PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

राजेश्वर देवकोटा भन्थे- मलाई सुनिदिने मान्छे पाइनँ, पढ्नुहोस् उनको अन्तिम भाषण



राजेश्वर देवकोटा भन्थे- मलाई सुनिदिने मान्छे पाइनँ, पढ्नुहोस् उनको अन्तिम भाषण
फोटो सौजन्य: यादव देवकोटा

पुराना राजनीतिज्ञ राजेश्वर देवकोटाको सोमबार निधन भयो। राणा शासनविरुद्ध संघर्ष, पञ्चायत स्थापनाका लागि राजा महेन्द्रसँग सहकार्य र बहुदल आएपछि राष्ट्रवादी पार्टीको स्थापना- उनका मुख्य काम। तर उनी ‘स्थायी’ कतै पनि भएनन्।

यो सत्य हो कि साहित्यसाधना र राजनीति नै उनको जीवन थियो तर पछिल्ला दिनका राजनीतिक घटनाक्रमले उनी निराश थिए। पछिल्लो समय उनी किनारामा बसेर राजनीतिक घटनाक्रम नियालिरहेका थिए। गोरखामा जन्मिएकाले होला, उनको गोरखा र गोरखालीप्रति विशेष लगाब थियो। गोरखालीहरुले गर्ने कार्यक्रमहरुमा उनलाई अतिथि बनाइन्थ्यो।

तर पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरुमा देखिन छाडेका थिए। तर २०७१ चैत ७ गते उनी एउटा मञ्चमा देखिए। कार्यक्रम गरेको थियो गोरखा समाज सेवा केन्द्रले। काठमाडौको कमलादीमा भएको उक्त कार्यक्रममा देवकोटाले व्यक्त गरेको विचार सान्दर्भिक हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ। 

  • राजेश्वर देवकोटा-
देश संकटमा छ, देश ओरालो लागिरहेको छ भन्ने कुरामा सायद दुई मत छैन। यो देश ओरालो लाग्नेमा को को जिम्मेदार त? म पनि यो जिम्मेदारीबाट मुक्त हुन सक्दिन। किनभने म यसै समाजमा छु। अर्कोलाई जिम्मेदार भन्नुभन्दा यो पिढीमा भएका जम्मैलाई भोलिको पुस्ताले अघिल्लो पुस्ताले बिगार्‍यो भन्छ, त्यो पिढीमा त म पनि छु नि। त्यसकारण यो बिग्रनुमा हामी सबै जिम्मेदार छौँ भन्ने कुरा बुझ्नुपर्छ।

कसैले बिगार्‍या हो भने हामीले किन प्रतिरोध गर्न नसक्या त? फलानाले बिगार्‍यो भन्छौँ, तर त्यसको प्रतिरोध गर्न नसक्ने हामी पनि जिम्मेदार हुन्छौँ। किन रोक्न नसक्या त? तल गैरहेको छ, झरिरहेको छ, हामीले त रोक्न सकेनौँ नि। रोक्न नसक्नेले अर्कालाई दोष दिएर उम्कन पाइँदैन। त्यसैले म कसैलाई दोष दिन्नँ। हामी सबै जिम्मेदार छौँ।

आज मैले भन्न चाहेको कुरा के भने, यो जिम्मेदारी, यो उत्तरदायित्व बहन गर्ने कुनै शक्ति कहीँबाट उत्पन्न हुन्छ भने त्यो गोरखा हो। के गतिला जति पृथ्वीनारायणसँगै आइपुगेछन् र हामी छनौटामात्रै बाँकी रहेछम् त? अहिले त त्यस्तै देखियो। खै हामीले नयाँ नेतृत्व दिन सकेनौँ, नयाँ विचार दिन सकेनौँ, नयाँ प्रेरणा दिन सकेनौँ। हामीले आफूलाई गोरखाली भन्ने हक कहाँ राख्यौँ? गोरखा पनि अरु सबैको दाँजोमा रहने हो भने गोरखा किन भन्नुपर्‍यो? त्यसकारण गोरखाले आफूलाई अलि विशेष हौँ भन्ने कुराको एउटा घमण्ड लिनुपर्‍यो।

आत्मसम्मान जगाउनुपर्‍यो, एउटा उत्प्रेरणा हामीभित्र जगाउनुपर्‍यो कि हामी नयाँ कुरा दिन सक्छौँ। या त हामी यो समाजमा अरु जस्तै साधारण हौँ, हाम्रो कुनै भाउ छैन भन्ने कुरा स्वीकार गर्नुपर्‍यो। गोरखालीहरु त्यो भाउ स्वीकार गर्न तयार छन्? छैनन् होला। मैले भनेको कुरा यो हो। झिल्का एक ठाउँबाट निस्कन्छ, एक ठाउँबाट निस्केको झिल्काले सबैतिर उज्यालो दिन्छ। त्यो झिल्का गोरखाबाट निस्कन सक्नुपर्छ, निस्कनु पर्छ भन्ने मेरो मान्यता छ।

समकालीन समाजलाई तीन प्रश्न             

हेर्नुस् देश ओरालो लागिरहेको छ। देशलाई एउटा व्यवस्था दिने, संविधान दिने भनेर कोही लागिरहेका छन्। तर म केही प्रश्न राख्न चाहन्छु।
पहिलो, संविधान बनाउँछु भन्नेले कस्तो संविधान बनाउन खोज्या हो? नेपाल राष्ट्रको संविधान बनाउन खोज्या हो भने पहिला नेपाल राष्ट्रको नक्सा चाहियो। कहाँ छ त्यो? नेपाल राष्ट्रको नक्सा दिनुस्। भौगोलिक नक्सा चहियो, समाजको नक्सा चाहियो, सामाजिक संरचनाहरुको नक्सा चाहियो। त्यो नक्सा प्रस्तुत गर्नुपर्‍यो संविधान बनाउन खोज्नेहरुले। नत्र त बिना आधारमा संविधान बनाउँछु भनेर त भएन।

अर्को प्रश्न, संविधान कुन सिद्धान्तमा बनाउने? समाजवादी सिद्धान्तमा बनाउने, उदरावादी सिद्धान्तमा बनाउने? जति पार्टी छन्, तिनका वाद त अलगअलग छन्, राजनीतिक धारणा त अलगअलग छन्। जसको राजनीतिक धारणा नै अलगअलग छ, त्यसले एउटा संविधान कसरी बनाउने? त्यो प्रश्नको उत्तर दिनुस् पहिले। कुन सिद्धान्तले र कुन नेतृत्वले संविधान बनाउने?

एउटा सिद्धान्तले संविधान बन्छ, सबै सिद्धान्त जोडेर संविधान बन्दैन। अब त्यहाँ उदारवादी नीति लिनेहरु पनि छन्, कांग्रेस त्यसैको नेतृत्व गर्छ। त्यहाँ समाजवादीहरु पनि छन्, अझ समाजवादीमा पनि अर्कोथरी छन् क्रान्तिकारी। यी अनेकथरी मिलेर एउटा संविधान कसरी बन्छ? संविधान बन्नलाई त एउटा सिद्धान्त चाहिन्छ, एउटा नीति चाहिन्छ र एउटा नेतृत्व चाहिन्छ। यो सभाको को नेता? न नेता छ, न सिद्धान्त छ, न नीति छ। जबसम्म मुलभूत कुरा समाधान हुँदैन, तबसम्म कहीँ पुगिँदैन। कहाँ जाने हो भन्ने थाहा नभएपछि जति हिँडे पनि पुगिँदैन।

तेस्रो प्रश्न- नेपालको राष्ट्रियता कहाँ छ? सार्वभौमिकता कहाँ छ? पहिले राजसँग हुन्थ्यो। सार्वभौमसत्ता राजाकहाँ हुन्थ्यो तर राजाकहाँबाट झर्‍यो। झरेपछि कहाँ अड्कियो त्यो? कि तै गयो? कहाँ गयो? आफ्नो निर्णय आफै नगर्नेले आफू सार्वभौम भन्न पाउँदैन। राजा जस्तोसुकै भए पनि आफ्नो निर्णय आफै गर्थ्यो, त्यो कुरा हामीलाई चित्त बुझेन। त्यो काल गयो। अब सार्वभौमसत्ताको प्रयोग कसले गरिरहेको छ? कि हामीले कतै लगेर बन्धक राखिसक्यौँ? अब यहाँनेर प्रश्न छ। बन्धक राखेको छैन भने के निर्णय भयो त?

सार्वभौमसत्ता जनतामा हुन्छ, संसदले प्रयोग गर्छ जनताको प्रतिनिधिका रुपमा। तर त्यो त पंगु छ। त्यसको त नीति पनि छैन, नेता पनि छैन, सिद्धान्त पनि छैन। दिशा पनि छैन। त्यो त हिँडिरहेको छ पुग्ने ठाउँ छैन। किनभने अहिले अहिले संसद १२ बुँदे भन्ने एउटा ‘एग्रिमेन्ट’ छ, त्यसले सञ्चालन गरेको छ। त्यो कसको हातमा छ? त्यो अरुकै हातमा छ। त्यो एउटा डोरी हो। सबैलाई बाँध्न पर्‍यो भने एउटै डोरीले बाधिदिन्छ। जस्तोसुकै पार्टी हुन्,  वादविवाद गरुन्, पक्ष विपक्ष भनुन्, तर एउटै कागजमा सही गर्‍याछन्।

त्यो कागज भनेको १२ बुँदेको कागत हो। त्यो कागत अन्तै सुरक्षित छ। एउटै कागतमा सही गर्ने अनि तँ पक्ष, म विपक्ष, तँ यो पार्टी, म ऊ पार्टी भन्ने नक्कली कुरा गरेर नेपालीलाई भ्रममा पारेका छन्, हामी  त्यही भ्रममा हिँडिरहेका छा। सबैले सही त १२ बुँदेमा गरेका छन् नि। उसले चाह्यो भने त्यही १२ बुँदेको डोरीमा समातेर खोरमा हाल्न सक्छ। खोरमा नहालिन्जेल बाहिर छन्। त्यसैले हामी अहिले तथ्यमा होइन, आधारभूत कुरामा होइन, त्यसै रंगमगिएका छौँ। पार्टीहरु रंगमगिएका छन्, सांसदहरु रंगमगिएका छन्, हामी पनि त्यसैमा रंगमगिएका छौँ।

अब त्यसलाई मैले चिर्न सकिन। त्यसलाई मैले जबाफ दिन सकिन। जबाफ दिन खोज्दा मलाई सुन्ने मान्छे पनि पाइनँ। त्यसैले म एक्लो छु अहिले। किन एक्लो छु भने मेरो पार्टी पनि छैन अहिले। मैले धेरै पार्टी जन्माएँ। नेपाली कांग्रेसको जन्मदाता नै हुँ नि। सानो कथा भनुँ? लामो छ कति भनुँ तपाईँलाई। खुब आन्दोलन गर्‍यौँ हामीले सात सालमा। त्यो बेला सहिद भएको भए भाको भयै हुन्थ्यो, बाँचिएछ। त्यसपछि त दुर्गति हेर्नुपर्‍यो। त्यसपछि पहिलो काम के गरियो सात सालपछि? सात सालपछि आएका नेताले पहिले हिन्दुस्तानी फौज यहाँ हुले।

त्यसले खुब राज गरिरह्‍यो। मलाई त चित्त बुझेन। म त भर्खरको २०/२१ वर्षको क्रान्तिकारी युवा। हैट, यस्तो काममा लाग्दिन, यस्तो ठाउँमा त म बस्दिन भनेँ मैले नेपाली कांग्रेस नै छोड्दिएँ। नेपाली कांग्रेस छोड्नुको कारण त्यही हो। जसलाई स्थापना गरेँ, जसको झण्डामुनी बसेर मैले क्रान्ति गरेँ, मैले उसैलाई छोड्नुपर्‍यो, मलाई कति पीडा भयो होला? किनभने मुलुकको स्वाधिनताको लागि, राष्ट्रियताको लागि।

त्यसपछि जाँदै गएँ, जाँदै गएँ, राजा महेन्द्रले हैन म देश बनाउँछु, राष्ट्रियता कायम गर्छु भने। मैले ल यो कुरामा साथ दिन्छु भनेर म पनि लागेँ। यहाँ भएका फौजी निकाले, विदेशी फौजी निकाले। यो श्रेय त उनलाई जान्छ। देश विकास पनि गरे। अहिले जे जति विकासका पूर्वाधार छन्, उनकै पालमा भएको हो। तर उनी बितेपछि त्यो पञ्चायतमा पनि मलाई ठाउँ भएन किनभने म जसलाई अगाडि बढाउन चाहन्थेँ, उसले त पछाडि फर्काउनतिर पव लाग्यो। राजा महेन्द्र बितेपछि पञ्चायतमा पनि मेरो सक्रियता समाप्त भयो। जसलाई मैले संरक्षण गरेँ, हुर्काएँ, त्यसबाट म नै बिचलित भएँ।

४६ सालमा पार्टी व्यवस्था कायम भयो। अब एउटा राष्ट्रवादी पार्टी खडा गर्छु भनेर राष्ट्रवादी पार्टी बनाएँ। विधान, नीति, घोषणापत्र सबै तयार गरेँ। जाँदाजाँदा जाँदाजाँदा त्यहाँ भित्र पनि विदेशी तत्व यति पस्यो कि उनीहरुसँग म लड्नै सकिन। विदेशी तत्वसँग लड्न नसक्दा मैले नै छोड्नुपर्‍यो। मसित अहिले पार्टी छैन, म एक्लो छु। एक्लो भए पनि म आफ्नो विचार भनिरहेको छु। गरिरहेको छु, गर्छु। यो कुरा मैले तपाईँहरुलाई छोटकरीमा भनेँ। म यी पीडाहरु भोग्दै भोग्दै यहाँ आइपुगेको छु। र म उमेर त धेरै ढल्किसक्यो तर थाकेको छैन। तपाईँहरुलाई यत्ति सन्देश दिन चाहन्छु। अझै एउटा युवाले गर्न सक्ने काम म गर्न सक्छु तर मेरो कुरा सुन्दिने मान्छे चाहियो।

आजका राजनीतज्ञहरु, आजका पार्टीहरु र आजको संसदलाई मैले तीनओटा प्रश्न राखेको छु। यो प्रश्नको जबाफ कतैबाट पनि आएको छैन। संविधान बनाउने भनेर हिँडिरहेका छन्, कहाँ जाने भन्ने थाहा नभइकन हिँडिरहेका छन्। कति वर्ष हिँड्छन्, हेर्दैजानु पर्‍या छ। मैले पनि उज्यालो दिएर सबैलाई एउटा बाटोमा ल्याउन सक्या छैन, मेरो पनि कमजोरी छ। म स्वीकार गर्छु, तै पनि म थाक्या छैन। म पनि हिँड्दैछु। यत्ति भनेर बिदा हुन्छु। 

सम्बन्धित समाचारहरुः



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell