैन उसको अनुहारमै देखिन्छ कि उ निर्दोष छ।‘

चाँडो फाँसी देऊ, भगवान पर्खिरहेका छन्

कुनै यस्तो फाँसी जो उनलाई अहिलेसम्म याद आइरहेको छ?

साबिरका लागि यो एउटा पेशा हो। तर फाँसी दिइएका केही व्यक्तिहरु उनलाई याद हुन्छन्। उनका अनुसार एकपटक दुईजना चरमपन्थीलाई एकैपटक फाँसीमा झुण्ड्याउनु थियो। ती दुईजनाले फाँसीमा चढ्नुअघि अँगालो मारे।

‘बुढो कैदीले दोस्रो कैदीलाई भन्यो, म यहींबाट स्वर्ग देख्न सक्छु। उसले भन्यो, हामीलाई चाँडो फाँसी दे, स्वर्गमा भगवान हामीलाई पर्खिरहनु भएको छ। उहाँको वासना अहिले नै आइरहेको छ।‘

केही मान्छेहरु यो कामलाई क्रुरताको संज्ञा दिन्छन् भने केहीले यसलाई ड्युटीका रुपमा लिन्छन्। साबिरलाई चाहिँ यो काम कस्तो लाग्छ त?  
उनी भन्छन्, ‘यो मेरो लागि केवल एक ड्युटी हो। जो मान्छे जेलमा छन् उनीहरुलाई कानुनअनुसार सजायँ भएको हो। उनीहरु जेलमा वर्षौंदेखि छन् र उनीहरुले सबै प्रक्रिया पार गरेका छन्। उनीहरुलाई फाँसीमा झुण्ड्याउनु हाम्रो बाध्यता हो।‘

उनी अगाडि थप्छन्, ‘फाँसी दिएर जब म घर पुग्छु तब म फाँसी दिइएका मान्छेकाबारे केही सोच्दिनँ। यसमा सोच्नुपर्ने केही कुरै छैन। मलाई लडाइँ गर्ने कुखुरा पाल्नको सोख छ र त्यसमै व्यस्त हुन्छु।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell